शुक्रबार, चैत १६, २०८०

अमेरिकाको ४६ औं राष्ट्रपतिमा वाइडेन निर्वाचित हुने निश्चित

गणना जारी रहेका पेन्सिलभेनिया, जर्जिया, एरिजोना र नेभाडामा वाइडेनको अग्रता, ट्रम्प नर्थ क्यारोलिना र अलास्कामा खुम्चिने

किशोर सापकोटा / लुइभेल, केन्टकी२०७७ कार्तिक २१ गते १७:१०

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो वाइडेन निर्वाचित हुने निश्चित भएको छ । हुलाकमार्फत पोष्ट गरिएका भोट गणना सुरु भएपछि जर्जिया र पेन्सिलभेनियामा वाइडेनले अग्रता लिएका हुन् जसले उनलाई ठूलो अन्तरमा निर्वाचन जित्न मद्धत पुर्याएको छ ।

डेमोक्रेट उम्मेद्वार वाइडेनले पहिला देखिनै अग्रता लिइरहेका एरिजोना र नेभेडामा मात्रै विजय हासिल गर्दा पनि २७० इलेक्टोरल भोट पुर्याएर राष्ट्रपति हुनसक्ने अवस्था थियो । तर जब उनले जर्जिया र पेन्सिलभेनियामा पनि अग्रता लिए उनको विजयको अन्तर निकै फराकिलो हुने अवस्था सिर्जना भयो । वाइडेनले अग्रता लिइरहेका सबै राज्यमा विजय प्राप्त गर्दा उनको इलेक्टोरल मत ३०६ पुग्छ भने उनका प्रतिश्पर्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अग्रता लिइरहेका नर्थ क्यारोलिना र अलास्कामा विजय हासिल गर्दा २३२ मा सिमित हुने छन् ।

हुलाक मार्फत पोष्ट भएका मत गणना रोक्नुपर्ने र आफूलाई विजयी घोषित गर्नुपर्ने राष्ट्रपति ट्रम्पको दावीलाई न त अन्य रिपव्लिकन नेताहरुले स्विकार गर्न सकेका छन् न त स्थानीय अदालतहरुले नै । ट्रम्प क्याम्पियनको तर्फवाट पेन्सिलभेनिया र जर्जियामा मतगणना रोक्न दिएको रिटलाई स्थानीय अदालतहरुले अस्विकार गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले हिजो आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालत गएर भएपनि यो निर्णय उल्टाउने प्रण गरेका थिए । तर उनले पेन्सिलभेनिया र जर्जियामा पराजित भएमा यो शाहस गर्ने छैनन् ।

हुलाकमार्फत आएका मतहरु बढी डेमोक्रेटिक पार्टीका भएकोले अहिले अग्रता लिइरहेका ठाऊँहरुमा वाइडेन हार्ने संभावना रहने छैन तथापि पेन्सिलभेनियामा १ लाखभन्दा बढी मत गन्न बाँकी नै छ । जर्जियाको विजयलाई डेमोक्रेटिक पार्टीहरुले निकै ठूलो उपलव्धिको रुपमा लिएका छन् जहाँ विल क्लिन्टनपछि डेमोक्रेटिक उम्मेद्वारले जित हासिल गरेका थिएनन् । जर्जिया रिपव्लिकनहरुले घेरिएको डमोक्रेटिक राज्य हुने भएको छ । अन्यत्र भने जित हासिल गर्ने डेमोक्रेटिक राज्यहरु एकापसमा जोडिएका छन् ।

यो निर्वाचनमार्फत जो वाइडेनले अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्ने भएका छन् भने पहिलो पटक अश्वेत महिलालाई उपराष्ट्रपति बनाएर इतिहास रच्ने भएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक