बिहीबार, वैशाख १३, २०८१

अण्डा माग्दा आलु दिएपछि थाई भाषा सिक्ने रहर

सुवेल भण्डारी / थाईल्याण्ड२०७७ कार्तिक २६ गते १४:११

सुवेल भण्डारी

कोरोना भाईरस महामारीको बिचैमा अष्ट्रेलिया छाडेर थाईल्याण्ड आईयो । श्रीमतीको जागिरका खातिेर । नेपालबाट पत्रकारिता शुरु गरेको पनि १९ वर्ष भएछ । विश्वमा बग्रेल्ती पत्रकारिताको अवस्था र त्यसको गुणतामा आएको ह्रास देखेर आजकल दिक्क लागेको भन्दा फरक नपर्ला । यसर्थ केहि महिनाका लागि अखबारीको कामबाट पनि विश्राम लिने निधो गरियो । यद्यपी अहिलेको जस्तो अवस्थामा बेरोजगार रहन खोज्नु केहि हदसम्म मेरो बर्ग-सुविधाको विशेष लाभको कारणले गर्दा हो भन्ने मलाई हेक्का छ । नयाँ देश, नयाँ परिवेशमा आएर तुरुन्तै अरु जागिर पाउनु धेरै सकसको विषय हो भन्ने पनि थाह छ ।

तर अहिलेका लागि भने छुट्टी मनाउँदै थाई संस्कृति र भाषा सिक्ने जमर्को गरियो ।

मेरो आफ्नो खास मातृभाषा खालिङ राई कहिल्यै सिकिएन । पितृसत्तात्मक महेन्द्र मालाबादी समाजमा खस नेपाली मात्रै सिकियो । तसर्थ खालिङ बोल्न पटक्कै आउँदैन – ‘दिसा खा’ भनेर गाली गर्नु बाहेक ।

आमाले खालिङ भाषा मलाई नसिकाउनुको कारण प्रस्टै छ – बाहरुले बोल्ने जस्तो शुद्ध नेपाली बोल्न नजान्ला भनेर हो । यो खस-नेपाली भाषासँग जोडिएको अधिपत्य राष्ट्रियताको आडम्बरको कारणले गर्दा नै हो भन्दा फरक नपर्ला । काठमाडौका रैथाने कैयन नेवार साथीहरु पनि नेवार बोल्न छाडेका थिए म हुर्कंदा, नेपाली बोल्दा जिस्काउलान् भनेर । अहिले धुक्चुकी लाग्छ । खालिङ भाषा बोल्ने जम्मा १५,००० जति छन् अरे, एथ्नोलोग भाषाबिद्का अनुसार ।

राई भाषा नसिके पनि थाई ‘फासा’ चाँहि सिकौं भन्ने चाहना जाग्यो, बैँकक झरेको एक महिनामै । मुख्य कारण थियो, बजारमा सामान खरिद गर्न जाँदा पाएको सास्ती । अण्डा माग्दा आलु दिए, एक साहुजीले । मोटरसाईकल ट्याक्सी चालकलाई ‘नो प्रब्लम्’ भनेर भनौं भनेको, ‘माईपेनराई’ को साटो ‘माईपानथाट’ भनेछु सायद अत्तालिएर होला । ‘माईपानथाट’ को अर्थ हो नाप्ने ‘रुलर’ । नबुझेर ड्राईभर साथी चीत खाए । म भने आफूले गल्ती गरेको थाह भएपछि कुलेलाम ठोकें ।

नयाँ भाषा सिक्न निकै रमाईलो हुन्छ भन्ने लागेको अफ्गानिस्तानमा दारी भाषा सिक्दा हो । फरर नबोलेपनि आफ्गान साथीहरुको गन्थन र ठट्टा बुझ्नसक्नुनै मेरा लागि खुसीको विषय थियो । त्यसैले पनि अहिले ईरानी चलचित्र हेर्नको मज्जा अर्कै छ । अष्ट्रेलियामा हुँदा स्पेनीस् भाषा सिक्न शुरु गरेपनि ‘सोई उनपोको गोर्दो,’ अर्थात् ‘म अलिक मोटे छु’ भन्दाबढी बोल्न सकिने अवस्था भएन । लटरपटर भएपनि थाई भाषा बोल्न सिकौँ भन्ने लाग्यो । मिसनेरीहरुले १९५५ मा शुरु गरेको बैंकक स्थित एक थाई भाषा स्कुल जान साथीले सुझाव दिए ।

थाई भाषा खासमा रमाईलो भाषा रहेछ । तर अरु जानेको भाषा भन्दा फरक र अचाक्ली गाह्रो । हुन त कैयन नेपालीले सिकेका छन् । एक सम्मानित नेवार बुद्धिष्ट भिक्षु छन् यहाँ जसले थाई भाषामा यति मिठो प्रवचन सुनाउँछन् कि गत वर्ष यहाँका राजाले त उनलाई विशेष सम्मान नै दिएछन् ।

झण्डै ८०० बर्ष पुरानो थाई भाषाले आधाजस्तो शब्दावलीहरु त अरु भाषाबाट उधारो लिएको रहेछ । कैयन शव्दहरु पाली र सँस्कृतबाट आएका छन् । जम्मा ३२ स्वरवर्ण र ४४ ब्यञ्जन छन् थाई भाषामा । साथै चीनीयाँ र भियतनामी भाषाजस्तै पाँच फरक सुर वा ध्वनी पनि छन् । व्याकरण साधारण छ, जस्तै काल, लिँग, र वचनको आधारमा शब्द परिवर्तन नहुने रहेछ । लेखनमा त झन शव्दको बिचमा कुनै स्पेसनै नहुने रहेछ । हेर्दा तननन तन्केको शब्दझै लाग्ने ।

तर नम्रता वा शिष्टताको आधारमा भने एउटै अर्थ लाग्ने चार-पाँच फरक शब्द हुने रहेछ । उदाहरण: खानुलाई परिवारजन र साथीसँगीहरुसँग ‘कीन्’ भन्नु पर्ने रहेछ भने औपचारिक शब्दमा ‘थान्’ । ‘देईक’ सकेसम्म कसैलाई नभन्नु रहेछ, नेपालीमा ‘घीच्’ भनेजस्तै । भिक्षुहरुसँग ’छान्’ भन्नु रे भने राजपरिवारलाई ‘सावोई’ ।

राजासँग बोलिने भाषा फरक हुने रहेछ भन्ने जान्दा नेपालको हिन्दु राजाको याद आयो । थाई शिक्षकले उदाहरण पनि त्यस्तै दिईन्: एक पटक अहिलेका राजाका पिता, जसलाई धेरैले मन पराउँथे रे, एक गाउँ गएछन् । गाउँमा एक कृषी महिलालाई थाह रहेछ राजासँग बोलिने शव्दावली फरक हुन्छ भनेर । राजालाई आफ्नो खेतीपाती र माछापोखरी देखाँउदा माछालाई समेत त्यहि सम्मानित शब्दले सम्बोधन गरिछिन् ।

तर सबैभन्दा सास्ती पार्ने रहेछ सुर वा ध्वनीको कारणले, विषेशत: एकलभाषीहरुलाई । पहिलो तहको कक्षामा फ्र्याङ्क नामका बेलायती सेवा निवृत मित्र थिए – सबै शब्द एकै सुरमा भन्ने । उनी भन्थे ‘मेरो सांगितिक कान छैन, म त सबै उस्तै सुन्छु ।’ शिक्षक सँगै उच्चारण गर्दा पनि साथीले मरे सकेनन्, झण्डै शिक्षकको ध्वनी पनि बिगारिदिएका । अन्त्यमा आउनै छाडिदिए ।

एउटै देखिने र सुनिने शब्दको अर्थ आकाश-पाताल हुने रहेछ, यहि ध्वनीले गर्दा । जस्तै: ‘क्लाइ’ शव्दको अर्थ टाढा पनि हुन सक्छ, नजिक पनि – उच्चारण गर्दा त्यो सुरमा भरपर्ने कुरो । ट्याक्सी ड्राईभरलाई पुग्नुपर्ने ठाँउ टाढा छ कि नजिक भनेर सोध्यो, के भन्छ पत्तो पाउनै नसकिने । त्यस्तै ‘साई’ को अर्थ देब्रे पनि हुनसक्ने, ढिलो पनि हुन सक्ने । ‘खाऊ’ भात पनि हुन सक्ने, सेतो (रङ) पनि हुन सक्ने ।

यो स्वर र ध्वनीको संकट मैले पनि भोगें ।

ट्याक्सी ड्राईभरलाई आफू बस्ने बैककको साथोन सडक ११ (सोई सिपिएत) लैजाऊ भनेको साथीले त सडक १८ (सिपपेत) लगे । पछि अँग्रेजीमै ‘ईलेभेन’ किन नभनेको पो भन्छन् । त्यसपछि अरुसँग थाई भाषा बोल्नै छाडिदिएँ, अहिलेका लागि ।

तपाइँको प्रतिक्रिया