बुधबार, वैशाख १२, २०८१

अमेरिकाको राष्ट्रपति निर्वाचन परिणाम अझै अनिश्चित : घोषित परिणाममा वाइडेनको अग्रता कायमै

गणना जारी भएका पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना र अलास्कामा ट्रम्प र मिचिगन, मेन, एरिजोना, नेभाडा, र विन्कन्सिन्समा वाइडेन अगाडि

किशोर सापकोटा / लुइभेल, केन्टकी २०७७ कार्तिक १९ गते १९:१६

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपव्लिकन उम्मेद्वार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वा डेमोक्रेटिक पार्टीका उम्मेद्वार रहेका पूर्व राष्ट्रपति जो वाइडेन को विजयी बन्छन् भन्ने अझै पनि प्रष्ट भएको छैन । निर्वाचनको दिनसम्म निकै उत्साहित वनेका डमोक्रेटहरुहरुले अपेक्षा गरेजति मत प्राप्त गर्न सकेका छैनन । तर पनि निरास भइहाल्ने अवस्था भने छैन । अहिलेसम्म घोषित परिणाममा राष्ट्रपति ट्रम्प भन्दा वाइडेन अगाडि छन् । अहिले जारी रहेको गणनाको अग्रता पनि प्रतिश्पर्धात्मक रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मिचिगनमा लिइरहेको अग्रता गुमाएको हुँदा वाइडेनको अवस्था केही मजबुत देखिएको हो । तर मतान्तर झिनो मात्रै भएकोले जुनसुकै बेला परिणाम बदलिन सक्छ । राष्ट्रपति ट्रम्पले अहिले पनि पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना र अलास्कामा अग्रता लिइरहेका छन् तथापि पेन्सिलभेनियामा अझै पनि १० लाख भन्दाबढी मत गणना गर्न बाँकी रहेको छ जहाँ ट्रम्प ५ लाख भन्दा बढी मतले अगाडि छन् । वाइडेनले मिचिगन, मेन, एरिजोना, र विन्कन्सिन्समा अग्रता लिइरहेका छन् । एरिजोना र मेन बाहेक अन्यन्त्र वाइडेनले लिएको अग्रता अत्यन्त झिनो मात्रै रहेको छ । तर डेमोक्रेटहरुको अपेक्षा के छ भने हुलाक मार्फत पठाइएका मतहरु गन्न बाँकी रहेको र ती मतमा बढी डेमोक्रेटको लागि परेकोले वाइडेन निर्वाचित हुने संभावना रहेको छ ।

राष्ट्रपति पदमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा अहिलेसम्ममा वाइडेनले २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ इलेक्टोरल मत प्राप्त गरेका छन् । वाइडेनले अहिले अग्रता लिइरहेका सवै राज्यहरुमा जित्दा पनि उनलाई अझै केही मत कम हुन्छकि भन्ने अनुमान गरिएको छ ।

अमेरिकी निर्वाचन परिणाम निकै आश्चर्यजनक रुपमा आइरहेको छ । प्रारम्भ देखिनै घोषित परिणामममा वाइडेनले अग्रता लिइरहेका छन् । तरपनि गणना जारी रहेका स्थानहरुको अग्रताले ट्रम्पलाई निकै आशावादी बनाएको थियो । यहि अग्रताको कारण विहान राति नै ट्रम्पले आफूलाई विजयी घोषित गर्दै सबै गणना रोक्न आग्रह गरेका थिए । तर ट्रम्पको भनाइको कुनै पनि सुनुवाइ हुने छैन र मतदाताको हरेक मत गणना हुने छ । राष्ट्रपति ट्रम्पले मिचिगनको अग्रता नगुमाउँदासम्म पनि उनको विजय सुनिश्चित जस्तो देखिएको थियो । तर मिचिगनको अग्रता गुमाएपछि भने पासा उल्टिएको हो कि जस्तो देखिन्छ ।

यो पटकको निर्वाचनमा डेमोक्रेटले २०१६ को राष्ट्रपति निर्वाचनमा भन्दा धेरै राम्रो गर्न सकेको देखिएन ।

सन् २०१६ को निर्वाचनमा रिपव्लिकन पार्टीले डेमोक्रेटवाट पेन्सिलभेनिया, ओहायो, मिचिगन, विनकन्सिन्स र आइओवा खोसेको थियो जसलाई अहिले मिचिगन र विन्कन्सिन्स वाहेक आफैंसँग राख्न सफल भयो । अघिल्लो निर्वाचनमा रिपव्लिकनले विजय हासिल गरेको एरिजोनामा भने यो पटक डेमोक्रेट पार्टीले अग्रता लिइरहेको छ ।

निर्वाचनको परिणाम आउन केही समय लाग्ने छ । तर पनि राष्ट्रपति ट्रम्प लगातार ट्वीट गरेर निर्वाचनमा गड्वडी गर्न लागिएको दावी गर्दै आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरिरहेका छन् । उनले अब मत गनेर आफूलाई हराएमा सर्वोच्च अदालत जाने धम्की दिइरहेका छन् भने वाइडेन हरेक मत गन्नुपर्ने पक्षमा छन् । अमेरिकामा धेरै मतहरु हुलाक मार्फत आएकाले पनि सबै मत गनिसक्न समय लाग्नेछ ।

तपाइँको प्रतिक्रिया