सोमबार, कार्तिक १०, २०७७

चितवनका बा र दाईका सपना बेल्जियमका गमलामा ठोक्किँदा

प्रेम पाठक / बेल्जियम २०७७ असोज २२ गते १३:५३

विहान झिसमिसेमा आँखा मिच्दै आँगनमा उभिँदा बा र दाइ खेतमा काम गरिरहेका हुन्थे । सुन्दर बगैँचा बनाउन दिनरात नभनी खटिने बा र दाइको तस्विर आज अचानक बेल्जियमको गमलामा आएर घोप्टियो । मेरा आँखा रसाए । मन अमिलो भयो । एकतमासले एकोहोरिएर चितवन माडीको चैनपुर पुग्यो । यताका गमलाले फेरि माडी लगेर अनेक तर्कना खेलाईदिए ।

माडी चैनपुरको पुख्यौली घरको छेवैमा सानो बगैँचा थियो । बेलौती ( अम्बा), कटहर, निबुवा, कागती, मेवा केरा आदि थिए । बाँकी जमिन खेतका गह्राहरु । बा र दाइले रोपेका बुटाहरु छन् त्यहाँ । पातहरु मौसम अनुसार फेरिइरहन्छन् । तिनको रङ्ग बदलिन्छ । फल लाग्छन् ।  झर्छन पहेंलिएर । तिनले सम्झनाहरु ज्यूँका त्यूँ बनाउँछन् । छन त सबै छ । तर बा र दाइ छैनन् । हो यो संझिंदा मन कटक्क हुन्छ । कताकता बटारिन्छ र मनका अन्तरकुन्तर रुन्छन् ।

पछि हामी चैनपुरबाट भँगता बसाइ सरियो । पुग्ने खेत, बगैँचाको बारी । छेउमा कलकल बग्ने खोला । पाने र मलिलो माटो देखेपछि बाले बगैँचा बनाउने योजना अघि सार्नुभयो ।

जेटिए झिसमिसेमै आँगनमा आइपुग्न थाले । योजनाको खाका लिएर । बैँकले ऋण पत्यायो । डेढ बिगाहा जग्गामा बगैँचा बनाउने योजना अघि सार्नुभयो बाले । छेउछाउका मान्छे त पहिल्यैदेखि छक्क थिए । जेटिएले समेत बाको आँट देखेर जिब्रो टोके ।

बगैँचा जति सुन्दर हुन्छ, त्यो सुन्दरताको निखार ल्याउन चाहिने मिहिनेत र चाँजोपाँजो कम अप्ठेरो छैन । भित्रैदेखि मनको हुट्हुटी नभई यो सम्भव छैन । हुँदैन पनि ।

बाको मन भित्र सपनाको ठूलो बगैँचा थियो । लहलहाउँदा खेतका गह्राहरु थिए । नमिलेको बेढंगी जग्गालाई बाले नुनिया लगाएर आफ्नो सपना साकार गर्ने अभियानमा लाग्नुभयो । बालाई बगैँचाको सोख थियो । अहिले झैँ ट्याक्टर थिएनन् । ऊ बेला । सबै काम कोदालीले गर्नुपर्ने । पाखुरीनै बजार्नुपर्ने ।

तर बा एक्लै हुनुहुन्थेन । सघाउने दाइ थिए । दाइको पछि लाग्ने फेरि म थिएँ । योजना अनुसार बेर्ना रोपियो । खेत र खोलाको बिचलाई बगैँचा बनाउने योजना अनुसार पश्चिम तर्फ शुरुमा हावाले फल नझारोस् भनी एकलाईन कटहरका विरुवा रोपियो । क्रमश : आँप, लीची, अनारका लाईनहरु पूर्व सर्दै गए । यसरि पूर्वी सिमाना खोला किनार विभिन्न प्रजातीका बाँस रोपियो । बाँसले किनार बलियो बनाउनेनै भयो । थप तारजालीले सबै सुरक्षाको काम गर्यो । विरुवा हुर्कँदै गए । फल दिँदै गए । बगैंचाको बारेमा एक कान दुई कान हुँदै मैदान भने जस्तै प्रचार पायो । राजनैतीक रुपमा सबैलाई नेत्रित्व गर्दै पंचायत कालमा वडा अध्यक्ष देखि उपप्रधान पञ्च, प्रधान पञ्च बन्नु भएका मेरा बा बहुदल पछि राजनितीमा निस्कृय रहनुभयो । कृषीमा बह्ने सकृय ।

अचम्मै भयो । बाको पसिना सिञ्चिएको हाम्रो बगैंचा चितवनमा प्रथम भयो । धान बालीमा त झन बाके देशैभरिको बाजी मारिदिनु भयो, प्रथम भएर । नाम सँगै दाम पनि कमिँदै गयो । त्यो बेला म सोच्थें ‘बा त जतापनि फस्ट ।’ बाले ऋण पनि तिर्दै जानुभयो । घरकालाई त काम पुग्यो नै, छरछिमेकीलाई पनि काम पुग्यो ।

खोला छेउको बगैँचा त हेर्दाहेर्दै लोभलाग्दो भयो । बा त्यहि बगैँचाको हरियालीमा बिहानै पसेर राति अबेर घर आउँदा पनि थकित देखिनुहुन्थेन । बालाई ति सपनाले थकित हुन दिएनन् । बरु सपना साकार भएकोमा मन प्रसन्न देखिन्थ्यो ।

‘हेर छोरा हो, मिहिनेत मात्र गरेर हुँदैन । योजना राम्रो हुनुपर्छ । के के नयाँ कुरा आएका छन् ति सिक्नुपर्छ ।’ फलफूल खान आँगनमा जम्मा भएका मेरा साथी संगतीहरुलाई बाले भन्नुहुन्थ्यो । नयाँ प्रविधि, उन्नत बीउ बिजन, भविष्यप्रतिको द्रिष्टिकोण र योजनाप्रति संकेत थियो बाको ।

आर्थिक, प्राकृतिक मात्रै यो बगैँचाले गुन लगाएन । यहाँ जनयुद्ध कालका धेरै कामरेडहरुलाई राजनैतीक सेल्टरको ठाउँ दियो । एकान्त ठाउँ । भैंसी गोठको टाँण । सुत्न गज्जबको सुरक्षा हुनाले भाग्न सहज हुँदा धेरै कामरेडको आकर्षण थियो यो थलो ।

आजकल जग्गाहरु प्लटिङ भएर खेतीयोग्य जमिन घट्दै गए । मान्छेले छतमा तरकारी फलाउन थाले । होँचा होँचा आँपका बुटा । छतकै गमलामा आँप फल्न थाले । समय फेरियो । समय के भन्नु ? दुनियाँनै फेरियो ।

यो दुनियाँको लहरमा लहरी लहरी म बेल्जियम आइपुगें । मन हरपल आफ्नै बगैँचा, हुर्कि बढेको खेतका गह्राहरुमा हुन्छ । केहि महिना पहिला यहाँको बसाईलाई प्रकृतीसँग जोड्नेगरि अन्य फूल, तरकारी सहित कागती रोप्ने बिचार गरें ।
नजिकैको नर्सरी पसलमा गएर कागतीको बेर्ना किनें । गमला किनें । माटो पनि किनें । आफ्नो बगैँचा सम्झिँदै कागतीको बेर्ना रोपें । केहि हुर्के । फले फुले । केहि फल्दै फुल्दै छन् ।

साना केटाकेटी र बिरुवा मलाई उस्तै लाग्छन् । बिरुवाहरु पनि बोल्छन् । पानी नपाएर झिम्रुक्क भएका बिरुवा देख्दा निराश मानिसको अनुहार जस्तो देख्छु । त्यो बेला कता कता फेरि बालाईनै सम्झिनपुग्छु ।

मल, पानी र पर्याप्त रेखदेख पाएका बिरुवा मलाई घरमा राम्रो वातावरण रेखदेख पाएका प्रतिभाशाली नानीहरु झैँ लाग्छन् । खासै कसैको रेखदेख नपाएपनि भीर पहरा र खोंचमा हुर्केका बलिया बूटाहरु आफ्नै बलले उभिएका विलक्षण प्रतिभाका मानिसहरु झैँ लाग्छ । विरुवासँगको संम्वादले पनि मनलाई शितल दिन्छ । मस्तीस्कलाई प्रफुल्लित पार्छ । त्यसैले त कागतीको बेर्नासँगै मन माडीमै पुग्छ ।

भंगताका खेतका गह्रा र बगैँचाहरुले संम्झना मै किन नहोस मन बेचैन बनाइदिए । सामाजीक रुपमा बा चिनीनु भो । जती सक्नुभो जनसेवा गर्नुभयो । आमा सधैँ घरकै काममा रमाउनु भो । घर धान्नु भो । बाको त्यो सपनामा आमाको समर्थन गएर घोलियो । त्यसैले बूवा समाजको लागि मिठो फलदिने रुख हुनु भो । आमा र दाई त्यहि रुखका जरा बनेर साथ दिनु भो । बाको सपनारुपी जरालाई बलियो पारिदिनुभयो ।

त्यति मात्रै कहाँ हो र ? घरमा आमा असल संस्कार र संस्कृती सिकाउने रुख बन्नुभयो । दाई र बुवा आमालाई साथदिने जरा बन्नु भयो । समयचक्र भनुँ या प्रकृतीको नियम, हिजो चाक्लो मेरो भूगोलमा अभिभावकको ठूलो ओत र मायाको न्यानो काख थियो । आज छ त केवल संझना मात्रै । परदेशमा आफ्नो सानो भूगोलबाटै सन्ततिकालागि अतितका ति पल मथिंगलमा घुमाउँदै भविष्यकालागि पथिक हुन कोसिस गरेको छु । यीनै बोट बृक्षहरुमा अभिभावकको आशिर्वाद रुपी आकृती देख्ने गरेको छु ।

                  लेखक प्रेम पाठक

(बेल्जियम निवासी प्रेम पाठक समाज, संक्रिति, यात्रानुभव र खासगरि राजनितिका बारेमा बेलाबखत कलम चलाउने गर्छन् )

तपाइँको प्रतिक्रिया

फेसबुक