शनिबार, वैशाख ८, २०८१

स्विजरल्याण्डमा कोरोना प्रभाव : डाँको छोडेर रोएपछि डाक्टरलाई संझाउँदै हैरान

लक्ष्मण देवकोटा / जेनेभा२०७७ कार्तिक २९ गते १०:३९

स्विजरल्याण्डको जेनेभा कोरोना भाइरसको दोश्रो लहरबाट असाध्यै प्रभावित युरोपकै शहरहरु मध्ये एकमा गनिएपछि डाक्टरहरुले कोरोना परीक्षणको नतिजा १५ मिनेटमै आउने प्रविधिको सहयोगमा जतिसक्यो धेरैको कोरोना परीक्षण गर्ने रणनीति अपनाएकाछन् ।

गएको बुधबारदेखि जेनेभाको कारुज अस्पतालमा यो खबरकर्मी पुग्दा कोरोना परीक्षण गर्न पहिल्यै समय तोकिएर आएका र लक्षणहरु देखिएपछि विना खबर आएका शंकास्पद कोरोना संक्रमितहरु दूरी कायम गरेर परीक्षणको पर्खाइमा बसेका थिए । त्यसमध्ये एकजना थिइन, भेनेजुयलाकी फर्नान्दा सिल्भा । कोरोना संक्रमण देखिएकाहरुलाई निशुल्क परीक्षण गर्दै आएको जेनेभाको जेनेभा युनिभर्सिटी अस्पतालमा टेलीफोनबाट र इन्टरनेटबाट समय लिँदा ढिलो भएकोले उनी कारुजको अस्पतालमा १५ मिनेटमै परीक्षणको नतिजा आउँछ भन्ने सुनेर आएकी थिइन् । गएको २४ घण्टादेखि ज्वरो आउने, असाध्यै जीउ दुख्ने र स्वाद थाहा नपाउने लक्षण देखिएकोले उनी जँचाउन आएकी थिइन् ।

खबरकर्मीकै सामुन्नेमा उनी भित्र पसिन् । नाकबाट रुईमा स्वाब लिएर परीक्षण गरेको १५ मिनेटमै उनको परीक्षणको नतिजा आयो । उनमा कोरोना संक्रमण पोजेटिभ देखियो । उनी ड्वाँ ड्वाँ रुन थालिन् । डाक्टरहरुले छुट्टै कोठामा लगेर सम्झाए । नआत्तिन भने । भेनेजुयलामा रहेका केटाकेटीलाई सम्झिएर मरिन्छ झैं लागेर रोइरहेकी सिल्भालाई अस्पतालका निर्देशक डाक्टर फिलिप स्कालर आफैं गएर सम्झाए । तातो पानी पिउन भने । हातमा तातो पानीको गिलास थमाएका डाक्टर फिलिप भन्दै थिए, “आत्तिनु हुँदैन । निको हुन्छ । कोभिड देखिने बित्तिकै ज्यान जाँदैन । तपाईलाई सास फेर्न अप्ठेरो भयो भने हाम्रो एम्बुलेन्स डाक्टर सहित लिन आउँछ । एम्बुलेन्समा सबै सुबिधा हुन्छ । हामीसँग पर्याप्त सुविधा छन् । यहाँ ठाउँ नभए तपाइँलाई सुविधासम्पन्न एम्बुलेन्समा राखेर स्विजरल्याण्डको अर्को राम्रो अस्पतालमा पठाउँछौं ।”

यसरि १५ मिनेटमै नतिजा आउने कोरोना परीक्षणको शुल्क नेपाली ६ हजार रुपियाँजति लाग्छ । दिनमा लगभग २ सय भन्दा बढिले कोरोना परीक्षण गरिरहेको अस्पतालका निर्देशक फिलिप रुजमोन्टले बताए । यसरी लागेको शुल्क विमा कम्पनीबाट असुल गरिन्छ । हातमा नगद नभएपनि उपचार नपाएर कोही मर्नु पर्दैन । पहिला उपचार अनि पछि रकम असुलीको काम हुन्छ ।

यो कारुज अस्पतालमा काम गर्ने नर्सहरु युनिभर्सिटी जेनेभाकै उत्पादन हुन् । जेनेभाको प्रान्तिय सरकारले कोरोना संक्रमितको चाप बढ्दै गएपछि निजी स्तरमा छिटो नतिजा आउने गरी कोरोना परीक्षणको अनुमति दिने नीति अख्तियार गरेको छ । यसो गर्दा संक्रमितहरुको उपचारमा संलग्न अस्पतालहरुलाई सजिलो हुने र मृत्युदर घट्न सहयोग पुग्ने उनीहरुको भनाइ छ । सकेसम्म बढि भन्दा बढिको परीक्षण गरेर लागेकाहरुलाई उचित रेखदेख दिने सरकारी नीतिलाई निजी क्षेत्रले पनि सहयोग गर्नुपर्छ भन्ने स्थानीय जनप्रतिनिधिहरुको धारणा छ । तर, प्रान्तिय स्वास्थ्य विभागको छानविन पछि परीक्षणका निम्ति योग्य निजि क्लिनिक र प्रयोगशालाहरुलाई सो अनुमति दिइने कुरा पनि प्रान्तिय सरकारले प्रष्ट पारेको छ । दक्ष कर्मचारी, सुविधा सम्पन्न क्लिनिक, क्लिनिकमै कोभिड नफैलिने खालको भौतिक संरचना र आपतकालीन विरामीको लागि आवश्यक स्वास्थ्य सामाग्री जुटाउन सक्नेले मात्र परीक्षण गर्ने अनुमति पाउँछ ।

कोरोनाको दोश्रो लहर फैलिइसकेपछि फ्रिवर्ग, जेनेभा र न्यूस्याटेलमा संक्रमणदर निकै उच्च रहिरहेको छ । मृत्यु दर पनि घटिरहेको छैन । यो शुक्रवार २४ घण्टामा मात्रै ९७ जनाले ज्यान गुमाए । ६ हजार ७ सय १५ जना संक्रमितहरु चौबिस घण्टामा थपिए । गएको साताभित्र ५ सय ५३ जनाको ज्यान गएको । चौबिस घण्टामा थपिएका २६२ जना सहित १६ सय ९० विरामीहरु स्विजरल्याण्डका अस्पतालमा भर्ना भएका छन् । आँकडाका हिसाबले यो डरलाग्दो हो भनी जेनेभा अस्पतालका डाक्टरहरुले नयाँ नर्स, सरसफाइकर्मी, डाक्टर थप्न प्रशासनलाई अनुरोध गरेका छन् ।

          बजार खोल्न माग

जेनेभा शहरमा आंशिक लकडाउन गरिएपछि र मृत्युदर बढेको बढ्यै छ । मानिसहरुको चहलपहल बजारमा घटेको छ । अत्यावश्यक खाद्यान्न बाहेक अरु पसलहरु बन्द गरिएको छ भने खानेकुरा पनि बसेर खाने होइन
लिएर जानुपर्नेगरी नियम बाँधिएको छ । डिस्कोथेक, बारहरु बन्द गरिएका छन् ।

शुक्रवार यसरी लकडाउन गर्दा ब्यापारीहरु मर्कामा परेको भन्दै यहाँका ब्यापारीको सँस्था र उनीहरुप्रति सहानूभुति राख्ने केही सांसदहरुले प्रान्तिय सरकारसँग आंशिक लकडाउन हटाउन माग गरेका छन् । हुनत सिमाना जोडिएको फ्रान्सले सडकमा निस्किए सोझै जरिवाना गर्ने नियम ल्याउँदा पनि स्विजरल्याण्डले उति कडा गरेको थिएन । स्विस सरकारले जनताको स्वास्थ्य भन्दा देशको अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राखेर स्विडेन झैं बनाउन लाग्यो भनेर विरोध भएपछि सरकारले केह् कडा नियमहरु ल्याएको हो ।

ब्यापारीहरु र उनीहरुप्रति सहानुभूति राख्ने सांसदहरुको लकडाउन हटाउने मागको विरोध गर्दै जेनेभा अस्पतालका निर्देशकहरुले जनताको स्वास्थ्य भन्दा अर्थतन्त्रको भविष्य ठूलो ठानेर जनताको मृत्युलाई सामान्य रुपमा लिन थाल्ने होभने यो जनस्वास्थ्यमा गम्भिर अपराध हुने बताएका छन् । उनीहरुको भनाइ छ, अस्पतालहरु भरिभराउ छन्, बिरामीहरुको चाप बढेको बढ्यै छ । मूर्दाघरहरुमा लासको व्यवस्थापन गर्न हम्मे हम्मे भैरहेको छ भनेर समाचार आइरहेका छन् । तर ब्यापारीहरुलाई भने ब्यापारको चिन्ता छ । यो गलत कुरा हो । अर्थतन्त्रको व्यवस्थापन सरकारको पाटो हो । तुरुन्तै लकडाउन खोल्ने हो भने हाम्रा अस्पतालहरुले बिरामी थेग्न सक्दैनन् । त्यसको जवाफदेही स्थानीय सरकार हुनुपर्छ ।

सरकारले कोरोनाको कारण डामाडोल अर्थतन्त्रको व्यवस्थापनको लागि थप १४ अर्बको सहयोग परियोजना अघि सारेको छ । अस्पतालका विशेषज्ञ र प्राविधिकहरुको कडा खबरदारीलाई नाघेर जाने पक्षमा स्थानीय सरकार छैन भने ब्यापारीहरु यसरी बन्द भैरह्यो भने आफूहरु सडकमा आउने हुँदा सरकारले सहयोग थप्नुपर्ने माग राखिरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक