मंगलबार, चैत ६, २०८०

रोमानीयामा लगभग ५०० नेपालीलाइ कोरोना, केहि रोमानियाकै हिरासतमा

नेपालप्लस२०७७ कार्तिक १२ गते १८:४६

युरोपेली मुलुक रोमानियाका लगभग ५०० नेपाली कोरोना भाईरस संक्रमित भएका छन् । ति मध्ये करिब दुई दर्जनको अवस्था गम्भिर छ । लगभग तिन सय नेपाली उपचारपछि फर्किएपनि बाँकी उपचारको क्रममा छन् । बाँकि आफ्नै घरमा आराम गरेर बसेका छन् । त्यस्तै, रोमनियाबाट हंगेरीहुँदै पस्चिमी युरोप छिर्न खोजेका केहि नेपालीलाई रोमानियाको सिमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको त्यहाँका वाणिज्यदूत नवराज पोख्रेलले नेपालप्लसलाई पुष्टि गरे ।

पोखरेलले दिएको जानकारि अनुसार तोताल अटो सर्भिस भन्ने त्यहाँको कारहरु बेचबिखन गर्ने कम्पनीमा ४२ नेपाली काम गर्थे । ति मध्ये केहिमा कोरोनाका लक्षणहरु देखिएपछि करिब १० जनाको परिक्षण गरिएको थियो । परिक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखिएपछि बाँकिको परिक्षण गरियो । ति सबैमा कोरोना पोजेटिभ देखिएको हो । ति बाहेक अन्य सुसी रेस्टुरेन्ट, भवन निर्माण लगायतका क्षेत्रमा काम गर्ने अन्य नेपालीहरुको परिक्षण गर्दा करिब पाँच सयमा कोरोना पोजेटिभ देखिएको पोखरेलले बताए ।

रोमानियमा केहि शर्त सहित काम गर्न आएका नेपालीहरु स्वर्ग छ भन्दै फ्रान्स, जर्मनी, स्पेन, ईटाली, पोर्चुगल लगायत पस्चिमी युरोप छिर्न कम्पनी छोडेर भागेका थिए । भागेर रोमानिय हुँदै हंगेरी छिर्न खोज्दा तिन जना नेपालीलाई रोमानियाको प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । ति नेपालीको पासपोर्ट जफत गरि हिरासतमा राखेपछि रोमानियन प्रहरीले नेपाली वाणिज्यदूत नवराज पोख्रेलसित सम्पर्क गरेको पोख्रेलले नेपालप्लससित बताए ।

“गैह्र कानुनी रुपमा ति भाइहरु रोमानियबाट भागेर युरोपको अन्य देश छिर्न खोजेका रहेछन् । बोर्डरमा पक्राउ परेपछि प्रहरीले मलाई खबर गर्‍यो । मैले तिनको पासपोर्ट मागेर छुटाउन प्रयास गरिरहेको छु” पोख्रेलले नेपालप्लससित भने ।

सुरक्षा र नैतिकताका आधारले ति नेपालीको नाम उल्लेख गर्न नसकिने पोख्रेलले बताए ।

लगभग डेढ सय नेपाली अहिलेपनि कोरोनाका बिरामी भएपनि हाल ति होम क्वारेन्टाईनमै बस्न बाध्य भएकोपनि पोख्रेलले जानकारि दिए । उनका अनुसार हाल रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरु विरामीले भरिभराउ छन् । नयाँ बिरामीहरु राख्ने बेड तिसित छैन । त्यसैले अति गम्भिर अवस्थाका विरामी बाहेक त्यहाँ अन्यलाई अस्पतालमा कोठा पाइन्न ।

“कुनै ब्यक्तिले एम्बुलेन्सलाई फोन गरेर गम्भिर बिरामी परेको सूचना दिँदै बोलाएपनि बाटोमा यति फोन आउँछन् कि त्यो एम्बुलेन्सले बाटोमा अन्य दश जना बिरामी बोकेर आउँछ । यहाँको अवस्था गम्भिर छ। सामन्य रोगीले उपचार पाउने कुरो गाह्रो छ” पोख्रेलले सुनाए । त्यसैले अत्यन्त गम्भिर अवस्थाका विरामीबाहेक हाल रोमानियाका अस्पतालमा अन्य बिरामीले भर्ना पाउँदैनन् ।

रोमानियामा कामदार भिसा (वर्क भिसा) मा आएका नेपाली यदि उक्त देश भागेर अन्यत्र गएमा कम्तिमा पाँच वर्ष रोमानिया र युरोपेली कुनैपनि देशमा बस्न नपाने कानुनी प्रावधान छ । त्यससँगै जेल बस्नुपर्ने नियमपनि छ । कतिपय नेपालीले यो प्रावधान बुझेपनि लत्याउने गरेका छन् भने कतिपयले साथीभाईको लहै लहैमा लागेर कानुन मिचि युरोपका अन्य मुलुक छिर्न भाग्ने गरेका छन् । यो मानसिकताले गर्दा पछिल्लो समयमा नेपालीहरुलाई कामदारको रुपमा ल्याउने रोमानियामा नेपालीप्रतिको विश्वास र भरोसा खस्कँदो छ ।

(फाइल फोटो- द काठमाण्डु पोस्ट)

तपाइँको प्रतिक्रिया

फेसबुक