बुधबार, वैशाख ५, २०८१

हङकङका १२५ वटै शिखरमा नेपाली धावक

नेपालप्लस / हङकङ२०७७ कार्तिक १७ गते १७:१६

हङकङका १२५ वटै शिखरमा पुगेर एक नेपालीले आफ्नो प्रसिद्दीका साथै नेपालको नामसमेत राखेका छन् । गोर्खाको भिमसेन गाउँपालिका-१, मसेलका स्थायी वासिन्दा, हाल हङकङ निवासी डिना बगाले (दिनानाथ बगाले) त्यहाँका सबै शिखर चुमेर आफूसँगै नेपालको नाम राखेका हुन् । उनले हरेक शिखरमा पुग्दा नेपालको झण्डा फरहराउँदै नेपाली भएर चढ्ने गरेका छन् ।

यस अघि सन् २०१७ मा चिनको तिब्बती क्षेत्रमा पर्ने मेली क्षेत्रको अन्तर्राष्ट्रिय हिमाली क्षेत्रको दौडमा उनी विश्वमै दोस्रो स्थान जित्न सफल भएका थिए । ३,२०० मिटरबाट शुरु भएको यो दौड ४००० मिटरको उचाईमा पुगेर फेरि ओर्लिनुपर्ने थियो ।

हङकङमा रहेका सबै १२५ वटा शिखर पुग्ने बगाले पहिलो नेपालीपनि हुन् । त्यहाँका शिखरहरु धेरै उचाईका त छैनन् । तर ति मध्ये धेरै शिखर पुग्नभने कठिन छन् । किनभने ति कतिपय शिखरमा जाने गोरेटोपनि छैन । ति शिखरसम्म पुग्न आफैंले बाटो खोज्नुपर्छ । यातायात लगायतको ब्यवस्था आफैंले गर्नुपर्छ । कतिपय टापूमा झाडि, काँडाका बाक्ला जंगल फाँड्दै जानुपर्छ । अझ हङकङमा त हर्रेउ, गोमन, करेट लगायतका थुप्रै विषालु सर्पहरु हुनाले गर्मीयाममा यस्ता झाडी फाँडेर जानु निकै कठिनपूर्ण मानिन्छ ।

त्यसैले धेरै देशका धावक र चुनौतिपूर्ण यात्रा गर्नेहरुपनि प्राय: जाडियाम पारेर जाने गर्छन् । जाडोयामा सर्पहरु जमिन मुनि सुषुप्त अवस्थामा रहने भएकाले तिनले डस्ने डर हुन्न ।

हङकङका यि शिखरमध्ये सबैभन्दा अग्लो शिखरको उचाई ९०० मिटर छ । अधिकांश करिब ३०० मिटरका छन् । यहाँ हिउँ नपरेपनि ठण्डियाममा बरफ भने जमेको हुन्छ । हङकङका ३०० मिटरदेखि ९०० मिटरसम्मका शिखरहरुको यात्रालाई ‘पिक हन्टिङ’ नाम दिने गरिएको छ । यसभन्दा मुनिकालाई पिक हन्टिङ मानिन्न ।

“कतिपय टापूमा जान बाटो हुन्न । गोरेटोसम्म नहुँदा कुनैकुनै टापूमा पुग्न त निकै कठिन हुन्छ । बाटो, ढुंगा झाडी र काँडाका घारि आफैंले पन्छाउँदै जानुपर्छ” डिना बगालेले नेपालप्लससित भने ।

उनले यहि वर्षको गर्मी याममापनि ति १२५ वटै शिखरको यात्रा गरेका हुन् । उनी हाल अन्तर्राष्ट्रियस्तरमै १२५ शिखर पुग्नेमध्ये विश्वस्तरमै पाँचौं स्थानमा छन् ।

त्यसो त,यहाँको टापूका शिखर चुम्न मनलागि जानपनि पाइन्न । फ्रान्सेलीहरुले निर्माण गरेको आधिकारिक वेभसाईटमा आबेदन दिएर नाम लेखाउनुपर्छ । त्यसबाट स्विक्रिति पाएपछि जिपिएस सिस्टम फलोगर्दै बाटोघाटो आफैंले खोजेर जानुपर्छ । शिखरमा पुगेपछि यो वेभसाईटले शिखर पुग्नेको आधिकारिकता आफैं अभिलेख गरिदिन्छ, प्रमाणित गरिदिन्छ ।

डिना बगाले अन्तर्राष्ट्रिय स्तरका यस्ता नेपाली धावक हुन् जसले हङकङका झण्डै तिन दर्जन यस्ता शिखर एकैदिनमा पाईला टेकेका छन् । यति शिखर पुग्न लगभग ४००० मिटरको उचाई पुगेसरह हो ।

यि शिखर पुग्दा हङकङका लगभग सबै टापू र रमणिय क्षेत्रहरुको रसस्वादन गर्न पाइने बगालेले बताए । “हङकङका १२५ वटै शिखर पुग्ने भनेको त यहाँको लगभग सबै ठाउँ हेर्न पाइनु हो । नयाँ नयाँ लोभलाग्दा द्रिष्यहरु हेर्न पाइन्छ । कतिपय ठाउँ त असाध्यै सुन्दर छन् ।”

बगाले यस अघि जापानको फुजी, चिनको मेली र फ्रान्सको मों ब्लँ हिमाली क्षेत्रमापनि अन्तर्राष्ट्रिय दौडमा सहभागि भैसकेका छन् । चिनको मालीआ भएको अन्तर्राष्ट्रिय हिमाली दौडमा उनी विश्वमै दोस्रो स्थान हात पार्न सफल भएका थिए । यसबाहेक राष्ट्रिय स्तरका दौडमा त उनी निरन्तर सहभागि भैरहन्छन् ।

तपाइँको प्रतिक्रिया