मंगलबार, चैत ६, २०८०

गैर आवाशिय नेपाली संघ नर्वेको अधिवेशन विवादमा, नक्कली बिल पेश गरेको भन्दै छानबिनको माग

रायन सुवेदी / नर्वे२०७७ असोज १७ गते ११:४४

(साधारण सभामा पेश गरिएको बिवादित रसिद)

गैर आवसिय नेपाली संघ नर्वेको एघारौं वार्षिक साधारण सभा बिवादको घेरामा परेको छ । नेपालीहरुको वाक्लो उपस्थिति नभएको सानो शहरमा कार्यक्रम आयोजना गरिनु र आम्दानीभन्दा खर्च धेरै देखाउनु लगायतका कारणले साधारण सभा विवादमा परेको हो । सधारण सभा सेप्टेम्वर २६ का दिन नर्वेको ह्योभिक शहरमा आयोजित थियो ।

(साधारण सभामा पेश गरिएको दोस्रो बिवादित रसिद)

वार्षिक साधारण सभा जस्तो महत्वपूर्ण कार्यक्रम बहुसंख्यक नेपालीहरूको बसोवास भएको शहरमा नगरिनु आफैंमा उदेक लाग्दो थियो । आचारसंहिताको नाममा सहभागीहरूको वाक स्वतन्त्रतामा बन्धन लगाएको भन्दै गुनासो गर्नेहरु धेरै छन् । कोरोनाको कारण देखाएर बिधानलेनै सभामा सहभागिताको अधिकार प्रदान गरेका साधारण सदस्यहरूको सहभागितालाई अंकुस लगाइएको थियो । यि कारणहरूले गर्दा ६५० भन्दा बढि साधारण सदस्य रहेको संघको वार्षिक साधारण सभामा जुम मार्फत अनलाईन र भौतिक ऊपस्थिती गरि लगभग ६० जनाको मात्रै उपस्थिती थियो । संघको कार्य समितिनै २३ जनाको छ ।

कार्यक्रम संचालनको क्रममा संघका महासचिवको असक्षमता छर्लङ्ग देखिएको थियो । राजनैतिक संघ संस्थाहरू हाँकेको अनुभव भएपनि सामाजिक संस्थाको पहिलो अनुभव भएकोले कमिकम्जोरीहरूबाट पन्छिन खोजेका माहासचिवले बन्द सत्रमा कतिपय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सकेनन् । आफूले ऊत्तर दिन पनि नसक्ने र अध्यक्षलाई ति प्रश्नहरूको ऊत्तर दिने अवसर नदिनुले महासचिवले अध्यक्षलाई सहयोग नगरेको भान परेको थियो । विषेश गरि आर्थिक प्रतिवेदन पास गर्ने वा नगर्ने भनेर प्रस्तुत गरिसकेपछिको महासचिवको भूमिका संकास्पद रहेको थियो ।
आर्थिक प्रतिवेदन फेल गराई अध्यक्षलाई पाखा लगाएर आफू कार्यकारी बन्ने दाऊमा महासचिव रहेको स्रोतको दावी छ ।

वार्षिक प्रतिवेदनमा केहि भाषागत त्रुटी र सामान्य मतभेदहरू रहेपनि त्यसलाई संसोधनसहित पारित गर्नेमा सर्वसम्मती जुटेको थियो । लगभग ५ घण्टासम्म छलफल गर्दापनि टुंगो लगाउन नसकेको आर्थिक प्रतिवेदन सभाको मूल समस्या बनेको थियो । विशेषगरी नेपाल भ्रमण वर्ष २०२० को नाममा नेपालबाट आएको रकममा अनियमितता गरेको आरोप अध्यक्षमाथि लागेको थियो । अध्यक्षले त्यो सम्पूर्ण कार्यक्रम नेपाल सरकारको रहेको, सरकारका प्रतिनिधीले भने बमोजिमको कार्यक्रम गर्न संघले समन्वयकारी भूमिकामात्र खेलेको जानकारि दिएका थिए । साथै सम्पूर्ण खर्चको बिवरण पनि सभामा पेश गरेका थिए । अनियमिताको शंका गर्नेलाई आरोप प्रमाणित गर्न संघका अध्यक्षले चुनौती दिएका थिए । असन्तुष्ट पक्षले छानविन गरि सत्यतथ्य बाहिर ल्याऊनपर्ने माग राखेका थिए ।

सम्पूर्ण ऊपलब्ध रसिदहरूको अध्यन गर्दापनि बिश्वास गर्न नसकिने ठाउँ रहेको असन्तुष्ट पक्षको दाबी छ । दुईवटा फरक कार्यक्रमको एऊटै रसिद बनाऊनु, ७० हजार क्रोनरको आम्दानी तर ७७ हजार क्रोनरको खर्च हुनुलाई धेरैले अनियमितता भएको भन्दै गुनासो गरेका छन् । तैपनि संघको पैशा खर्च नभएको र संघलाई आर्थिक भार नपरेको जनाईनु, नर्वेमा गरिएको कार्यक्रमा नेपाली रसिद पेश गरिनु जस्ता बिबिध कारणहरूले आर्थिक अनियमतिता भएको शंकालाई पुष्टि गर्ने असन्तुष्ट पक्षको दाबी छ । यस्तो अवस्थामा कसरी समस्याको समाधान गर्ने र भोलिका दिनहरूमा संघलाई कसरी पारदर्शी रूपले अगाडि बढाउने भन्ने चुनौती वर्तमान कार्यसमितीलाई परेको प्रष्टै देखिन्छ ।

हिजो निर्वाचनको बेला आफ्नो संस्थाले काँधमा बोकेर चुनाव जिताएको अध्यक्षले आज आफ्नो संस्थालाई सहयोग नगरेको र आफ्नो मनोमानी ढंगले चलेको आरोप सहित तितो पोखेका जनसंपर्क समिती नर्वेका अध्यक्षले आफूहरूलाई अलग राखेर संघ चल्न नसक्ने चुनौतीनै दिएका थिए । यसबाट गैर राजनैतीक भनिएको संघमा राजनितीको कस्तो प्रभाव रहने गरेको छ भन्ने प्रष्ट बुझ्न सकिने चर्चा नर्वेवासी नेपालीमा चलेको छ । यसरि प्रत्यक्ष राजनैतिक प्रभावमा परेको गैर आवसिय संघ कसरी प्रवासी नेपालीहरूको छाता संगठन बन्न सक्ला र भन्ने प्रश्नको जवाफ आगामी दिनहरूमा संघले खेल्ने भूमिकाले अवस्य दिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक