मंगलबार, वैशाख ४, २०८१

राजदूत भएर के भएको छ र नभएर पनि के हुन्छ ?

ऋषी पल्लव२०७७ असोज २६ गते १०:०५

म्युजिक भिडियोमा राजदूत दुबसु क्षेत्री दम्पत्ती

जर्मनी- कुटनीति र कुटनीतिक संजालमा हरदम व्यस्त रहने परराष्ट्र मन्त्रालयभित्रका कर्मचारीहरु के–कहाँ हराइरहेका छन् त ? द्धैपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय सरोकारका असंख्य मामलाहरुमाझ दिमाग लडाउनुपर्ने प्रशासनयन्त्रकै ‘क्रिम’ यो वर्ग कता लखडाइरहेका होला ?

राजनीतिक र कुटनीतिक बाँडफाँडका आधारमा राजदूत पदमा नियुक्ति पाउन एकातर्फ हानथाप त हुन्छ नै, अर्कातिर पदमा पुगेपछिको घोडादौड पनि रमाइलै देखिन्छ । जस्तो— साउदी अरेबियामा बिगतमा नियुक्त राजदूत हमिद अन्सारी (एमाले) ले मृतक कामदारको क्षतिपूर्ति रकम आफ्नो कोटको खल्तीमा राखेर बद्नाम कमाए भने कतारमा नियुक्त राजदूत मायाकुमारी शर्मा (माओवादी) ले ‘कतारलाई जेलजस्तै मुलुक’ भनेर घरफिर्तीको बाटो रोजिन् । अहिले चीनमा नियुक्त राजदूत महेन्द्र पाण्डे (नेकपा) ले ‘भारतीय मिडियाले नेपाल–चीन सम्बन्ध बिगार्न खोजेको भन्दै’ अनौठो कुटनीतिक बहस उतारिरहेका छन् भने युएइमा रहेका राजदूत कृष्णप्रसाद ढकाल (परराष्ट्र) ले ब्रुज खलिफाको भित्तोमा नेपालको झण्डा फहराएरै आफ्नो कामको कीर्तिमान देखाउन बल गरिरहेका छन् । भारतमा नियुक्त राजदूत निलाम्बर आचार्य (एमाले) भने विश्व स्वास्थ्य संगठनको अनुरोध अनुसार ‘कोरोना कहरमा ‘७० बर्षमाथिका नागरिक घर बाहिर ननिस्कनु’ भन्ने उर्दीको आज्ञापालन गर्दै ६ महिनायता दूतावासभित्रै गुप्तबास बसिरहेका छन् । त्यस्तै, चर्चित यति ग्रुपसम्बद्ध राजदूत दावा फुट्टी शेर्पा (एमाले) भने स्पेनमा बसेर के गरिरहेकी छिन्— उनैलाई थाहा छैन ।

 बिगतमा ब्राजिलमा रहेका राजदूत प्रद्युम्नबिक्रम शाह (सन् २०१२, परराष्ट्र)ले त्यहाँ छँदा लु जुरेट्टी नामकी एकजना विदेशी महिलासँग झण्डै अर्धनग्न अवस्थामैं एकपटक होइन, धेरैपटक फेला परे । स्वीमिङ पुलमा कहिले र मदिरा पार्टीमा कहिले रमझम गरिरहेका भेटिने ती राजदूतको फेसबुक कमेन्टमा कुवेतमा रहेका अर्का राजदूत मधुवन पौडेलले लेखेका थिए—‘वाउ, आइ एम सो जियलस !’

नेपालजस्तो गरीब र विकासोन्मुख राष्ट्रका हकमा बाहिरी विश्वमा पुगेर कुटनीतिक ओहोदाको प्रमुख हुँदैमा के फरक पर्छ ? सुविधाको गाडी, बसोबास वा एउटा हाइफाइ ककटेल पार्टीको मोलाहिजा बाहेक अरु के–के पदीय गरिमा राख्ने कुरा हुन सक्लान् ? भन्न मुश्किल छ । कतिपयले भन्छन्— नेपाली राजदूत भएर विदेश मुकाममा पुगेपछिको एउटै ससर्त काम हुन्छ— माँग्ने र मागिरहने । जसले जे जति सहयोग, अनुदान ल्याउन सक्यो— त्यहि सफल राजदूत ।

अथवा, ठूला हिसाबका भ्रमणहरु जो जसले गराउन सक्यो— त्यहि सफल राजदूत । जस्तो— पछिल्लो ५ बर्षको गणनामा चीनबाट राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण गराउन राजदूत लिलामणि पौडेल ‘सफल’ रुपमा चिनिन्छन् । तर, उनै राजदूत पनि कुनै कारवाहीको भागिदार झैं बनेर ‘१५ दिने बाटाको म्याद राखेर’ घर फिर्ता बोलाइए ।

अहिले संसारलाई दातृ सहयोगका नाममा लठ्ठै बनाइरहेको अमेरिकी एमसीसी परियोजनाबाट नेपाललाई ५० अर्व रुपैयाँभन्दा बढि रकम आउन सक्ने कुराम पूर्ववर्ती राजदूत शंकर शर्मा (कांग्रेस) देखि अर्जुन कार्की (एमाले) सम्म ज्यान दिएर लागेकै हुन् । तर, कोहि पनि सफल देखिएनन् । यसको अर्थ उनीहरुको हारगुहारले कुनै दाल गलेको देखिएन । अब यहि कारण दाल गलाउने शर्तमा प्रधानमन्त्री केपी ओलीका एकमात्र प्रियपात्र पूर्व गवर्नर, पूर्व योजना आयोग अध्यक्ष, पूर्व अर्थ मन्त्री एवं पूर्व आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिका जाने भएका छन्, महामहिम बनेर । अब सुरु हुनेछ— अर्को एमएमसी कब्बडी ।

नेपाली राजदूत भएर विदेश मुकाममा पुगेपछिको एउटै ससर्त काम हुन्छ— माँग्ने र मागिरहने । जसले जे जति सहयोग, अनुदान ल्याउन सक्यो— त्यहि सफल राजदूत ।

एउटा अहम् सवाल उब्जन्छ— कुनै कुटनीतिक नियोगमा राजदूत भएर के हुन्छ ? अथवा नभएरै के हुन्छ ? जस्तो बिगतमा ब्राजिलमा रहेका राजदूत प्रद्युम्नबिक्रम शाह (सन् २०१२, परराष्ट्र)ले त्यहाँ छँदा लु जुरेट्टी नामकी एकजना विदेशी महिलासँग झण्डै अर्धनग्न अवस्थामैं एकपटक होइन, धेरैपटक फेला परे । स्वीमिङ पुलमा कहिले र मदिरा पार्टीमा कहिले रमझम गरिरहेका भेटिने ती राजदूतको फेसबुक कमेन्टमा कुवेतमा रहेका अर्का राजदूत मधुवन पौडेलले लेखेका थिए—‘वाउ, आइ एम सो जियलस !’

चारित्रिक र नैतिक मानमर्दन भैसक्दा पनि र सबैतिर हुर्मत लिने खालको समाचारमा छाइसक्दा पनि राजदूत शाह गलेनन्, न उनलाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको थियो । किनभने उनी परराष्ट्र कोटाका राजदूत थिए, राजनीतिक कोटाका राजदूत थिएनन् । यसकारण पनि परराष्ट्र मन्त्रालयभित्र एउटा परिपाटी स्पष्ट छाएको देखिन्छ जहाँ ‘डिप्लोम्याटिक’ र ‘नन–डिप्लोम्याटिक’ बर्ग–संघर्ष देखिन्छ जसले पुरापुर प्रमाण र आधार नखोजी राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई स्पष्टिकरण लिइहाल्छ अथवा फिर्ता बोलाइहाल्छ । तर, परराष्ट्रको कुटनीतिक कोटामा गएकाहरु केहि गरेपनि, अथवा केही नगरेपनि हुन्छ— महामहिम रहिरहन्छन् ।

जस्तो— २ वर्षदेखि दक्षिण कोरिया, श्रीलंकाजस्तो महत्वको मुलुकमा राजदूत नरहेरै पनि आखिर के भएको छ ? अथवा, २ बर्षसम्म राजदूत रिक्त रहेर भर्खरै मात्रै सिफारिशमा परेका दक्षिण अफ्रिकाका लागि राजदूत निर्मल विश्वकर्मा अफ्रिका गएर के गर्छन् ? अथवा बितेको २ बर्ष त्यहाँ राजदूत नहुदै पनि के बिगार भएको थियो ? अथवा, ब्राजिल भन्ने देशका लागि ताराप्रसाद पोखरेल नामका परराष्ट्र सहसचिव राजदूत छन् भन्ने कसलाई कत्तिको थाहा होला ? अथवा, ब्राजिलका राजदूत र दूतावासले नेपालको विकास–समृद्धिका लागि के सहयोग, समन्वय र सद्भाव जुटाउन सकेको छ ? यसको खोज–अनुसन्धान परराष्ट्रकै बहीखातामा पनि भेट्न मुश्किल छ ।

परराष्ट्रका कवि–लेखकहरु

परराष्ट्र मन्त्रालयमा कवि–लेखकको एउटा संजाल छ— प्रत्यक्ष देखिने अथवा परोक्ष मात्रै देखिने । पुरानामा कुमार ज्ञवाली, मुरारीराज शर्मा, मधुवन पौडेलदेखि नयाँमा मदनकुमार भट्टराई, मोहनकृष्ण श्रेष्ठ, दुबसु क्षेत्रीसम्म । आक्कलझुक्कल छन्द कविता लेख्नेमा कृष्णप्रसाद ढकालदेखि भरतकुमार रेग्मीसम्म साहित्यकारको सूचीमा जोडिने क्रममा छन् । चिया पसलमा बसेर कनिकुथी कविता लेख्ने र मन्थन गर्नेहरु त धेरै छन्, परराष्ट्रभित्रै ।

तर, यतिखेर बेलायतस्थित राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) सर्वाधिक चर्चामा छन् । उनको भर्खरै रिलिज भएको ‘दुख्ने मुटु’ गीतको म्युजिक भिडियोले उनको (सपत्नी) अभिनय प्रतिभा समेत देखाएको छ । आफ्नो ४ वर्षे कार्यकालको अन्तिम घडीमा उनले ल्याएको म्युजिक भिडियोमा लण्डनस्थित दुतावासका अरु कर्मचारीहरु (शरदराज आरन र तेजेन्द्र रेग्मी दम्पति) समेत अभिनय देख्न सकिन्छ । राजदूत दुबसुको सपत्नी मायाप्रेमको राम्रो दृष्य कैद भएको छ । तर, अहम् प्रश्न के मात्रै हो भने— एउटा राजदूतको जिम्मेवारीभित्र के–के पर्छ ? त्यसमाथि बेलायतजस्तो प्रमुख दातृ मुलुक, अन्तर्राष्ट्रिय सहयोग र सम्पर्कको केन्द्रमा रहेका राजदूत अझ कति जिम्मेवारीले भरिएका होलान् ?

यतिखेर बेलायतस्थित राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) सर्वाधिक चर्चामा छन् । उनको भर्खरै रिलिज भएको ‘दुख्ने मुटु’ गीतको म्युजिक भिडियोले उनको (सपत्नी) अभिनय प्रतिभा समेत देखाएको छ ।

हो, बेलायतका हकमा ब्रिटिश गोर्खा सैनिकको समान तलब तथा सुविधाको मुद्धा कहाँ अल्झेको छ ? नक्कली विश्वबिध्यालय र ठग कन्सल्टेन्सीको भरपर्ने हुँदा अघिल्लो महिना मात्रै बिचल्ली भएका १२ सय बिध्यार्थीको अहिलेको स्थिति के छ ? लण्डनको दूतावास र राजदूतले यो समस्या समाधानमा के उपाय निकाल्न सके ? द्धन्द्धकालिन मुद्धामा आरोपित रहेका कर्णेल कुमार लामाको केसजस्तै बेलायतमैं अल्झेर बसेका नेपाल सम्बन्धका अरु द्धन्द्ध निरुपणका मुद्धा कति छन् ? नेपालको सबैभन्दा ठूलो विकास सहयोगको दातामध्ये रहेको बेलायतले पछिल्ला वर्षमा सहयोग किन यथास्थितिमा (र केहि क्षेत्रमा घटाउँदै लगेको) राखेको हो ? आफ्नो ४ वर्षे कार्यकालमा भएको प्रगतीबारे गीतकार राजदूत दुबसूले जवाफ दिइरहनु नपर्ने हो ? कि यहि उनकै गीतजस्तो ‘लेख्नेले जे लेखिदिए नि हुन्छ’ भनेर उम्कँदै हिँडेर मात्रै पुग्छ !

नेपालमा लामो समयदेखि बिदेशी नियोग प्रमुखको रुपमा राजनीतिक ब्यक्तित्वहरुलाई नियुक्ती दिने प्रचलन जस्तै बनेको छ । त्यसका धेरै कारण मध्ये राजनितिक पार्टी अथवा त्यसका सर्वेसर्वाहरुको अभिष्ठ पुरा गर्नु । स्वाभाविक हो, यसरि हुने नियुक्तीहरुले कुटनैतीक क्षेत्रमा राष्ट्रका लागि उल्लेख्य काम गर्न सक्दैनन् र यो आलोच्य पनि हुँदै आइरहेको छ । आलोचना गर्नेमा परराष्ट्र सेवाकै अधिकारीहरु बढि छन । तर परराष्ट्र सेवा र कुटनैतिक क्षेत्रमा लामो अनुभव सँगालेकाहरुको अवस्था राजनीतिक नियुक्तिहरु भन्दा झन दुर्दान्त छ । पछिल्ला वर्षहरुले के देखाएका छन् भने नेपालको कमजोर अवस्था राजनैतीक अवस्थालाई देखाएर कुटनितीको खिल्ली उडाउने काम गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया