बिहीबार, वैशाख १३, २०८१

अष्टमीमा खुँडा पूजा गरेर मात्र के गर्नु ?

लक्ष्मण देवकोटा२०७७ कार्तिक १० गते १०:३०

भारतवर्षमा दूतहरुको आनाजाना कहाँ नौलो कुरा हो र ? मानिसहरु त्यसै हल्ला गर्छन् । मगध, तक्षशीलाका गणराज्यहरुका समयमा राजा र सम्राट, गणपतिहरुका खबर लिएर दूतहरु आवतजावत गरिरहन्थे ।

सूचना प्रविधिको युग फेरिएको मात्र हो । वायुयानमा दूत आएर सोझै नेपाल देशका प्रधानन्त्रीलाई भेट्दा मानिसहरुलाई अनावश्यक टाउको किन दुखेको होला ? शंकर पोखरेल र प्रदीप ज्ञवालीले भनिसके त, भारतका दूत मोदीको विशेष खबर बोकेर आएका थिए । यसमा किन यत्रो हल्लाखोर ?

दूतहरु कति शक्तिशाली हुन्छन् भन्ने जान्न आचार्य विष्णुगुप्त जसले मौर्य साम्राज्य स्थापना गर्न रणनीतिक योजना बनाए, उनको चातुर्यतामा दूतहरुको प्रयोगबाटै तत्कालिन भारतवर्षमा कसरी उनी लामो समय सत्ता संचालन गरे भन्नेबाटै बुझ्न सकिन्छ । यौटा मामूली ब्राम्हण जो शास्त्र र शस्त्र दुवैको उचित प्रयोग र जनताको स्वतस्फूर्त सहभागिताबाट राज्य संचालनमा सफल रह्यो, तत्कालीन छिमेकी गणराज्यहरुको स्थितिको सहि सूचना लिन, अर्थात् दुष्मनको नाडी छाम्न काबिल मानिसले मात्र सहि निर्णय लिन सक्दछ भन्ने कुरा उनको जीवनबाटै बुझ्न सकिन्छ ।

ठेला गाडा चढेर अमेरिका पुगिन्न भनेर राजतन्त्र विरोधमा उर्लिएका आन्दोलनकारी गिज्याउने यिनै ओली हुन् भन्ने जनताले नचिनेका होइनन् ।

इतिहासको यौटा कालखण्डमा केपी ओलीले निकै राष्ट्रवादको नारा घन्काए । भूकम्पले थिलोथिलो भएर इन्तुनचिन्तु भएका नेपालीहरुलाई नाकाबन्दी लगाइदिएका बेला ओलीले लिएको अडान, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्नेताका लिएको अठोट यी सबै कुराको आलोकमा जनताले ओलीलाई पत्याएका हुन् । ठेला गाडा चढेर अमेरिका पुगिन्न भनेर राजतन्त्र विरोधमा उर्लिएका आन्दोलनकारी गिज्याउने यिनै ओली हुन् भन्ने जनताले नचिनेका होइनन् । तर मानिसले अप्ठेरो परेको बेलामा मात्रै चिनिन्छ । ओलीले आपत परेको बेला अडान लिए । लाग्यो, यी मान्छे वास्तविक राष्ट्रवादी हुन् । पछिल्लो चुच्चे नक्शा जारी गर्ने बेलामा त झन् यिनको बिग्रँदै गएको साख गजबले आकाशियो । पार्टी भित्रका अरु मानिस पुड्का ठहरिए । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली जमिन मिची बाटो खनेर हाकाहाकी नेपाली स्वाभिमानमाथि चुनौति दिँदा संसदबाट सबै दलको विश्वास र समर्थन लिए । ओलीले नक्शा पास गरे । सबैतिर फेरि एकपटक ओलीको हाइहाइ भयो ।

अहिले भारतीय दूतको यो आकस्मिक र रहस्यमयी यात्रापछि प्रधानमन्त्री ओलीले भिरेको राष्ट्रवादको पगरी उत्रिन थालेको छ । मोदीका दूतका रुपमा सामन्त गोयल आउनु कुनै ठूलो कुरा हुँदै होइन । तर कुटनीतिक मर्यादा र शिष्टताका सबै बार भत्काउँदै निजी विमानमा अचानक उत्रिएर सार्वभौम देशका प्रधानमन्त्रीसँग तीन तीन घण्टा गोप्य वार्ता गर्नु र त्यो वार्तामा के कुरा भयो ? गोप्य राखिनु आफैमा स्वाभाविक कुरा हुँदै होइन ।

परराष्ट्र मन्त्रालयलाई थाहै नदिई, भारतमा रहेको नेपाली दूतावासलाई अत्तोपत्तो नभई यसरी सार्वभौमसत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले भेटघाट गरेपछि त्यहाँ भए गरेका कुराहरु जनताले थाहा पाउनु जनताको अधिकार हो कि होइन ? हिजोका दिनमा भारतीय खुफिया एजेन्सीले नेपालको राजनीतिमा खेलेको फोहोरी खेलप्रति जनता सचेत छन् । भारतीयहरुको नांगो हस्तक्षेप नेपालीहरुले देखेभोगेकै छन् । आशा गरेको प्रधानमन्त्रीबाट यस्तो व्यवहार हुनु आफैमा लज्जाजनक विषय हो ।

हुनत कोरोना संक्रमणको रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा चुर्लुम्म टुप्पी समेत डुबिसकेको अवस्थामा सरकारबाट मानिसहरुले आशा मारिसकेका छन् । तर कम्तिमा छिमेकी दूतले यसरि हाम्रो सार्वभौमिकतामाथि चुनौति दिएर हाम्रो स्वाभिमानलाई लल्कारेको पनि नेपाली जनताले टुलुटुलु हेर्न गणतन्त्र नेपालमा पर्दैनथ्यो कि भन्ने मानिसको आशामा चिसो पानी खन्याएपछि सरकारको असली तस्विर उदांगिँदै गएको छ ।

परराष्ट्र मन्त्रालयलाई थाहै नदिई, भारतमा रहेको नेपाली दूतावासलाई अत्तोपत्तो नभई यसरी सार्वभौमसत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले भेटघाट गरेपछि त्यहाँ भए गरेका कुराहरु जनताले थाहा पाउनु जनताको अधिकार हो कि होइन ?

शिक्षामन्त्रीले त भनेकै थिए, प्रधानमन्त्री ओलीले चुच्चे नक्शा समेटेको स्कूलको किताब बाँड्न दिएनन् भनेर । यस्तै गति र हैसियत हो भने त अतिक्रमित भूमि फर्कने कुरा त सपना पो हुने भयो । बरु अरु अतिक्रमणको खतरा पो बढ्न थाल्यो ।

महाअष्टमीको दिन नेपालका थानहरुमा खुँडा र खुकुरी, हतियारहरु निकालेर पूजा गरियो । सबैले सामाजिक सन्जालमा राष्ट्रभक्तिका गाना बजाना गर्न थालेको पनि धेरै नै भयो । तर भारतीयहरुको हैकम यथावत छ । अष्टमीको दिन खुँडा पूजा गरेर मात्र हुँदैन, अब प्रधानमन्त्रीको कानमै गएर सोध्नुपर्छ, त्यस्तो सिमा मिचाहा र हाम्रो स्वाभिमानमाथि बूट बजार्ने भारतीयहरुको दूतसँग अँध्यारो कोठामा के कुरा र सहमति गर्यौ ?

भारतीय सेनापति नरभाँडेले चिनियाँहरुको उक्साहटमा नेपालले नक्शा जारी गर्‍यो भनेको अस्ति भर्खर त हो । हाम्रा नेताहरु यी छिमेकीसँग स्वाभिमानीपूर्वक बोलुन् भन्ने जनता चाहन्छन् । तिमीहरु सधै सत्ता स्वार्थका निम्ति देशको स्वाभिमान किन बन्धकीमा राख्छौ ? खुँडा फेरी कोटघरमा थन्किएलान् तर के हामी सधै यिनका स्वार्थका शिकार भैरहनुपर्ने ?

तपाइँको प्रतिक्रिया