शनिबार, मंसिर १३, २०७७

जति हेर्‍यो झनै हेरौं हेरौं लाग्ने स्विजरल्याण्डका डाँडापाखा र हिमाल

निराजन श्रेष्ठ / स्विजरल्याण्ड२०७७ कार्तिक २८ गते १४:३३

स्विजरल्याण्ड लगायत युरोपमा अहिले शरद ऋतुको समय बिस्तारै अन्त्य हुँदैछ । रङ्गीन पतझरले ढकमक्कै हाँसेका डाँडाकाँडा केहि समय पछि नांगिएर हिउँदका लागि तयार हुनेछन् । हिउँको सिरक ओढेर फेरि मौन रहने छन् ति । कलकल बगेका चंचल खोलानाला र हिउँमुनि सुस्ताउनेछन् ति । मन नै आनन्द गराउने चरा चुरुङ्गीहरुको आवाज बिस्तारै हराउनेछ । यहि रङ्गीन शरद ऋतुको झरना, खोलानाला र तालको मनमोहक दृश्यहरुका साथ प्राकृतिक सौन्दर्यलाइ महसुस गर्न स्विजरल्याण्डको बेर्नर ओबरल्याण्ड तिर गएका थियौं हामी । त्यहाँ भएको गीसबाखफल र “सेन्ट बिआटुस गूफा” हेर्न ।

आहा ! कति राम्रो ठाउँ । जति नजिक पुग्यो त्यति नै हेरिराखुँ लाग्ने । जर्मनमा गीसबाख भनेको मतलव ” खोचमा पानी खन्याउनु “हो । नाम जस्तै साँच्चै नै डाँडाको मुहानबाट रसाएकोपानी प्रकृति आफैँले खोचमा खन्याइरहेको जस्तो । झरनाको वरिपरि रङ्गीबिरंगी फूलह जस्तै विभिन्न प्रकारका रुख रंगिनपातहरुले ढकमक्क फुलेको । आहा कति आनन्ददायी दृश्य ! घण्टौ हेरेर बसी राखुँ जस्तो । छहराको निश्चल आवाज तल फेदमा गएर ब्रियनचर ताल सँगै मौन भएको स्पर्श गर्दा मेरो शरिर आनन्दले मोहित हुन्छ । लाग्छ, कपास जस्तो हलुका भएर हावा सँगै उडिरहेको छु ।

यसरि नै हाम्रो यात्रा अगाडि बढ्दै गयो । गीसबाखफल “सेन्ट बिआटुस गुफाबाट ३० मिनेट (२९ किलोमिटर) को बाटो हो । स्विजरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने “सेन्ट बिआटुस गुफा” प्रख्यात सहर इन्टरलकन र थुनको बिचमा पर्दछ । यस गुफा थुन सहरबाट लगभग २५ किलोमिटर र इन्टरलाखनबाट १३ किलोमिटर टाढा छ । थुनर तालबाट पानीजहाजमा चढेर वरिपरिका प्राकृतिक सौन्दर्यको आनन्द लिँदै गुफा सम्म जान सकिन्छ । इन्टरलाखनबाट सार्वजनिक यातायात बस लिएर पनि सिधै यस ठाउँ जान सकिन्छ ।

यस गुफाले छैठौं शताब्दिको ऐतिहासिक महत्व बोकेको छ । छैठौं शताब्दिमा सेन्ट बिआटुस भन्ने एक स्विस भिक्षुले यो ठाउँमा ड्रागनसँग लडाई गरेका थिए रे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ मुनि फेदीमा ताल छ । माथि पहरा । डाँडाका खोल्सा हुँदै पहराबाट झरेका चंचल झरना छन् । पहरा भित्र रहेको लगभग १ किलोमिटर (९२६ मि) लामो गुफा । प्राकृतिक झारपात र जडिबुटीले भरिएको यो पहराले गर्दा यो ठाउँ बाँच्नको लागि उपयुक्त ठानेर आफ्नो बासस्थान बनाउनको लागि सेन्ट बिआटुसले ड्रागनसँग लडाई गरेका थिए भन्ने उल्लेख छ । उनैको नामबाट यो गुफा प्रचलित रहेको छ ।

यो क्षेत्रमा ड्रागनका विषयवस्तुहरु अँगालेर बनाइएको छ । प्राकृतिक र भौगोलिक हिसाबले ड्रागन यदि अहिलेसम्म बाँचेको भए अझै बाँच्न सक्ने उपयुक्त हावापानी र स्थान रहेको भनेर पनि जानकारी गराइएको पाइन्छ । लाखौँ वर्ष अघिदेखि रासायनिक र खनिज चुनाढुणका जमावटको कारणले बनेका सिन्तर्न जस्ता विषयहरुले यो ठाउँलाइ अझै प्रख्यात बनाएको पाइन्छ । ऐतिहासिक, गुफा, कारस्टोलजी र वन्यजीवको विषयहरुलाइ समेटर एक छुट्टै संग्रालय पनि यहाँ बानाइएको छ ।

क्रिस्टियन धर्मका भगवान यसुको समयमा सेन्ट बिआटुसले यो गुफामा बसेर त्यतिबेला बिरामी मान्छेहरुलाई प्राकृतिक जडिबुटी र फुकफाक गरेर स्वस्थ्य बनाउने गर्थे भन्ने लेखोट छ । सेन्ट बिआटुस कस्ता थिए ? के खान्थे ? कस्तो लगाउँथे ? कसरी यो गुफामा बस्थे भन्ने विषयलाइ लिएर उनको शरिरप्रतिमा सहित देख्न सकिन्छ । यो ठाउँ साँच्चै नै चाखलाग्दो र सुन्दर छ । यस्ता चाखलाग्दा, सुन्दर र ऐतिहासिक स्थल हाम्रो देशमा पनि अनगिन्ती छन् । तर प्रचारप्रसारको कारणले गर्दा पछि परेको छ । संसारकै धेरै खोलानाला झरना र प्राकृतिक श्रोत भएको हाम्रो देशको जति लेखे पनि कम हुन्छ । मात्र बिकासको कमी छ । पूर्वदेखि पश्चिम सम्म यस्ता गुफाहरु धेरै छन् । तर पर्यटकहरुलाई केहि गुफा बाहेक अन्यको जानकारी छैन ।

महेन्द्र गुफा, चमेरो गुफा, बागद्धारा गुफा, महादेव पार्वती गुफा, सिद्ध गुफा, व्यास बसिस्ट गुफा, गुप्तेश्वर गुफा, गौखुरी गुफा, हलेसी गुफा, शितल गुफा, ज्यामिरे गुफा , शीबजी गुफा, सिद्धकाली गुफा, सप्तकन्या गुफा, बेदव्यास गुफा, चोभार गुफा, माराटिका गुफा, मुस्ताङ गुफा । अझ कति छन् कति । नेपाल सरकारले विकट ठाउँहरुमा रहेका गुफाहरुलाई उचित प्रचारप्रसार र प्रबर्धन गर्ने हो भने स्विटजरल्याण्ड जस्तै पर्यटन ब्यबसायमा टेवा पुग्ने छ ।

नेपाल एउटा यस्तो देश हो जहाँ प्रकृति श्रोतको कमी छैन । फाइदाजनक प्राकृतिक जरिबुटी जति पनि छन् । अहिलेसम्म पनि धेरै जसो हाम्रो देशको गाउँगाउँमा प्राकृतिक जरिबुटीको प्रयोगले बिरामीहरुलाइ स्वस्थ बनाउने गरिएको छ । सरकारले यस्ता जरिबुटीलाइ परिक्षण गरि औषधिमा परिणत गर्नसके धेरै लाभदाइ हुने छ ।

                                                निराजन श्रेष्ठ

(स्विस निवासी निराजन पत्रकार हुन् । उनी फोटोग्राफीमा दक्षता राख्छन् । घुमफिरमा रमाउने उनी आफू पुगेका गाउँठाउँका द्रिष्यलाई क्यामरामा उतार्ने र पुगेका स्थलबारे लेख्न रुचाउँछन्)

तपाइँको प्रतिक्रिया

फेसबुक