बुधबार, मंसिर १०, २०७७

घृणामा माया खोज्दै “बा-मा”

आकृती तिमल्सिना२०७७ कार्तिक २५ गते ८:४५

हजारौंका इट्टा, बालुवा, सिमेन्ट र लाखौंका रङ दलिएका ती महङ्गा भित्तामा टाँसिएको फोटो धुलाम्य भएको थियो । जति महत्व ती निर्जीव भित्ताले बोकेका छन् त्यति महत्व त त्यो फोटोले पनि बोकेको नहुँदो हो । एक मात्र उद्देश्य थियो त्यो तस्बिरको त्यहाँ, आफ्नोपनको देखावटी । करोडौंमा रम्ने घरका मालिकको त्यो तस्बिरमा ध्यान नपुग्नु स्वभाविक नै होला । त्यहाँ त नोकरको समेत ध्यान पुगेको थिएन । आफ्नो अस्तित्वलाई भुलेर नाम कमाउँदै थिए ती घरका सदस्य । या भनौं मेट्दै थिए आफ्नो पहिचान । नाम दिनेलाई बिर्सिएर आफ्नो नाम कमाउनु रित बन्दै छ यहाँ । जति पुरानो सम्बन्ध थियो त्यो फोटोको ती घरका परिवार र आगनसँग उति नै बदलिँदै थियो, त्यो फोटोसगँको सम्बन्ध ।

कहिँ टाढा करोडौंको लोभमा खोलिएका “इल्डरली केयर होम” सजिँदै थिए बृद्धबृद्धाको रेखदेखमा । फेरि उहि देखावटीको व्यापारमा । यहाँ त लोभी- सेवाग्राही र संचालनकर्ता मात्रै थिए । ती घर फर्किने आशमा अस्ताउनै लागेका जन्मकर्ता र जन्मदातालाई भने यथार्थले छोएकै रहेनछ । उनीहरु घृणामा पनि माया खोज्दै थिए । लकार्नुमा पनि सत्कार खोज्नु कति सम्मको उचित हो ? प्रत्येक दिन ती धमिला दृष्टि ढोकालाई नियाल्थे जहाँबाट कोहि आफ्नो बनेर छिर्ने छैन । टेबल र खाट पुराना भए पनि त्यहाँ राखिएका तस्बिर र सम्झना पुराना भएका थिएनन् । ती चाउरी परेका फुस्रा छाला भन्दा ती तस्बिर चम्किन्थे । धुलो र फोहोरसँग परिचय नै पाएका थिएनन् ती फोटाहरुले ।

जुन छोराको हात समाएर उनले “आफ्नो घर” भनी चिनाएका थिए उहि छोराले उनको हात समाएर “इल्डरली केयर होम” चिनाए । पत्नी वियोगको पिडालाई परिवारको स्नेह र ममताले साट्न खोज्ने दुस्प्रयासको फल भोग्दै थिए उनी ।

ती आशाले भरिएका सपना देख्ने मध्ये एक थिए : भरत (डा. भरत सिंह)। कुनै बेला यो नाम नै काफी थियोे, उनको घर भरिभराउ हुन । पत्नी “देवी” को साथ छुटेको ४५ दिन नहुँदै उनको साथ छुट्यो । आफ्नै घरबाट । जुन छोराको हात समाएर उनले “आफ्नो घर” भनी चिनाएका थिए उहि छोराले उनको हात समाएर “इल्डरली केयर होम” चिनाए । पत्नी वियोगको पिडालाई परिवारको स्नेह र ममताले साट्न खोज्ने दुस्प्रयासको फल भोग्दै थिए उनी ।

ज्यालादारी र मजदुरी गरेरै भरतका बाबू-आमाले उनलाई डाक्टर बनाएका थिए । जीवनमा पहिलोपटक आफ्नै छोराबाट नै उनीहरुले ज्वरो र रक्तचाप नापेका थिए । आफ्नी आमाले सिलाइदिएको उनको पहिलो सेतो कोट अझै उस्तै छ । सायद बाबु-आमाको दुःख महशुस गरेर होला उनलाई बाबू- आमासँग टाढा रहने सोचले समेत छोएको थिएन । आफूलाई शिखरमा चढाएर सतहमा रम्ने बा-आमाको अन्तिम स्वाससम्म साथ रहे उनी ।

जुन कुरामा उनी गर्व गर्थे त्यहि परिवेशले उनलाई आज हेलना महशुस गरायो । सायद छोराछोरीलाई ‘कमि’ को महशुसबाट टाढा राख्नुनै उनको गल्ती थियो ।

भरतलाई गरिबी र अध्याँराेको बाल्यपनको पीडा राम्रोसँग थाहा थियोे । नाम र दाम नभएसम्म यो समाजमा टिक्न नसकिने सत्यसँग अवगत थिए उनी । भरत एक सुखी बाल्यकाल दिन चाहन्थे आफ्ना १ छोरा र १ छोरीलाई । उनले आफ्नो क्षमता भन्दा पनि बढी खुशी भरिदिएका थिए, उनीहरुको जिवनमा ।’नाइँ’ र ‘कमि’ को कहिल्यै भान भएन उनीहरुलाई । जुन कुरामा उनी गर्व गर्थे त्यहि परिवेशले उनलाई आज हेलना महशुस गरायो । सायद छोराछोरीलाई ‘कमि’ को महशुसबाट टाढा राख्नुनै उनको गल्ती थियो । यदि भरत र देवीले उनीहरुलाई जस्तै आफ्ना सन्तानलाई पनि थोरै परिश्रम र असहजताको पाना पढाएको भए आज उनी वृद्धाश्रम धकेलिने थिएनन् कि ?

आफूलाई जिवनको अन्तिम पलमा साथ दिनु त परैको कुरा बिदा लिइसकेपछि दाखबत्ती पनि दिन नभ्याउने व्यस्त सन्तानबाट कस्तो आश राख्नु उत्तम हुनेछ एक अभिभावकले ? माया बटुल्ने उमेरमा चौगुना हेला बटुलेका ती बुढा आमा- बाबुलाई सत्य थाहा थिएन होला र ? उनीहरु औंशीको रातमा जूनको अपेक्षा गर्दै थिए ।

भरतलाई भेट्न आउने नातिनातिनाबाट झोलाका पोका भन्दा पनि मायाको ढिक्काको प्रतीक्षा रहन्थ्यो । उनका नातिनातिनालाई त रगतको नाता भन्दापनि बोझको नाता बढी थाहा थियो । उनीहरुका नजरमा उनी बाबुको बा ‘हजुरबुवा’ थिएनन् । उनीहरुका लागि उनी एक बुढो फलको वृक्ष थिए । जुन वृक्षको मनमोहक फूल र स्वादिलो फलको रस भुलिसकेका थिए । याद थियोे त त्यो बेकामको बुढो वृक्ष जसको मेटिनु बाहेक अरु कुनै उपदेयता छैन । आफ्नै आमा-बुबाले अवहेलना गरेका हजुरबुवाप्रति त्यो हृदयमा कसरी माया र सम्मान गासियोस् ? आज लकारेको दृश्य देखेका ती नयनले भोलि कस्तो दृश्य देखाउने छन् ? यो सोच्नु के बेठीक होला?

तपाइँको प्रतिक्रिया

फेसबुक