मंगलबार, वैशाख ११, २०८१

पहेंला पात जस्तै जीन्दगी

लक्ष्मण देवकोटा२०७७ कार्तिक २७ गते १०:४५

केहि मानिससँगका सम्वादले मलाई एक किसिमको उर्जा पैदा गर्दछ । विश्वेश्वर प्रसाद कोइरालाका उपन्यास र रमेश विकलका कथाहरुले जस्तै । मैले आजै बिहान किशोर नेपाललाई विष्णु निष्ठुरीको यौटा च्यानलमा हेरें । एकपटक हेरेर चित्त बुझेन, दोहोर्याएर हेरें । किशोर नेपालको जीवनीले उर्जा दिन्छ मलाई । ईश्वरवल्लभका गीतहरु हजार पटक सुन्दा पनि कहिल्यै पुराना नभए झैं । केही छुटे झैं । हिजो बेलुकी सुत्ने बेला मैले मेरा प्रिय अभिनेता संजय मिश्राको स्लो मोशन अन्तरवार्ता हेरेर सुतेको थिएँ । भैरव अर्यालको जीवनी र उनका निबन्धहरु पढेर सुतेको थिएँ ।

दशैंको दिनदेखि म बिरामी परें । कोभिडको संकेत देखिएपनि भएको चाहिँ न्यूमोनिया रहेछ । म आफूलाई उति सारो ख्याल गर्दिन भनेर सहयात्री कराइरहन्छिन् । म आफूले आफैलाई खासै ख्याल गर्नुपर्ने मान्छेको रुपमा कहिल्यै सोचिन । अहिले लाग्यो, यो सोचाइ आफैँलाई बडो गलत सोचाइ रहेछ ।

दशैंको भोलिपल्ट म कोरोना भाइरस संक्रमित र सम्भावित संक्रमितहरुको हूलमा जेनेभाको राम्रो अस्पतालमा बडो बिजोग अवस्थामा पुगेको थिएँ । मलाई स्वास फेर्न गाह्रो भइरहेको थियो । छातीमा केही गरुंगो चिजले थिचेको अनुभूति भैरहेको थियो । कोरोनाले इन्तु न चिन्तु भएका मानिसहरुको अगाडि मेरो यो कुनै समस्या थिएन । म कोरोना संभावितमा दरिएँ र इमरजेन्सी वार्डमा पुर्याइएँ । डाक्टरहरुले मुटु हेरे । फोक्सो हेरे । कोरोनाले गर्नुपर्ने उधुम नगरेको भेटियो । न्यूमोनिया भेटिएपछि उनीहरु त्यसको उपचारतिर लागे । रिपोर्ट नेगेटिभ नै आयो ।

                                       (फोटो-zetsetter)

चीसो स्याँठ साताभरी चलिरह्यो । हरिया पातहरु राता पहेँला हुँदै तिब्र रुपमा झर्दै गए । रुखहरु शिख्रा देखिन थाले । भूइँ नानावली रङका रङहरुमा रँगिएपनि त्यो क्षणिक भयो । म चीसोबाट जोगिनुपर्ने । बाहिर घुमफिरमा प्रतिबन्ध लाग्यो । पहिलो साता हावा हुण्डरी सहित पानी परिरह्यो । मैले यी सबै दृष्यहरु झ्यालबाट हेरिरहेँ । सूचना, संचार, पत्रपत्रिका सबदेखि बिल्कुल अलग जीवनमा प्रवेश गरेँ ।

कोरोनाको दोश्रो लहरले युरोप यसबखत आक्रान्त छ । दिनहुँ मानिसहरुको मृत्युका खबरहरुका अगाडि मेरो यो कुनै समस्या नै होइन । म कुनै यो समाजका निम्ति नभई नहुने कुनै त्यस्तो विशेष पात्र पनि होइन । त्यसैले यो कुनै समाचार पनि होइन । जे चिज हुँदै होइन, तर मानिस हुनुको यौटा अर्थले मानिसलाई लखेटिरहने रहेछ । हरेक बिहान मृत्यु उत्सवको निमन्त्रणा बाँडेर हिँडेको यो असमयले धेरैलाई यौटा त्रास दिइरहेको छ । म यसलाई सत्य बोधको रुपमा लिएको छु । कठोर सत्यसँग हरेक जिवित प्राणीले साक्षात् गर्नुनै पर्दछ । यो ब्रम्ह सत्यबाट कोही भाग्न, पन्छिन सक्दैन ।

४८ घण्टाको अस्पताल बसाइमा मैले आँखै अगाडिबाट मृत्यु गुज्रिएको देखें । कोभिडले खचाखच भरिएका इमरजेन्सी वार्डमा जबरजस्ती बँचाउन स्वास्थ्यकर्मीहरुले गरेका यत्नहरु देखें । जीवन बाँच्ने रहरले मृत्यसँग लडिरेहका कोरोना संक्रमित युवा युवतीको महायुद्ध देखें । म मामूली न्यूमोनियाले शंकाबस सो स्थानमा पुगेर जे देखेँ त्यसले ममा एककिसिमको ज्योति ल्याइदियो । जीवन देख्ने र बुझ्ने महाविश्वविद्यालय बनिदियो त्यो इमरजेन्सी वार्डको केही घण्टा ।

धर्म अधर्म, कर्म कूकर्म केहि छ भने यहि धरतीमा छ । मेरो अनुभूतिको अर्को महत्वपूर्ण पक्ष के रह्यो भने दुनियाँको सबैभन्दा पहिलो प्राथमिकता केहि छ भने त्यो मान्छेको जीवनको हो । हुनुपर्छ । मानिस पहिला बाँच्नुपर्छ । जतिसुकै विद्वान होस् या जतिसुकै अनपढ, जतिसुकै कुबेर होस् या निर्धन, राज्य संचालकको प्रमुख होस् या राज्यको मामूली मगन्ते, यी सबैमा यौटा समानता छ, त्यो हो यिनीहरुको जीवन । मानिस को हो र के हो भन्नुभन्दा पहिला उसको जीवनको रक्षा हुनु, उ सुरक्षित रहन पाउनु उसको पहिलो हक हो । अधिकार हो । सम्भवत राज्यको उपस्थितिको अर्थ यही नै हो ।

मृत्युसँग जुधिरहेका बेला राज्यका सबै बल लगाएर यौटा मानिसलाई बँचाउन दिलोज्यान दिएर लागेका पेशाकर्मी, राज्यका सबै निकायको निस्वार्थ धर्मले नै देशहरु जोगिएका छन् । राजनीति गर्नेहरुको राजनीति जोगिएको छ । पेशाकर्मीहरुको सम्मान जोगिएको छ । निशुल्क उपचार गर्न सक्दिन भनेर धनीहरु बाँच्ने तर गरिबहरु उपचार नपाई मर्ने स्थिति ल्याउने नेपाल देशका शासकहरुलाई अदालतले त्यसो गर्नुहुन्न भनेर जबरजस्ती राज्यस्तरबाट उपचारको प्रबन्ध हुन आदेश हुनु आफैमा लज्जाजनक विषय हो भन्ने लाग्दछ ।

देश नसक्ने भएर, सरकारसँग कोष नभएर भन्दा पनि राज्यसंचालकहरुको अदूरदर्शी र त्यागी भावनाको कमीका कारण यसो भएको हुनुपर्दछ । यस्तै कर्मले नै राज्यप्रति जनताको माया मर्ने र अन्तमा व्यवस्थाकै पतन हुने गरेका उदाहरण संसारैभरि छन् ।

म फेरि तँग्रिएको छु । बूढा पुराना पातहरु झर्ने क्रम चलिरहेको छ त के भो र ? केही महिनापछि फेरि हरियाली छाउनेछ यी वृक्षहरुमा । फेरि रामेश श्रेष्ठका गीतहरु सुन्न थालेको छु । किशोर नेपालका लेखहरु पढ्न र सुन्न थालेको छु । फेरि जोडिएको छु यो युगसँग ।

स्विजरल्याण्डका सडकहरुमा यौटा सन्नाटा छाएको छ । बार, रेष्टुरेन्टहरु बन्द छन् । जेनेभाको रौनकता हराएको छ । भूइँभरी रंगीचंगी पातहरुको पतका ओछ्याइए पनि सौन्दर्यविहीन, कान्तिविहीन जस्तो देखिन पुगेको छ । सबैमा मनोवैज्ञानिक त्रास छाएको छ । सुरक्षाको भय, जीवनको भय र भयहरुको आँधीमा मानिस कोठाभित्रै डल्लिएको छ । बूढापाकाहरु सडकमा निकै पातला देखिन पुगेकाछन् ।

सबैलाई मृत्युको छायाँले लखेटिरहेको छ । यतिधेरै सुरक्षित हुँदाहुँदै पनि दिन दुगुना रात चौगुना यो घनत्वले भरिएको जेनेभा शहरहरुमा कोरोनाको आतंक घट्ने सुरसार छैन । बिरामीहरुले भरिभराउ भएपछि कोभिडको उपचारका निम्ति छिमेकी जिल्लाका अस्पतालमा बिरामी पठाउन थालिएको छ । छिमेकी देश फ्रान्समा त झन् स्थिति डरलाग्दो छ । धेरैका रोजीरोटी गुमेका छन् । मानिस पलपलमा असुरक्षित छ । यद्यपी राज्यले आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेको छ । किसानहरुलाई ऋण दिएर, ब्याज मिनाहा गरेर । राजनीति गर्नेहरुलाई थाहा छ, अहिले ख्याल गरिएन भने भोलि आफ्नो राजनीति पनि पहेंलो पात झैँ उडेर बादलपारी पुग्नेछ ।

हामीकहाँ त के छ र ? केही नगरेपनि डंका पिट्ने कार्यकर्ताहरु, चुनाव जिताइदिने मतदाताहरु तम्तयार छन् । यस्तै कार्यकर्ताकै कारण न्यूमोनियाका बिरामी एन्टीबायोटिक्स नपाएर मर्ने, टिचिंगकै कर्मचारी टिचिँग मै बेड नपाएर
मर्नुपर्ने स्थिति दोहोरिइरहन्छ । तर सत्ता संचालकहरुलाई यसले कुनै असर गर्दैन ।

निराशाको यो बादलबिच फेरि आशा लाग्दछ, समय लाग्ला तर यो बूढोपुस्ताले बनाएको समाजको गोलपरिधी भित्र सधैंभरी नयाँ पुस्ता अडिएर रहन सक्दैन । पातहरु फेरि पलाउनेछन् । राजनीतिमा, समाजमा र मानिसको जीवनको आफ्नै अन्तरमनभित्र ।

तपाइँको प्रतिक्रिया