शनिबार, मंसिर १३, २०७७

कहिले हुन्छ नेपाल जापान जस्तै डाक्टर इवामूरा ?

श्रीधर प्रसाद घिमिरे / पाल्पा२०७७ कार्तिक २७ गते १५:१४

श्रीधर प्रसाद घिमिरे

पाल्पा तानसेन डाँडामा रहेको वस्ती भएकोले नजिक पानीका मूल र जरुवा हुने भएन । धेरै वर्ष अघि भुल्केबाट खानेपानी तानेर तानसेनवासीलाई पानीको खाँचो आजसम्म पनि टारिँदै आएको छ । भुल्केको खानेपानी योजनाको परिकल्पनादेखि पानी झार्ने काम गर्नमा एकजना जापानिज डाक्टरको ठूलो देन छ । उनको नाम डाक्टर इवामूरा हो ।

आजभन्दा ५० वर्ष अघिसम्म पाल्पाका गाउँगाउँमा इवामूरा समाजसेवी काम लिएर पुग्थे । दोश्रो विश्वयुद्धका बेला बममा प्रयोग गरिएको रसायनका कारण निसन्तान बनेका यी डाक्टरले नेपालमा सडक वालवालिकालाई अभिभावकत्व पनि दिएका थिए । उनीसँग भएका केहि कुरा मेरो दिमागमा घुमिरहेका छन् । नेपालको फोहोरी राजनीति, देशको विकास भन्दापनि खाली आफ्नै खल्ती भर्ने लोभी नेताहरुको ताँती देख्दा पटक पटक यिनै इवामूराको सम्झना हुन्छ ।

०२९ सालको ठण्डीको बिहान दमकडामा चिया पिउँदै इवामूरासँग मैले यौटा प्रश्न सोधेको थिएँ । त्यसबेला जापान निकै टाढाको देश थियो । विदेशीहरु अर्कै ग्रहबाट आएका झैं लाग्थे धेरैलाई । अहिले नेपाली युवायुवतीहरु पनि देश देशावर घुमेका छन् । केटाकेटीका कारण बाउ आमा पनि अमेरिका, अष्टेलिया पुगेर त्यहाँको विकास देख्ने मौका पाएका छन् । उसबेला हामीले विदेशीका कुरा सुन्थ्यौं । डाक्टर इवामूरासँग मैले सोधेको थिएँ,  नेपाल जापान जस्तै कहिले हुन्छ डाक्टर इवामूरा ? इवामूराले टाउको हल्लाए । नकारात्मक अर्थ दिनेगरी ।

‘५० वर्षमा त होला नि ?’ मैले फेरि सोधें । उनले फेरि उसैगरी मुन्टो हल्लाए ।

‘१०० वर्षमा त पक्कै फेरिन्छ ।’ फेरि उनले उसैगरी मुन्टो हल्लाए ।

‘कति वर्ष लाग्छ त  नेपाल बन्न ?’ मैले तेश्रोपटक सोधेपछि उनले भने ‘अरुलाई कज्याउने र अह्राउने तपाईँहरुको बानी नगएसम्म नेपाल बन्दैन । मेरो ५० किलोको झोला म पसिना काढदै बोकेर हिँडेको हुन्छु, नेपालीहरुलाई २० किलोको झोला बोक्न लाज लाग्छ । अरुलाई बोकाउँछन् ।’

र, अर्को कुरा सुन्नुस् ‘नेपालमा राष्टिय स्तरको राजनीति गर्नेलाई नै देशको माया छैन । जब देश बनाउँछु भनेर बोल्दै हिँड्ने र देशको ढुकुटीको साँचो लिएको मान्छेलाई नै देशको माया छैन भने देश कसरी बन्छ ?’

चियाको सर्को तान्दै इवामूराले कुराको पोको खोले, ‘म झण्डै पौने घण्टा लगाएर स्कूल जान्थें । खुट्टामा जुत्ता हुन्थेन । चप्पल लगाएर चीसो ठिरेटोमा हिँडेरै पढेको हुँ मैले । मेरा काका लण्डनमा डाक्टरी पढ्थे । हजुरबाउले उनैलाई पैसा पठाउँदै ठिक्क हुन्थ्यो । काकाको कारण हामीले पाउने सुविधा पनि कट्टी भयो ।’

उनले सुनाउँदै गए – पछि काकाहरु देश फर्के पढेर । डाक्टर, इन्जिनियर, वकिल सबैमा देशभक्तिको भाव यसरी उर्लिएको थियो कि उनीहरु आफ्नो ज्ञान सिप देशमै लगाउन चाहन्थे । अमेरिकीहरुले धुलोपिठो पारेको जापानलाई फेरि उठाउन
चाहन्थे । संगठित भैसकेपछि उनीहरुले राजदरबारमा जापानको मुहार फेर्न दक्ष प्राविधिकहरुको सल्लाह लेखेर दिए । दरबारका हुक्के चम्चेहरुले राजासम्म यो कुरो पुग्नै दिएनन् । उल्टो राजगद्दीलाई खतरा पुग्ने गलत कुरा सुनाए । राजाले वास्ता नगरेपछि उनीहरुले फेरि बुलन्द आवाजका साथ आफ्नो योजना सुनाए राजालाई सोझै । राजाले पढे । कुरो त ठिकै लाग्यो । अनि दक्ष प्राविधिकहरुको योजनाले देश धमाधम कायापलट हुन थाल्यो ।

गाउँ गाउँमा स्कूल खुले । अस्पताल खुले । विदेशी लगानीकर्ताहरुलाई आकर्षित गरेर उद्योग धन्दा र कलकारखाना स्थापना गरियो । बाटा चौडा र फराकिलो बनाइयो । रेल कुद्न थाल्यो अझ तिब्र वेगमा । जनतालाई कसरी सुविधा पुग्छ भन्ने कुरामा योजनाहरु बने । त्यसपछि बल्ल जापान युद्धको भयावह अतितबाट ब्यूँझियो । जबसम्म सरकारले विशेषज्ञका कुरा सुन्दैन, जबसम्म योजना बनाउने र लागू गर्ने मानिसहरुमा आफू मात्रै धनी र सम्पन्न हुने लालच रहिरहन्छ, लेखेर राख्नुस् त्यो देश कहिल्यै बन्दैन ।

म स्वयं कमरेड पुष्पलालको मार्क्सवादी स्कूलबाट प्रभावित व्यक्ति हुँ । हाइस्कूलको प्रधानाध्यापक, कलेजको अध्यापक भएर निवृत्त भएँ । नेपालको कायापलट फेर्नुछ भने वामपन्थीहरुलाई सत्तामा पुर्याउनुपर्छ भन्ने कुराले सधैंभरी वाम आन्दोलनको सहयोग र समर्थनमा लाग्न प्रेरित गरिरह्यो । मनमोहन अधिकारी नेतृत्वको नौ महिने शासनकालले स्वर्णिम युग वामपन्थीबाट नै सम्भव छ भन्ने देखायो । गाउँगाउँमा उत्साहको लहर आयो ।

अहिले झण्डै दुई तिहाईको कम्युनिष्ट भनिएको सरकार हेर्छु । त्यसै त्यसै विरक्त लागेर आउँछ । सबका मुख बजेका छन् । आफ्नै पार्टीभित्र छुराजस्ता मुखले सुन्नै नसकिने गाली गरेको पत्रपत्रिकामा हेर्न विवश छु । पार्टीमा त्यत्रो योगदान र बलिदान दिएका दुई अध्यक्षहरुको भाषा, यौटाले फटाहा भन्छ । अर्कोले महाफटाहा भन्छ । यो जगहँसाइले म जस्ता धेरै शुभचिन्तकहरुको मन दुखेको छ । यसबेला त देशैभरीका पार्टीका कार्यकर्ताहरुको सशक्त टिम बनाएर कोरोना विरुद्ध लड्नुपर्ने होइन र ?

चीनमा माओले बेयरफूट डाक्टरको जुन अवधारणा ल्याएका थिए, त्यसैगरी । ख्वै कहाँ छ नेपालको विकास गर्ने योजना ? कहाँ छ देश कायापलट गर्ने अवधारणा ?

कोरोनाले अर्थतन्त्र डामाडोल छ । पार्टी भित्र गूट उपगूटको लडाइँ छ । व्यक्गित रुपमा कुनै आशा नराख्ने हामी जस्ता जमिनमा शुभचिन्तकहरुको विश्वासमा नेतृत्वले यसरी खेलवाड गर्न हुन्छ ?

अध्यक्ष वैठक बस्न नमान्ने। अरुलाई वैठक नबसी नहुने । कम्युनिष्ट पार्टीको चेयरम्यानले त वैठक फेस गरेर आफ्ना कुरा दह्रोसँग राखे पार्टीभित्र अल्पमत भएर के हुन्छ ? समर्थनमा जनता सडकमा उत्रिन्छ । अरु गूट उपगूटका नेता पनि जनतासँगै जानुपर्ने होला । यदि प्रधानमन्त्रीले लोकप्रिय कार्यक्रम ल्याए भने समर्थन नगरेर सुख्खले ? आफ्ना वरिपरिका भ्रष्ट मानिसहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने काम प्रधानमन्त्रीले गरे कसले समर्थन गर्दैन ?

उहि जापानीज डाक्टरले भने जस्तै देशको साँचो लिनेलाई नै देशको माया नभएपछि हामी जनताले हेर्ने त रमिता मात्रै त रहेछ । यो वा त्यो नेता भन्ने कुरै भएन ।

कोरोना संक्रमणको महामारीले मै हुँ भन्ने देशहरुलाई त सकसमा पारे भने नेपाल जस्तो विपन्न देशका लागि यो त्यति सजिलो कुरा होइन । तर ख्वै त विशेषज्ञहरुलाई जिम्मेवारी दिएर सरकारले काम गरेको ?

ईश्वर पोखरेलको अध्यक्षतामा बनेको कोरोना नियन्त्रण उच्च स्तरीय समितिमा ख्वै त स्वास्थ्यकर्मी ? नेताहरुसँग लामो राजनीतिक अनुभव छ । तर उनीहरु स्वास्थ्यका विशेषज्ञ त होइनन् नि । एकसे एक काबिल डाक्टरहरु छन् । उनीहरुलाई जिम्मेवारी नदिएर नेताहरु जनस्वास्थ्य विशेषज्ञ भएपछि हुने भद्रगोल नै हो । अहिले भएको पनि त्यहि हो । बोलेर मात्रै कहाँ हुन्छ ? अस्पतालले निशुल्क कोरोना उपचार नगर्ने भनेर मन्त्रीपरिषदले गरेको निर्णयलाई अदालतले उल्ट्याइदिनुपर्ने अवस्था आयो । कम्युनिष्ट भनिएको सरकारले यस्तो जनता विरोधी निर्णय गर्न हुन्छ ?

हामीकहाँ त सबै मानिस सबै कुराको विशेषज्ञ हुने चलन छ । माथिदेखि तलसम्म । तथापि देश जहाँको त्यहिँ छ । अझ ओरालो लाग्दोछ । समयले दिएको यो ठूलो अवसरलाई हाम्रा नेताहरुले त्यसै खेर फाले । फालिरहेकाछन् । यसको मूल्य दह्रै चुकाउनुपर्छ जस्तो लाग्छ मलाई भविष्यमा । डाक्टर इवामूरासँग अहिले भेट हुन पाए के भन्दा हुन् ?

(पंचायतकालमा नेकपा मार्क्सवादी पाल्पाको जिल्ला कमिटी, शिक्षक संगठनमा रहेर काम गरेका घिमिरे पाल्पा मदनपोखरा दमकडाको श्री दमकडा उच्च माविका पूर्व प्रधानअध्यापक तथा माण्डव्य बहुमुखी क्याम्पसका निवृत्त प्राध्यापक हुन् ।)

तपाइँको प्रतिक्रिया

फेसबुक