बिहीबार, चैत १५, २०८०

डोनाल्ड ट्रम्प थला परे भने ह्वाइट हाउसमा के हुन्छ ?

श्री घिमिरे / वासिङटन डिसी२०७७ असोज १८ गते ०:१७

कोरोना लागेपछि हेलिकोप्टरबाट उपचारका लागि जाँदै ट्रम्प

शुभेच्छुकहरुसँग गाला जोड्दा होस् या सार्वजनिक समारोहमा होस् धेरैजसो विना मास्क देखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले श्रीमती सहित कोरोना भाइरसले समातेपछि आइसोलेसनमा छन् । शुरुमा चिनियाँ भाइरस भनेर होच्याएका ट्रम्पले कोरोनालाई केही होइन भन्दै हँसिमजाककै रुपमा लिएका थिए । अमेरिकामा कोरोनाले धमाधम मानिसहरु मर्न थालेपछि अलिक गम्भीर देखिएका टम्प भने आफैलाई रुघाखोकी, ज्वरो र असाध्यै थकित महसुस हुने लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना संक्रमित भेटिए । अहिले उनको वाटररिड अस्पतालमा विशेषरुपमा उपचार भइरहेकोछ ।

ट्रम्पको स्वास्थ्य स्थिति बारे उनका चिकित्सक सिन कोन्ले ब्रिफिङ गर्दै

शनिवार उनको स्वास्थ्य स्थितिबारे उनका चिकित्सक सिन कोन्लेले राष्टपतिव्ट्रम्पलाई अक्सिजनको आवश्यकता नपरेको र स्वास्थ्य स्थिति सुधार हुँदै गएको जनाए । कोरोना विशेषज्ञहरुको टोलीले भने ७४ वर्षीय ट्रम्पको दोश्रो चरणमा कस्तो हुन्छ ? भन्ने कुरा हेरेपछि मात्र बाँकी कुरा भन्न सकिने जनाइरहेकाछन् । १० दिनको समयअवधि राखेर ट्रम्पको एन्टीभाइरल उपचार भइरहेको छ ।

डोनाल्ड ट्रम्पको उमेरकै कारण शरिरको रोग प्रतिरोध क्षमता कमजोर भयो भने ह्वाइट हाउसको कामकाज कसरी चल्छ ? अहिले धेरै अखबारहरुले सो विषयमा पनि लेखिसकेका छन् । यदि दोश्रो चरणमा कमजोर निस्किएर ट्रम्प थला परेभने उनले उपराष्ट्रपतिलाई आफू निको नहुन्जेल कार्यकारी रुपमा काम गर्ने अधिकार प्रत्यायोजन गर्न सक्छन् । रोनाल्ड रेगन र जर्ज बुशको स्वास्थ्य उपचारको सन्दर्भमा यसको प्रयोग भैसकेको छ ।

टम्प कोरोना संक्रमित भएर लामै समय थलिए भने छिटै हुने निर्वाचनमा यसले असर पार्न सक्दछ । आउँदो निर्वाचनलाई समेत असर पुग्ने ठानेर ह्वाइट हाउसले उनको वास्तविक स्वास्थ्य स्थिति बाहिर नल्याउन सक्ने सम्भावना बारे पत्रपत्रिकामा प्रशस्त चर्चा भइरहेका छन् ।

(फोटो- एजेन्सी)

तपाइँको प्रतिक्रिया

फेसबुक