शुक्रबार, वैशाख १४, २०८१

स्विजरल्याण्डमापनि घरेलु हिंसा हरेक वर्ष बढ्दो

नेपाल प्लस२०७७ कार्तिक २ गते १८:१६

मानवअधिकार र सामाजिक सुरक्षा उच्च ठानिएको स्विजरल्याण्डमापनि घरेलु हिंसा प्रत्येक वर्ष बढ्दो छ । स्विजरल्याण्डको प्रहरीले अघिल्लो वर्ष घरेलु हिंसाका घटना १९, ६६९ अभिलेख गरेको थियो । तर गत वर्ष त्यसमा ६ दशमलव दुई प्रतिशतले बढेको छ ।

स्विजरल्याण्डको संघिय तथ्यांक विभागका अनुसार सन् २०१९ मा घरेलु हिंसाकै कारण १९ जनाको ज्यान गएको थियो । यसको अर्थ पिडित मध्ये दुई तिहाई आफ्नै जोडी, प्रेमिकाबाट हिंसामा परेका हुन् । हरेक चार हप्तामा एक महिलाले घरेलु हिंसाकै कारण ज्यान गुमाउने गरेको तथ्यांकमा उल्लेख छ ।

अभिलेख गरिएका घटनामध्ये आधा आफ्नै प्रेमीप्रेमीका, पतिपत्नीबाट हुने गरेको पाइएको छ । त्यसबाहेक २८ प्रतिशत भने आफ्नो पूर्व प्रेमी वा प्रेमिका, पति वा पत्नीबाट हुने गरेको हो । तिनले मानसिक वा शारिरिक पिडा दिने गरेका छन् । दर्ता गरिएका घरेलु हिंसा मध्ये ७२ प्रतिशत महिला र २८ प्रतिशत पुरुषहरु पिडित हुने गरेका छन् ।

घरेलु हिंसाको घटना मध्ये शारिरिक आक्रमण ३२ प्रतिशत, धम्की २२ प्रतिशत, अपमान १९ प्रतिशत र शारिरिक क्षति १० प्रतिशत हुने गरेको पाइएको छ ।

विज्ञहरुका अनुसार शारिरिक हिंसाका धेरै घटना त दर्ता गरिएकै हुँदैनन् । स्विस महिलाहरुकालागि आश्रयको सुरक्षा गर्ने स्विस संघिय निकायकि सुसन पिटरका अनुसार आफ्नो इज्जतमा दाग लाग्ने वा झन हिंसा निम्तिने डरलेपनि धेरै महिलाहरु उजुरि दर्ता गर्न जाँदैनन् ।

सन् २०२० को तथ्यांक भने अझैपनि उपलब्ध छैन । तर कोरोना भाईरसको संक्रमणपछि घरेलु हिंसाका घटना झन बढेको अनुमान उनीहरुको छ ।

(फोटो- स्विस इन्फो डट सि एच)

तपाइँको प्रतिक्रिया

फेसबुक