शनिबार, वैशाख १५, २०८१

सगरमाथाको उचाईभन्दा लामो दूरी चार दिनमै दौडिएर पुरा गर्ने हङकङका नेपाली

नेपाल प्लस२०७७ कार्तिक २८ गते ११:२३

अचम्म अचम्मका किर्तिमान बनाउन खप्पिस छन्, हङकङ निवासी डिना (दिनानाथ) बगाले । कहिले हिउँका चुचुरातिर दगुर्छन् । कहिले फ्रान्स र स्विजरल्याण्डतिरका चुच्चे पखेरातिर म्याराथुन गर्न पुग्छन् । तिब्बती मोहडातिरबाट सगरमाथामा दौडिनपनि यिनै पुग्छन् । हङकङमा भएजति सबै चुचुरा चढेर भ्याएको केहि साता नपुग्दै यिनले अर्को चुनौतिपूर्ण दौड पुरा गरेका छन्, यिनै बगालेले । सगरमाथाको चुचुरोसम्म जति मिटरको उचाई छ त्यो भन्दा बढि लम्बाईको दूरि चार दिनमै दगुरेर पुरा गरेपछि अन्तर्राष्ट्रिय धावकहरुकाबिचमा फेरि यिनले चर्चा कमाएका छन् ।

उनले पहिलो दिन माक्लेहोज भन्ने ५० किमी दूरी दौडिए । दौडमा उनी एक्लै थिए । दोस्रो दिन फेरि सबेरै उठेर ६२ किमीको विल्सन ट्रायल पुरा गरे । तेस्रो दिन उसैगरि सवेरै ब्युँझे र दौडिन थाले । उनले एच के आइल्याण्डको ४६ किमी पुरा गरे । चौथो दिन ५९ किमीको लान्ताउ ट्रायल पुरा गरे । यसरि चार दिनमै उनले २१७ किमी दौडिएर नापिदिए । यो भनेको नेपालमा काठमाडौंबाट दौडिएर मुगलिङ पुगेभन्दापनि अझ टाढा हो । गन्दा चार दिन भनिएपनि उनले ३६ घण्टा ३७ मिनेटमा पुरा गरेका हुन् । यि चार ट्रायल दगुर्दा उनले सगरमाथाको उचाईभन्दापनि अझै बढि उचाइ पार गरेका छन् । सगरमाथाको उचाई ८८४८ मिटर छ । डिनाले १०३४३ मिटर उचाई पुरा गरेका छन् ।

यसरि एक्लो दौड यस अघि कुनैपनि नेपालीले हनगकङमा पुरा गरेको छैन । उनी पहिलो नेपाली बनेका छन् ।

पहिलो र दोस्रो दिन लगातार ५० किमी भन्दा लामो दूरी दौडिएपछि उनी निकै थकित बने । गोडा र शरिर गलेर दुखेको उनले बताए । “ज्यान र गोडा धेरै दुखेर भुतुक्कै भएँ । त्यसलाई अभ्यस्त पार्नपनि तेस्रो र चौथो दिन दौडिएँ” उनले नेपालप्लससित भने ।

यस्तो दौड अन्तर्राष्ट्रिय धावककालागि पनि कठिनपूर्ण मानिन्छ । किनभने यसलाई कसैले प्रायोजन गरेको थिएन । यि चारवटै रनिङ ट्रायलमा कसरि पुग्ने, कुन बाटो लिने र त्यो पुरा गरेर साँझ नपर्दै अर्थात् घामको उज्यालोमै कसरि पुरा गर्ने भन्ने चुनौति हुन्छ । डिना बगालेले हेड लाईट अर्थात् दौडिँदा बाटो उज्यालो पार्न टाउकामा बालिने बत्ती प्रयोग नगरिकनै पुरा गरेकालेपनि यो झनै चुनौतिपूर्ण मानिएको हो ।

यो दौडमा उनी एक्ला थिए । तर सानातिना ट्रायलहरु दौडिने गरेका उनका हङकङे र अन्य युरोपेली साथी ठाउँ ठाउँमा उनी आराम गरेको ठाउँमा साथ र समर्थन जनाउन पुगेका थिए । “मसितै दौडिएर त तिनले पुरा गर्न सक्ने नदेखेर आएनन् । तर मैले खाना खाने, आराम गर्ने ठाउँमा जोडिएर केहि बेर दगुर्दै मलाई साथ दिन, हौशला बढाउन जोडिएका थिए” डिनाले सुनाए ।

उनी यस्ता दौड निरन्तर गरिरहन्छन् । यस अघि उनले धेरै देशमा दौड गरेका छन् । दौडिने उनको प्रतिस्पर्धा भन्दापनि सोख हो । “यो मेरो सोख हो । ट्रायल रनिङ गर्दा प्रक्रितिका अनेक रमणिय स्थल र छटाहरुको लुकेको स्वाद, भित्रि सुन्दरता फेरि फेरि चाख्न पाइन्छ” मुस्कुराए उनी !

योपनि हेर्नुस्

हङकङका १२५ वटै शिखरमा नेपाली धावक

तपाइँको प्रतिक्रिया