शुक्रबार, वैशाख ७, २०८१

परिवर्तनको पालो अब पुरुषको

सिर्जना काफ्ले२०७७ असोज २९ गते १०:५८

केहि दिन पहिले आफूलाई बौद्धिक भन्ने एक भद्रभलादमी गफ्फिँदै थिए, महिलाहरुका शत्रु महिला नै हुन् । यो समाजमा पुरुषका शत्रु पुरुष छैनन् ? कि पुरुषहरु समाजमा सधै सबैसँग मिलेर बसेका छन् ? पुरुष ‘इगो’ कै कारण समाजमा मारकाट, हिंसा, बलात्कारले सिकार भएको कुरा समाजले कसरी बिर्सन सक्छ ? दिनै पिच्छे बालिका बलात्कार जस्ता जधन्य अपराध यो समाजमा कोबाट भएको छ ? आज हरेक महिलालाई आफ्नो जीवनमा विविधखालका हिंसाबाट पिडित बनाउने को हो ? त्यहि पुरुषको तर्क महिलाको शत्रु महिलानै हुन भन्ने तर्क कति तर्कसंगत छ ?

माथि नै चर्चा गरिसकिएको छ । शक्ति हुनेले शक्तिहिनलाई दमन गर्छ । शोषण गर्छ । यो सर्वमान्य हो । यो सोच महिलामा हुँदैन भन्ने होइन । तर यो समाज को मूल प्रवृती के हो ? महिला र पुरुषको असमान शक्ति सम्बन्धले सामाजीक सांस्कृतिक, आर्थिक रुपमा महिलाहरुलाई पछाडि पारियो या महिलाका कारणले महिलालाई पछाडी पारियो ? २, ४ वटा घटनाहरुलाई मूल प्रवृति बनाएर समाजमा व्याप्त पुरुषबादि चिन्तन, पितृसत्ता जस्ता सामाजिक रुपमा रहेको विषालु चिन्तनलाई निस्तेज बनाउने यो पुरुषवादी चिन्तनकै उपज हो भनेर किन नभन्ने ?

यो समाज शक्ति सम्बन्धले संचालित छ । त्यो शक्ति समाजका महिला, पुरुष, धनी, गरीव, नोकर, मालिक, सामन्त, दासको सम्बन्धमा नै निहित छ । शक्ति जहाँ सन्तुलित छ त्यहाँ न्याय, समानताको अवस्था राम्रो छ । जहाँ यसको खाडल गहिरो छ त्यहाँ समस्याका चाङहरु, असमझदारीका थुप्रोहरु छन् । त्यहाँ गरिवी छ । असमानता छ । अन्याय ब्याप्त छ । त्यसैले, अविकसीत समाजको सामाजिक मनोविज्ञान ठूलो बन्नुमा छ । समान बन्नुमा होइन । जबकी समानताबिना समाज विकास संभव छैन । शक्ति हुनेले शक्तिहिनलाई दमन, अन्याय, अत्याचार गर्ने र अप्ठ्यारोमा पार्ने शदियौँ देखि समाजमा व्याप्त प्रवृति हो ।

हाम्रो समाज वर्गियरुपमा विभाजित समाज हो । आर्थिक रुपमा वर्गको निर्माण गरी समाजको वर्गीकरण हुने समाजमा सबैभन्दा धेरै अन्याय, अत्याचार, शोषणको गुन्जायस रहेको हुन्छ ।

हाम्रो समाजमा सिमान्तकृतहरुको स्थितिलाई वर्गीय दृष्टीकोण्बाट विश्लेषण गर्दै वर्गिय विभेद अन्त्य नगर्दासम्म समतामूलक समाजको स्थापना हुन सक्दैन । अहिलेको शक्ति पुरुषसँग छ । महिलाहरु शक्तिहिन छन् । अब महिलाहरु पनि शक्ति सम्पन्न हुनको लागि आफुसँग भएको कमी शक्तिआर्जन गर्ने दिशामा मोडिन पर्दछ भने पुरुषको मानसिकता परिवर्तन गराउने विषय पनि उत्तिकै महत्वपूर्ण छ ।

महिलाहरु पनि केही समय यता विविध ढंगले अगाडि आएका छन् । तर यो अवस्थासम्म आइपुग्न उनीहरुको पारिवारीक अवस्था देखि, समाजसँग अनेक संघर्ष गरेर आएका छन् । महिलाहरुले आफूलाई परिवर्तन गरेर आफ्ना सबै जिम्मेवारी र कर्तव्यहरु पुरा गर्दै, आफ्नो सबै भुमिकाहरु निर्वाह गरि अस्तित्वको लडाई लडिरहेकै छन् ।

अब पालो पुरुष परीवर्तनको हो । पुरुषहरु परिवर्तन हुने समय कहिले आउँछ ? के पुरुष कहिले परिवर्तन हुनुपर्दैन ? जहिले बौद्धिक विलास र महिलाकै आडमा शक्तिवान बन्ने दिवास्वप्न मै हराउने हो ? के पुरुषको घर, परिवार, छोराछोरीप्रतिको आर्थिक जिम्मेवारी मात्रै हो ? अब महिलाहरु धेरै अघि आइसके । अबको पालो पुरुष परिवर्तनको त्यो व्यवहारीक परिवर्तनको ।

‘जेन्डर’ अध्ययनले ९० को दशकमा आएर पुरानो काम गर्ने शैलीलाई महिला शशक्तीकरणबाट, महिला–पुरुषको समविकासलाई जोड दिएको थियो । यो सिद्धान्त आफैंमा सहि र ठिक होला । तर अबका मोडल महिलाको विषयमा पुरुष परिवर्तन हुने मोडलको आवश्यता महसुस भएको छ ।

आज देशमा थुप्रै संघ, संस्थाले महिलाको लागि कार्यक्रमहरु संचालन गरिरहेका छन् । ति कार्यक्रमहरुकोे मोडल र ढाँचामा पनि परिवर्तन ल्याउन जरुरी छ । किनकी महिलाको मुद्दा, महिलासँग मात्र संबन्धित हुँदैन । यो त त्यही शक्तिसँग सम्बन्धित छ जुन शक्तिले महिलाको स्वतन्त्रता खोसेको छ । त्यसैले, परिवर्तन त त्यो शक्तिको व्यवहारिक परिवर्तनको हो । त्यो शक्ति भनेको पितृसत्ता हो । पितृसत्ताको एउटा स्वरुप भनेको पुरुष मानसिकता हो ।

यी सबैका आलावा महिलाहरु सामाजिक सन्तुलनका पक्षमा हुन् । ति सामाजिक सद्भाव सहीतको सामाजिक व्यवस्थाको स्थापना गर्न चाहन्छन् । महिलाहरुले पुरुषको स्थान खोस्न खोजेका होइनन् । महिलाहरु त महिला जस्तै भएर भएर बाँच्न पाउने अधिकारको खाजि गरेका हुन् । अझ नेपाली महिलाहरुले त स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारका लागि लडेका हुन् । अब पालो पुरुष परिवर्तनको हो ।

कती संयम र सहनशील छन् महिलाहरु । त्यसैले त यो समाज, समाज जस्तो भएको छ । बस्न लायक भएको छ । महिलाहरु चूलो, चौको, बालबच्चा, खेतीपाती देखि संसद हुनै राष्ट्रपतिसम्म परिवर्तन भएर देखाए । अब परिवर्तन पुरुष जातिको । अब पुरुषको पालो चुलो चौको र बालबच्चा स्याहार संभारको । त्यसमा सहभागिताको । त्यसमा साथको । मायाको । घरेलु श्रमको वर्गीकरण र त्यसमा सहभागिताको ।

अब तपाई जतिसुकै बुद्धिमान हुनुहोस् । ठूलै पदमा विराजमान हुनुहोस । तर महिलाहरुलाई थोपरिएको चर्को भारलाई व्यवहारमा सहयोगी बन्नुभएन भने पुरुषहरुको मूल्याङ्कन अरु कुनै कसीले पनि मापन हुन सक्दैन । तपाई सजाय विनाको अपराधी र दोषी भएर समाजमा सम्मानित हुन पाउने अधिकार तपाईहरुलाई छैन । त्यसैले घरको काममा मन लगाउनुहोस् । अनि मात्र तपाई योग्य, सक्षम र दक्ष पुरुष भनौंला । होइन भने तपाई मुखमा राम राम बगलीमा छुरा वाला पुरुष नै हो । कतिपय पुरुष जो घरायसी काममा सहभागी भएर उदाहरणीय बन्नुभएको छ । उहाँहरु प्रति नमन छ । सम्मान छ ।

समाजशास्त्रले परिवार, विवाह जस्ता विषयलाई समाजको महत्वपूर्ण इकाइका रुपमा स्विकार गर्दछ । यसको अथ, यसमा महिला–पुरुष दुवैको भूमिकालाई उत्तीकै गणना गरिएको छ । जब परिवारको महत्वलाई स्विकार गरिन्छ भने त्यसभित्रको सम्बन्ध हरेक हिसावले सुमधुर हुनुपर्दछ । यसको परिणाम समाज विकासको क्रममा अनुभुत गर्ने, मापन गर्ने र त्यसको महत्वलाई बढाउँदै लैजाने नै प्रमुख उद्देश्य हो ।

राजनीति शास्त्रले राज्यको हरेक नागरीकको अधिकारलाई राज्यले संरक्षण गर्दै परिवार, विवाह, महिला पुरुष राज्यमा कानुनीरुपमा संलग्न छन् । यी सबै ईकाईहरु समाज र राजनीतिसँग जोडिएको छ । त्यहाँको सम्बन्धको विश्लेषण आवश्यक छ कि छैन भन्ने बहस आवश्यक छ । ‘राजनीति’ फेसनका लागि हो भने यसमा भन्नु केही रहेन । तर परिवर्तनका लागि हो भने परिवार, विवाह र त्यसपछिको सम्बन्धले समाजमा पारेको प्रभाव वा शक्ति सम्बन्धमा आएको फेरबदलको विश्लेषण आवश्यक छ ।

यस्तो चित्र, किसान मजदूर, श्रमजीवि जनतामा छैन । जनजातीहरुमा पनि श्रम विभाजनकै मोडलमा परिवार चलेको छ । यो चित्र माथिल्लो जात, पढेलेखेको उच्च कुलिन वर्ग, ब्यक्तित्व विकासमा बढि केन्द्रित, पद, ओहदामा रहेको समूदायमा व्याप्त छ । यो समुदाय नै सम्पूर्ण राज्य सत्ताको महत्वपूर्ण हिस्सा ओगटेको छ । यो समूदायमा यो चेत नआउँदासम्म समाज परिवर्तन संभव होला ?

तपाइँको प्रतिक्रिया

फेसबुक