शुक्रबार, चैत १६, २०८०

नेताहरुको न टेक्ने न समाउने धरातल !

सुरेशचन्द्र कुईकेल२०७७ कार्तिक २६ गते १७:३०

(photo- the kathmandu post)

काठमाडौं— पूर्व अर्थ सचिव एवं सामाजिक संजालमा सक्रिय रामेश्वर खनालले बुधबार अपरान्ह एउटा ट्वीट गरे, नेपाली राजनीति, समाज र यथास्थितीको रौंचिरा समाउनेगरि । खनालले ट्वीटमा लेखेका छन्—‘सिधै मन्त्री बनाइदिने
फैसला भएको भए टन्टै साफ हुन्थ्यो, सधैंको कचकच सकिन्थ्यो ।’

यो ट्वीटको पृष्ठभूमीमा एउटै कारण थियो— प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार गरेको
निर्णय । नेपाली राजनीतिको अहिलेको ‘किलोजरो’ समाउन टाढा गैरहनुपर्दैन । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपनि जस्केलोबाट संसद छिर्नेहरु बामदेव गौतम वा नारायणकाजी श्रेष्ठ जस्ता प्रतिनिधि पात्रका लागि नेपाली
राजनीति मात्रै होइन, कानूनको चर्को घेराबन्दीसमेत केहि होइन भन्ने पुष्टि भएको छ ।

अदालतको निर्णयअनुसार, संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन रोक्नकोलागि अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो । वुधबारको यो आदेशसँगै यसअघि सर्वोच्च अदालतले गौतमलाई थप जिम्मेवारी नदिनु भनी सर्वोच्च अदालतले नै दिएको अल्पकालीन अन्तरिम आदेश पनि निष्प्रभावी बन्न पुगेको छ ।

देशको राजनीति हेरेर जोकोहि पनि लजाउने स्थिती बुधबारको अदालती आदेशले मात्रै उब्जिएको होइन । आज देशमा कोरोना सक्रिय संक्रमितको संख्या २ लाख नाघिसकेको छ भने मृतककै संख्या १२ सय हाराहारीमा पुगेको छ । कुनै नियम र उपाय थाहा नपाइकनै घरघरमा ‘आइसोलेसन सेन्टर’ बनिरहेका कारण गाउँघरमा हरेक दिन मृतक जनसाधारणको संख्या बढ्दो छ । सरकारले गर्ने घोषणामा दैनिक १८ – २० मानिस कोरोनाकै कारण मरिरहेको भनिएपनि यो संख्या भनिएभन्दा दोब्बर हुन सक्ने तथ्य–तथ्यांक बाहिर आइरहेकै छ ।

यहिबेला सत्तारुढ नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जस्केलोबाट राष्ट्रिय सभा सांसद बनेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमको दिनचर्या हेरम् त ? अथवा प्रतिपक्षी भनिएका कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुको गुटगत राजनीतितिरै हेरम् न— लाज पनि लजाउने स्थिति देखिन्छ ।

कतिसम्म भने हावादारी कार्यशैली र उडन्ते भाषणकै कारण अमेरिकामा राष्ट्रपति ट्रम्पको शासन एकप्रकारले असमयमैं उल्टिएको दृष्टान्त आँखैसामु देखिरहेपनि प्रधानमन्त्री ओली बारम्बार झुट र दम्भको प्रचार गर्नमैं व्यस्त देखिन्छन् भने सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘फिलिङ कार्यकारी’कै अभावमा सनैसनै तड्पिरहेका हुन् कि झैं देखिन्छन् ।

शहरमा भिषण आगलागी भैरहेका बेला सम्राट निरो बाँसुरी बजाइरहेका थिए भन्ने दृष्टान्त इतिहासका पुस्तकमा पढ्दै र बारम्बार उदाहरणका रुपमा पेश गरेपनि प्रधानमन्त्री ओली अनेक उटांगी बोलिरहेका छन् । आफ्नो कार्यक्षमता, शासकीय दक्षता र वाकपटुमा आफैं दंग रहेर ओली आफू भगवान बुद्धसँग दाँजिरहेका हुन्छन् । उनले बारम्बार भन्ने गरेका छन्- ‘भगवान बुद्धले कति पढेका थिए ? स्कुल देखेका थिए र ? तर, तिनै बुद्धका बिषयमा पीएचडी गर्नेहरु आज कति छन् कति …..!’ एउटा राजनेताको योभन्दा गम्भिर मजाक र भद्दा शासनशैली अरु के हुन सक्ला ?

तपाइँको प्रतिक्रिया

फेसबुक