शनिबार, वैशाख १५, २०८१

मिंकको उत्परिवर्तन (म्युटेसन) ले कोरोना संक्रमण : युरोपभरि खरबौं घाटा

उदय गौतम / कोपनहेगन, डेनमार्क२०७७ कार्तिक २१ गते २२:५१

यता डेनमार्कका प्र.म. मेटे फ्रेड़ेरिक्सनले देशका केहि भूभागमा सोमबारबाट लागू हुने गरि लकडाउन घोषणा गरिन् । लकडाउन गरिएका ठाउँका बासिन्दाप्रति प्रेमको भाव दर्शाउन नागरिकहरुलाई फेसबुकबाट आग्रह मात्र गरिनन् कि बन्द अवधिभरको क्षतिपूर्ति समेत सरकारले उपलब्ध गराउने बाचा गरिन् । अपबाद बाहेक हजारौंले सरकारको निर्णयलाई समर्थन गरेका छन् । केहिले किन निश्चित भूभागमा मात्र बन्द गर्ने, सबै गर्नुपर्छ भनेर समेत प्रश्न उठाएका छन् ।

बन्द गर्नुको प्रमुख कारण मिंकमा कोरोना संक्रमण र उत्परिवर्तन (म्युटेशन) हो ।

उत्तरी जुटल्याण्डका सात वटा कम्युन र करिब ९ कि.मी. क्षेत्र भित्रका बासिन्दालाई त्यहिँ निश्चित घेरामा बस्न प्र.म. ले अनुरोध गरेकी छन् । लामो तथा छोटो दुरीका सबै निजि तथा सार्वजनिक सवारीका साधन बन्द गरिएका छन् । मिंक प्रजनन् तथा उत्पादन केन्द्रहरुमा मानिसबाट मिंक र पुन : उत्परिवर्तन भई १२ जनामा कोरोना भाइरस संक्रमण भएको प्रयोगशालाको रिपोर्ट पछि स्थिति भयावह हुन सक्ने  आँकलन गरिएको छ । झन्डै १२०० फार्म हाउसमा पालिएका एक करोड ५० लाख मिंक नस्ट गर्नु अपरिहार्य रहेको स्वास्थ्य अधिकारीहरुको रिपोर्टमा उल्लेख छ ।

स्थानिय जनताको स्वास्थ्यलाई ध्यान दिनु सरकारको पहिलो दायित्व भएको र मिंकमा उत्परिवर्तन भएको भाइरस संक्रमण बिस्तृत भएमा विश्वमा यसले नचिताएको परिणाम ल्याउन सक्ने बताइएको छ । साथै हाल तयार भइरहेको कोरोना बिरुद्धको खोप समेत अप्रभावकारी हुन सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

हालसम्म मानिसबाट संक्रमित ४०० मिंकका बिरामी भएको अनुसन्धानले पुष्टि गरिसकेको छ । मिंकबाट मानिसमा पुनर्संक्रमण भएको नतिजा पहिला अनुमान गरिएभन्दा ब्यापक र नियन्त्रण बाहिर जानसक्ने अधिकारीहरुको चिन्ता छ । १२०० मिंक फार्म हाउस मध्ये हालसम्म २०७ फार्ममा कोरोना परिक्षण पोजिटिव देखिएको छ ।

अमेरिका पछि सम्भवत: डेनिस मिंक उद्योग संसारको ठूलो भुवा उद्योग मानिन्छ । यतिको ठूलो संख्यामा मिंक नष्ट गर्दा यो उद्योगमा ब्यापक नोक्सानी पर्नाले किसानहरु निकै चिन्तित छन् । यस्तो अप्रिय निर्णय गर्नुपर्दा मुटुमा गाँठो परेको यहाँकी प्र. म. मेटेले उल्लेख गरेकी छन् ।

यस घटनाको प्रत्यक्ष प्रभाव युरोपका अन्य देशहरुमा पनि पर्ने देखिन्छ । स्मरण रहोस, नेदरल्याण्ड सरकारले कोरोना महामारी शुरु हुनुभन्दा पहिलानै सन् २०२४ सम्ममा आफ्ना उद्योगहरुमा मिंकको संख्या घटाउँदै लैजाने योजना अगाडि सारेको थियो ।

डेनमार्कको पछिल्लो घटना सार्वजनिक भए पछि उसले मिंकमा आधारित सबै उद्योगहरु बन्द गर्ने निर्णय गरिसकेको छ । जून महिनाको शुरुमै डेनिस मिंक फार्म हाउसमा ११,००० बिरामी जनावरहरु नष्ट गरिएका थिए । पछिल्लो घटनापछि डेनमार्क, नेदरल्याण्ड र स्पेनमा दशौँ लाख मिंक नष्ट गरिसकिएका छन् । अझै लाखौँको संख्यामा नस्ट गरिने योजना अगाडि सारिएका छन् ।

वंशाणुगत तथा वातावरणीय कारणले कोरोना भाइरस मानिसबाट सजिलै यो प्रजातिमा सर्ने पछिल्लो अनुसन्धानले देखाएको छ । मिंक प्रजातिको जनावरको ठूलो बथान एउटै ठाउँमा राखेर पालिने हुँदा उनीहरुमा कोरोना भाइरस छिटो संक्रमण हुने सिडिसी रिसर्च सन् २०२० को अध्ययनले पुष्टि गरेको छ । पुस्तौं पुस्तादेखि मिंक फार्मिङमा आफ्नो ब्यवशाय धान्दै आएका र देशको कुल राष्ट्रिय आम्दानीमा महत्वपूर्ण योगदान दिँदै आएका किसानहरु अहिले शोकमा डुबेका छन् । त्यसैले सरकारले सम्पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने बाचा गरेको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा मुख्य कार्यालय रहेको मिंक ब्यवशायीहरुको छाता संगठन फुर युरोप जसले २८ युरोपियन देशहरुको प्रतिनिधित्व गर्दछ, उसले डेनिस अनुसन्धानको पछिल्लो नतिजा र सरकारको निर्णयमा शंका ब्यक्त गरेको छ । उसले मिंक फ़ार्मिङको कोरोना भाइरससँग हालसम्म कुनै सम्बन्ध जोडिएको प्रमाण फेला नपरेको भन्दै डेनिस अनुसन्धानको पछिल्लो नतिजा उपलब्ध गराउन माग गरेको छ । केहि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र स्वास्थ्य अधिकारीहरुले मिंक र कोरोना भाइरसबिच खास सम्बन्ध नरहेको जिकिर गरेका छन् । यद्दपी अध्ययन जारी छ ।

डेनमार्कले वार्षिक एक करोड ६६ लाख मिंक उत्पादन गर्दछ भने विश्वको सबैभन्दा बढी मिंकको छाला निर्यात गर्दछ । विश्व बजारमा यहाँको मिंकको छाला महँगो मूल्यमा बिक्रि हुने गर्दछ । कोपनहेगन फुरले वार्षिक एक करोड ९० लाख मिंक छाला अक्शनमा बिक्रि गर्ने गर्दछ भने ७० लाख अन्य देशका छालाहरु बिक्रि गर्दछ । यसको मुख्य बजार भने चीन रहेको छ ।

मिंक डेनमार्कको पशुपालनमा आधारित तेश्रो ठूलो उद्योग हो । वार्षिक एक अरब १० करोड आम्दानी गर्ने यो उद्योग अब  करिब धरासायी हुने निश्चित भइसकेको छ । मिंक उद्योगमा विश्व बजारको ४० प्रतिशत माग धान्ने डेनिस क्षमता अब केहि दिनमा शुन्यमा झर्ने अवस्था छ।

कार्निभोरस प्रजातिको स्तनधारी जीव मिंकको भाले १ किलो लम्बाइमा २४ इन्च जति र पोथी करिब ६०० ग्रामको र लम्बाई ५१ इन्चको हुन्छ । यो जीव करिब दश वर्ष जिउने गर्छ । चरा, अण्डा, माछा मासु यसका आहारा हुन् । यसको छालाबाट ज्याकेट, कोट स्विटर तथा अन्य विलाशी पहिरन बन्छन् ।

(नेशनल ज्योग्राफिक, बिबिसी, टिभी २ र डि आर १ सहित नेपालप्लस)

तपाइँको प्रतिक्रिया