मंगलबार, मंसिर ९, २०७७

देशकै सबैभन्दा अयोग्य ‘महानगर पिता’ : गरीबले खाने २ गाँस भातपनि खोसिछाडे

नेपालप्लस२०७७ कार्तिक १८ गते २२:५०

काठमाडौं— तीन वर्ष ४ महिनाअघि काठमाडौं महानगरपालिकामा मेयर चुनिएर आउँदा ५४ वर्षिय बिध्यासुन्दर शाक्यको अर्कै क्रेज थियो । नाम अनुसारकै सज्जन र कर्मठ मेयर पाएकोमा काठमाडौंबासी दंग थिए । त्यसअघिका मेयर केशव स्थापितले बिध्यासुन्दरलाई काँधमा बोकेर खुलामन्चमा रमितै देखाएका थिए — अब काठमाडौं ‘बिध्यासुन्दर’ हुनेछ समेत भनेका थिए ।

तर, भैदियो उलटपुलट । उनै स्थापितका आडमा बसेर काठमाडौंमा १ वर्षभित्रमा १०१ काम सम्पन्न गर्ने भनेर वाहवाही पनि बटुले बिध्यासुन्दरले । काठमाडौंको लगनटोलमा जन्मे–हुर्केका बिध्यासुन्दर यसअघि काठमाडौं नगरपालिका, वार्ड २१ मा २ पटक वडाध्यक्ष भैसकेका थिए । वडा स्तरको काममा कहिले यो र कहिले त्यो भनेर उम्कन सकिने भएपनि नगरप्रमुख नै भएपछि त केही हुनुपर्ने हो । तर, अहँ हरिबिजोग मात्रै भयो ।

कहिले खुला मन्चमा टहरा थाप्न आदेश दिने त कहिले रानीपोखरीमा क्याफे निर्माण गर्छु भनेरै यिनले नगरबासीको हुर्मत लिए । कोरोना कहरमाझ पीसीआर गरिरहनु पर्दैन भनेर भाषण दिने उनै कोरोना पोजेटिभ भएर होटल सोल्टीको क्वारेन्टाइनमा आरामकुशलपूर्वक बसे भने बाहिर निस्कनासाथ यहि कोरोना कहरले गाँसबाँसबिहिन भएका जनसाधारणले बिहान एक छाक भात खान पाइरहेको खुलामन्चमा ‘भात बाँड्न बन्द गर्नका लागि’ आदेश दिए ।

मेयरले शाक्यको बोली समातेर महानगरका प्रवक्ता ईश्वरमान डंगोलले हाकाहाकी भनेका छन्— सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भयो । यो काम अशोभनीय भयो । यसले कतिपय मानिसलाई अल्छी पनि बनायो । राजधानीकै मुटुमा यस्तो गर्दा के सन्देश जान्छ भनेर नागरिकहरुले पनि प्रश्न गर्नुभयो । महानगरले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान चलाइरहेको र मानव सेवा आश्रममार्फत सडक मानवहरूको उद्धार गरिरहेको छ । समस्यामा परेकाहरुलाई अहिले पनि वडाहरुबाट राहात दिएकै छौं । त्यसैले यहाँ खाना खान नै नपाएर कसैले मर्नुपर्ने अवस्था आउँदैन ।’

ए दैव, यो कस्तो तर्कसंगत बोली होला ? यो महानगरमा कसलाई रहर होला, आफ्ना लालाबाला र दुधे नानीलाई काखमा लिएर दालभात खान पाइने लाईनमा प्लास्टिकका थाल लिएर पालो पर्खने ? कसलाई रहर होला, यो सपनाको रंगीन संसारमा देशविदेशका फोटोग्राफरका क्यामेरामा आउने गरि भातको गाँस मुखमा हालिरहेको दृष्य खिच्ने ?

यहि कारण बिध्यासुन्दरको अतिरंजना र मुर्ख कार्यशैली देखेर उनै पूर्व मेयर केशव स्थापितले फेरि घोषणा गरिदिएका छन्— बिध्यासुन्दर पूर्ण रुपले असफल भए । उनको कामलाई म एक सयमा जिरो मात्रै दिन्छु ।

शहरमा न खानेपानी प्रबन्ध भएको छ । न यातायातमा सुलभ र सहज प्रबन्ध छ । स्वास्थ्यको हालत उस्तै छ । जातीय रुपमा नेवार समुदायको आशिवार्द पाउन ‘काठमाडौंमा नेपाल भाषामा पढाइ र सम्पूर्ण सरकारी कामकाज नेवारी भाषामा गराउन सुरु गर्नेछु’ भन्ने मेयर शाक्यले आफ्नै महानगरपालिका भित्र यो कामकाजी भाषामा बदलाव ल्याउन सकेका छैनन् । तैपनि उनको दम्भ भने उस्तै छ — मैंले ५ वर्षमा गर्ने काम अहिल्यै गरिसकें ।

शास्त्रमा भनिएको छ — मुर्खस्य ठिंगा बलम् । अर्थात, मुर्खको तागत भनेकै बल हो । न दिमाग, न उपाय । त्यहि भएर खुलामन्चमा भात खाइरहेका सर्वसाधारणको गाँस खोस्न उनले प्रहरी तैनाथ गरिसकेका छन् । यो बल र शासनको तुजुक नेपाली जनता, विशेषत काठमाडौंबासीले शायदै यति चाँडै भुल्ने छैनन् ।

एउटा रमाइलो सन्दर्भ छ— काठमाडौं महानगरपालिकाको । काठमाडौं नगरपालिका जब महानगरपालिकामा रुपान्तरण भयो, व्यङ्ग्य गर्नेहरुले छोटकरी नाम दिएका थिए – कामनपा । यथार्थमा त्यो व्यङ्ग्यलाई यतिखेर मेयर विध्यासुन्दर शाक्यले यथार्थमा परिणत गरेका छन् (काठमाडौं महानगरपालिका वास्तवमै कामनपा हो। यसको कुनै हैसियत छैन ।
काम नपाइरहेको एउटा सरकारी कार्यालय अर्थात ‘काम नपा’ र यहाँका महानगरपिता पनि उस्तै फन्टुस्, स्वाँठ र काम–नपा पत्रुपात्र ।

तपाइँको प्रतिक्रिया

फेसबुक