आइतबार, मंसिर १४, २०७७

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-२

लीलबहादुर क्षेत्री२०७७ कार्तिक १५ गते १३:२८

  पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोला

त्यसपछि आरम्भ हुन्छ साहित्य एकेडेमीले पुरस्कार वितरण समारोहको विषयमा जानकारी दिंदै अनेकौं जिज्ञासा राख्तै लेखेका पत्रहरू आउने क्रम । पुरस्कार वितरण समारोह १८ फेब्रुअरी, १९८८ मा हुने निधो भयो । यो समारोह साताभरि नै चल्ने रहेछ । पुरस्कार विजेताहरूसित सम्बन्धित कार्यक्रम चाहिं अघिल्ला तीन दिनभित्र सकिने रहेछ । पछिल्ला कार्यक्रमहरूमा धेरैजसो सङ्गोष्ठी, प्रदर्शनी आदि हुने रहेछन् जसमा बाहिरबाट आएका पुरस्कार विजेताहरू नै नरहने देखियो ।

साहित्य एकेडेमीको अर्को पत्र आयो । समारोहमा सहभागी हुँदा आवाससम्बन्धी जानकारी लिएर । लेखेको थियो- एकेडेमीले पुरस्कार विजेताहरूको आवासका निम्ति पाँचतारे होटल “भारत अन्तर्राष्ट्रिय केन्द्रमा कोठा बुक गर्नेछ जुन् होटल अति आकर्षक र चित्रात्मक छ । यहाँ पाश्चात्य सिने जगत हलिवुडका नायक-नायिकासमेत आवासका लागि आउने गर्छन् । एकेडेमीले तीन दिनका लागि बुक गर्ने यस होटलमा त्योभन्दा बढि बस्न चाहेमा आफ्नै खर्चमा बस्नुपर्दो रहेछ । ‘यदि दिल्लीमा कसैको आफ्नो आवासीय व्यवस्था छ भने सूचना दिनू’ भनेर पनि लेखेको रहेछ । यसपछि एकेडेमीको अर्को पत्र आयो जीवन तथ्य (बिओदत) र निगेटिभसहित दुई प्रति फोटो मागेर । अर्को पत्रमा पुरस्कार वितरण समारोहपछि लेखकहरूको भेटघाट कार्यक्रम हुने र त्यसमा आफ्नो सिर्जनशील साहित्यसम्बन्धी ५६ मिनेटको वक्तव्य राख्नुपर्ने जानकारी दिंदै लिखित वक्तव्यको अग्रिम प्रति मागिएको थियो ।

अर्को एउटा पत्रमा आफ्ना दिल्लीवासी कोही परिचित, मित्र वा सम्बन्धी भए उनीहरूको ठेगाना पठाइदिने आग्रह गरिएको थियो ताकि उनीहरूलाई पनि समारोहको निम्तो पठाउन सकियोस् । मैले जवाहरलाल नेहरू विश्वविद्यालयका तत्कालीन प्राध्यापक डा. ईश्वर बराल, तत्कालीन विद्यार्थी सुमनराज तिम्सिना, आकाशवाणी नेपाली कार्यक्रमका दिल्लीका केही साथीहरू, नेपाली दूतावासका केही विशिष्ट व्यक्तिहरू, विभिन्न शैक्षिक संस्थानका विध्यार्थीहरू आदिको ठेगाना पठाएको थिएँ । तिनीहरूमा धेरैजसो उपस्थित पनि भएका थिए ।

मैले एकेडेमीले राखेका सबै जिज्ञासाको उत्तरसहित खोजेका सबै तथ्यहरू पठाइदिएँ । अर्कातिर साहित्य एकेडेमीजस्तो राष्ट्रियस्तरको प्रतिष्ठित पुरस्कार पाएकोमा विभिन्न संस्था, सङ्गठन, शैक्षिक संस्थानहरूद्वारा संवर्द्धना, अभिनन्दन गर्ने र बधाई कार्यक्रम राख्ने होड चल्यो । कलेजका सहकर्मी साथीहरू तथा विध्यार्थी सङ्गठनले पनि अभिनन्दन गर्ने प्रस्ताव मेरासामु राखे । ‘मैले पुरस्कार थापेकै छैन । पुरस्कार प्राप्त भएपछि विचार गरौंला’ भनेर तत्काललाई टारें पनि । पुरस्कार समारोहपछि असम महाविध्यालय शिक्षक संस्थाको आर्य विध्यापीठ कलेज एकाइ र छात्र सङ्घले बेग्लाबेग्लै भव्य अभिनन्दन समारोह राखेका थिए । त्यसो त, असम कलेज शिक्षक संस्थाले पनि आफ्नो वार्षिक अधिवेशनमा मेरो भव्य अभिनन्दन गरेको हो ।

हाम्रा स्थानीय गोर्खा सङ्गठनमध्ये गुवाहाटीको मूल सङ्गठन “नेपाली मन्दिर प्रबन्धक समिति’ले पुरस्कार घोषणा भएको केही दिनपछि नै भव्यरूपमा अभिनन्दन गरेको कुरा म सम्झन्छु । त्यसमा धेरैजसो नै तत्कालीन अगुवा गोर्खाहरूको सहभागिता थियो । त्यसमा अग्रणी भूमिका खेल्ने प्रमुख व्यक्तिहरूमा मैले सम्झनसकेका केही नाउँहरू हुन् – रामलाल उपाध्याय, प्रेमसिंह सुवेदी, हेमबहादुर छेत्री, नरबहादुर दाहाल, नव सापकोटा, पद्मधर पौडेल, गोपालबहादुर नेपाली, अनुराग प्रधान आदि । यीमध्ये रामलाल उपाध्याय, प्रेमसिंह सुवेदी, हेमबहादुर छेत्री, गोपालबहादुर नेपाली र अन्य धेरैजसो नै परलोकगामी भइसकेका छन् ।

तत्कालीन कामरूप जिल्लामै पर्ने कुम्रिकट्टाको छेउ खैरेनी गाउँमा स्कुलका शिक्षक, सामाजिक कार्यकर्ता सबै मिलेर भव्य अभिनन्दन गरेको पनि स्मृतिपटलमा छँदै छ जसले दार्जिलिङ एकेडेमीको भानु पुरस्कार पाउँदा पनि अभिनन्दन गरेर आफ्नो न्यानो माया पेखेका हुन् । यस कार्यका प्रमुख व्यक्तिहरूमध्ये नेत्रभूषण खड्का, उमा शर्मा, कृष्णबहादुर छेत्रीलगायत त्यस भेकका अग्रजहरूको सम्झना हुन्छ ।

त्यसै ताक, हो त सन् १९८८ को जनवरी महिनाको मध्यतिर हो क्यार ! हवाइपुर कार्बिआङ्लङमा असम नेपाली छात्र सङ्घ (हाल अखिल असम गोर्खा छात्र सङ्घ) को अधिवेशन राखिएको थियो । त्यस अधिवेशनको साहित्य गोष्ठीमा अध्यक्षता गर्नका निम्ति म आमन्त्रित थिएँ । संयोगले त्यसैताक असम भ्रमणमा आएका त्रिभुवन विश्वविध्यालयका तत्कालीन प्राध्यापक, वरिष्ठ साहित्यकार डा. बासुदेव त्रिपाठी, प्रा. घनश्याम कँडेल, प्रा. ठाकुरप्रसाद पराजुली आदि पनि त्यस गोष्ठीमा उपस्थित थिए । असमका विभिन्न जिल्लाबाट भेला भएका साहित्यकारहरूमाझ त्यस समारोहमा विध्यार्थीहरूले मलाई आनुष्ठानिक रूपमा अभिनन्दन गरेका थिए ।

यता असमको माउ सङ्गठन असम गोर्खा सम्मेलनको अठारौं द्विवार्षिक अधिवेशन सन् १९८८ को १३, १४ र १५ फेब्रुअरीमा हुने भएको थियो । त्यस अधिवेशनमा पनि स्वागतकारिणी समितिको तर्फबाट मलाई अभिनन्दनको निम्तो आएको थियो । अभिनन्दनभन्दा पनि मेरानिम्ति मूल कुरा के थियो भने असम गोर्खा सम्मेलन भनौं यसको प्रारम्भिक स्वरूप आसाम प्रान्तीय गोर्खा लीग छँदैदेखि सन् १९५४ मा गुवाहाटीमा भएको यसको छैटौं अधिवेशनदेखि यताका सबै अधिवेशनहरूमा म लगातार उपस्थित हुँदैआएको थिएँ । शोणितपुर, रङ्गासकुवाको यस अधिवेशनको पनि म व्यतिक्रम हुन चाहँदैन्थे । यता १८ फेब्रुअरीमा हुने साहित्य एकेडेमी पुरस्कार वितरण समारोहका निम्ति १७ तारिक बेलुकीसम्म दिल्ली पुग्नुपर्ने । १६ तारिक बिहान नर्थइस्ट एक्स्प्रेस रेलगाडीको टिकट थियो ।

रङ्गासकुवा अधिवेशनमा एक दिनका लागि भए पनि उपस्थित हुने निधो गरेर १३ तारिक बिहान बसमा चढें। बेलुकी टौभाङ्गा भन्ने ठाउँमा ओर्लिएर रङ्गासकुवा पुगियो । १४ तारिक बेलुकी स्वागतकारिणी समितिले भव्य अभिनन्दन समारोह राखेको थियो । अभिनन्दन समारोहमा सहभागी भई त्यसै राति रात्रीबस चढेर १५ तारिक बिहान घर आइपुगें । साथमा अनुराग प्रधान थिए । पारिवारिक तथा स्थानीय चाँजोपाँजो मिलाउनमा १५ तारिक व्यस्त रहें ।

१६ फेब्रुअरी १९८८ का विहान नर्थइस्ट एक्स्प्रेस चढेर दिल्लीका लागि प्रस्थान गरियो । साथमा थिइन् छोरी कृष्णा । उनी त्यसताक आठ कक्षाकी छात्रा थिइन् ।

१७ फेब्रुअरी १९८८ का राति अलि ढिलाएरै ट्रेन ११ बजेतिर दिल्ली स्टेसन पुग्यो। त्यसताक, वरिष्ठ साहित्यकार तथा शिक्षाविद डा. डिल्लीराम तिम्सिनाका सुपुत्र सुमनराज तिम्सिना जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्लीमा अध्ययनरत थिए । नेपाली साहित्यमा निकै रुचि राख्ने सुमनले त्यसताक नेपाली साहित्य सङ्घ, दिल्लीको माध्यमबाट साथीहरूसित मिलेर “बिजुवा’ शीर्षकको पत्रिका पनि निकाल्थे । उनले एकेडेमी पुरस्कार पाएकामा मलाई बधाई दिंदै पुरस्कार वितरण समारोहमा आउँदा दिल्लीको नेपाली साहित्य सङ्घ र सांस्कृतिक मञ्चको संयोजनमा संवर्द्धना गर्ने र त्यसका निम्ति पुरस्कार समारोहपछि दिल्लीमा दुई दिन बढि बस्ने कार्यक्रम बनाउने आग्रह गरेर पत्र लेखेका थिए । उत्तरमा मैले उनको कुरा स्वीकार गर्दै, आवासका निम्ति कुनै होटल अथवा अतिथिशालाको चाँजो मिलाइराख्ने आग्रह गरेको थिएँ । त्यसका साथै म १७ तारिक राति दिल्ली स्टेसन आइपुग्ने र नयाँ ठाउँ हुनाले सम्भव भए स्टेसन आइदिने अनुरोध पनि गरेको थिएँ।

हामी प्लेट्फर्मबाट निस्किएर माथि पुलको प्रवेशमा गएर उभियौं । सुमनराज आएका भए चिन्न सजिलो होला भनेर नेपाली टोपी लगाएँ । धेरै राति भएकाले त्यति टाढा छात्रावासबाट आउन सम्भव भएनछ र उनी फेला परेनन् ।

अब संयोग हेर्नुहोस्, फेला परे अनुराग प्रधान । उनी त्यही गाडीमा गुवाहाटीबाट दिल्ली आएका रहेछन् । झन्डै ३८ घन्टाको यात्रा हामीले एउटै गाडीमा गरेका रहेछौं । तर हाम्रो कतै देखादेख भएन । उनी आउने कुरा मलाई थाहा पनि थिएन ।

अनुराग मेरा ज्यादै हितैषी थिए। दुई दिनअघि हामीसँगै रङ्गासकुवा अधिवेशनबाट फर्केका थियौं । म १६ तारिक रेल चढ्ने कुरा उनलाई थाहा थियो । यस पुरस्कार समारोहमा सहभागी हुने उत्कट इच्छाले रेलवेमा कार्यरत अनुरागले आफ्नो सरकारी कामको यात्रा मिलाएर त्यसै गाडीमा चढेछन् । संयोगले उनको साथ पाउँदा खुसी लाग्यो।

उनी रेलवेको आवासगृहमा जान खोज्दै थिए । मैले भनें- अब यति राति एक्लै कहाँ जानुहुन्छ ? हिंड्नुहोस् हामीसितै, जे होला देखा जाला ।

एउटा टेम्पो चढेर हामी तीनैजना आईआईसी होटल पुग्यौं । टेम्पोले ४० रुपियाँ लियो । तर एकेडेमीले बिल तिर्दा दस रुपियाँको मात्र हिसाब लायो जो वास्तविक भाडा रहेछ ।

होटलमा कोठा बुक भएको रहेछ । पुरस्कृत व्यक्तिसित आउने परिवारका सदस्यलाई बस्न दिने नियम रहेछ । तर परिवार बाहिरका कुनै व्यक्तिलाई साथमा ल्याए त्यसका निम्ति सय रुपियाँ तिर्नुपर्दो रहेछ । अनुरागका निम्ति सय रुपियाँ तिरेर हामी कोठामा प्रवेश गयौं । केही खाजा खाएर विश्राम गयौं।

विहान एकेडेमीका एकजना कार्यकर्ता खोज खबर लिन आए । उनी दक्षिण भारतीय तमिलभाषी थिए । विहान दस बजेदेखि एकेडेमीको कार्यालय रवीन्द्र भवनमा अकादमी पुरस्कार विजेता, एकेडेमीका अधिकृत कार्यकर्ता, कार्यकारिणीका सदस्यवृन्द आदिसित अनौपचारिक भेटघाटको कार्यक्रम रहेछ र दिवाभोजको व्यवस्था पनि त्यहीं गरिएको रहेछ ।

हामी रवीन्द्र भवन पुग्दा एकेडेमीका तत्कालीन सचिव प्रा. इन्द्रनाथ चौधुरीले स्वागत गरे । त्यसताक साहित्य एकेडेमीमा असमिया भाषाकी संयोजक डा. निर्मलप्रभा बरदलोई बाइदेउ थिइन् । नेपाली भाषाका संयोजक थिए एम. एम. गुरुङ । यी दुवै जनासित मेरो भेटघाट भयो । त्यसबाहेक आकाशवाणी दिल्लीको नेपाली कार्यक्रमका डम्बरमणि प्रधान, नेपाली दूतावासका सांस्कृतिक सचिव कवि तुलसी दिवस आदि केही परिचित व्यक्तिसित भेट भएको सम्झन्छु जो एकेडेमीको निम्तोमा आएका थिए।

रवीन्द्र भवन प्रेक्षागृहको फराकिलो बरान्डामा विभिन्न भाषाका साहित्यमा पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूका ठूला आकारका तस्विरहरू तथा एकेडेमी पुरस्कारप्राप्त ग्रन्थहरू ससम्मान प्रदर्शन गरिएका थिए ।
क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक