शुक्रबार, चैत १६, २०८०

अमेरिकाको निर्वाचनमा को विजयी बन्ने अझै अनिश्चित : वाइडेन अगाडि, अग्रता हेर्दा ट्रम्पले जित्ने संभावना

किशोर सापकोटा / लुइभेल, केन्टकी २०७७ कार्तिक १९ गते १३:५७

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपव्लिकन उम्मेद्वार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड वा डेमोक्रेटिक उम्मेद्वार जो वाइडेन को विजयी वन्छन् भन्ने अझै पनि प्रष्ट भएको छैन । अहिलेसम्म घोषित परिणाममा राष्ट्रपति ट्रम्प भन्दा वाइडेन अगाडि छन् । तर अहिले ट्रम्पले अग्रता लिइरहेका व्याटल स्टेटहरु पेन्सिलभेनिया, ओहायो, जर्जिया, मिचिगनमा यदि ट्रम्पले आफ्नो अग्रता कायमै राख्न सकेभने उनी विजयी बन्नेछन् ।

राष्ट्रपति पदमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा अहिलेसम्ममा वाइडेनले २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । अहिले गणना भइरहेका राज्यहरुमा पेन्सिलभेनियामा ट्रम्प करिव ६ लाख मतले अगाडि छन् । तर पनि डेमोक्रेटहरुले अझै आशा मारिसकेका छैनन् ।

जर्जियामा पनि ट्रम्प १ लाख मतले अगाडि छन् भने मिचिगनमा ट्रम्प करिव २ लाख मतले अगाडि छन् । जर्जिया, मिचिगन, पेन्सिलभेनिया जस्ता राज्यहरुमा करिव ८० प्रतिशत मत भने गणना भइसकेकोले ट्रम्पले अग्रता लिने संभावना भने रहेको छ । डेमोक्रेटहरु पनि जर्जिया र पेन्सिलभेनियामा अझै आफ्नो पकड रहेका काउन्टीको गणना बाँकी रहेकोले आशावादी छन् । करिव ९० प्रतिशत मत गनिसकेको र ट्रम्पले ६ लाख भन्दा बढी मतले अग्रता लिएको अवस्थामा पेन्सिलभेनिया जित्न वाइडेनलाई सजिलो भने छैन ।

६ इलेक्टोरल मत रहेको नेभाडामा वाइडेन ८ हजार मतले मात्रै अगाडि छन् । ११ इलेक्टोरल भएको एरिजोनामा १ लाख मतले वाइडेन अगाडि छन् भने विन्कन्सिन्समा ७ हजार मतले मात्रै अगाडि छन् । यसले के देखाउँछ भने वाइडेनले नेतृत्व लिइरहेको राज्यमा अग्रता एकदम कमजोर रहेको छ । तर ट्रम्पले अग्रता लिएको राज्यमा अग्रता एकदम फराकिलो छ । ट्रम्पलाई वाइडेनले पराजित गर्नका लागि ट्रम्पले अग्रता लिएका पेन्सिलभेनिया, जर्जिया वा मिचिगनमा वाइडेनले अग्रता लिन जरुरी छ ।

प्रारम्भमा घोषित परिणाममा लगातार डेमोक्रेटिक उम्मेद्वार जो वाइडेनले अग्रता लिएको भएपनि धेरै इलेक्टोरल भएका राज्यहरुमा ट्रम्पले अग्रता लिएकोले ट्रम्प विजयी हुने संभावना देखाएका थिए । गणना जारी रहेका राज्यहरुमा आफूले लगातार अग्रता लिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी पूर्वीय समय अनुरुप विहान ४ वजे नै सम्वोधन गर्दै सम्पूर्ण गणना स्थगित गरेर आफूलाई विजयी गर्नुपर्ने माग गरेका थिए । तर त्यसो हुने संभावना भने छैन ।

यो पटकको निर्वाचनमा डेमोक्रेटले २०१६ को राष्ट्रपति निर्वाचनमा भन्दा धेरै राम्रो गर्न सकेको देखिएन ।

सन् २०१६ को निर्वाचनमा रिपव्लिकन पार्टीले डेमोक्रेटवाट पेन्सिलभेनिया, ओहायो, मिचिगन, विनकन्सिन्स र आइओवा खोसेको थियो जसलाई अहिले विन्कन्सिन्स वाहेक आफैंसँग राख्न सफल भयो । अघिल्लो निर्वाचनमा रिपव्लिकनले विजय हासिल गरेको एरिजोनामा (११) भने यो पटक डेमोक्रेट पार्टीले अग्रता लिइरहेको छ ।

निर्वाचनको परिणाम आउन केही समय लाग्ने छ । तर पनि राष्ट्रपति ट्रम्प लगातार ट्वीट गरेर निर्वाचनमा गड्वडी गर्न लागिएको दावी गदैै आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरिरहेका छन् । उनले अब मत गनेर आफूलाई हराएमा सर्वोच्च अदालत जाने धम्की दिइरहेका छन् भने वाइडेन हरेक मत गन्नुपर्ने पक्षमा छन् । अमेरिकामा धेरै मतहरु हुलाक मार्फत आएकाले पनि सबै मत गनिसक्न समय लाग्नेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक