बिहीबार, वैशाख १३, २०८१

कोरोना कहरमाझ ओली–दहाल भाले भिडन्त : ‘न पार्टी फुट्छ, न एक हुन्छ’

नेपाल प्लस२०७७ कार्तिक १७ गते २२:३७

काठमाडौं — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबिचको शक्ति संघर्ष र अहम् टकरावका कारण सिंगो मुलुकमा थप संकट र आम जनमानसमा नैराश्यता छाएको छ ।

कोरोना संक्रमणको बढ्दो स्थितिमाझ मुलुकको सम्पूर्ण सामाजिक र आर्थिक गतिबिधि ठप्प भैरहेका बेला ओली–दाहालले जेजस्तो नाटक देखाइरहेका छन्, यो अन्तत मुलुक र मुलुकबासी सबैका निम्ति महँगो सावित हुँदैछ ।

कतिपयले एक साताअघि नेपाल भ्रमणमा आएका भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलको भ्रमणपछि यो राजनीतिक समिकरण र भागबण्डामा फेर पर्न गएको भनेपनि यथार्थमा नेकपा पार्टीभित्रको यो किचलो गत चैतमा नेपालमा कोरोना संकटकै कारण लकडाउन सुरु भएयता एकैसाथ बढेर गएको टिप्णीकारले बताएका छन् ।

खुफिया प्रमुख गोयल भ्रमणको एक सातामैं यस्तो राजनीतिक उपद्रव भएको भनेर मान्न सकिने स्थिति पनि छैन । यसपटकको राजनीतिक खेल र आपसी अविश्वासमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि एउटा गुट बनाएर सक्रियताका साथ लागेका छन् ।

अब ओली, दाहाल र नेपालपक्षबिचको त्रिपक्षीय भिडन्तमा संसदिय दल र केन्द्रीय समितिमा कोकसको बहुमत पुग्ने र नपुग्ने हिसाबकिताब सुरु भएको छ । अहिलेको कानुनी व्यवस्थाअनुसार दल फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत मत कम्तिमा चाहिन्छ । जसले बहुमत पुर्याउँछ उसले पार्टीको नाम, छाप, झण्डा, चुनाव चिह्न पाउने भएकोले पनि दुवै पक्ष आन्तरिक रूपमा यस्तो हिसाब मिलानमा लागेका हुन् । दुवै पक्ष चुनाव चिन्ह सूर्य र पार्टीको नाम नेकपा आफ्नो पक्षमा होस् भन्ने चाहन्छन् । चुनाव चिन्ह, छाप, पार्टीको नाममा विवाद भएमा समेत केन्द्रीय समितिको कम्तिमा ४० प्रतिशतका हस्ताक्षर चाहिन्छ ।

पूर्व एमाले समूहमा नेपाल पक्षमा ४२ जना सांसद रहेको दाबी छ । र, पूर्व माओवादी अर्थात् प्रचण्ड समूहमा ५३ जना सांसद छन् । त्यसरि हेर्दा ९५ जना सांसद यो समूहको हुन्छ र बहुमत सहजै पुग्ने देखिन्छ । यो संख्या झलनाथ खनाल, वामदेव गौतमसमेत जोडिँदाको संख्या हो । तर, पूर्व माओवादीका केहि संख्या ओली समूहमा जाँदा पनि बहुमतका लागि आवश्यक ८७ सिट पुर्याउन सकिने आँकलनमा प्रचण्ड नेपाल पक्षमा देखिएपनि पछिल्ला दिनमा ओलीको देखिने बढ्ता आत्मविश्वासले संसदिय दलमा बहुमत पुर्याउन सक्ने अवस्थामा छ ।

तर, यो संकटको घडीमा असन्तुष्ट बनेर बस्ने र पार्टी फुटाउन खोज्ने दाहाल समुहसँग ४० प्रतिशत मतादेश पुग्ने अवस्था छैन । अथवा नेपाल–दाहाल गुट मिलेर यो जनमत ल्याएपनि सिंगो पार्टी र पद्धतीलाई आउने दिनमा जनतासामु
मुख देखाइसक्नु हुने छैन । बरु परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गत आइतबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भनेका रहेछन् — ‘नेतृत्व पंक्तिमा रहेका हाम्रा अधिकांश कमरेडहरुमा आन्दोलनप्रतिको विश्वास टुटेको छ । अब दुई वर्षपछि निर्वाचन हुन्छ । त्यसपछि नेकपा शक्तिशाली पार्टी बन्छ । त्यसको नेतृत्व हामी गर्छौं भन्ने विश्वास नै छैन ।

प्रधानमन्त्रीले त आफू महाधिवेशनपछि अध्यक्ष नबन्ने र आउँदो निर्वाचनपछि फेरि प्रधानमन्त्री पनि नबन्ने बताइसक्नुभएको छ । आफ्नो तर्फबाट सबै कुरा क्लियर गरिसक्नुभएको छ । अब डेढ वर्षपछि स्थानीय निर्वाचन हुँदैछ । दुई वर्षपछि आम निर्वाचन हुनेछ । कमरेडहरु त्यहाँसम्म पनि पर्खन किन सक्दैनन् ? पाँच महिनापछि महाधिवेशन गर्ने भनिएको छ ।

त्यहाँसम्म पर्खने धैर्य पनि किन नभएको ? हामीलाई सबथोक आजै चाहिएको छ । किनभने हामी भविष्यमा पनि यहि स्थितिमा रहन्छौं भन्ने विश्वास नै छैन ।’

तपाइँको प्रतिक्रिया