मंगलबार, चैत ६, २०८०

प्रहरीको आत्मसमिक्षा : निर्मला पन्त र बमजन प्रकरण ‘कालो धब्बा’

नेपालप्लस२०७७ कार्तिक १२ गते १६:३१

काठमाडौं— हालै ६५ औं प्रहरी दिवस मनाएको नेपाल प्रहरीको केन्द्रिय संगठनले नेपाल प्रहरीकै इतिहासमा आम जनमानसमा धब्बा लाग्ने र प्रहरी जगतकै छवि धमिलिने गरि दुइवटा मुद्धाले ‘स्थान ओगटेको’ आन्तरिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अपराध, हत्या, डकैती लगायतका सबै प्रकारका जगन्य अपराधमा सफलता प्राप्त गर्दै आएको नेपाल प्रहरीले १५ बर्षअघि उदाएका रामबहादुर बमजन (बाराका बुद्ध) को पछिल्लो अपराधिक कर्म र २०७५ साउन ११ देखि नेपाली मिडियामार्फत चर्चामा छाएको नाम निर्मला पन्तका हकमा ‘न्यायिक फैसला’ गर्न नसकेकोमा प्रहरी संगठनले आत्मलोचना गरेको छ ।

बमजनका हकमा पछिल्ला वर्षहरुमा भक्ति एवं साधनामा आउने युवतीहरु यौन सम्बन्ध राख्ने र लगातारजसो बेपत्ता पार्ने घटनामा किटानी जाहेरी पर्न थालेपछि प्रहरीले खोजतलास थालेको एक वर्षभन्दा बढि भैसकेको छ । तर, बमजनलाई फेलापार्न सकेको छैन भने उनका नाममा बारा, सिन्धुली, ललितपुरसहितका जिल्लाहरुमा आश्रम, बसोबास, नित्य साधनाका कार्यक्रम भने जारी देखिन्छ ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएकी १३ वर्षिया निर्मला पन्तको हत्या–अनुसन्धानका ३४ वटा समिति बनाएर र बिभिन्न चरणमा प्रहरी बर्खास्त, निलम्बन र फुकुवाका नाटकहरु चलेपनि वालीका पन्तको प्रकरणमा अझै छिनोफानो हुन सकेको छैन । यी दुबै मुद्धाको सुरुवात र छानविनको फाइल तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पालामा सुरु भएर बीचैमा ‘तुहिएको’ थियो । महानिरिक्षक खनालको असक्षमता, निर्णय शक्तिको अभाव र राजनीतिक चाकडीमा खुलेरै लाग्ने गरेको छविका कारण यी दुबै मुद्धा कचल्टिएका हुन् । आफू महानिरिक्षकबाट अवकाश पाउनासाथै सांसद महेश बस्नेत र किसान श्रेष्ठको मिलेमतोमा मधेशी मोर्चाका सांसद अपहरण गर्न समेत सरिक भएका सर्वेन्द्र खनाल अहिले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त बनीपाउँ भनेर शक्तिकेन्द्र धाउनमा व्यस्त देखिन्छन् ।

         बमजनको बुद्ध अवतार

मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका १६ वर्षीय रामबहादुर बमजन (तामाङ) सन् २००५ देखि एकाएक चर्चामा छाएका हुन् । बारा, हलखोरियाको जंगल भनेर चिनिने यो जंगल एकाएक कुनै तपोभूमी झैं चल्तीमा आयो । नेपालसहित बाहिरी विश्वका हजारौं दर्शकहरु बमजनको ध्यान हेर्न र रमिता बुझ्न जंगल जान थाले । सेतो रङको पातलो कपडामा देखिने लामो कपाल भएका बमजन सधैंजसो आँखा बन्द र ध्यानमग्न अवस्थामा हुन्थे ।

बमजन कहिले ध्यान केन्द्रबाट अलप हुन्थे, कहिले अर्कै जंगलको भित्री कुनोमा ध्यानरत भेटिन्थे । बिस्तारै उनको धार्मिक आस्थावानको समुह बन्यो— बोधी श्रवण धर्मसंघ । यसमा सयौं र हजारौं आस्थानहरु देखिदैं गए ।

बोधी श्रवण धर्मसंघको वेबसाइट मैत्रीय डट इन्फो अनुसार बमजनको जन्म सन् १९९० को अप्रिल १० मा रतनपुर, बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् । उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन् । उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे । उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ ।

सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए । उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए ।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे । बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान फेरिरहने गरेका छन् ।

बारा बाहेक सिन्धुपाल्चोक, ललितपुर, लमजुङ र सर्लाही जिल्लामा समेत बमजन आश्रम रहेको प्रहरीले मिडियालाई बताउँदै आएका छन् । अहिले उनी कहाँ छन् भनेर पनि प्रहरीले पहिल्याउन सकेको छैन ।

बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको भन्दै बिभिन्न जिल्लााका प्रहरी कार्यालयमा उजुरी पर्ने क्रम बढेको देखिन्छ । हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि उनी विरुद्धका आरोपहरू गम्भीर बन्दै गएका हुन् ।

त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराईरहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएको विवरण सार्वजनिक भैसकेको छ ।

बमजन सन् २०१२ मा करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि चर्चामा आएका थिए । गत वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

निर्मला काण्ड छानविन अधुरै

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा २०७५ साउन ११ मा १३ वर्षीया निर्मलाको शव फेला परेको थियो  । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो  । घटनाको प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालयबाट भएको थियो  । त्यसपछि जिल्ला प्रहरीको अनुसन्धान टोलीलाई सहयोग गर्नेगरी काठमाडौंबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा ३ जनाको टोली १३ गते पुग्यो । १४ गतेबाट विस्तृत अनुसन्धान अघि बढ्यो ।

स्थानीय दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त बनाएको पृष्ठभूमिमा दिलीपका तर्फबाट दाजु खडकसिंह विष्टले पुस ३ गते जाहेरी दिएपछि यातना तथा क्षतिपूर्ति सम्बन्धि पहिलो मुद्दा अघि बढेको थियो  । एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्र खड्कालाई विपक्षी बनाइएको मुद्दामा दिलीपमाथि कुटपिट र यातना दिएको, झूटो प्रमाण तयार पारेको आरोप थियो  । विभिन्न नशालु पदार्थ सेवन गराएर आफूअनुकूलको प्रमाण बक्न लगाएको आरोप पनि थियो ।

तिनै आरोपको अन्तिम फैसलाको पूर्ण पाठमा ‘जिम्मेवार प्रहरी अधिकृतले कानुनबमोजिम पक्राउगरि हिरासतमा राखिएको व्यक्तिलाई नै यातना दियो भनेर राज्यकै अंगबाट मुद्दा चलाइएको’ उल्लेख छ । ‘प्रस्तुत आरोपमा अफवाहको पछि लागेर हुँदै नभएको मनगढन्ते कुरालाई लिएर जिम्मेवार प्रहरी अधिकृतहरूउपर मान प्रतिष्ठा र वृत्ति विकासमै गम्भीर असर पर्नेगरी अभियोजन गरेको देखिन्छ ।’

बलात्कार र हत्याको घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका दिलीपसिंहलाई ती प्रहरी अधिकारीहरूले यातना दिएको पुष्टि नहुने जिल्ला अदालतको ठहर छ  । अदालतको फैसला आएसँगै अब प्रहरीले त्यसबेलै मुख्य आरोपित बनाइएका विष्टमाथि ततिम्बा बयान गर्न सक्छ । अनुसन्धानका क्रममा पहिले पक्राउ परेर पछि प्रमाण खुले पक्राउ गरी फेरि बयान लिइने वा सरकारी वकिल कार्यालयमा दोहोर्याएर लिइने बयान प्रक्रिया नै ततिम्बा हो ।

निर्मला प्रकरणमा २०७५ भदौ ३ मा पक्राउ परेका दिलीपसिंह विष्टलाई भदौ २६ गते सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा उनका दाजु खडकसिंहको जिम्मा लगाएर छाडेको थियो । त्यसबेला निर्मलाको भजाइनल स्वाबबाट प्राप्त भएको भनिएको वीर्यबाट विकसित गरिएको डीएनएसँग दिलीपको डीएनए मेल नखाएको कारण देखाउँदै उनलाई छाडिएको थियो । त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा डीएनए विज्ञ दिनेश झासहितको टोली गठन गरेको थियो । उक्त टोलीले पनि डीएनए परीक्षणमा यसअघि त्रुटि भएको र भजाइनल स्वाब संकलन गर्ने चिकित्सक र डीएनए परीक्षण गर्ने विज्ञहरूले त्रुटिरकमीकमजोरी गरेकामा परीक्षणमा संलग्न विज्ञमाथि छानबिन गर्न सुझाव दिएको थियो ।

त्यसपछि सरकारले राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक डीएनए विज्ञ जीवन रिजालको नेतृत्वमा ३ सदस्य विज्ञ टोली गठन गर्यो । टोलीले सुरुको डीएनएको स्रोत वीर्य नभएको निष्कर्ष निकालेको थियो । जसलेगर्दा यो घटनामा डीएनएलाई अब प्रमाणका रूपमा लिन नमिल्ने सुझावसहितको प्रतिवेदन विज्ञ टोलीले दियो । जसका कारण अब दिलीपलाई पक्राउ गरिए डीएनए मिलाइरहनु पर्दैन । अब सरकारी वकिलले आफ्नो रोहवरमा प्रहरी अनुसन्धान अधिकृतमार्फत विष्टलाई पुनः अनुसन्धान गर्न भन्न सक्छ वा प्रहरी स्वयंले नै दिलीपलाई पक्राउ गरि वा जमानी बस्ने खडकसिंहमार्फत बोलाएर ततिम्बा बयान र त्यसपछि सरकारी वकिलमार्फत मुद्दाको अभियोजन गर्न सक्छ  ।

तपाइँको प्रतिक्रिया

फेसबुक