मंगलबार, वैशाख ४, २०८१

थाल ठटाएर सरकार खोज्दै श्रमजीवी

नेपालप्लस२०७७ कार्तिक २ गते १०:१३

काठमाडौँ – सञ्चारगृहबाट पीडित पत्रकारकर्मचारीले मंगलवार थाल ठटाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। श्रमजीवीका पत्रकारका पक्षमा कानून बनाइएपनि कार्यान्वयन गर्न सरकार असफल भएपछि खै सरकार कता छ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्धन समिति तथा सञ्चारगृहका पीडित पत्रकारकर्मचारी संयुक्त संघर्ष समितिको आयोजनामा बालुवाटारमा प्रदर्शन गरिएको हो ।

कोविड-१९ को बहानामा नेपालका ठूला सञ्चारगृहले श्रमजीवी पत्रकारकर्मचारीलाई जबरजस्ती कामबाट निकाल्ने, तलब नदिने, तलब माग्नेलाई धम्क्याउने र दुर्गममा सरुवा गर्दै आएका छन् । कतिपय सञ्चारगृहले न्यूनतम पारिश्रमिक समितिले निर्धारण गरेको तलब र नियुक्तिपत्र समेत दिन मानेका छैनन् ।

कानून नमान्ने सञ्चारगृहको सूची सार्वजनिक गरि सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारबाही गर्नुपर्ने लगायत माग सञ्चारकर्मीले गरेका छन् ।

पीडित पत्रकारकर्मचारीले आइतवार सूचना तथा प्रसारण विभाग परिसरमा दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेका थिए । उक्त विभागका महानिर्देशकले प्रेस रजिष्ट्रारको जिम्मेवारीपनि सम्हाल्दै आएका छन् । उनले कानून नमान्ने सञ्चारगृहलाई कारबाही गर्ने अधिकार भएपनि त्यसको प्रयोग नगरेको भन्दै सञ्चारकर्मीले निन्दा गरेका थिए ।

यसैबिच पत्रकार महासंघले कोविड–१९ को बेलामा विभिन्न बहानामा पत्रकार र कर्मचारीलाई कामबाट निकाल्ने, तलब रोक्का गर्ने तथा काममा जान नसक्ने वातावरण बनाएका सञ्चारमाध्यममा आन्दोलन सशक्त बनाउन मातहतका शाखा तथा प्रष्तिठानलाई निर्देशन दिएको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै महासंघ श्रमजीवी पत्रकारको पक्षमा सदैव साथ रहेको स्पष्ट पार्दै श्रमजीवी पत्रकारको हकहित विपरीत हुने गतिविधिको विरोधमा सशक्त आन्दोलन गर्न जिल्ला र प्रतिष्ठान शाखालाई निर्देशन दिएका हुन् ।

पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्व र समन्वय तथा सञ्चारगृहका पीडित पत्रकारकर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको मुख्य संयोजनमा गत असोज १५ गतेदेखि पाँच दिन रिले अनशन बसेका थिए । अनशनस्थलमा सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संयुक्त जनमोर्चा नेपालका चित्रबहादुर केसी, पूर्व सांसद परि थापा लगायतले ऐक्यबद्धता जाहेर गरि तत्काल समस्या समाधान गर्न आह्वान गरेका थिए ।

असोज २१ गते अन्नपूर्ण पोष्ट र कान्तिपुर टेलिभिजन, २२ गते थापाथलीस्थित कान्तिपुर मीडिया ग्रुप र कारोबार दैनिक, २३ गते नागरिक दैनिक र २४ गते नेपाल आज घेराउ गरेका थिए ।

प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस यूनियनका नेता जगन्नाथ दुलाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरू, आठ वटै ट्रेड यूनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड यूनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर दैनिक, कारोबार दैनिक, अन्नपूर्ण पोष्ट, नागरिक, कान्तिपुर मीडिया ग्रुप, एभिन्यूज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पत्रकार तथा श्रमजीवी सहभागी थिए । दशैँलगत्तै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक