शुक्रबार, कार्तिक १४, २०७७

अनि रवि लामिछाने बन्छन् प्रधानमन्त्री

पदम गौतम२०७७ असोज २३ गते १०:१५

माओवादी बिद्रोह शुरु हुँदाको समयक हो । हामी जोशिला नयाँ पत्रकारहरुका केही जमघट स्थल थिए । त्यहाँ हामी दैनिक सस्तो चिया खाँदै अनेकौं बिषयमा गफिन्थ्यौं । पत्रकारितामा एक वर्षको अनुभव पनि नपुगेका हामी आफूलाई अब्बल नागरिक ठान्थ्यौं । र, अहिलेका युट्युबे विद्वानहरुको स्तरका कतै प्रमाणित पनि नहुने र कसैले खण्डन पनि नगर्ने अनेकौं छाप्न नमिल्ने ‘कथा’का बिषयमा छलफल गरिरहन्थ्यौं । त्यस्ता कथाहरु त्यो बेला युट्युब र फेसबुक नभएका कारण अग्रजहरुका मुखबाटै सुन्नुपर्थ्यो । ती कथाको शैली अहिले यतिबेला सम्झिँदा पनि हाँसो लाग्छ ।

‘राजा र रानी मात्रै थिए अरे दरबारको एउटा कोठामा । रानीले राजालाई दुई झापड हानिन् अरे ! देख्न चाहीँ कसैले देखेनन् अरे । तर यो कुरा सत्य हो अरे !’
‘राजाकी छोरी एउटा सैनिक जवानसँग सल्किइ अरे ! पछि त्यसलाई दरबारमै मारियो अरे ।’

‘स्विस बैंकमा पम्फादेवीका नामले राखेको एक खरब रुपैयाँ रानीले राजालाई दिन्न भनिन् रे !’

‘भूटानी शरणार्थी समाधान नगरी यत्तिकै राखिराख्नका लागि प्रधानमन्त्री हुँदा गिरिजा कोइरालाले जिग्मे सिग्मे वाङ्चुकबाट एक बाकस सुन लिएका छन् अरे !’

‘मदन भण्डारीका हत्यारालाई गिरिजाले राम्ररी चिनेको छ रे ! तिनीहरु एमाले पार्टी भित्र र बाहिर पनि छन् रे !’

‘भारतीय राजदूतले माधब नेपाललाई मासिक तलब दिन्छन् रे !’

यस्ता अनेकौं विषयमा हामीले सयौं हल्ला सुन्थ्यौं । हल्ला गर्नेहरुलाई हामी यस्ता विषयको प्रामाणिकताका बारेमा पनि सोध्थ्यौं । तर कोही गुप्तचरको डिआइजीले भनेको भन्दै आधिकारिकता दिन खोज्थे । कोही दरबारमा आफ्नो मान्छे सचिव भएकाले चुहिएको भन्थे । कोही सरकारमा रहेका मन्त्री र अन्य त्यस्तै निकायतिर औंला देखाउँथे । हामीलाई भूपि शेरचनको कविताले भनेको कुरा ‘यो हल्लै हल्लाको देश हो’ भन्ने कुराको मनन गर्न पनि समय हुँदैनथ्यो । म चाहीँ अझ यस्ता कुरामध्ये कुनै एउटा मात्र विषय प्रमाणित गर्न सके ‘स्कूप मार्न’ सकिने ध्याउन्नमा हुन्थेँ ।

तर, अठार वर्ष मिडियामा मात्र काम गर्दा पनि त्यस्तो बिषय कहिल्यै हात लागेन । यस्ता विषय मात्र हैन कि खोज्नैपर्ने अनेकौं गम्भीर विषयका समाचार खोजेर ल्याउन सकिएन । समाचार मात्र हैन, चर्चित् किताब नै लेख्ने मेरो पुस्ताका साथीहरुले पनि ती बिषय अहिलेसम्म बाहिर ल्याउन सकेका छैनन् ।

यो सन्दर्भसँग जोडिने गरि एउटा सानो तर रोचक घटना छ मसँग । गत वर्षको एक मध्यान्ह म काम गरिरहेको थिएँ । बिराटनगरबाट पोर्चुगल आएको भाइ सरोजले भाइवरमा कल गर्‍यो । मैले नउठाएपछि मोबाइल सेलमा नै गर्‍यो । केहि खास कुरा नै छ कि भन्ने लागेर अली उत्ता छेउमा उभिएर कुरा गरेँ । ऊ अत्तालिएर बोलेको सुन्दा शुरुमा त खास कुरो रहेछ भन्ने नै लाग्यो । तर एकछिन पछि भन्यो, ‘दाइ रवि लामिछाने त प्रधानमन्त्री हुने भएछ नि !’

महिना अगस्ट थियो । अप्रिल फुल हुनै सक्दैन भन्ने मेरो दिमागमा आयो । र झट्टै सम्झिएँ, कसैले फेसबुकमा लेखिदिएको हुनसक्छ । छोटो गफ गरेर फोन राखेँ । साँझ काम सकिएपछि फेरि सरोज भाइलाई फोन गरेँ । उसले विश्वस्त हुँदै भन्यो, ‘तपाईं नेपालको पत्रकार मान्छे, थाहै छ नि । सम्भावना नै नभएको कुरा कहाँबाट आउँछ त !’

उसले युट्युबको लिङ्क पठायो । मैले थम्बनेल कि के भन्ने हेरेँ, एक्लै हाँसे । सरर फरवार्ड गरेर त्यसमा भएका सामग्रीको सार पनि हेरेँ । संसदमा त के कतै राजनीतिमा पनि नरहेका मिडियाकर्मी लामिछाने प्रधानमन्त्री बन्ने एउटै आधार रहेछ । त्यो हो, ‘उनका समर्थकले उनी गिरफ्तार भएको बिरोधमा लगाएको नारा ।’

पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा थुनामा परेका लामिछानेका समर्थकले चितवनमा नाराजुलुस गरेका थिए । त्यहाँ एउटा नारा रहेछ,‘रवि लामिछानेलाई प्रधानमन्त्री घोषणा गर !’ यहि एउटा नाराका आधारमा युट्युबेहरुले सनसनीपूर्ण समाचार बनाएर हालेका रहेछन् । जनताले परिवर्तन चाहेका छन् । रविजस्तै जनताको काम गरिदिने मान्छेले हरेक क्षेत्रमा देश कब्जा गरेको हेर्न चाहन्छन् । यहि कुरालाई त्यो युट्युबले क्यास गरेको थियो ।

मलाई फोन गर्ने सरोज भाइ बिराटनगरवासी हो । उसले बिगतमा कलेज पढ्दा अलिअलि राजनीति पनि गरेको थियो । जमानामा कमर्स पढेर उसले मास्टर्स अर्थात् त्यतिबेलाको भाषामा एमकम पनि गरेको थियो । विदेश आएर भेटेको काम गर्दै प्रवासी नेपाली हुने लाइनमा लागेको ऊ मुलुकमा व्यवस्था, सिद्दान्त, पद्दति तथा शासन छ र हुन्छ भन्ने कुरामा विश्वस्त थिएन । हाम्रो राजनीतिप्रति जनताले गरेको अविश्वासको एउटा चरम उदाहरण हो यो । अहिले चाहीँ म यस विषयतिर नगइ फेरि फेसबुक र युट्युबतिरै फर्किन्छु ।

फेसबुकमा दैनिक अनेकौं बिषयका ‘ट्रोल’ निस्कन्छन् । मनोगत रुपमा आफूलाई लागेको एउटाले लेख्छ र शेयर गर्छ । उसको साथीको संख्याका आधारमा त्यो बिषय भाइरल बन्छ । त्यसमा कुनै आधार हुनुपर्दैन । एउटा अनपढ र नेपाली राजनीतिको ‘र !’ पनि नबुझेको मान्छेले यस्ता विषय पत्याउनु नौलो हैन । राजनीतिबाट वाक्क भएका र मुलुकमा कतै पनि प्रणाली नदेखेका मान्छेका मनमा पनि सपना छन् । तिनीहरु पनि शिक्षित मान्छेको जस्तै आफ्नो देश पनि ‘युटोपिया’ बनेको हेर्न चाहन्छन् । राज्यले गर्न नसकेका काम गरिदिने रविहरु तिनका लागि भगवान लाग्छन् । र, आफूले भर्खरै चलाउन थालेको फेसबुकमा आफ्नो मनमा लागेका कुरा भेट्छन् । तर, शिक्षित भनिएका व्यक्तिहरुको मानसिकता चाहीँ यहाँनेर अलिक पाखण्डपूर्ण देखिन्छ । मेरो भाइसाथी सरोज मार्काका शिक्षितहरु यही बिडम्बनामा बाँचिरहेका छन् । यो बिषयमा कुरा गर्दा त्यस्ता मान्छेबारे थोरै चर्चा गर्नैपर्ने हुन्छ ।

समाजको चेतनास्तर अनुसार शिक्षित वर्गमा पर्ने त्यो समूहलाई क्रान्ति निकै मन पर्छ । तर, त्यो क्रान्ति अर्काले गरिदिनु पर्छ । उनीहरुलाई देशमा कांग्रेस र नेकपा ‘खानका काल’ मात्र हुन् भन्ने थाहा छ । तर, तिनीहरु चुनावको समयमा तिनैलाई भोट हाल्छन् । आफैं वा घरका भाइभतिजालाई चुनावमा सक्दो कमाउने बाटो सिकाउँछन् । तिनलाई भ्रष्टाचार मन पर्दैन । तर तिनीहरु नै समाजमा धेरै कमाउनेलाई धनी भएकै आधारमा सम्मान गर्छन् । तिनलाई सोर्सफोर्स मन पर्दैन । तर उनीहरु नै बिजुलीको बिल तिर्न लाइनमा नबसी सोर्स लगाउँछन् । त्यो वर्गलाई शिक्षाको स्तर बिग्रिएर देशको शिक्षा प्रणालीले नै दुई थरी नागरिक उत्पादन गर्दा भित्रभित्र पोल्छ । तर, निजी विद्यालयमा लगानी गर्ने र सबैलाई निजी स्कुलमै पढाउने कामलाई समाजमा स्थापित गर्नेपनि उनीहरु नै गर्छन् । उनीहरु निजी मेडिकल कलेजले डाक्टरी प्रमाणपत्र बेच्ने गरेको महसुस गर्छन् अनि डा। गोबिन्द केसीका पक्षमा उभिन ‘तर’ शब्दले रोकिन्छन् ।

हो, यहीँनेर यिनै कारणले देश पटकपटक अपराधीहरुको हातमा पर्छ । जताततै खुलेआम भ्रष्टाचार शुरु हुन्छ । केन्द्रदेखि वडासम्म । तीन तहको सरकार हेर्दा तल्लो तह वडामा हारेका राजनीतिक कार्यकर्ताले समेत भागबण्डा पाउँछन् । कतै केहि नभए नदीको गिट्टी, बालुवा, वन वा स्थानीय ठेक्कामा तिनको कब्जा हुन्छ । पटक पटक जनताका ‘सर्वोत्तम छोराछोरी’ मरेर ल्याएको व्यवस्था संस्थागत नहुँदै थोत्रो हुन्छ । माथि बिग्रियो भन्दै तल बस्नेहरु चुहिएका थोपाथोपी खाएर आफूलाई पनि अपवित्र बनाउँछन् । यस अवस्थामा युट्युब वा फेसबुकमा सामग्री पस्किइन्छन्– अब रवि लामिछाने प्रधानमन्त्री बन्ने ! रमेश खरेल गृहमन्त्री, कुलमान घिसिङ् ऊर्जामन्त्री र रमेश प्रसाईं शिक्षामन्त्रीमा पक्का ! मानौं यी पात्रहरुले चुनाव जित्नै पर्दैन । अथवा अर्को एउटा जनक्रान्ति भइसक्यो । राज्यका बर्तमान सबै संरचनाले आत्मसमर्पण गरे । जनताले आन्दोलनका बलमा यिनलाई पद दिइसके ।

यो अवस्थामा राज्यमा कुन सामग्री कहाँबाट ‘अपडेट’ हुँदैछ, त्यसले आम जनताको मानसिकता बिगार्ने काम कसरी गरिरहेको छ भन्ने अध्ययन गर्ने निकाय देशमा छैन । अर्कोतिर सबैलाई आदर्श राज्य चाहिएको छ । आकाशबाट पानी बर्सिएझैं बर्सिने । यहीँनेर सयौं युट्युब च्यानल भ्यु बढाएर कमाउन आतुर छन् । तिनका लागि उपलब्ध छन्, बिगतमा राम्रो पृष्ठभूमि भएका केही कुण्ठित बौद्धिकहरु । जसका चर्का कुराले त्यहि भन्छ, जसले बढि भ्यू पाउँछ । फेसबुक र युट्युब हेर्दाहेर्दा जनताले साँच्चै पत्याउँछन्–अब रवि लामिछाने प्रधानमन्त्री बन्छन् ।

अन्तिममा यस्ता आकस्मिक घटनाक्रमको सपना देख्नेहरुले रवि लामिछाने वा कोही आदर्श पात्र प्रधानमन्त्री भएको हेर्ने हो भने त्यो पात्रले राजनीति गर्नुपर्छ भन्ने बुझ्नुपर्छ । दोस्रो, ओली, प्रचण्ड, देउवा या अहिलेका जीवित नेताको ‘कार्टेलिङ्’ तोड्ने हो भने नयाँ राजनीतिक शक्तिको उदयमा साथ दिनुपर्छ । नत्र क्रान्ति त्यत्तिकै हुँदैन भन्ने यो समुहले बुझ्नुपर्छ । र, के पनि बुझ्नुपर्छ भने क्रान्ति असम्भव हैन र त्यसका लागि क्रान्तिप्रेमीहरुले पहल नगरे अरुले गर्दैनन् । पंक्तिकारलाई रवि लामिछानेका बिषयमा केही टिप्पणी गर्नु छैन । अन्तिममा फेरि उनकै समर्थकहरुलाई केवल एक वाक्य–अहिलेका हर्ताकर्ताहरुको विकल्पमा लाग्नोस् आफ्नो ठाउँबाट । अनि मात्र रवि लामिछाने प्रधानमन्त्री बन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक