शुक्रबार, वैशाख ७, २०८१

फ्रान्स फेरि पूर्ण लकडाउन तर्फ ! युरोपका अन्य देशमा झनै तनाव

नेपालप्लस२०७७ कार्तिक १२ गते १६:२३

एकै दिन ५० हजार भन्दा बढि कोरोना भाईरसका बिरामीहरु देखापरेपछि फ्रान्सले संभवत आजै साँझ वा नोभेम्बर १ देखि लागू हुनेगरि पूर्ण लकडाउन गर्ने तरखर गरेको छ । आज साँझ फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले राष्ट्रिय टिभीमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

यो सम्बोधन फ्रान्समा कम्तिमा दुई हप्ता पूर्ण लकडाउन गर्नेबारे केन्द्रित रहने फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् । अहिले पूर्ण लकडाउन गर्ने र यहाँको राष्ट्रिय पर्व क्रिसमसकालागि खुला गर्ने मनशायमा राष्ट्रपती रहेको मेडियाहरुको आँकलन छ ।

यहि तयारिकालागि भन्दै माख्रोंले नेशनल कोभिड सेक्युरिटी काउन्सिलको बैठक बोलाएर छलफल गरेका थिए । तिनैको सुझाव अनुसार पूर्ण लकडाउन गर्नुपर्ने निर्णयमा राष्ट्रपती पुगेको बताइएको छ ।

त्यसो त, ईटालीमापनि लकडाउन शुरु भएसँगै तनाव स्रिजना भएको छ । वसन्त ऋतुमा स्वास्थ्य संकटले ग्रस्त इटालीमा युरोपका केही भागमा नियन्त्रण बाहिर नभएको कोरोना भाइरस महामारीलाई रोक्न नयाँ उपायहरू अपनाइएको छ । सोमबार ईटालीका बिभिन्न शहरमा साँझ ६ बजेदेखिनै बार र रेस्टुरेन्टहरु बन्द गर्ने निर्णयका बिरुद्द हजारौंले प्रदर्शन गरेका थिए । त्यहाँ नाट्यशाला, रंगशाला, ब्यायामकेन्द्र, सिनेमा सबै एक महिनाकालागि बन्द गर्ने निर्णय गरिएको छ ।

ति सबै बन्द गर्ने सरकारि निर्णयका बिरुद्द ईटालीको मिलान, तुराँ, नापोली लगायतका शहरमा हिंश्रक घटनाहरु भएका थिए । मानिसहरु यस्तो निर्णयका बिरुद्द प्रदर्शनीमा उत्रिएका थिए । मिलान र तुराँमा सरकारी भवन र मेट्रो रेलसमेत तोडफोड गरिएको थियो । उता नापोली शहरमा सरकारी भवन तोडफोड गर्नुका साथै प्रहरीहरुमाथि अश्रुग्याँस र ढुंगामुढा प्रहार भएको थियो । लगभग एक दर्जन प्रहरीलाई प्रदर्शनकारीले घाइते पारेका थिए ।

इटालीका प्रधानमन्त्री गुइसेप कँतेले आर्थिक क्षेत्रलाई जिवित राख्न केहि आर्थिक प्याकेज घोषणा गर्ने तयारि छन् । तर ईटालीका धेरै नागरिकले यसमा बिश्वास नगरेको फँस २४ न्युजले उल्लेख गरेको छ ।

दोस्रो लकडाउन शुरुको घोषणा गर्नु अघि फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोले प्रतिरक्षा परिषदको बैठक बोलाएका थिए । त्यस्तै प्रधानान्त्री जँ कास्तोले राजनितिक संगठन, केहि नेता, राजनितिक नियुक्तिका कर्मचारी, मजदूर युनियनका नेत्रित्वकर्ताहरुलाई बोलाएर बैठक बसेका थिए । उनले कोरोना भाईरसको दोस्रो तरंगलाई रोक्ने बारे छलफल गरेपछि दोस्रो पूर्ण लकडाउनको निर्णयमा पुगेको बताइएको छ ।

“दोस्रो लहर सम्भवतः पहिलो भन्दा अझ कडा हुनेछ । हाम्रा धेरै नागरिकहरूले के भइरहेको छ त्यो अहिलेसम्म बुझेका छैनन्” सरकारलाई निर्देशित गर्ने वैज्ञानिक परिषदका अध्यक्ष जँ-फ्रँस्वा डाल्फ्राइसीले सोमबार चेतावनी दिए “हामी आफैं पनि पछिल्ला १० दिनमा भइरहेको कोरोनाको क्रूरताबाट अचम्मित छौं ।”

“हामीलाई थाहा थियो कि दोस्रो तरंग आउने छ । यो त्यहाँ छ । हामी सेप्टेम्बरको सुरूदेखि नै बिस्तारै तयारी गर्दैथियौं । हामी तयारि अवस्थामा छौं तर पूर्णरुपले तयार भइसकेका छैनौं” पेरिस क्षेत्रका एनेस्थेसियोलोजिष्टलाई उल्लेख गर्दै ए एफ पीले उल्लेख गरेको छ ।

त्यस्तो त, यस्तो अवस्थाको सामना फ्रान्स, ईटाली र स्पेनले मात्रै गरेको छैन । चेक गणतन्त्रमापनि कर्फ्यु लागू गरिएको छ । चेकमा नोभेम्बर ३ सम्मकालागि साँझ नौ बजेदेखि विहान ४ ५९ सम्म कर्फ्युको आदेश छ । चेक स्वास्थ्य मन्त्री रोमन प्रिमुलाका अनुसार नागरिकहरुले सरकारद्वारा निर्देशित सिमाहरु लत्याउनुको परिणाम हो ।

उता स्पेनमापनि यहि अवस्था देखिएको छ । कातालोनिया क्षेत्रमा सोमबारदेखि सप्ताहान्तकालागि लकडाउन गरिने उल्लेख छ । स्पेनका अन्य प्रान्तलेपनि कम्तिमा आगामी १५ दिनका लागि थप कडाईका सिमाहरु लागू गरेका छन् ।

जर्मनीलेपनि लकडाउनबारे छलफल चलाईरहेको छ । बेल्जियममा त यस अघिनै लकडाउन गरिएको छ । त्यहाँ कर्फ्युसमेत लगाइएको छ । बेलायतका केहि क्षेत्रमापनि लकडाउन गरिएको छ । त्यहाँपनि पूर्ण लक्डाउन गर्ने नगर्ने, लकडाउन नगरे कस्ता उपाय र सिमाहरु तोक्ने भन्ने बारे राजनितिक र सरकारी तहमा बहस चर्को छ ।

स्विजरल्याण्डमा त झन केहि क्षेत्रका अस्पतालको क्षमता अहिलेनै ७० प्रतिशत विरामीले भरिईसकेको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुले कोरोना भाईरसको दोस्रो तरंगमा पहिलेझैं १२ घण्टा काम गर्न नसक्ने स्पष्ठ पारिसकेका छन् । उनीहरुले सरकार वा प्रान्तिय सरकारसमक्ष स्वाथ्यकर्मीका माग राखेका छन् । ति पुरा नभए संसद भवन घेराउ गर्ने सम्मको चेतावनी दिईसकेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक