सोमबार, कार्तिक १०, २०७७

म त हाँसेको हाँस्यै, हिजो पनि आज पनि

​​​डिल्लीराज अर्याल२०७७ असोज १७ गते १०:२७

लेखक ​​​डिल्लीराज अर्याल

म शिक्षण मात्र होइन, उस्तै परे खेतीपाती पनि गर्ने । लेखन र पत्रकारिता त गरेकै हुँ । गर्दै पनि छु । प्रारम्भमा नेता हुने सुरमा लागेर पत्रकार संघ, पछि महासµघका विभिन्न तहमा रहेर काम पनि गरें । अहिले पनि महासµघमा छु तर खालि साधारण सदस्य मात्र, तैपनि पत्रकार चाहिँ बनेकै छु । पहिले पहिले महासंघका कार्यक्रमहरूमा पनि खूब हिड्ने गरेँ । यदाकदा आन्दोलनमा पनि लागेँ । अचेल भने सदस्य मात्र भएकाले त्यसरी हिँड्नु पर्दैन । परेपनि हिँड्ने थिइन कि ? त्यतिबेलाको कुरै अर्कै । जोश, जाँगरै अर्कै । जे भने पनि जता भने पनि ‘हुन्छ’ भन्यो हिँड्यो ।

त्यसैताकाको कुरा हो । साथीहरू नयाँ नयाँ पत्रकारिताका विषय उठाउँथे । कसैले खोज पत्रकारिता, कसैले मिशन पत्रकारिता, कसैले व्यावसायिक पत्रकारिता आदि । अलि बुझेका धेरैजसो साथीहरू भन्थे, “पत्रकारिता व्यावसायिक हुनुपर्छ । व्यावसायिक पत्रकारिता शुरु गर्नुपर्छ ।” साथीहरूका कुरा सुनेर म हाँस्थें । बुझेर होस् वा नबुझिकनै होस् हाँसिदिने मेरो आदत थियो । पत्रकारिता जाने बुझेकाहरू त्यसबारेमा छलफल, बहस गर्थे । म हाँस्थें मात्र । व्यवसायिक पत्रकारिताका नाममा हाँस्ने म, अरू व्यवसायिक बनेर कहाँ कहाँ पुग्दा पनि हाँसेको हाँस्यै छु ।

मेरो मनले अहिलेसम्म पनि व्यवसायिक पत्रकारिता जानेन । सोचेन । अपनाउन सकेन । प्रश्न गरिरह्यो । सन्देह गरिरह्यो । भन्यो पत्रकारिता पनि ‘व्यवसायिक’, ‘व्यवसायीको काम पत्रकारले पनि’ ‘पत्रकार पनि नाफामुखी’आदि । लामै समयसम्म मेरा मनमा यस्ता कुरा खेलिरहे । यस्तै प्रश्नहरू उठिरहे । हाँसो आइरह्यो । हाँसो उठिरह्यो र हाँसिरहें । आजसम्म पनि हाँस्दैछु ।

नयाँ शिक्षा परियोजना लागू हुनेबेला भयो । फेरि कुरा उठे व्यवसायका । शिक्षा पनि व्यवसायिक बनाउने कुरा चल्यो । कार्यक्रम बन्यो । व्यवसायिक विद्यालयहरूको स्थापना हुन थाले । पुरानाले पनि व्यवसायिक रूप लिन थाले । त्यसरी ‘शिक्षा व्यवसायिक हुनुपर्छ’ भन्ने चर्चा चलेदेखि व्यवसायिक बन्ने कार्यक्रम चल्दैरहँदा पनि म मजाले हाँसे । म जति हाँसे पनि शिक्षाले व्यवसाय अँगाल्यो, शिक्षक, प्राध्यापक समेतले व्यवसायिकतालाई अँगाले । शिक्षालयहरूले व्यवसाय गर्न थाले, चलाउन थाले। मलाई हाँस्ने मौका जुरिरह्यो, हाँसिरहें । म तिनको कुरा सुनेर, तिनका कार्यक्रम देखेर हाँसिरहें । एक्लै परेपनि, एक्लै भए पनि हाँसें । यदाकदा मलाई एक्लै हाँसेको देखेर अरू केही साथी पनि हाँस्थे ।

शिक्षा व्यवसायिक भयो । विद्यालयहरू व्यवसायिक भए । व्यवसायिक हुनै नसक्नेहरूले पनि व्यवसायिक विषय त चलाउनैपर्ने भयो । व्यवसाय गर्न त सिकाउनैपर्ने भयो । सिकाउने मात्र हो र ? पढाउनै पर्ने भयो । परम्परा चल्यो, चल्दै आयो । परम्परा जस्तै मेरो हाँसो पनि चल्दै गयो । बिचमा म पटक पटक हाँसें । व्यावसायिकता पनि फस्टाउँदै गयो । पत्रकारिताले त मज्जैले व्यवसायिक रूप लियो । कतिसम्म भने मिशन पत्रकारितालाई धरापमै पारिदियो । खोज पत्रकारिता पनि रुल्लटुल्ल जस्तै छ । व्यवसायिक पत्रकारिताले चारैतिरबाट सर्लक्कै घेरेको छ । व्यवसाय अन्तर्राष्ट्रसम्म पुगेको फैलिएको छ । म आफै पनि नचाहँदा नचाहँदै पनि घेरिएको छु । सबैलाई व्यवसायतिर लागाउने योजना सफल हुँदै गएको छ तैपनि मेरा आफन्त, साथीभाइ, इष्टमित्र सबै व्यावसायिक हुन सकेका छैनन् । सक्नेहरू बनेका छन् । तिनले, तिनका योजनाले सबै घेरिएका भनेछन् ।

यी सबै कुरा देखेर, बुझेर पनि म हाँसेकै छु। सन्तुष्टै छु किनकि मलाई केहि गर्नु छैन । पत्रकारितामा, शिक्षामा, स्वास्थ्यमा, राजनीतिमा व्यावसायिकता अपनाउनु छैन । जसलाई अपनाउनु छ तिनले खुशीले अपनाएका छन् । व्यवसायी नै बनेका छन् । नाफाका नाफा कमाएका छन् । संगठनै सङंगठन बनाएका छन् । हिजो मेरै साथीहरू मलाई ‘तँ व्यावसायिक हुन सक्दैनस्’ भन्थे । हिजो भने, आज, अहिले पनि भन्छन् तैंले गरिखाँदैनस् । गरिखानेले व्यावसायिकता नरुचाउने हुनै सक्दैन । आज बल्ल बुझ्दैछु । तिनले भनेको साँच्चै हो रहेछ । म गरिखान नजान्ने, नसक्ने नै रहेंछु । गरिखानेले करोड करोडका कुरा गर्न थाले । त्यो पनि एक दुई हो र ? दश, बीस भन्दा धेरै । अझ धेरै धेरै, अरब पनि ।

आज पनि म उस्तै छु । मेरा मान्छे उस्तै छन् । तर देश धेरै अगाडि गयो । ती साथीहरूले उन्नतिको पराकाष्ठा नाघ्दैछन् । देशले व्यावसायिक पत्रकारिता, व्यावसायिक शिक्षाको चरम उपलब्धि हासिल गर्दैछ । यो विस्तारित हुँदै गएको महसुस अरूले जस्तै मैले पनि गरेको छु । आज देशको राजनीतिले पनि व्यावसायिकता अपनाएको छ । राजनेता, सरकारसमेत व्यावसायिक हुँदै जान थालेको अवस्था छ । समाजसेवी समाजसेवा सबैमा व्यावसायिकताको जोश छाएको छ । साहित्य, कला, धर्म, संस्कृतिलाई समेत व्यावसायिक बन्ने प्रेरणा दिन थालेका छन् हाम्रा अगुवा साथीहरू, स्वास्थ्य, शिक्षा त व्यावसायिक भए भए । मन्त्री पद समेत व्यावसायिक बन्न थालेको छ । सबै व्यवसायीहरूले व्यवसाय राम्रैगरि चलाउँदै आएका छन् । देखेर प्रसन्न छु म । प्रसन्नता व्यक्त गरेकै छु । साथीहरूको त कुरै नगरौं कति खुशी छन् कति । अब म, हिजो व्यवसायिक पत्रकारिता भन्दा हाँसेको अबुझ आज पनि हाँसिरहेंछु । देशै व्यावसायिकतामा चुर्लुम्म डुबिसक्दा पनि फरक मत राखेर, अस्विकार गरेर बसेको छु । तिनको प्रस्ताव अनुमोदन भएर कार्यान्वयनको चरण पार गरिसक्दा पनि नपत्याउने बनेर हाँस्दैछु । हो, म त्यतिबेला देखि आजसम्म पनि हाँसेको हाँस्यै छु ।

हिजो नबुझेर हाँसे । आज बुझ्नेहरूले गरेको बहस सुनेर, तिनको उन्नति देखेर हाँस्दैछु । म भोलि पनि हाँस्नेछु । हाँसेको हाँस्यै हुनेछु । व्यावसायिकता भने सल्किँदो छ । मल्किँदो छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक