सोमबार, कार्तिक १०, २०७७

वाल्यकालको त्यो माया, प्रेम र जिन्दगीको त्यो ‘गेम’

इश्वर कँडेल२०७७ कार्तिक २ गते ११:१५

“तिमी मसँग धेरै आशावादि पनि नहुनु । मेरो बाटो कुरेरपनि नबस्नु” उनले आज एक्कासि यसो भनिरहँदा म झल्याँस्स भएँ । मैले नरम भएर सोधें, ” के भएको छ तिमीलाई ? किन यसो भनिरहेकि छ्यौ ? ” उनले भनिन्- कतिपय सम्बन्धहरु तासको घर जस्तै हुन्छन् । बन्छन् । सुन्दर देखिन्छन् । तर बलिया हुँदैनन् । ति घर एकछिन हेर्नकालागि हुन् । ति ‘घर बनाई’ खेल्नका लागि मात्र हुन्छन् । तर घर हुँदैनन् ।

एक छिन सोचमग्न भएँ । सम्झें- सानो छँदा घर बनाईखेल्दा, बिहे गरि खेल्दा बनाएको बालुवाको घर र बनेको श्रीमान श्रीमतीको खेल । याक चुरोटका बट्टा च्यातेर त्यस बट्टाका टुक्राहरुलाई पैसा बनाएर, बिहे गरि खेलेर, थुप्रै चिजहरुको सपिङ गरेको बहाना पनि गर्थ्यौं कुनैबेला । त्यसरी खेलिरहँदा जति आनन्द महशुस हुन्थ्यो त्यति आजकलको वास्तविक जीवनमा कहिल्यै हुँदैन । त्यस समय साँझ परेको पनि पत्तै हुँदैन थियो । खेलको क्लाईमेक्समा हामी आफ्नो वास्तविक घर संसार, समय, स्थान सबै भुलेर बैवाहिक र सांसारिक जीवन बाँचेकै हुन्थ्यौं ।

जब आमाले घर बाहिर आँगनमा निस्केर गाउँ भरि सुनिने गरि चिच्याएर बोलाउनु हुन्थ्यो, त्यस समय हामी बाँच्दै गरेको बैवाहिक जिन्दगि, याक चुरोटका बट्टा च्यातेर बनाएका पैसाहरु, अन्य सम्बन्धहरु यसरि बिर्सन्थ्यौ कि हामीलाई घर जान सार्है हतार हुन्थ्यो । हामीलाई ‘गुडबाई’ भन्ने समेत फूर्सद हुँदैन थियो ।

जीन्दगी भित्रका थुप्रै तहभित्र अनेक जीन्दगीका छायाँ चित्र भेटिने रहेछन् । कहिलेकाहिँ लाग्छ, हामीले बाँचेको जीन्दगी पनि कुनै अर्को जीन्दगीको छायाँ चित्र पो हो कि ?

जीवन या जीवनसँग चासो राख्ने जतिपनि कुरा गर्छौं हामी त्यहाँ नजिक दर्शन उभिएको हुन्छ । प्लेटो आफ्नो “एलिगरि अभ् द केभ” मा एउटा गुफाको कुरा गर्छन् । त्यस गुफामा केही कैदिहरु राखिएका हुन्छन् । उनिहरुलाई सिक्रिले बाँधेर राखेकाले गुफाबाट बाहिर निस्कने कुनै उपाए हुँदैन । ती कैदिहरुको पछाडि आगो बालिएको हुन्छ । आगो र कैदिहरुको बिचमा मानिसहरु पपेट या अन्य कुराहरु लिएर बसेका हुन्छन् । मानिस र उनिहरुले खेलाएका पपेट र अन्य बस्तुको छायाँ गुफाको भित्तामा पर्न जान्छ । आगो नदेख्ने तर छायाँ मात्र देख्ने ती कैदिहरु भित्तामा देखिने छायाँलाई नै वास्तविक दुनियाँ मान्दथे । उनिहरुलाई भित्तामा देखिएको अन्यकुनै बस्तु या चिजहरुको छायाँ हो भन्ने कहिल्यै बिश्वास भएन ।

एक पटक एउटा कैदि कैदबाट स्वतन्त्र भयो । गुफाबाट बाहिर निस्कन पायो । उसले बाहिर आगो (सूर्य) रहेको र त्यहि आगोले बाहिर गुफाको मुख तिरबाट क्रस गरेका ब्यक्ति या बस्तुहरुको छायाँ गुफाको भित्तामा परेको देख्यो । भित्तामा देखिने चित्रहरु यथार्थ नभएर मात्र यथार्य चिजहरुको छायाँ भएको थाहा पायो । उसले थाहापायो कि गुफा बाहिर एउटा अर्कै विशाल दुनियाँ छ जुन उनिहरुलाइ कहिल्यै थाहा भएन । उ पुन: गुफामा फर्कियो र अन्य कैदिहरुलाई भन्यो “अब हामी सबै यस गुफाबाट बाहिर जानूपर्छ । बाहिर विशाल, सुन्दर दुनियाँ छ । हामीले भित्तामा देख्ने कुनैपनि चित्रहरु यथार्थ होईनन् । तर कैदिहरुले उसका कुरा मानेनन् । उनिहरुले सोचे- हामी यो गुफाको संसार छाडेर बाहिर जाने हो भने हामीले कुनै कष्ट पक्कै भोग्नु पर्छ ।

हुनसक्छ हामी पनि कुनै ठूलो गुफामा छौं । त्यो गुफा सांसारिक या मानसिक कुनै पनि हुनसक्छ । हामीले बाँचेको जीन्दगी, घर छाडेर बिदेशिएको समय र उतै भुलेका क्षणहरु, बालसुलभ खेल पो हो कि ? तिमी बिदेश जानू र उतै हराउन खोज्नुमा तिमी गुफाको स्वतन्त्र कैदि पनि हुन सक्छौ या म स्वतन्त्र कैदि हुन सक्छु ।

आज पनि तिमीसँगको साथ मलाई कतै त्यहि सानोमा खेल्ने खेल जस्तै लाग्छ । जसरि सानो छँदा खेलिने खेलमा सानै दिमाग या सोचले काम गरेको हुन्थ्यो, खेल खेलेर थाकेर घरमा गई खाना खाएपछि एक खालको मीठो निन्द्रा लाग्थ्यो, सपनामा पनि उहि कबड्डि, एक खुट्टे, मोजाको बल, गुच्चा, आउँथे, उसैगरि रमाईला लाग्थ्यो साँझ बिहान । तिमी भेटेपछि नै हो, सानैमा छुटेका खुसिहरु जीवनमा पुन फर्किएका । सबैसँग अनुशासनको जीवन बाँच्दा बाँच्दै यति कृतिम भईसकेको रहेछ जीन्दगी कि तिमीसँग ठट्टा गर्न, हाँसखेल गर्न पनि बिर्सिपो सकेछु । जीन्दगी बाँच्न जान्नेहरुका लागि असाध्यै सुन्दर छ । तर बाँच्ने कला नजान्नेहरुकालागि भारि छ । आफू बाँच्न बिर्सेर दुनियाँले के भन्ला मलाई भन्नेहरु न त आफू बाँच्छन जिउँदो भएर न त अरुलाइ बाँच्न नै दिन्छन् ।

सानो छँदा घर बाहिर साथिभाईहरु सँग रमाउँदा रमाउँदै साँझ पर्दै गएपछि घर बाहिर आँगनको डिलमा उभिएर बोलाउँदा घर सम्झिँदै खेल रोकेझैं एक दिन जब परंमाता (गाया) ले बोलाउनु हुन्छ र यस जगतमा जम्मा गरिएका सुन्दर र महँगा बस्तुहरु, प्रिय बस्तुहरु चटक्क छाडेर उसै गरि दौडेर जानुनै छ । यो अवस्थामा पनि हामी कुनै न कुनै खेल नै खेलिरहेका छौं । “जीन्दगी घाम छायाँ हो” भनेर धेरैले तिमीलाई पनि सुनाए होलान् ।मलाई पनि थुप्रैले सुनाए । तर कहिल्यै बुझिन यसको अर्थ । जब हुर्कदै गएँ, बुझ्दै गएको भ्रम पाल्दै गएँ, बुझाई पनि उस्तै हुँदै गयो । लाग्यो घाम- छायाँ भनेको त छ र छैन, हो र हैन, प्रेम र घृणा, मित्रता र शत्रुता, बोल्नु र रिसाउनु, असाध्यै मिल्नु र झगडा गर्नु पो भनेको रहेछ ।

एक बिहान धेरै जाडो बढ्यो । ठिहिर्यायो । घाम कुर्दै बसें । भरतपुरमा जाडो मौसममा दिउँसो १० बजेसम्म पनि घाम नदेखिने दिनहरु आउँछन् । कुर्दाकुर्दै घाम लाग्यो । मजा सँग घाम तापें । केही समय पछि घामले नै पोल्न थाल्यो । सहन सकिन । फेरि घर भित्रै पसें । बेलुका फेरि चिसो बढ्यो । घाम संझिएँ ।

सानो छँदा केहि गित कविता पढ्ने, गाउने हुन्थ्यो । शिक्षक कक्षामा आउन ढिला गर्नु हुन्थ्यो । हामी कि त “किसान” शिर्षकको या त “भँगेरा र भँगेरी” चर्को स्वरमा भाका हालेर पढ्थ्यौं । अझै कण्ठैछन् कतिपय हरफहरु । तर कहिल्यै बुझिन मैले ति गित भनौं या कविताहरु । जब ठूलो भएँ, फेरि मनमनै गुनगुनाएँ, भँगेरा र भँगेरि । त्यसमा ठूलो राजनितिक दस्तावेज पाएँ । किसानमा ठूलो ब्यङ्ग पाएँ । सोचें – जीन्दगी पनि त एउटा टेक्स्ट हो । मैले बुझें भनिठान्छु । तर कत्ति बुझेको हुन्न । तिम्रो र मेरो प्रेम पनि त एउटा कालखण्डमा लेखिएको कविता हो । यसको अर्थ समय अनुसार फरक पर्नुमा न त तिमी दोशी छौ न त म नै । तर यदि दोशी कोहि छ भने त्यो पहिलो भेट नै हो जुन भेट हाम्रो मेटा जन्म थियो । कुनै योजना थिएन । सुन्दर थियो । रिस राग थिएन । किनकि प्रेम पनि थिएन । जब प्रेम हुन्छ, प्रेम सँगै रोपिन्छ घृणाको बीउ । त्यहि हुर्कँदै जान्छ । बढ्दै जान्छ । बिरुवालाई वर्षा मौसममा गन्धे झारले ढाकेझैं ढाक्छ घृणाले । त्यसैबेला गर्नसक्नु पर्छ गोडमेल । अनि त बिरुवानै अग्लो देखिन्छ नै ।

त्यसमा पनि जब तिमी एक्कासि मन भाँचिने कुरा गर्छ्यौ, म यस खेलको दुनियाँबाट बिल्कुल बाहिर निस्कन थाल्छु । आफ्नै दुनियाँमा रमाउन सिक्छु । हामीलाई अनुशासन सिकाउन त हामीसँग विध्यालय छँदै थिए । हाम्रा बिध्यालयहरु बन्द हुँन्छन् कुनै समय । हामी आफ्ना पुस्तकका झोलाहरु कतै बिसाएर फेरि त्यहि खेलमा जोडिन पुग्छौं । तर वास्तबिकता फरक रहेछ । बिध्यालय र हाम्रो गेम दुबै आवश्यक रहेछन् । स्कूलको आफ्नै मज्जा छ । स्कुल, गृहकार्य पछि तासको घर । बिहेगरि खेल्नुको उस्तै मजा छ । आखिर दुबै गेमहरु नै त हुन । गेम एक पटक पक्का सकिन्छ ।

कतै अझै वास्तविक सनंसार हुनुपर्छ । त्यति अज्ञात दुनियाँबाट नै यात्रा शुरु हुन्छ होला । हामी पनि यात्राको बिभिन्न लेयरहरु तर्दै नौलो स्थान या क्षणको साक्षी भएका हुन्छौं । यात्रामा सहभागी हुन्छौं । कति ब्यक्तिहरु सोलो यात्रा मनपरउन सक्छन् । उनिहरु बेखवर नै यात्रामा निस्कन्छन् । योजना बनाउँदैनन् । तर योजना नै गर्छन् बरु । यस स्थानको निश्चित समयको भ्रमणपछि फेरि उनिहरुको माईग्रेशन जरुरि छ । संसार यदि ठूलो छ कि हामी यदि आफैंलाई खोज्दाखोज्दै हिँड्दै गर्दा आखिर हामी आफैंलाई नचिनेर ऐना पुछ्न थाल्न सक्छौं ।

एउटा बुद्ध पुरुष एकान्त प्रिय हुन्छ । आफैं एक्लो जीवन बाँचेको हुन्छ । जीन्दगिको हरपल सोचमा मग्न हुन्छ । विषयहरुको त्याग गर्दै जान्छ । अन्त्यमा यस ब्रम्हाण्डकै सम्पन्न महापुरुष हुन्छ ।

म आफूलाई पुग्ने मनग्गे पढेको मान्छे । तर कहिल्यै लोभ, लाभ, रिस, आदि बाट मुक्त हुन सकिन । मेरो म संसारभरि फैलिएको देख्छु । तर कतै कोहि सन्तुष्ट भेट्दिन । आफू र आफ्नो समय समेत दाउमा राखेर बाँचेको जीन्दगी एक दिन त्यै जीन्दगी गुड बाई पनि नभनि लुसुक्क लाज पचाएर कुलेलाम ठोकेको देखेको छु ।

यतिखेर ए उटा प्रसंग संझिएँ । एक जना बृद्द बिरामि परेर सुतिरहेका थिए । आफूलाई सर्वेसर्वा ठान्थे कुनै समय । उनको नजिकै गएर मैले सोधें- बा, अहिले म जस्तै बलियो र युवा उमेर पाउनु भयो भने के गर्नु हुन्छ ? बाले दुई थोपा आँसु तरक्क झार्दै भन्नु भयो ” म नोम्याडिक भएर मेरै तरिकाले कसैको हानि नोक्सानि नपुर्याई आफैंलाइ समय दिन्थें । संसारलाई नयाँ मुलुक र आफूलाइ यस मुलुकको पर्यटक सम्झेर बाँच्ने थिएँ । तर के गर्नु ।।।।ईट्स बिन टु लेट ।
सायद तिमीले केहि बुझ्यौ होला । म अझै अनबिज्ञ छु ।

ॐ मणि पद्मे हुँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक