बुधबार, मंसिर १०, २०७७

मेरो साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-१

लीलबहादुर क्षेत्री२०७७ कार्तिक ६ गते १६:३३

भारतीय साहित्य एकेडेमी, नयाँ दिल्लीले नेपाली भाषा औ साहित्यलाई स्वीकृति प्रदान गरेको पनि साँढे चार दशक बितिसकेछ । सन् १९७५ मा एकेडेमीले मान्यता प्रदान गरेको हो । र सन् १९७७ देखि नेपाली भाषाका साहित्यकारलाई पुरस्कार दिन थालेको हो । नेपाली साहित्यमा पहिलोपटक राष्ट्रियस्तरको यो प्रतिष्ठित पुरस्कार पाउने श्रेय स्वनामधन्य डा इन्द्रबहादुर राईलाई जान्छ । उनले आफ्नो समीक्षात्मक कृति “उपन्यासका आधारहरू” का लागि यो पुरस्कार पाएका हुन् ।

त्यसपछिका नौवटा पुरस्कारहरू लगातार पश्चिम बङ्गाल दार्जिलिङतिरै हुइँकिन्छन् । यो पुरस्कार कृति र साहित्यिक योगदानलाई पनि विचारेर दिइने हुँदा गुनासो गर्ने ठाउँ पनि छैन । संयोगले सन् १९८७ को एघारौं पुरस्कार भने यस पूर्वोत्तर भारतको द्वारभित्र पसेर नपत्याउने पाराले मेरै टाउकामा आएर बज्रियो । संयोगै त हो, त्यस वर्ष असमले भिन्ना भिन्नै तीनवटा भाषामा एकेडेमी पुरस्कार भित्र्याएर एउटा अभिलेख बनायो । त्यसअघिसम्म कुनैपनि राज्यले एकै वर्षमा तीन-तीनवटा एकेडेमी पुरस्कार पाएको थिएन । असमिया साहित्यमा त असमले पुरस्कार पाउने नै भयो। त्यस वर्ष यसका साथै अन्य दुईवटा भाषामा पनि असमका साहित्यकारले यो पुरस्कार जिते ।

संयोगले सन् १९८७ को एघारौं पुरस्कार भने यस पूर्वोत्तर भारतको द्वारभित्र पसेर नपत्याउने पाराले मेरै टाउकामा आएर बज्रियो । संयोगै त हो, त्यस वर्ष असमले भिन्ना भिन्नै तीनवटा भाषामा एकेडेमी पुरस्कार भित्र्याएर एउटा अभिलेख बनायो । त्यसअघिसम्म कुनैपनि राज्यले एकै वर्षमा तीन-तीनवटा एकेडेमी पुरस्कार पाएको थिएन ।

सन् १९८७ मा असमिया भाषामा तत्कालिन पुलिस उपमहानिरीक्षक (डिआइजी) हरेकृष्ण डेकाले आफ्नो कविता सङ्कलन “आन एजन” का लागि साहित्य एकेडेमी पुरस्कार पाएका थिए । त्यसै वर्ष संयोग के पयो भने संस्कृतजस्तो शास्त्रीय भाषामा लेखिएको गहन साहित्यका लागि पनि असम राज्यले नै पुरस्कार प्राप्त गयो । पुरस्कार विजेता थिए डा. विश्वनारायण शास्त्री । पुरस्कृत कृति थियो- संस्कृत भाषामा लेखिएको ऐतिहासिक उपन्यास “अविनाशी।”

संयोगैले त्यस वर्ष नेपाली साहित्यको एघारौं एकेडेमी पुरस्कार पनि असममै भित्रियो । केवल आसाममा मात्र होइन समग्र पूर्वोत्तर भारतमै साहित्य एकेडेमी पुरस्कार पाउने प्रथम गोर्खे बन्ने सौभाग्य मैले पाएँ । पत्र-पत्रिकाले आसामले एकै वर्षमा तीन तीनवटा एकेडेमी पुरस्कार पाएर अभिलेख सृष्टि गर्‍यो भनेर लेखे ।

अर्को एउटा उल्लेखनीय संयोग के छ भने अर्को वर्ष अर्थात् सन् १९८८ को एकेडेमी पुरस्कार पनि असममै भित्रियो । वरिष्ठ कवि बाबु पुष्पलाल उपाध्यायले आफ्नो कृति “उषा मञ्जरी” का लागि यो पुरस्कार प्राप्त गरे । उनको सही मूल्याङ्कन भइदिएकोमा हामी सबै धन्य भयौं ।

पुरस्कार प्राप्तिको संयोगमा मेरो हकमा भने केहि वियोग पनि घटेको छ । हुन त पुरस्कार भन्ने कुरा सम्मानको वस्तु हो । यसलाई धनराशिसित जोड्न मिल्दैन । तथापि पुरस्कारको स्तर यसको धनराशिसित जोडेरै हेरिन्छ । पुरस्कृत व्यक्तिको आर्थिक लाभ धनराशिमै निर्भर गर्छ ।

पुरस्कारको राशि केवल एकेडेमी पुरस्कारको सम्मानको प्रतीक हो । एकेडेमीले दिने सम्मानको नापो होइन । साहित्यएकेडेमी पुरस्कारको सम्मान यसको धनराशिभन्दा कैयौं गुणा माथि छ ।

प्राथमिक अवस्थामा नेपाली साहित्यले एकेडेमी पुरस्कार पाउँदा यसको धनराशि पाँच हजार रुपियाँ थियो । केही वर्षपछि यसमा वृद्धि गरियो । यो १० हजार रुपियाँ भयो ।

मेरो पक्षमा एकेडेमी पुरस्कारको वियोग के भने, पुरस्कार राशिका रूपमा१० हजार रुपियाँ पाउने अन्तिम स्रष्टाहरूमा म पनि थिएँ । अर्को वर्षदेखि अर्थात् सन् १९८८ मा यो राशि २५ हजार रुपियाँ बनाइएको थियो । पच्चीस हजार रुपियाँको पुरस्कार राशि पाउने गोर्खे स्रष्टामध्ये पुष्पलाल बाबु पहिलो थिए । यो राशि वृद्धि हुँदै अहिले एक लाख पुगेको छ ।

मलाई लाग्छ, पुरस्कारको राशि केवल एकेडेमी पुरस्कारको सम्मानको प्रतीक हो । एकेडेमीले दिने सम्मानको नापो होइन । साहित्यएकेडेमी पुरस्कारको सम्मान यसको धनराशिभन्दा कैयौं गुणा माथि छ ।

एकेडेमीले पुरस्कार दिने राशिमा जति धन खर्च गर्छ त्यसभन्दा कैयौं गुणा बढी पुरस्कार वितरण समारोहमा, पुरस्कृतहरूको आवतजावत, आवासीय व्यवस्था आदिमा खर्च गरेको हुन्छ । पुरस्कार वितरण समारोहमा उपस्थित भएपछि यस कुराको स्वत: अनुभव हुन्छ ।

सन् १९८७ को डिसेम्बर महिनाको तेस्रो सातातिरको कुरा हो । म दक्षिण भारतको यात्रामा थिएँ । साथमा श्रीमती र सानो छोरो पल्लव थियो । अर्की एउटी छिमेकी महिला पनि साथ लागेकी थिइन् । गुवाहाटीबाट बिहान ८ बजे छुटेको रेल ६ घन्टापछि कोचबिहार पुगेर झन्डै ६ घन्टा त्यहिँ रोकियो । आखिर सारा जीवन संयोग र वियोगकै त खेला रहेछ । गाडी अब छुट्छ, अब छुट्छकै धरमरमा ६ घन्टापछि बल्ल विस्तारै चल्न थाल्यो । ठिक समयभन्दा दस घन्टाजति ढिलाएर पर्सिपल्ट हामीलाई चेन्नई पुयायो । ट्रेन ढिलाएकाले चेन्नईमा रोकिने हाम्रो कार्यक्रम वियोग गरेर सोझै बङ्गलुरू पुगेर राति एउटा होटलमा थान्को लाग्यौं ।

बङ्गलुरू पुगेपछि विचार आयो? त्यहाँदेखि नजिकैपर्ने सत्य साईबाबाको धाम पुट्टवर्ती (प्रशान्त निलयम) पनि पुगौं । ती अलौकिक शक्ति भएका साई बाबाको पनि सम्भव भए दर्शन गरौं ।

सरकारी बस सेवा उपलब्ध थियो । बङ्गलुरूदेखि पुट्टवर्ती पुग्न बसमा चार घन्टाजति समय लाग्दो रहेछ । हामी अपराह्न दुई बजेतिर पुग्यौं । त्यो दिन डिसेम्बरको २५ तारिक थियो । ईसाई धर्मावलम्वीहरूको बडा दिन । येशु ख्रिस्टको जन्म जयन्ती पर्वको दिन ।

यस दिन बडादिनको उपलक्ष्यमा येशु ख्रिस्ट, ईसाई धर्मका मसिहामाथि बाबाको प्रवचन रहेछ । हामीले दर्शन मात्रै होइन, डेढ घन्टाजति बाबाको प्रवचन पनि सुन्ने अवसर पायौं । अद्र्ध चन्द्राकार भव्य भवनमा चार बजेदेखि आरम्भ भएको प्रवचनमा बाबाले क्राइस्टको दर्शनका कुरासितै ग्रिसेली दार्शनिक एरिस्टोटल, प्लेटो, सक्रेटिस आदिको दार्शनिक चिन्तन र नीतिसम्बन्धी कुराहरूको गहन व्याख्या गरेका थिए ।

हाम्रो जानकारीमा पुट्टवर्ती धाममा साधारणतया वैदिक संस्कृतिभित्र पर्ने चाड पर्व अर्थात् सनातन धर्मावलम्वीहरूका मात्रै चाडबाड मनाइन्छ भन्ने थियो । तर यहाँ आज येशु ख्रिस्ट मसिहको जन्मजयन्ती मनाउने तरखर चलिरहेको देख्दा साई बाबाको उदार दृष्टिकोणप्रति मनैमन नतमस्तक भएँ । बडादिनको उत्सवमा सहभागी हुन पाश्चात्य देशहरूबाट झन्डै तीनसय श्रद्धालु आएका थिए जसमा प्रायजसो नै ईसाई धर्मावलम्वी थिए । भिडभाड निकै थियो । बाबाको यो प्रशान्त निलयम धाममा यात्रीहरूका निम्ति खाजा तथा भोजन क्यान्टिनबाट उपलब्ध हुन्छ । साधारणत दक्षिण भारतीय शैलीकै हुन्छ । चाडबाडको उपलक्ष्यमा पायष, दही आदि कुराहरू पनि भोजनमा समावेश गरिन्छ । आज तर बडादिनको उपलक्ष्यमा पश्चिमेलीहरूका निम्ति उनीहरूको रुचिकर खाद्य पाउरोटी, मख्खन, केक, शाकाहारी कट्लेट, बिस्कुट आदि पनि छुट्टै उपलब्ध गराइएका थिए ।

हामीसित समय छोटो थियो । भोलिपल्ट फर्किहाल्नुपर्ने । यति छोटो समयमा बाबाको दर्शन हुन्छ हुँदैन भन्ने धरमरमा थियौं । यात्रीहरूले हप्तौं रुँगेर पनि दर्शन नपाएको कुरा हामीले सुनेका थियौं ।

तर संयोग कस्तो पयो भने त्यस दिन बडादिनको उपलक्ष्यमा येशु ख्रिस्ट, ईसाई धर्मका मसिहामाथि बाबाको प्रवचन रहेछ । हामीले दर्शन मात्रै होइन, डेढ घन्टाजति बाबाको प्रवचन पनि सुन्ने अवसर पायौं । अद्र्ध चन्द्राकार भव्य भवनमा चार बजेदेखि आरम्भ भएको प्रवचनमा बाबाले क्राइस्टको दर्शनका कुरासितै ग्रिसेली दार्शनिक एरिस्टोटल, प्लेटो, सक्रेटिस आदिको दार्शनिक चिन्तन र नीतिसम्बन्धी कुराहरूको गहन व्याख्या गरेका थिए । उनको भाषण आफ्नो मातृभाषा तमिलमै थियो । तर एकजना विद्वान भक्तले त्यसलाई तुरुन्तै अङ्ग्रेजीमा अनुवाद गरिदिन्थे ।

मलाई अनौठो लागेको कुरा के भने अनुवादमा कहिँ त्रुटि भए वा सठिक भाव व्यक्त हुन नसकेको खण्डमा सम्पूर्ण वाक्यलाई सच्च्याएर बाबा आफैंले अङ्ग्रेजीमा भन्थे । कहिँकहिँ त सम्पूर्ण अनुच्छेद नै विशुद्ध तथा आकर्षक अङ्ग्रेजीमा दोहोयाउँथे । यसबाट अङ्ग्रेजी भाषामा बाबाको गहन दखल थियो भन्ने स्पष्ट हुन्थ्यो । तर साधारण वार्तालाप वा वक्तव्यमा आफ्नो मातृभाषा तमिल नै प्रयोग गर्नुमा दुई वटा कारण हुनसक्छन् । एउटा त आफ्नो मातृभाषाप्रति श्रद्धा दर्शाउनु अनि अर्को पुट्टवर्ती धाम तथा छेउछाउका ग्रामीण जनतालाई बुझ्न सजिलो पार्नु ।

यसैपनि दक्षिण भारतको मेरो यो यात्रामा त्यहाँ तमिल र तेलेगू भाषाबाहेक हिन्दी, अङ्ग्रेजी वा अन्य भाषा बोलेको कमै देखियो । पुस्तक पसलहुँदो हिन्दी वा अङ्ग्रेजी भाषाका पुस्तक र पत्र-पत्रिका पनि देख्न पाइएन भन्दा पनि हुन्छ । बङ्गलुरूजस्ता ठूला सहरमा कताकति रेल्वे ह्विलर अथवा थूला पुस्तक पसलमा अङ्ग्रेजी पत्रिकाहरू र केही मूल्यवान पुस्तकहरू फेला पर्थे । नभए साधारण ठाउँका पसलमा केवल तमिल, तेलेगू पुस्तक र पत्र-पत्रिका देखिन्थे ।

दक्षिण भारतका केही दर्शनीय स्थल, भारत महासागर, अरब सागर तथा बङ्गोपसागरको त्रिवेणी, कन्याकुमारी, रामेरम आदि ठाउँहरूको भ्रमण गरेर ३ जनवरी १९८८ का दिन आफ्नो घर गुवाहाटी आइपुग्दा मात्र साहित्य एकेडेमी पुरस्कार पाएको कुरा मलाई थाहा भयो ।

भोलिपल्ट बिहान पनि पुष्प उध्यानमा सारा भक्तहरूका माझ डुलिरहेका बाबाको नजिकैबाट दर्शन पाइयो। कति भक्तले बाबाका चरण छुने प्रयास गरे । कतिले बाबाको हातमा पुर्जी थमाउने चेष्टा गरे । तर हामी भने नजिकबाट बाबाको दर्शन गर्न पाएरै सन्तुष्ट भयौं । केहिपछि नै सरकारी बसमा खाँदिएर हामी बङ्गलुरू आइपुग्यौं।

अब अर्को संयोग हेर्नुहोस् । त्यो दिन डिसेम्बर महिनाको २६ तारिक थियो । सन् १९८७ डिसेम्बर महिनाको २६ तारिकको साँझ हामी बङ्गलुरूको एउटा चोकमा उभिएर रेल स्टेसन जाने साधनको प्रतीक्षामा थियौं । ठिक त्यसै दिन साँझ त्यसै समय बङ्गलुरूमा साहित्य एकेडेमीको कार्यकारिणी सभा बसेको रहेछ । त्यस वर्षको एकेडेमी पुरस्कारहरूको घोषणा गर्न। साँझ सात बजे बङ्गलुरूमै पुरस्कारहरूको घोषणा भयो जसमा पुरस्कार प्रापकमध्ये मेरो नाउँ पनि थियो । म भने त्यसबाट अनभिज्ञ । त्यहि सात बजे बङ्गलुरूबाट रेलगाडीमा त्रिवेन्द्रमतिर लागिरहेको थिएँ ।

दक्षिण भारतका केही दर्शनीय स्थल, भारत महासागर, अरब सागर तथा बङ्गोपसागरको त्रिवेणी, कन्याकुमारी, रामेरम आदि ठाउँहरूको भ्रमण गरेर ३ जनवरी १९८८ का दिन आफ्नो घर गुवाहाटी आइपुग्दा मात्र साहित्य एकेडेमी पुरस्कार पाएको कुरा मलाई थाहा भयो ।

घर आइपुग्दा एकमुष्ट तारवार्ता, चिट्ठी, पत्रादिले मलाई पर्खिरहेका थिए । सबैभन्दा माथिल्लो पङ्क्तिमा थियो, तत्कालीन साहित्य एकेडेमीका सचिव प्रा. इन्द्रनाथ चौधुरीको तार जसमा साहित्य एकेडेमी पुरस्कार घोषणा भएको र नेपाली साहित्यका निम्ति मैले पुरस्कार पाएको आधिकारिक जनौटसहित बधाई दिइएको थियो ।

उहि २६ तारिक साँझ बङ्गलुरूबाटै पोस्टकार्डमा लेखिएको अर्को पत्र थियो- साहित्य एकेडेमी नेपाली भाषाका तत्कालीन संयोजक इन्द्रबहादुर राईको जो साहित्य एकेडेमीको त्यस बैठकमा उपस्थित थिए । उनले बङ्गलुरुमा बसेको साहित्य एकेडेमीको सभामा पुरस्कारको घोषणा भएको र नेपाली साहित्यमा मलाई पुरस्कार प्राप्त भएको जानकारी साथै बधाई दिएका थिए ।

यसपछि विभिन्न संस्था, सङ्गठन, मित्र, बन्धु, शुभचिन्तकहरूका अनगन्ती पत्र, तारवार्ता, चिट्ठी-पत्र आदि थिए जसमा शुभकामना व्यक्त गरिएको थियो । मभन्दा अघिल्लो वर्ष दसौं पुरस्कार पाउने शरद छेत्रीले पुरस्कार वितरण समारोहको आफ्नो अनुभव व्यक्त गर्दै पत्र लेखेका थिए । उनलाई असमयमै हाम्रा माझबाट कालले चुँडेर लग्यो ।

मैले केहि तार र पत्रहरूको उत्तर दिएँ । तर सबैको दिन सम्भव भएन ।

क्रमश :

( क्षेत्री बसाई उपन्यासका लेखक हुन् । फोटो- विकिपेडिया डटकमबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया

फेसबुक