मंगलबार, वैशाख ११, २०८१

अमेरिकी राष्ट्रपतिमा जो वाइडेन निर्वाचित भए लगत्तै अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति

किशोर सापकोटा / लुइभेल, केन्टकी२०७७ कार्तिक २२ गते २०:००

लुइभेल, केन्टकी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेन निर्वाचित भएका छन् । उनले रिपव्लिकन पार्टीका उम्मेद्वार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पराजित गरेका हुन् । यो निर्वाचन परिणामसँगै राष्ट्रपति ट्रम्प दोश्रो कार्यकालका लागि पराजित हुने दशौं राष्ट्रपति वनेका छन् ।

राष्ट्रपति पदमा वाइडेन विजेता भएसँगै अमेरिकाले पहिलोपटक महिला उपराष्ट्रपति कमला ह्यारिस पाएको छ जो भारतीय मुलकी अश्वेत महिला हुन् ।

चार दशकदेखि लगातार अमेरिकी राजनीतिमा क्रियाशिल वाइडेन तत्कालिन राष्ट्रपति बराक ओबामा कार्यकालका उपराष्ट्रपति पनि हुन् । क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवारमा चयन गरेपछि बाइडेनलाई अश्वेत र आप्रवासीहरुको तर्फबाट पनि ठूलो सहयोग पुगेको थियो ।

पेन्सिलभेनिया राज्यमा उनको जित सुनिश्चित हुँदा अहिले नै कुल २७३ इलेक्टोरल मत प्राप्त गरेपछि उनी निर्वाचित भएका हुन् । अझै पनि केहि राज्यहरुमा मत परिणाम आउन बाँकी रहेकोले राष्ट्रपतिको मतसंख्या, हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटको संख्यामा भने टुंगो लागिसकेको छैन । अमेरिकी प्रमुख सञ्चार माध्यमहरुले वाइडेनले जित हासिल गरेको समाचार व्रेकिंग न्युजको रुपमा सार्वजनिक गरिरहेका छन् । हुलाक मार्फत आएका केही मत गन्न बाँकि रहेपनि अब प्रतिस्पर्धी ट्रम्पले भेट्टाउन नसक्ने अवस्था उत्पन्न भएपछि उनको विजय सुनिश्चित भएको हो ।

वाइडेनले अग्रता लिइरहेका जर्जिया, एरिजोना र नेभेडामा पनि विजय हासिल गर्नेछन् तथापि त्यहाँको मत गन्न अझै केही समय लाग्नेछ ।

राष्ट्रपति पदमा वाइडेन निर्वाचित भएपछि अमेरिकाको परराष्ट्र सम्वन्धमा सुधार हुने, ट्रम्पले सुरु गरेको स्वेत नश्लवादी राजनीति समाप्त हुने, आप्रवासीहरुले आफ्ना हक अधिकार उपयोगमा सहयोग पुग्ने, कोरोना भाइरस नियन्त्रण प्रभावकारी हुने विश्वास लिइएको छ । आजै अमेरिकाको पूर्वीय समय अनुरुप साँझ ८ वजे वाइडेनले देशवासीलाई सम्वोधन गर्नेछन् । वाइडेनले हिजो साँझ गरेको सम्वोधनमा सबै अमेरिकी नागरिकलाई मिलाएर लैजाने प्रष्ट पारिसकेका छन् ।

“हामी प्रतिश्पर्धी हुन सक्छौं । तर शत्रु होइनौं” हिजोको उनको सम्वोधनमा भनेका थिए ।

आजको सम्वोधनमा वाइडेनले अमेरिकी जनतालाई धन्यवाद दिने र आफूले लिने आगामी नीतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया