बुधबार, मंसिर १०, २०७७

बाको श्राद्ध आफैं गर तिम्लाई किन चाहियो बाहुन ?

उदयराज गौतम / कोपनहेगन, डेनमार्क२०७७ कार्तिक ११ गते १९:०६

धनपती हाम्रा जिजु हजुरबा । नाम धनपति अर्थात धन सम्पतिका मालिक भन्ने भएपनि उनको धन सम्पत्ति कति पैमानाको थियो ? त्यो कुरो ठ्याम्मै अहिले तोकेर भन्न सकिने अवस्था रहेन । राज्यका टूला करदातामा उनको नाम पक्कै थिएन भन्ने कुरा भने ठोकेरै भन्न सकिने भयो । गाउँका जिम्माल मुखियामा पनि कहींकतै उनको नाम सुन्न पाइएन । यतिसम्म अनुमान गर्न सकिन्छ कि २-४ वटा संस्कृतका पुस्तक भने राता रुमालले बेरेका पक्कै थिए होला । कम्तिमा एउटा गाइ, एउटा गोरु र एउटा भैंसी पक्कै गोठमा झुल्थे होला ।

२-३ मुरी धान फल्ने खेतबाट चाडवाड मात्र धान्ने र चोखो खानुपर्ने दिनमा भात खान पुग्ने खेत पक्कै हुनुपर्छ । त्यो पनि मुस्किल छ । कोदो छ्यालब्याल नै थियो होला । माना पाथी पक्कै चलाए । ढक तराजु गाउँमा थिएनन् । सम्भवत: भारतको बाहेक अरु देशको नाम सुनेनन् । गायत्री गुनगुनाए पनि सालैजोको भाका पक्कै सुने । जन्मेको ७-८ वर्ष देखि आफ्ना बा रामेश्वरसँग जीवन पर्यन्त बटौलीबाट अनगिन्ति नुनका भारी बोके होलान । यति कुरा त सहजै अनुमान गर्न सकिन्छ ।

जीवन कसरि गुजारे इतिहाँस अनुमान मात्र गर्ने कुरा भयो । न उनको बारेमा कहिँ कतै कुनै ताम्रपत्र, शिलालेख लेखिए । न उनले कुनै ऋषीमुनिले जस्तो ग्रन्थ श्रीजना गरे । मनुश्मृति उनले पक्कै लेखेका होइनन् । पुराण त झन् परैको कुरा हो । निर्णय सिन्धुको नाम सुने कि सुनेनन् शंका छ । महिलालाई हियाउने तथा समाजमा छुवाछुतको चलन पनि उनले चलाएनन् । अहिले आएर हाम्रो पनाती पुस्ता माथि बाहुनले शोषण गरे । उत्पात मच्चाए । अस्ति भख्खर बिहारबाट यता छिरेका हुन् भनेर गाली खानुपर्ने गल्ति धनपतिले गरेका होइनन् भनेर ठोकेरै भन्नसक्छु म । धनपतिको शासन चलाउने कुनै हैसियत थिएन । नत शासन चलाउनेसँग कुनै अन्तरंग लगनगाँठो कसिएको थियो ।

धनपतिका एकल छोरा पुनाखर अर्थात बा लाल प्रसाद र कान्छाबा मेघनाथका बा हुन् । उनलाई मैले देखें । अनुहार अझै सम्झन्छु । घर्बुनाको च्यातिएको टोपीबाट सेतो कपाल बाहिर निस्केको धमिलो स्मरण छ । राणा शाशनको पालामा जन्मे हुर्केको भएर हुनुपर्छ, अहिले जुद्ध समसेरको इतिहाँस पढ्दा हजुरबाको स्वभाव अलि अलि जुद्ध समसेरसँग मिल्छ कि जस्तो लाग्छ । सायद जुद्ध समसेरको समकालीन भएर पनि हो कि ? हजुरबाको नालीबेली सबै जान्ने अवसर जुटेन । बरु बा र कान्छाबाको मुखारबिन्दबाट केहि कुरा सुनियो । सुनेका कुरा गुण अवगुणका हुने नै भए ।

सुने अनुसार हजुरबाले खोजेको बेलामा बा र कान्छाबा निमेष भरमै अगाडी हाँजिर हुनु पर्थ्यो । एक भाई मात्रको उपस्थितिले उहाँ सन्तुष्ट हुने कुरो थिएन । भैंसीको गोबर फाल्नपर्यो भने कडा उर्दी जारी गर्ने आदत रहेछ । छोराहरु गाउँतिर कतै गएको बेलामा भैंसीले गोब्र्यायो भने ‘ओई जेठा, ओइ कान्छा कलमुण्टे घर आईहाल’ भनेपछि हस्याङ्ग फस्याङ्ग गर्दै दाजुभाइ हाँजिर हुनुपर्ने रहेछ । कि काम गर्नुपर्ने कि चण्डी पढ्नु पर्ने । केहि काम भएन भने भैंसी मुसार्नु पर्ने रहेछ । कहिल्यै अम्मल सेवन नगर्ने उहाँले जीवनको अन्तिम कालखण्डमा भने बिणी किन्न पठाएर स्वाट्ट तानेको र निकैबेर खोकेको मैले पनि देखें । सक्रिय जीवनका अतृप्त चाहनालाई जीवनको अन्त्यताका किन बुढाबामा अम्मलको तृष्णा जाग्यो भन्ने जिज्ञाशाले मलाइ अहिले पनि सताईरहन्छ । बुढाबालाई निद्राले नच्यापेसम्म दाजुभाइले मिचिमिची खुट्टामा तेल लगाईदिएको दृश्य मैले प्रत्यक्ष देखें ।

आफ्नो घरमा अरुले गरेको निर्णय सोझै खारेज गर्ने हाम्रा हजुरबा पुनाखरको एउटा रमाइलो कहानी पनि सुनेको छु मैले । आँधिखोलाका हाम्रा आफन्त ढुङ्गाना हजुरबा हाम्रो घर श्राद्ध गराउन जानु भएछ । कर्ता हाम्रा हजुरबा, बाहुन ढुंगाना हजुरबा । श्राद्ध गर्दा दुना राख्ने क्रममा ढुंगानाको आदेश नमानी अर्कै ठाउँमा राखेपछि बबाल शुरु भएछ। स्वभाव दुबैको मिल्दो जुल्दो थियो । “मैले भनेको ठाउँमा दुनो नराखेपछि तिमी आँफै जान्ने रहेछौ, आफ्ना बाको श्राद्ध आँफै गर । तिम्लाई किन बाहुन चाहियो ? म बाटा लागें” भनेर उहाँ हिंड्नु भएछ । पछ्याउँदै हाम्रा कान्छाबाले आधा घन्टामा फेला पारेर भात मात्र खाएर जानुस, भोकै नजानुस” भनेपछि उहाँ फर्किनु भयो । पछि एनकेन श्राद्ध भने सकिएछ । तर उहाँलाई टिको लगाउने बेलामा अर्कै पट्टि फर्केर लगाइदिने हाम्रा हजुरबाको बारेमा यस्ता रमाइला कुरा कति छन् कति ।

बा र कान्छाबा एकाघरबाट अलग भएपछि हजुरबाको चाहना स्वाभाविक रुपले कान्छा छोरासँग बस्ने हुनपुग्यो । खाना उहाँको इक्षा अनुसार कहिले जेठी बुहारी कहिले कान्छी बुहारीको हातबाट पकाएको खानेकुरो भएछ । जेठी बुहारीले पस्केको खाँदा “कान्छीले पटक्कै खान हुने पकाऊँदिन । खानेकुरो चिल्लो पनि हुँदैन भन्ने र जेठीलाई मख्ख पार्ने अनि कान्छीले पकाएको खाँदा जेठीले पकाउनै जान्दिन । घिउको मुख देख्नै पाइँदैन” भन्ने अनौठो बानी रहेछ । आमाको मुखबाट सुनेको ।

एक दिन हजुरबा खाना खान आउँन निकै ढिला गरेपछि आमाले मलाइ “जा बुढाबालाई लिएर आइज” भनिन् । लिन गएँ । खान जाने कुरो बिसाएँ । “ल मलाइ समात्” भन्नु भोब्। सायद त्यतिबेला एउटा कान्लो उक्लिन पर्थ्यो हाम्रो घर जानब्। कान्लामा दुवै जना लडियोब्। “तैंले धकेलिस कलमुण्टे” भनेर हप्काएको पनि बिर्सने कुरा भएन ।

आमाहरु सुत्केरी हुँदापनि घाँस काट्न जानुपर्ने रहेछ । एक पटक हजुरआमाले आमालाई पटुकामा भुटेका मकै खन्याई दिने क्रममा हजुरबाले लात्तीले मकैको थाल उडाई दिनु भएछ । आमा ११ दिनकी सुत्केरी । घाँस काट्न जाने बेलामा बुहारी भोकै जाली भन्ने पिरले दिंदै गरेको मकैको दुर्दशाको अगाडि हजुरआमा मुकदर्शक बन्नु शिवाय अरु कुनै उपाय थिएन । घाँस काटेर ल्याएपछि मात्र खान दिनुपर्छ भन्ने हजुरबाको शनातनी बुझाई थियो ।

तत्कालिन अवस्थाको सामाजिक तथा पारिवारिक संरचनामा यी यस्ता कुरा अति सामान्य थिए भन्दा पनि हुन्छ । पुरुष प्रधान समाजमा महिलाहरुको मूल्य र मान्यता कुनै पाल्तु जनावरको भन्दा माथि थिएन । घरमा जति कडा शासन प्रबन्धको व्यवस्था गरे पनि बुढाबा बाहिर अति सोझो बाहुन, गाइ प्राणी भनेर समाजले बुझेको कुरा हटिया चौधरी कान्छा बुढाले मलाइ भनेको सम्झन्छु । “तेरो बुढाबा त ४ जना मान्छे जम्मा भाको ठाउँमा पनि बोल्न डराउँथे । हामी जस्तो मान्छेका खुट्टा ठनक्क पार्न सक्ने होइन” । कुरै कुरामा आफ्नो जवानीका बहादुरी बखान गर्ने शिलशिलामा सानो समीमा बसेर बुढाले गफ लगाएको मेरो स्मृतिमा छ ।

सन्तान उत्पादन गर्ने साधन र दासदासीले जस्तै काम गर्नु यी दुई महत्वपुर्ण काम बाहेक महिलाहरुको अरु उपादेयता खास हुँदैनथ्यो । सबै सन्तानहरु, पर पाहुना साशु ससुराले खाइसकेपछि मात्र रुखो सुखो खान पाउनु, छोराछोरी, श्रीमान् र सासुलाई तेल घसीसकेपछि मध्ये रातमा सुतेर कुखुराको डाँको सँगै उठ्ने र पूर्ववत दासत्वमा घोटिनु बाहेक अन्य विकल्प थिएनन् ।

राणा शासन अन्तर्गत चारपालाको ब्यबस्थामा अगाडि बढेको तत्कालिन थापा, राना, आले र चितौरेको पर्वतको पैयुँ राज्य कालान्तरमा सेनबंशी राजाहरुको नियन्त्रणमा गयो । तत्कालिन अवस्थामा जजमानी गर्ने बाहुनहरुले समेत जिम्मावाल, मुखियाहरुलाई कुत्, बेठी बेगारी बुझाउनुपर्थ्यो । घरमा पाकेका केरा, दहीको ठेकी बेलाबखत चाडपर्वमा पुर्याईदिनुपर्थ्यो ।

ठूला बडाहरुको अगाडि पर्दा भुतुक्कै हुने पुनाखरले भने आलेहरुको माया ममतामा धारा पानीको पानी खुवाउँदै दुई भाई छोरा येनकेन प्रकारेण हुर्काए । निरन्तर ढिँडो मात्र खाँदा हैरान भएर होला हाम्रा बाले एक दिन भुपतय: स्वाहा गर्न पस्केको सानो डल्लो भात क्वाप्प खाएपछि हजुरआमाले नदेख्ने गरि ढेंडो थालमुनी च्यापेर राखिदिनुभएछ। थाल बुहारीहरुले निकाल्दा माटोको भुँइमा ठूलै खाल्डो परेछ । यो घटना लुकाउन हजुरआमालाई निकै पापड बेल्नु पर्यो भन्ने पनि आमाको मुखबाट सुनियो ।

समय परिबर्तन भयो । अहिले त्यो बारीमा ३ पाथी कोदो फल्छ भन्ने सुनेको छु । समयको गतिसँगै आफ्ना पिताजीको सत्तापनि ढल्यो । अब भने बाहरुलाई बाहिरि संसार देख्न मन लाग्यो । खेत बेचेर कम्मरमा १२ हज्जार बाँधेर रामप्रसाद श्रेष्ठ र खोलापारी हजुरबासँग बा मधेस झरे । चितवनको सौराहादेखि राजमार्गको आसपास हुँदै रुपन्देही बाँके बर्दियासम्म चाहार्दा पनि चिसो पानी कतै फेला परेनछ । बुटवल क्याम्पससँगै सटेको जग्गा बिघाको १० हजारमा बिक्रीमा रहेछ । त्यहाँ नजिकै बास बस्दा रातीमा छेउमानै स्याल कराएको हुँदा “यो ठाउँमा पनि बसी चाल हुँदैन । बरु छोराहरुलाई पहाडकै चिसो पानी ख्वाएर हुर्काऊँछु” भन्ने लागेछ । काका राम प्रसादले भने त्यहि मौकामा बर्दघाटमा जग्गा लिनुभयो । सुकुम्बासीको नाममा जग्गा आफ्नो नाममा जति पनि दर्ता गर्न पाइने कुरो कसैले उहाँलाई सुझाएछ ।

“अलि अलि सम्पत्ति छँदाछँदै किन सकुम्बासी बन्ने ?” छोरा छन् । भोलि बिहादान गर्ने बेलामा केटाको बाउले सुकुम्बासीमा नाम लेखाको कुरो कसैले केटी पट्टिकालाई सुनाइ दिए भने इज्यतको कुरा हुन्छ, गर्दिन” भनेर २२ दिनमा घर आउनु भयो । पैसो घटेर ११ हजारमा टेको लाग्यो । त्यतिबेला सुकुम्बासी हुँ भन्नलाई पनि इज्जत कुल प्रतिष्ठा सँग गरिने सम्झौता रहेछ भन्ने कुरो अहिले हामी बल्ल बुझ्दैछौँ । अब भने सुकुम्बासीको परिभाषा फेरिईसकेको छ ।

बाले बाह्र हजार ढाडमा कस्नुभन्दा झन्डै २ वर्ष पहिला कान्छाबा २०३३ साल तिर मधेस झरिसक्नु भएको थियो । मधेस घुमाइबाट बाले त्यहाँ बसोबास मिलाउन अनिक्षा प्रकट गर्नुको एउटै कारण थियो, छोराहरु गर्मीमा बस्न सक्दैनन् । मधेसमा पनि हामी जस्तै अरुका छोरा बस्छन कि बस्दैनन् भन्ने कुरो बालाई सोध्नुपर्ने थियो । तर सोधिएन ।

एक मनमा अहिले मलाइ कस्तो लाग्छ भने बा जसरि पनि मधेस झरेको भए भाइ साहिंलाले अनाहकमा सहादत गर्ने थिएन होला । हुन त मधेसमा पनि थुप्रै सहिद भए । उनीहरुले के भनेर मन बुझाउने होला । बाँदरलाई लिस्नो भयो उसको जीवन । सायद यसमा केहि हदसम्म म पनि जिम्मेवार छु की ? समाज बदल्ने रहर मलाइ पहिला जाग्यो । त्यसपछि उसलाई जाग्यो । परिणाम न समाज बदलियो, न उसको जीवन बँच्यो । ६ भाई लस्करै बसेर दशैको टीको लगाइन्थ्यो । घटेर पाँच भाईमा झरियो । बरु कान्छाबाले ठीक निर्णय गर्नु भो ।

तपाइँको प्रतिक्रिया

फेसबुक