शनिबार, मंसिर १३, २०७७

ओहो ! हराएछ त मेरो दशैं

देवेन्द्र कँडेल / जापान२०७७ कार्तिक ९ गते १७:४०

खुशी मिले मात्र दशैं हुन्छ । तर दशैं आउँदैमा खुशी आउँदैन । यिनै खुशीहरु जम्मा पार्न खोज्दा खोज्दै जीन्दगीले धेरै रुप रंग फेरिसक्यो । तर वर्षेनी आइरहने दशैं प्रतिलिपी जस्तो लाग्दै गइरहेको छ । कर्मभूमीको यात्रासँगै १२ दशैं पार भएछन् । ति मध्ये २ दशैं जन्म ठाउँमा परेछन् । एउटा बियोगमा बित्यो भने एउटामा खुशी खोज्ने प्रयास रह्यो ।

गाउँमै जन्मेर हुर्केर बढेको मान्छेलाई शहरको दशैंले छुने कुरै भएन । उच्च शिक्षाका लागि शहर पसेपनि दशैं बिदामा थानकोटबाट ओरालो लाग्दै गर्दा कुनै कैदीले जेल सजाएँ छुट पाएभन्दा कम्ता हुने थिएन ।

उता गाउँ पनि बसाइसराइ र बैदेशीक रोजगारीले रित्तिदै गर्दा दशैं पनि बोधिँदै गए जस्तो देखिन्छ । जब देश बिदेशबाट गाउँलेहरु गाउँ पस्न थाल्थे तब दशैको टेलर शुरु हुन्थ्यो । घर अघि मूल बाटो पर्नेहुँदा दशैंको चहल पहल राम्रैसँग नियाल्न पाइन्थ्यो । गाडी भेट्नलाइ १२ दिनको बाटो तय गर्नुपर्ने हुँदा भरिया लगाएर समानहरु ओसार पसारमा लाग्नेको राम्रै भिडभाड रहन्थ्यो । टेप रेकर्डरको चर्को आवाजमा गीत बजाउँदै हिँड्ने लाहुरेहरुको गित सुन्न पछ्याउँदै हिँडिन्थ्यो । नव दम्पतीका पहिलो दशैंमा बोक्ने कोशेलीहरुको बास्नाले बाटोघाटो नै सुगन्धित तुल्याउँथ्यो । मासुका लागि हुलका हुल ल्याइने खसी, बोका, चेलु, च्याङ्ग्राले बाटो घाटोनै भरिभराउ पार्थे। किन्नेहरुले रोकेर जोखतौल मोलतोल गर्दैगर्दा हामीपनि सकी नसकी भुल्लामा समाएर उचाल्ने प्रयास गरिन्थ्यो ।

स्कुल बिदा हुनुभन्दा पहिले लिपपोत गरिथ्यो । साथीभाइमा कमेरोको छेपाछेप राम्रै चल्थ्यो । नवदुर्गा शुरु हुँदै गर्दा घरको लिपपोत र सिंगारमा राम्रै प्रयास गरिन्थ्यो । सबै गाउँले जम्मा भएर गाउँ भित्रका बाटाघाटा सरसफाइ हुन्थ्यो । गाउँ माथिको खड्कको मन्दिरमा हुने पूजापाठ र पाक्ने अधकल्चो खीर प्रसादमा भेटिने मिठास कसरि बर्णन गरौं ? दशैंका निम्ति गाउµµमा अघिपछि भन्दा अलि धेरै नै खसी बोका काटिन्थे । केटाकेटीलाई कहिले आन्द्राभुµµडी धुन पठाउथे त कहिले ज्यान पोल्न । भुµµडी धुµµदा हामीले बोसो समेत थुतेर खाइन्थो त आगो झोँस्दा गर्धनको पोलीएको मासु समेत चिमोटेर खाइन्थ्यो । त्यो मज्जा अहिलेसम्म कुनै बाजेको सेकुवाले दिन सकेको छैन ।

बिलोमा आएको भाग खुशी हुँदै घर लगिन्थ्यो । आमाले भड्डु भरि झोल राखेर पकाउनु हुन्थ्यो । कचौराभरी मासु नभएपनि झोलसँग पाइन्थ्यो जुन स्वाद बत्तिस मसला प्रयोग गरेर पनी कुनै भान्सामा पकाउन सकिएको छैन ।

टिकाको साइत कहिले छिटो पर्थ्यो त कहिले ढिलो हुन्थ्यो । एउटै पुर्खाका सन्तानले भरिएको गाउँ सबै एकै ठाऊँ मन्दिरमा जम्मा भई टिका आशिर्वाद लिने दिने चलन थियो । त्यस दिन बिहानैदेखि घरमा मिठो चोखो पकाएर राखिन्थ्यो । टिका अघि केहि खान हुँदैन भन्नुहुन्थ्यो आमाले । तर माफ गर्नुहोला । आमा तपाइका अल्लारे छोराले कैयौं दशैं तपाइका आँखा छलेर खाए । त्यसपछि बल्ल टिका लगायो ।

सबै जना नयाँ नौला पहिरहन सँगै मन्दिरमा जम्मा भएर टिका शुरु हुथ्यो । हामी केटकेटीको पालो शुरुमै आउँथ्यो । सबै अग्रजहरुले आशिर्बाद एकै स्वरमा भट्‌याइरहनुहुन्थ्यो । धेरैको भनाइ बिदेश गएस । धेरै धन कमाएस । भन्ने नै हुन्थ्यो । त्यहि आशिष अधकल्चो भएपनी पूरा भइराखेको छ । सबै जनाले आफूलाइ मनमा लागेका मिठा नमिठा आशिष दिइराख्थे । छोरी बुहारीले पनि राम्रो घर ब्यवहारको सल्लाह सुझाव पाउँथे । सबै गाउँले एकै ठाउँमा जम्मा भएर टिको टालो गर्दा सबै घर घर पुग्न नपर्ने रमाइलो हुन्थ्यो । मावली नजिक हुनेहरु उतै लाग्थे । आफ्नो त मावली टाढा भएको हुँदा त्यो अवसर मिलेन । त्यसैले गाउमै पिङ खेल्ने साथीभाइ मिली तास खेल्ने गरिन्थ्यो । फेरि अन्तबाट आउने नातेदारसँग रातीसम्मै टीका टालो चल्थ्यो । मिठो मिठो कोसेली खाइन्थ्यो । सुतिन्थ्यो ।

यस्तो अनुभवबाट हुर्किएको मान्छेले अहिलेको दशैं देख्दा मर्म हराएर कर्ममा पुगे जस्तो लाग्छ । समय फर्काउन सकिँदैन । त्यसैले उमेर फर्किने कुरै भएन । तर चाह्यो भने संस्कार अवश्य फर्किन सक्छ । हाम्रो सम्झना हाम्रा सन्तानले पनी भोग्न पाउन् । बिगतमा अग्रजले जस्तै आशिर्वाद हामीले पनि दिन पाउँ। र पो बल्ल दशैं । खुशीको पिरामिड छिचोलिसकेको दशैंले के खुशी ल्याउला र ? अहिले कोरोनाको कहरमा परेको अभागी दशैंलाई नै शुभकामना दिउँ । सबै मिली अब कहिल्यै यस्तो अवस्थामा पर्न नपरोस् !! शुभकामना !!

तपाइँको प्रतिक्रिया

फेसबुक