शनिबार, मंसिर १३, २०७७

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-३

लीलबहादुर क्षेत्री२०७७ कार्तिक २२ गते ४:३६

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् , दोस्रो भाग हेर्न  यहाँ क्लिक गर्नुहोस्)

त्यसै बेलुकी अर्थात् १८ फेब्रुअरी १९८८ का साँझ पुरस्कार वितरण समारोह, कमानी सभागार, कपरनिकस मार्ग, नयाँ दिल्लीमा राखिएको थियो । भव्य भवनको भित्र, लहरै मिलाएर राखिएका प्रथम पङ्क्तिका कुर्सीहरूमा वर्णाक्रममा पुरस्कार पाउनेहरूका नामका पूर्जी टाँसिएको थियो । वर्णाक्रममा नेपालीको ‘N’ १४औं क्रममा पर्नेहुँदा मेरो आसन बिचमा परेको थियो। पहिलो पङ्क्तिका कुर्सी छोडेर पछाडिका कुर्सीहरू आमन्त्रित दर्शकहरूले खचाखच भरिएका थिए । मञ्चमा तीनवटा विशेष कुर्सीहरू थिए जसमा एकेडेमीका तत्कालीन अध्यक्ष, सचिव र समारोहकी मुख्य अतिथि श्रीमती अमृता प्रीतम विराजमान थिए । एउटा संयोगै भनौं, त्यस वर्ष एकेडेमीका अध्यक्ष पनि असमकै व्यक्ति थिए, वरिष्ठ साहित्यकार तथा शिक्षाविद डा. विरेन्द्रकुमार भट्टाचार्य । मञ्चमा एउटा कुर्सी रिक्त राखिएको थियो ।

अकादमीका सचिव प्रा. इन्द्रनाथ चौधुरीको स्वागत भाषणपछि अध्यक्षद्वारा समारोहलाई सम्बोधन अनि आरम्भ हुन्छ पुरस्कार वितरण कार्यक्रम । वर्णक्रमले पुरस्कृत व्यक्तिहरूको नाम पुकारिन्छ र सम्मानपूर्वक मञ्चमा ल्याएर रिक्त राखिएको कुर्सीमा बसालिन्छ । त्यसपछि माल्यार्पण, अङ्गवस्त्र, दोसल्ला अर्पण अनि सचिवद्वारा पुरस्कृत हुनगइरहेका व्यक्तिको जीवनवृतान्त पाठ गरिन्छ जुन पुस्तिकामा पहिल्यै लिपिबद्ध गरिएको थियो ।

मैले अङ्ग्रेजीमा तयार गरेको मेरो वक्तव्यमा मेरो पुरस्कृत उपन्यास ब्रह्मपुत्रको छेउछाउको सारतत्त्वसितै साहित्य वास्तविक जीवनकै अभिव्यक्ति हुनाले जुनसुकै भाषामा लेखिए पनि मानव जीवनोपयोगी हुन्छ र त्यसमा भाषागत बन्धन रहँदैन भन्ने कुरा उल्लेख थियो ।

त्यसपछि अध्यक्षद्वारा पुरस्कार अर्पण जसमा एकेडेमीको प्रतीक र पुरस्कारराशिको चेक समावेश हुन्छ । वर्णक्रममा असमीया भाषा पहिलो हुने हुनाले त्यस वर्ष पुरस्कार ग्रहण गर्ने पहिलो व्यक्ति असमिया साहित्यकार हरेकृष्ण डेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको समाप्तिपछि एकेडेमीका अध्यक्षले यस समारोहकी प्रमुख अतिथि वरिष्ठ लेखिका अमृता प्रीतमलाई आफ्नो वक्तव्य राख्ने अनुरोध गर्छन् र उनको काव्यात्मक अभिभाषणपछि एकेडेमीका तत्कालीन उपाध्यक्षले धन्यवाद ज्ञापन गरेपछि समारोहको पहिलो चरणको कार्यक्रम टुङ्गिन्छ ।

बिचमा छोटो अन्तरालपछि कथक केन्द्रद्वारा जीवनपाणिको निर्देशनमा शास्त्रीय नृत्य प्रदर्शनको कार्यक्रम हुन्छ । यसपछि आउँछ मिडियाको पालो । पुरस्कार विजेताहरूसितको अन्तर्वार्ता, फोटो र प्रश्नादि ।

भोलिपल्ट १९ फेब्रुअरी १९८८ को दिन लेखकहरूको भेटघाटको कार्यक्रम थियो जहाँ विभिन्न भाषाका पुरस्कार विजेताहरूले आ-आफ्नो सृजनामाथि छोटो वक्तव्य राखेका थिए जुन अग्रिम पठाइएको थियो । त्यसलाई टाइप गरेर सबैलाई पुग्ने गरी प्रतिहरू एकेडेमीले उपलब्ध गराएको थियो । धेरैजसो पुरस्कृत रुाष्टाहरूले आफ्ना वक्तव्य अङ्ग्रेजीमा राखेका थिए । कतिपयले हिन्दी र उर्दूमा पनि आफ्नो वक्तव्य राखे।

जसरी उमेर ढलिसकेकाका निम्ति ईदको हर्षबढाइँ फिका हुन्छ त्यसरी नै यो उमेरमा यस पुरस्कारको के पो महत्त्व होला ? जे होस्, साहित्यिक पुरस्कार वास्तवमा लेखकले गरेको सिर्जनाको स्वीकृति हो । स्रष्टाप्रति सम्मान हो अनि सम्मानको कुनै उमेर हुँदैन ।

मैले अङ्ग्रेजीमा तयार गरेको मेरो वक्तव्यमा मेरो पुरस्कृत उपन्यास ब्रह्मपुत्रको छेउछाउको सारतत्त्वसितै साहित्य वास्तविक जीवनकै अभिव्यक्ति हुनाले जुनसुकै भाषामा लेखिए पनि मानव जीवनोपयोगी हुन्छ र त्यसमा भाषागत बन्धन रहँदैन भन्ने कुरा उल्लेख थियो । अनुवादको माध्यमबाट समग्र मानव जातिले त्यसको रसास्वादन गर्नसक्छ भन्ने कुरा दर्शाएर एकेडेमीले अनुवाद कार्यमा बढी महत्त्व दिएकामा मैले धन्यवाद पनि ज्ञापन गरेको थिएँ ।

अहिले झन्डै ३२ वर्ष नाघिसकेको छ त्यस भेटघाट कार्यक्रममा सहभागी भएको पनि । पुरस्कृत साहित्यकारहरूले राखेका वक्तव्यहरू निश्चयनै गहन थिए । तथ्यमूलक थिए । मेरो स्मृतिले तर अहिले टिप्न सक्तैन । उर्दू भाषामा एकजना वयोवृद्ध साहित्यकारले दिएको वक्तव्यको अन्तिम पङ्क्तिले भने मलाई बेला बेला झकझकाइरहन्छ । वक्तव्यको अन्त्यमा उनले भनेका थिए – ईद तो आई तब, जब शाम हो चुकी थी !

इस्लाम धर्मावलम्बीहरूमा ईद ठुलो हर्षोल्लासको चाड हो । उनको भनाइ थियो – जसरी उमेर ढलिसकेकाका निम्ति ईदको हर्षबढाइँ फिका हुन्छ त्यसरी नै यो उमेरमा यस पुरस्कारको के पो महत्त्व होला ? जे होस्, साहित्यिक पुरस्कार वास्तवमा लेखकले गरेको सिर्जनाको स्वीकृति हो । स्रष्टाप्रति सम्मान हो अनि सम्मानको कुनै उमेर हुँदैन ।

लेखकहरूको भेटघाट समारोहपछि त्यसै दिन पछिल्लो बेलामा एकेडेमी पुरस्कार विजेताहरूले एकेडेमीलाई आउने जाने यात्रा खर्चको बिल बुझाउने र धनराशि प्राप्त गर्ने कार्यक्रम रहेछ । एकेडेमीको लेखा कार्यालय रवीन्द्र भवनको माथिल्लो तल्लामा रहेछ । बिलको फारम पनि कार्यालयमै पाइँदो रहेछ । रेलबाट यात्रा गर्नेले प्रथम श्रेणीको भाडा पाउँदा रहेछन् । हवाइजहाजमा यात्रा गर्नेले त्यसको भाडा पाउँछन् । तर त्यसका लागि जहाजको टिकट नम्बर देखाउन पर्दो रहेछ ।

भारतीय पुलिस सेवा (IPS) का उपमहानिरीक्षक जस्तो उच्च पदमा रहेका व्यक्ति । उनलाई फारम भर्ने र बिल बुझाउनेजस्ता किरानीगिरीका काम के थाहा होस् ? उनको कार्यालयमा किरानीले गर्ने काम !

हिसाब किताबको काम सकेपछि म तल झ रें। म भुइँतल्लामा झरेपछि लिफ्टको ढोकाकै छेउमा असमिया साहित्यमा पुरस्कृत हरेकृष्ण डेकालाई फेला पारेर सोधें – डेका सर ! तपाइँले बिलको फारम बुझाउनु भएन ?

“बिल बुझाउने कुरासम्बन्धी मलाई केही थाहा छैन, छेत्री ! के बिलको फारम माथिल्लो तल्लामा पाइन्छ?” उनले उल्टै प्रश्न गरे । मैले मनमनै विचारें- भारतीय पुलिस सेवा (IPS) का उपमहानिरीक्षक जस्तो उच्च पदमा रहेका व्यक्ति । उनलाई फारम भर्ने र बिल बुझाउनेजस्ता किरानीगिरीका काम के थाहा होस् ? उनको कार्यालयमा किरानीले गर्ने काम !

“हिंड्नुहोस् माथि” भनेर उनलाई साथै लिएर लेखा कार्यालय गएँ । लेखापाललाई उनको परिचय दिएँ । उनलाई सहयोग गरिदिने आग्रह गरें । डेका साहबको व्यक्तित्वकै करिस्मा होला, नभन्दै लेखापालले पनि सबै काम तुरुन्तै निप्ट्याइदिए । हामी दुबै निस्कियौं ।

त्यो दिन थियो १९ फेब्रुअरी १९८८ । हामी बसेको आइआइसी होटलको अन्तिम दिन। होटल साँच्चैकै चित्रात्मक थियो । भव्य भवनको अघाडि फराकिलो प्राङ्गण; हरियो चउर र फूलका बोटहरूले सजिएको । टाढा मूलसडकमा वाहनहरू गुडेको दृश्य, कोठाको पछिपट्टि झ्याल खोल्दा स्विमिङ पुलमा गोरा पर्यटकहरूले आनन्द मनाइरहेको देखिन्थ्यो । लामो, परैसम्म फैलिएको चउरको एक छेउमा लहरै देवदारुका रुखहरू । माझ माझ फूलका बोटहरू । एउटा सुन्दर उद्यानको अनुभूति दिने त्यस ठाउँमा ग्राहकहरू बिहानको डुलाइमा व्यस्त । कोहि चउरको माझमा टेकाइएका मेच-कुर्सीमा बसेर चिया-कफीको स्वाद लिइरहेका थिए । त्यहाँ जीवन आनन्दमय देखिन्थ्यो ।

भोलिपल्ट २० तारिक हामीले त्यो मनोरम होटल छोड्नु पर्छ । कोठा छोड्ने समय मध्यान्ह १२ बजे तोकिएको छ । सुमनराजले कुनै नयाँ अतिथिशालामा कोठा आरक्षण गरेको सूचना दिएका छन् । उनी आएर हामीलाई लाने कुरा छ।

क्रमश :

(क्षेत्री बसाई उपन्यासका लेखक हुन् । फोटो- विकिपेडिया डटकमबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया

फेसबुक