शुक्रबार, कार्तिक १४, २०७७

भाले साटेर भाले- भुटन, रक्सी र चामल’

ददि सापकोटा२०७७ असोज १५ गते १:४८

सन् २०१५ को विशाल भूकम्पले मानिस भोकमरीमा परे । त्यहि बेला हामी मकवानपुर जिल्ला महाभारत पर्वतको चेपाङ बस्ति जेखिडाँडातिर जाँदै थियौं । राहत बाँड्नु अघि त्यो गाउँमा कति छन् भूकम्पले गर्दा भोकमरीमा परेका भनेर बुझ्न । मनोहरी खोलाको तीरैमा पुग्दा एक महिला भेटिईन् । रातो लोकल भाले काखिमा चरप्प च्यापेकी । खोलाको गेगर, गिट्टी र वालुवामा मरङमरङ खाली खुट्टा हिँडेर मनोहरी बजार हानिँदै गरेकि । ‘यो भाले पक्कै बेच्न लान लागेको हुनुपर्छ ।’ अड्कल काटें ।

जेखिडाँडा हिँड्दाका मेरा सहयात्री योगेश अधिकारी । पछि राहत बाँड्न जाँदा गामवेशी चेपाङ केन्द्रका प्रमुख केपीकिरण शर्मा सँगै थिए । फेरि त्यस्तै रातो रङको लोकल कुखुरो काखीमा च्यापेको देखेपछि हामीले शर्मासित जिज्ञासा राख्यौं । चेपाङ भाषा जान्ने शर्माले भाले च्यापेकी आमैसित चेपाङ भाषामा छोटो बातचित गरे । आमै मनोहरीमा भाले दिएर फेरि त्यसको सट्टा अर्को भाले, भुटन, मसला र थोरै रक्सीसमेत ल्याउन हिँडेकि रहिछन् । केपी किरणले ‘भाले साटेर भाले र भुटन, रक्सी र चामल’ भने । हामी अक्क न बक्क पर्‍यौं । भाले ल्याउनु छ भने फेरि किन भाले साट्ने ?

मैले भनें ‘सर्लक्क शिउर निस्केको । रातो । पिँडौला पोटिला । कान मुन्तिरको लुर्कनपनि घिरौंला झैं तुर्लुङ्गै झुण्डिएको । लोभलाग्दो थियो भाले । यो भाले पोथीहरुकाबिच त्यो गाउँभरिनै ‘सेक्सी’ र बहुत रुचाइएको हुनुपर्छ । यसले डाँडाकाँडाका वस्तिमा धेरै सन्तती फैलाएको हुनुपर्छ । यसको लचक्कको पोटिलो ज्यानले धेरै पोथीहरुलाई मस्किने बनाएको हुनुपर्छ । यसले नेपालको झण्डा जस्तो ठाडो शिउर फहराउँदा पोथीहरुले कर्कीकर्की हेरेको हुनुपर्छ । लुते, मन्च्याँसे, ख्याउटे, झुस्याहा भालेहरु यसलाई देख्नासाथ ‘बित्याँस पार्छ, न्याँक्छ’ भनेर सुइँकुच्चा ठोक्ने गरेको हुनुपर्छ ।’ साथीहरु हाँसे ।

‘राहत बाँडेर फर्केपछि कतै लगेर चिरिप्प पार्न हुन्छ । किनौं कि क्याहो ?’

केपी किरण शर्माले भने ‘भाले बेच्न लैजान लागेको हो । तर हामीलाई बेच्दैनन्’ ।

‘बेच्न हिँडाएको हो भाले तर बेच्दैनन् ? बुझिएन ।’ म उत्सुक भएँ ।

तर कहानी फरक रहेछ । यो पहाडी बस्तिका चेपाङ जातिहरुको रमाईलो, मोजमस्ति गर्ने पारा गज्जबको रहेछ । घरमा स्थानिय जातका (लोकल) कुखुरा पाल्ने । भाले ज्याङ्गो भएपछि त्यसलाई स्थानिय बजारमा लैजाने । लोकल भालेका पारखीहरु जतिपनि पाइन्छन् । बजारमा लगेर पसलेलाई लोकल भाले दिने । भालेको ठाउँमा उसले ब्रोइलर भालेनै दिन्छ । अझ ठूलो । त्यो भाले दिएर पसलेले कि त केहि रकम थपिदिन्छ । त्यो रकमले थोरै भुटन, अलिकति खुर्सानी, मरमसला र चामल समेत किन्ने । कि त भाले साटेर एक दिनलाई केहि जनाको परिवारलाई पुग्ने चामल, भुटन र मरमसला लिने ।  विनिमय प्रणालीमा । ब्रोइलर भाले काटेर मासु र भात खाने, रक्सि पिएर मस्ति लिने । बेलुका झुम्म भएर राती मादल बजाएर नाच्ने । रमाईलो गर्ने । गज्जबको जिन्दगी !

लोकल भाले काटे चामल, नुन, तेल र भुटन, रक्सी हुन्न । लोकल भाले साटे यो सबै पुग्छ ।

त्यसको केहि महिनापछि हामी फेरि महाभारतपर्वतकै उपरदाङ गढितिर गयौं । घुमघामकालागि । काउलेको डाँडातिर एक जना बा उसैगरि सेतो कुखुरो काखीमा च्यापेका भेटिए ।

यो पटक अलि फरक थियो द्रिष्य । उनी शहरबाट गाउँतिर उक्लँदै थिए । उनको झोला आधाउधि भरिएको थियो । आधा भरिएको उनको झोला फिताले टिमिक्क पारेका थिए । कुखुरो सेतो ब्रोइलर थियो । उनले पनि भाले साटेर ब्रोइलर च्यापेका रहेछन् । झोलामा उसैगरि नुन, खुर्सानी, तेलसेल, बोइलरलाई फर्ल्याङफुर्लुङ पार्ने भुटनको जोहो रहेछ । यो पहाडी वस्तिमा चेपाङबाहेकका अन्य समूदायमापनि यो चलन रहेछ भन्ने मेसो पाइयो ।

तैपनि चेपाङ जातिमा भने यो अन्यत्र, अन्य समूदायको भन्दा फरकनै रहेछ । धेरै चेपाङ जाति यस्तै हुने रहेछन् । लोकल कुखुरा बेचेर बोइलर भालेसित साटीसाटी घरको गर्जो टार्ने र रमाईलोपनि गर्ने ।

चेपाङहरु अनौठा, ईमान्दार, सोझा जाति हुन् । यो पहाडी वस्तिमा यिनको जिवन गिठा, भ्याकुर र जंगली कन्दमूल खोजेरै बित्छ । यिनको मुख्य आम्दानीको स्रोत भनेकै लोकल कुखुरा पाल्ने । भिर माहुरी खोजेर मह बेच्ने । रुखो पाखामा थोरै कोदो लगाउने । यिनलाई पहाडी बस्तिमा फल्ने अन्य फलफूलका खेति लगाउन न कसैले सिकायो । थोरै सिकाउँदापनि यिनले सिकेनन् । पहाडी चिसो हावापानीमा मौसम अनुसार हुने सागसब्जी लगाउने ज्ञानपनि यिसित छैन । पूर्खादेखि गिठा, भ्याकुर र कन्दमूल खोजेरै यिनको जिवन बित्छ । चिउरीका रुख यिनको नगद आम्दानी गर्ने मुख्य स्रोत हो ।

यिनीहरुको वस्तिमा लोभ, लालच, इर्ष्या, छलकपट भन्ने हुन्न । यो समूदायको अर्को चम्मको चलनपनि केपी किरण शर्माले सुनाए । चेपाङ बस्तिमा भोकमरी लागे सिंगो गाउँलाई एकै पटक लाग्छ । पेटभर खान कसैलाई पुग्छ भने सिंगो गाउँलेलाई पुग्छ ।

किनभने चेपाङ यस्तो जातिय समूदाय हो जो सिंगो समूदायको चासोमा विश्वास गर्छ । समूदायभित्र कोहि भोकै रहने र कसैले टन्न खाने यिनको समूदायमा पच्दैन । कुनैपनि घरमा आहार रहुन्जेल बाँडेर जति पुग्छ त्यत्ति खान्छन् । पुगे सबैलाई पुग्यो । नपुगे सिंगो समूदायलाई पुग्दैन । र ति फेरि सामूहिकरुपमै खोलाका माछा मार्न हिँड्छन् । कि त गिठा र भ्याकुर, निहुरो र कुरेलो, जंगली सागपात खोज्दै वनवनै चहार्छन् । कि त झिर बोकेर कालिज र वनकुखुरा खोज्ने ध्याउन्नमा लाग्छन् ।

जेखिडाँडाका केहि स्थानियलाई भेट्यौं । अवस्था बुझ्यौं । मर्कामा परेका, खानै नभएका चेपाङहरुको नामावली तयार पार्न भनियो देव प्रजालाई । पर्सिपल्ट हामीलाई प्राप्त सूची अनुसार राहत ट्याक्टरमा लिएर गइयो । तर राहत बाँड्ने बेला त हामीलाई दिएको सूची भन्दा अलि भिन्न आयो । केहि मान्छे थपिए ।

हामीलाई समस्या पर्‍यो । सूची अनुसारको चामल, नुनका पोका, तेलका बोत्तल, आलु आदि ठिक्क पारेर लगिएको थियो । बाँकिलाई कसरि दिने । तत्कालै किन्न त्यहाँ पसलपनि थिएन । त्यो अनुसारको नगद हाम्रो गोजीमा नहुनपनि सक्थ्यो । के गर्ने त ? अप्ठेरोमा परियो ।

केपी किरणले फेरि कुरो गरे । चेपाङहरु त्यहाँ जे जती छन् त्यहि बाँड्चुँडी लान तयार भए । बरु नुनका पोका गाउँमै लगेर बाँड्ने सहमति गरे । तेलपनि उतै लगेर आधा आधी पारम्ला भन्न थाले । हामी मुखामुख गर्‍यौं । मान्छे तोकेर ल्याएको खाध्यान्नका बोरा, बोत्तल र पोका हामीले कसरि फोरेर बाँड्नु ? तर उनीहरु एक दुई जना चेपाङपनि रित्तो हात फर्किएको देख्न चाहेनन् । ड्याम्म ड्याम्मका भारी बोकेर जान भन्दा फुटाएर सबैले बरोबरि बाँडेर लैजान उनीहरु प्रफुल्लित देखिए । देव प्रजाले भने ‘सर उहाँहरु कसैलाईपनि रित्तो हात पार्न चाहनुहुन्न । बरु जति छ सप्पैले बराबर बाँड्न पाउँदा बढि खुशि हुनुहुन्छ ।’

त्यो किनपनि रहेछ भने आखिर केहिले गह्रुंगा भारी बोकेर त्यो डाँडोको वस्ति घरघरै पुगेपनि सबैले बाँडेरै खाने रहेछन् । गाउँमा लगेर सबैले बाँड्नुनै छ भने यहाँ किन मन अमिलो पार्नु ? दुखि बनाउनु ? भारीपनि त सबैले बरोबरि बाँडेकै राम्रो । नेपालमा यस्ता सोझा, ईमान्दार जाति अरु कति होलान् ? यो कुरोले मन चिमोटिराख्यो । अझैपनि लागिरहन्छ, यति सोझा, पानीको मूलभन्दापनि कन्चन मन ह्रिदयका जाति नेपालमा छन् । घरमा एक गेडो अन्न र एक छिर्को तेल नहुँदापनि सिंगो गाउँलेको दुख र पीडा बुझ्ने यस्तो जाति कुन जिनले बनेको होला ?

तपाइँको प्रतिक्रिया

फेसबुक