सोमबार, कार्तिक १०, २०७७

छयहत्तरौं जिल्ला चितवन सम्झँदा

अच्युतकृष्ण खरेल२०७७ असोज १७ गते १४:४७

पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल

चितवनमा २०२९ पौष २९ गते म सरुवा भएँ । चितवन एक प्रकारको नयाँ बस्ती भएको जिल्ला थियो । थरीथरी विचारका मानिसहरु थिए । तिनको आनीबानी, चालचलन अनि थरीथरी हुँदा जान्नबुझ्न कठिन थियो ।

क्रान्तिकारी विचारका व्यक्तिहरु पनि थिए । तत्कालिन शासन व्यवस्थानुकूल आफ्नो कर्तव्य पालना गरेर अनुशासित र कर्तव्यनिष्ट बनाउँदै शान्ति सुरक्षा कायम गर्नु गराउनु मेरो दायित्व थियो । अहिले त्यहाँको जिल्ला प्रमुख एसपी रहन्छन् भने प्रहरी निरीक्षक नै त्यसबेला जिल्ला प्रमुख हुने व्यवस्था थियो । जिल्ला प्रशासनको अनुभव केहि छैन । जिल्लामा प्रहरी प्रमुखले गर्नुपर्ने नीति नियम, तौरतरिकाको पनि त्यति ज्ञान थिएन । अविवाहित, एक्लो युवक जिल्लाको प्रहरी प्रमुख बनेर जान पर्यो । गएँ ।

प्रहरी प्रमुखका रुपमा हाजिर हुने बित्तिकै मेरा अगाडि परिपत्र, सरजमिन, अनुसन्धान, मिसिलहरु आउन थाले । एउटा हवल्दारले ल्याएको कागजमा सही गर्नुपर्छ । कसरी गर्ने ? के गर्ने ? त्यति थाहा छैन । तालिम केन्द्रको अनुभवले अनुशासन चाहिँ थाहा छ । अरु कुरामा अन्यौल । तैपनि जिम्मेवारी आएपछि पछि हट्ने कुरै थिएन । पुराना हरेक विषयका मिसिल झिकेर एक एक अध्ययन गर्न थालें । कति त सारेंपनि ।

सात दिन जति मिसिलहरु अध्ययन गरेपछि सबै कामको अनुभव भयो । त्यसपछि त्यहाँको काम र जिम्मेवेरी बारे म आफैंलाई धेरै कुरा थाहा भयो । अरुलाई सिकाउन र निर्देशन दिन सक्ने भएँ ।

संवेदनशील र चुनौतिपूर्ण जिल्ला थियो चितवन । यसलाई ७६ औँ जिल्ला पनि भनिन्थ्यो । किनभने ७५ जिल्लाका नै मानिसहरु बसाईं सरेर त्यहाँ आएका थिए । आफ्नो जन्मथालो छोडेर कतै घर बास सार्नु चानचुने कुरा होइन । यसको लागि हिम्मत चाहिन्छ । आँट चाहिन्छ । सुरो मानिसले मात्र बसाँईं सराई गर्ने निर्णय गर्न सक्दछ । चितवन हिम्मतिला र सुरा मान्छेहरुले भरिएको थियो । पन्चायत बिरोधी सोच पनि अत्याधिक थियो । यस्ता हिम्मतिला मान्छेहरुलाई तत्कालिन कानुन अन्तर्गत राख्नु बहुतै अप्ठ्यारो काम थियो । प्रहरी निरीक्षक भएर म त्यस्तो जटिल जिल्लामा पुगें । जिल्ला प्रशासनको अनुभव थिएन, तैपनि काम गरेर देखाउँछु भन्ने दृढता थियो । काम नजानेपछि सिक्छु भन्ने भावना थियो ममा । केन्द्रदेखि अंचलाधीश समेतलाई चितवन जिल्ला आफैंमा टाउको दुखाइ थियो । त्यसैकारणले होला नारायणी अंचलाधीश बेला बेला चितवन जिल्ला आउने गर्नुहुन्थ्यो ।

पंचायत बिरोधी गतिबिधी, चोरी, गुण्डागर्दी, जाँडरक्सी सेवन जस्ता घटना नै प्रहरीलाई मुख्य चुनौति थियो भने शान्ति सुरक्षाको स्थिति यसैले पनि कमजोर प्रतिविम्बित हुन्थ्यो । यी आमूल कुरालाई नियन्त्रण गर्न पहिलो कुरा त प्रहरीलाई दुरुस्त राख्नुपर्ने आवश्यकता थियो । प्रहरी पनि रक्सी खाने हुँदा प्रहरीलाई चाहिं कारवाही नहुने, साधारण जनतालाई मात्र कारवाही गर्ने भन्ने आरोप लाग्न सक्ने सम्भावना भएकोले पहिले प्रहरीलाई नै कारवाही गर्न शुरु गरें । त्यसपछि अरुलाई ।

रक्सी नियन्त्रण गर्दा नारी समूदायले व्यापक समर्थन गरे । सहयोग दिए । केहि समयभित्रै अमर्यादित रुपमा रक्सी खाने कुरा रोकिन गयो । जसको नियन्त्रणले गुण्डागर्दी जस्ता कुराहरुमा व्यापक नियन्त्रण भयो । समय बिताउन आम रुपमा सार्वजनिक स्थलमा खुल्ला रुपमा पैसा राखेर तास खेल्ने प्रचलन रहेछ । यसलाई रोक्नु अर्को चुनौति थियो । कति आफन्तले त यो नियन्त्रण हुन सक्दैन भनेर यसमा हात नहाल्न सल्लाह समेत दिए । तर म यसको नियन्त्रणमा दृढ थिएँ । सोही अनुसार कारवाही अगाडि बढाएँ । जसको अत्यन्तै सकारात्मक परिणामहरु देखिन थाल्यो । केही समयभित्रै जुवातास खेल्ने प्रचलन बन्द भयो । त्यसको ठाउँमा बुद्धिचाल र क्यारमबोर्डको संस्कार आयो । बैँकको गार्डलाई मिलाएर लुकेर खेल्नेलाई समेत पक्राउ गरेपछि प्रहरीले तासजुवा खेल्नेलाई कुनैपनि बेला र कुनै पनि अवस्थामा प्रहरीले पक्राउ गर्न सक्छ भन्ने त्रासको वातावरण सृजना भयो । जसको कारणबाट नियन्त्रण गर्न सकियो ।

जाँडरक्सी, जुवातास जस्ता कुराहरुबाट महिलाहरु बढि प्रताडित हुँदा रहेछन् भन्ने अनुभव यसको नियन्त्रणमा महिलाहरुको व्यापक सहभागिताबाट मैले बुझें । नारीहरु त पछि त्यस्तो देखेमा आएर खुला रुपमा उजुर गर्न पनि थाले ।

एक पटक चोरीको एउटा घटनामा सरजमिन गर्न गएँ । दुईजना व्यक्ति चोरीको घटनामा थुनिएका थिए । साक्षी, सरजमिन र यथार्थ बुझ बुझारथ गर्दा एकजना निर्दोष जस्तो लाग्यो । निर्दोष व्यक्तिलाई थुन्नु, सजाय दिनु राम्रो होइन भन्ने लाग्यो र छाडिदिएँ । भोलिपल्ट त स्थानीय पत्रिकामा प्रहरीले निष्पक्ष रुपमा काम गर्यो भनेर छापियो । सही निर्णय दिएको अनुभव भयो । हुनत ममा त्यति अनुभव थिएन । स्वच्छ हृदय, सफा नियत र लोभलालच गरिएन भने सहि निर्णय दिन सकिनेरहेछ ।

चितवनमा ठाउँ ठाउँमा निकै भट्टीहरु थिए । प्रहरीलाई सित्तैं खान दिने र प्रहरीबाट बँचेर जाँडरकसी बेचेर पैसा कमाउने गरिँदो रहेछ । प्रहरीहरु पनि सित्तैँमा खान पाएपछि मख्ख । यो प्रवृत्ति मलाई मनपरेन । म आफू पनि रक्सी नखाने त्यसमा पनि जाँड रक्सीमा रमाएर अशान्ति मच्चाउनेमाथि कारवाही गर्नु मेरो कर्तव्य जस्तो लाग्यो । त्यसमा नियन्त्रण गर्न थालें । त्यसपछि नगर पंचायत भोज थियो । त्यहाँ सबैले रक्सी खाए । मैले खाइन । प्रहरी अधिकृत भएर पनि रक्सी नखाने यो त अनौठो कुरा भयो भनेर सबैले टिप्पणी गरेको मैले पनि सुनें । प्रहरी भन्ने बित्तिकै जँड्याहा भन्ने छाप रहेछ । त्यसलाई हटाउन मैले निकै प्रयास गरें र सफल पनि हुँदै गएँ । कसैले गुण्डागर्दी गर्यो कि तुरुन्तै ठाडो प्रकृतिले मुद्दा हेरी टुँग्याउने गर्थें ।

अन्याय, अत्याचार ठहरे मात्र थुन्ने गर्थें । निस्वार्थ र निष्पक्ष भएर कुनै पनि काम गर्थें । त्यसैले पब्लिकले माया गर्थे । राम्रो काम गर्यो भनी प्रसंसा गर्थे । म पनि उत्साहित हुँदै गएँ । टोलटोलमा, ठाउँठाउँमा पैसा राखेर तास खुल्ला रुपमा खेल्ने चलन थियो । त्यसलाई पनि निर्मूल बनाउने लक्ष्य मैले लिएँ । मेरा दिदी भिनाजु सुशीला भट्ट र आनन्ददेव भट्ट त्यही वीरेन्द्र इन्टर कलेजमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरुलाई भेट्न जाँदा बाटोमा जहींतहीं तास खेलिरहेको समूह मैले देखें । प्रहरी आएकोले डराएर भाग्छन् भन्ने ठानेको थिएँ, तर नडराई खेलिरहे । वास्तासम्म पनि गरेनन् । तास खेलाडीलाई चड्कन लगाउँदै तास खोस्दै हिँडें । धेरै ठाउँमा यस्ता घटना देख्दै गएँ र कारवाही पनि गर्दै गएँ । त्यो देखेर दिदी भिनाजुले भन्नुभयो, तासमा हात नहाल, सफल हुन गाह्रो छ । तास त घरघरमा खेलिन्छ । काम छोडेर तासमा नअल्मलिनु । पैसा बाजी राखेर खेल्नु जुवा हो । यसलाई पनि नियन्त्रण गर्नुपर्छ मैले भनें । र गर्दै पनि गएँ । धेरै हदसम्म सफलता पनि पाएँ । जिल्ला प्रहरी प्रमुख भनेपछि त्यहाँको सर्वेसर्वा जस्तै थियो । गाडी सुविधा थियो । प्रहरी शक्ति साथमा थियो । उमेर थियो । केही गरेर देखाउने साहस र आँट पनि थियो । त्यसैले कुनै समस्याबाट हच्कने, डराउने कुरै थिएन ।

एकपटक पटिहानीमा स्कूल सन्दर्भमा हड्ताल भयो । त्यसबेला हड्ताल भनेको ठूलो कुरा थियो । यो समस्या सुल्झाउन सह अन्चलाधीश रत्नबहादुर गुरुङ र म गयौँ । गुरुङ पछी अंन्चलाधीस हुनु भयो । हाम्रो मोटर घेरे । मोटर रोक्न खाल्डो खने । जटिल समस्या खडा भयो । ५९ जनालाई ल्याएर थुनियो । थुन्ने ठाउँको कमी, उभ्याएर राखियो । पछि मागपूरा भयो, समस्या पनि टुंगियो ।

चितवन बसाँईं सराइले बनेको जिल्ला । विभिन्न जातिको वस्ती । एकअर्कामा सुमधुर सम्बन्धको कमी । साना कुरामा पनि आपसी झगडा हुने । राजनीतिक चेतना पनि त्यत्तिकै भएकाले प्रहरी प्रशासनले शान्तिसुरक्षा कायम गर्नु चुनौतिपूर्ण काम थियो । चक्काजाम, हड्ताल बारम्बार भइरहन्थे । यस्ता कुरालाई पनि सतर्कतापूर्वक हेर्ने शासन व्यवस्था थियो । यसमा अगाडिपर्ने प्रहरी शक्ति नै थियो ।

नन्द बहादुर मल्ल अन्चलाधीश थिए । अन्चलाधीस कार्यालय वीरगंजमा थियो । अन्चलाधीश टाढा भएकाले हरेक कुरामा निर्देशन लिन पनि सम्भव थिएन । नारायणगढका बन्दीपुरे साहूहरु कसैलाई गन्दैनथे । पैसा कमाएपछि हामी नै ठूला हौँ भन्थे । प्रशासनलाई पेल्ने र आफ्नै पन्जामा लिन चाहन्थे । काम गर्न निकै कठिन थियो ।

चितवनमा म प्रहरी भएर १८ महिना बसें । प्रहरी प्रशासनको राम्रो शिक्षा मैले त्यही पाएँ भने पनि हुन्छ । सिद्धान्त बुझेर मात्र हुँदैन व्यवाहरिक ज्ञान पनि हुनुपर्दो रहेछ । अहिलेको जस्तो विकृती त्यसबेला अलिक थिएन । राम्रो कामका लागि धेरैले साथ दिन्थे । प्रहरी देखेपछि मान्छेहरुले डर मान्थे । अञ्चलाधिश नन्द बहादुर मल्ल निकै भद्र ब्यक्ती हुनुहुन्थ्यो । “तपाईँ आउनु भो चितवनमा शान्ती सुरक्षा कायम हुनेमा म ढुक्क छु, अब म धेरै आउन परेन” – उहाँले मलाई उत्साहित पार्नुहुन्थ्यो । तर मलाई भने जिम्मेवारीले थिचे जस्तो हुन्थ्यो ।

प्रजीअमा आत्मराम पौडेल आउनुभयो । उहाँ कस्तो भने अरुलाई उक्साउने तर आफू भने कुनैपनि समस्यामा पर्न नचाहने । कुनै पनि घटनाको जाहेरी गर्न पछि पर्नुहुन्नथ्यो । तैपनि चितवन बसाईमा मेरो सम्बन्ध सबैसँग सुमधुर नै रह्यो । त्यो बेला प्रजातन्त्रबादी वा पंचायत इतर बिचारधारा राख्ने ब्यक्तिहरुलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । चितवनका जनता सचेत थिए । राजनीतिक बिचारहरुबाट प्रभावित पनि थिए । कतिलाई थुन्ने, बयान लिने, सम्झाउने र छाड्ने काम निरन्तर जस्तै थियो । विश्वराज पाठक नारा लगाउने र जुलुस निकाल्ने काममा बढि अग्रसर हुन्थे ।

एकदिन उनी बन्दागोभी बेच्न नारायघाट आएका रहेछन । उनलाई पक्रेर थुनियो । उनले बेच्न नपाएका बन्दागोभिको उचित मूल्य दिई प्रहरीहरुलाई नै खुवाउने काम भयो । म आफ्नो चितवन बसाईमा मलाई आत्मज्ञान भयो भन्दिन । ज्ञान त अनुभवबाट प्राप्त हुँदै जान्छ । ब्यबसायिक ज्ञान । ज्ञान र काैसल भन्दा पनि नियत र ईमानदारीता बढि महत्व हुन्छ । ज्ञान र सीप सापट लिन सकिन्छ । तर नियत र ईमानदारीता सापट लिन सकिँदैन । आँफैमा हुनु पर्दछ । यसका लागि आफ्नै साधना जरुरी छ । मैले मेरो चितवन बसाईमा सधैं र हरेक बिषयमा इमान्दार रहने प्रयास गरें । मलाई के थाहा थियो भने ईमान्दारिता नै सफलताको एक मात्र सुत्र हो ।

(लेखक पूर्व प्रहरी महानिरिक्षक हुनुहुन्छ । सन् २०१८ मा उहाँको आत्मकथा प्रकाशित भएको छ । आत्मकथामा नसमेटिएका केहि कुराहरु नेपालप्लसका पाठकका लागि रुचिकर हुनसक्ने भएकाले हामीले लिपिवद्ध गर्ने प्रयास गरेका छौं -नेपालप्लस)।

तपाइँको प्रतिक्रिया

फेसबुक