बिहीबार, वैशाख १३, २०८१

मेलमिलाप नीतिपछि कांग्रेसको ‘ऐतिहासिक कदम’ : ‘दशैंभत्ता फिर्ता गर्ने निर्णय : प्रमुख सचेतक’

नेपालप्लस प्रतिनिधि२०७७ कार्तिक ३ गते १९:४६

काठमाडौं— कोरोना संक्रमणका माझ सरकारले एकपछि अर्को विवादास्पद र तर्कहिन निर्णयहरु बाहिर ल्याइरहेका बेला प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले ‘दशैं भत्ताबापतको रकम फिर्ता गर्ने’ साहसिक निर्णय सार्वजनिक गरेको छ । कांग्रेसको चिन्ता गर्नेहरुका अनुसार, बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिपछाडीको साहसिक कदम नेपाली कांग्रेसले चालेको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको बिज्ञप्तीअनुसार, कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दशैं भत्तावापतको ४३ लाख २० हजार आठ सय १० रूपैयाँ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको छ । संघीय संसदमा कांग्रेसका ७६ सांसद छन् ।

संयोग कस्तो छ भने, बालुवाटार जग्गा प्रकरणमा जोडिएकै कारण सोमबार मात्रै कांग्रेसका उपसभापति एवं पूर्व प्रधानमन्त्री बिजयकुमार गच्छेदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । अझ रमाइलो के छ भने यहि ललिता निवास प्रकरणमा जोडिएका, छानविनकै दायरामा रहेका र सर्वाधिक बिवादास्पद नेकपा महासचिव बिष्णु पौडेल भने अर्थमन्त्री बनिरहेका बेला अर्का आरोपित गच्छदार कडा कारवाहिको चरणमा पुगेका छन् ।

दशैं भत्ताको बहानामा कहिँकतै हराइरहेको कांग्रेसले आफ्नो इमेज बढाउन चाहिरहेका बेला गच्छदार काण्डले पनि अर्को झट्का दिएको छ । तर, जेजसो भएपनि कांग्रेसले कुने लोभमोह नदेखाइकन दशैंभत्ता फिर्ता गर्नासाथै प्रधानमन्त्री, सभामुखसहित सत्तारुढ नेकपा पार्टीले समेत दशैं भत्ता कोरोना कोषमा राख्ने निर्णय गरेको छ ।

अहिले रिक्त रहेका अख्तियार, महिला आयोग सहितका संवैधानिक निकायमा एक, दुई सदस्य नियुक्त गर्न पाइने लोभमा झुत्ती खेलिरहेको कांग्रेसले पहिलोपटक सरकार र संसदले निर्णय गरेको दशैं भत्ता फिर्ताको साहसिक निर्णय गरेको हो । ‘कांग्रेसमा यत्तिको एकमत कहिल्यै देखिएको थिएन, सांसद सिन हुन नसकेका कांग्रेसका प्रखर नेता रामचन्द्र पौडेलका एक निकटवर्तीले नेपाप्लसँग भने—‘यहि कारण आज सत्तारुढ पार्टी नेकपासमेत दशैं भत्ता कोरोना कोषमा हाल्न बाध्य भएको छ, यसलाई कांग्रेस पार्टीको ऐतिहासिक उपलब्धी मान्नैपर्छ ।’

तपाइँको प्रतिक्रिया