शनिबार, मंसिर १३, २०७७

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-४

लीलबहादुर क्षेत्री २०७७ कार्तिक २९ गते १५:४६

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् , दोस्रो भाग हेर्न  यहाँ क्लिक गर्नुहोस्, , तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

विभिन्न भाषाका २२ जना पुरस्कृत स्र्ष्टामध्ये सबैजसो नै यसै होटलमा बसेका थिए । अति छोटो समय र कार्यक्रमको व्यस्तताले गर्दा उहि सभा-समारोहको जम्काभेटबाहेक कसैसित पनि निकट परिचय हुन सकेन । अँ, एक जनासित भने निकै घनिष्ठ सम्पर्क बनेको थियो । ती थिए, पन्जाबी भाषाका साहित्यकार रामस्वरूप अणखी जसले पन्जाबी भाषाको उपन्यास “कोठे खडगसिंह’मा एकेडेमी पुरस्कार पाएका थिए । एक त दुबैको रुचि उपन्यासमा रहेको र उपन्यास विधामै दुबैले पुरस्कार प्राप्त गरेकाले पनि होला घनिष्ठता बढेको । त्यसबाहेक उमेरले पनि हामी समकालीन नै थियौं । उनी मभन्दा केवल एक वर्षले जेठा रहेछन् । यसै घनिष्ठताले गर्दा पछि उनले मलाई अङ्ग्रेजीमा लेखेको किताब “कथा संकलन” को प्रति मेरो ठेगानामा हुलाकबाट पठाइदिएका थिए ।

एकेडेमीको यो पुरस्कार वितरण समारोहमा उपस्थिति भएपछि मलाई के अनुभव भयो भने राम्रो साहित्यकार बन्न औपचारिक शिक्षा तथा शैक्षिक उपाधिको पनि ठूलो महत्त्व हुँदोरहेछ । साहित्यमा राष्ट्रियस्तरको सम्मान प्राप्त गर्ने म एकजना स्नातकोत्तर तथा प्राध्यापक पनि त हुँ भन्ने गौरवबोधले भित्र भित्रै मख्खिएको थिएँ । तर जब यहाँ भेला भएका विभिन्न भाषाका साहित्यकारहरूको पृष्ठभूमि मलाई थाहा भयो, भित्र भित्रै म लज्जाबोध गर्न थालें । त्यहाँ उपस्थित २२ जनामध्ये २० जना नै स्नातकोत्तर थिए । तीमध्ये पनि धेरैजसो विद्यावारिधि थिए । कोहि तीन तीन विषयमा स्नातकोत्तर थिए भने कसैमा स्नातकोत्तरका अतिरिक्त ऐनमा स्नातक, विदेशी भाषामा डिप्लोमा आदि थियो । कोहि रुाष्टा यात्री-प्राध्यापकका रूपमा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा प्राध्यापन गरिसकेका पनि थिए । स्नातकोत्तर उपाधि नभएका दुईजना भने उमेरमा मभन्दा २० वर्ष जेठा अनि देशको स्वाधीनता सङ्ग्राममा भाग लिएका र साहित्य र पत्रकारिताको क्षेत्रमा एउटा इतिहास बनाइसकेका व्यक्ति थिए ।

यो झन्डै साढे तीन दशकअघिको कुरो हो । आज हाम्रो गोर्खाली समाजमा पनि स्नातकोत्तर तथा विद्यावारिधि गर्ने अनगन्ती शिक्षाविद तथा साहित्यकारहरू निस्किसकेका छन् । साहित्य सृजना पनि द्रुतगतिमा भइरहेको छ।

होटलको हिसाब किताब मिलाएर कोठा छोडाउन एकेडेमीका एकजना कर्मचारी २० तारिक बिहान १० बजेतिरै आइपुगे । पूर्वसल्लाह अनुसार हामीलाई लिन सुमनराज तिम्सिना आए । एकेडेमीले वहन गर्ने लज भाडा छोडेर चियापानी, खानपिन, टेलिफोन खर्च आदिमा अतिथिले होटलमा गरेको खर्चबापत एकेडेमीले त्यसबेला दैनिक भत्ता सय रुपियाँ दिँदोरहेछ । अर्थात तीन दिनको तीन सय रुपियाँ । त्यसमाथि अतिरिक्त खर्च भए आफ्नै गोजीबाट तिर्नुपर्दो रहेछ । मेरो बिल ५२२ रुपियाँ भएको रहेछ । अतिरिक्त २२२ रुपियाँ तिरेर हामी एउटा टेम्पोमा निस्कियौं ।

जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक वा कर्मचारीका कुनै अतिथि वा आफन्त व्यक्ति आउँदा आवासीय सुविधाका निम्ति जेएनयूको आफ्नै अतिथिशाला रहेछ । नाउँ थियो “गोमती गेस्ट हाउस’। जेएनयूले आफ्ना भवनहरू जस्तै छात्रावास, प्राध्यापकहरूका आवास आदिको नामाकरण भारतका नदीहरूको नाउँमा गरेको रहेछ । गोमती नदीको नाउँमा गोमती गेस्ट हाउस अनि सुमन भाइ बसेको छात्रावासको नाउँ कावेरी होस्टल आदि । सुमन त्यसबेला जेएनयूका विद्यार्थी भएकाले कुनै प्राध्यापकको सिफारिसमा गोमती गेस्ट हाउसमा हाम्रानिम्ति एउटा कोठा बुक गरेका रहेछन् । कोठा ठिक ठिकै थियो । लजिङको भाडा निकै सस्तो । जलपान तथा भोजनका निम्ति छेउमै केन्टिन जहाँ अति सस्तो दरमा खानेकुरा पाइन्थ्यो।

२० तारिककै बेलुकी ४ बजेदेखि नेपाली साहित्य सङ्घ र सांस्कृतिक मञ्चको आयोजनामा अभिनन्दन समारोह राखिएको रहेछ । यो समारोह सांसदहरूको आवासीय क्षेत्रमा सांसदहरूकै सभाभवनमा हुने रहेछ । श्रीमती दिलकुमारी भण्डारी सिक्किमकी तत्कालीन सांसद हुनाले भवनसहित समारोहको सबै व्यवस्था उनकै छत्रछायाँमा सुमनराज र सङ्गठनका साथीहरूले मिलाएका रहेछन् ।

गोमती अतिथिशालामा सामान थन्काएर हामी सभा भवनतिर लाग्यौं । त्यहाँ पुग्दा लगभग २ बजेको थियो । एकदुईजना कार्यकर्ताबाहेक अन्य दर्शक कोहि आएका थिएनन् । भवन रित्तो थियो । सुमन भाइले भने, “अहिले बेला भएको छैन । मानिस आउँछन् । बरु हामी अलि परसम्म डुलेर आऊँ ।”

मनमनै विचारें- अहिलेसम्म कोही पनि आएका छैनन् जब, दर्शकहरूको उपस्थिति नगण्य नै हुन्छ क्यार ! हामी बाहिर निस्क्यौं । सभाभवनकै मास्तिर हरियो । चउर भएको म सम्झन्छु । सुमनले हामीलाई (म र छोरी कृष्णा) चारैतिर फुलबारी लता, वृक्षहरूले ढाकिएको एउटा पार्कजस्तो ठाउँको माझमा उभिएको भव्य भवनको सामु
पुर्‍याए । उनले भने, “यो तीनमूर्ति भवन हो जो एक समयमा स्वाधीन भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको आवास थियो । हाल यसलाई सङ्ग्रहालयको रूप दिएर पण्डित नेहरूसित सम्बन्धित र उनले प्रयोग गरेका सबै सामग्री संरक्षण गरेर राखिएको छ । यो ठाउँ पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।”

“”तपाइहरू सङ्ग्रहालयभित्र यसो एक फन्को मार्नुहोस् । आधा घन्टापछि उहि सभाभवनमा आउँदा हुन्छ । म अलि अघि पुगेर साथीहरूलाई सघाउँछु” भन्दै सुमन फर्किए । तीनमूर्ति भवन धेरैअघिदेखि सुन्दै आएको प्रचलित नाउँ । तर कहिल्यै नदेखेको । संयोगले आज हेर्ने सौभाग्य जुयो। अत्यन्त प्रवल व्यक्तित्वका धनी पण्डित नेहरूले व्यवहार गरेका सबै सामग्री, घडी, चस्मा, सुत्ने पलङ, मेच-कुर्सी, किताब-पत्र, दस्तावेज, सोफासेट, खाता-कलमआदि उनका आफ्ना रचना, मूल्यवान ग्रन्थहरू सबै सामग्री राम्ररी सजाएर सङ्ग्रहालयमा राखिएका थिए । सबै कुराहरू गहिरिएर हेर्न त दिनभरि नै लाग्दो रहेछ । हामीसित समय थोरै थियो । एक विहङ्गम दृष्टिसित तलमाथि एक फन्को मारेर हामी निस्क्यौं ।

बाहिर भवनको पछाडिपट्टि एउटा वनस्थली, भनौं एक लघु चिडियाघरकै दृश्य परिलक्षित हुन्थ्यो । अलि पर कता एउटा मृग पनि चरिरहेको थियो । साँझ त्यहाँ प्रकाश औ ध्वनि कार्यक्रम हुने कुरा पनि थाहा पायौं ।

डेढ घन्टाअघि डुल्न निस्कँदा देखेको दर्शकविहीन रित्तो सभाभवनको सम्झना लिएर हामी त्यहाँ पुग्दा म छक्क परें । झन्डै दुई सयजति मानिस अटाउने हल एकघन्टाभित्र दर्शकले खचाखच भरिएको थियो ।

सबैभन्दा आश्चर्य मलाई के पयो भने मैले त्यहाँ कल्पनै नगरेका व्यक्ति कर्णसिंह छेत्री सरसित भवनको ढोकामै भेट भयो । कर्णसिंहको मूलथलो शिलाङ खसिया पहाड हो । शिलाङ छँदा मेरो वाल्यकालमा उनलाई केहि समय शिक्षागुरुका रूपमा प्राप्त गर्ने सौभाग्य जुरेकाले म उनलाई “सर’ भन्थें । छात्रहरूमाझ उनी नुनु सरका सम्बोधनले परिचित थिए । पछि उनी दिल्लीमा भारत सरकारको समाचार सेवा विभागमा सम्पादक पदमा थिए । त्यहाँबाट सेवानिवृत्त भएपछि सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले आफ्नो राजनीतिक सल्लाहकारका रूपमा उनलाई सिक्किम पुयाए । त्यसताक श्रीमती दिलकुमारी भण्डारी सांसद हुनाले संसदको अधिवेशन चलिरहेको हुँदा कर्णसिंह पनि श्रीमती भण्डारीका सहयोगीका रूपमा दिल्लीमै रहेछन् । यसै त झन्डै तीन दशकभन्दा बढी समय दिल्लीको आकाशवाणी तथा समाचार विभागमा जागिरे हुनाले र आफ्नो वैवाहिक सम्बन्ध पनि दिल्लीमै भएकाले उनी दिल्लीवासी नै भएका थिए । जागिरकालमै आफ्नो स्थायी बसोबासको व्यवस्था पनि दिल्लीमै मिलाइसकेका थिए ।

कर्ण सरसितको मेरो वाल्यकालको सम्बन्धले पछि पछि घनिष्ठ मात्रै होइन आत्मीयताको रूप लियो । उनी शिलाङतिर आउँदा जाँदा गुवाहाटीको मेरो झुप्रोमा सपरिवार पस्ने गर्थे र म पनि संयोगले दिल्ली पुग्दा उनी तथा उनको परिवारलाई नभेटी फर्कन्नथिएँ ।

म समारोहको प्रसङ्गमा थिएँ । आजभन्दा लगभग ३५ वर्षअघि भएको यस अभिनन्दन समारोहमा भेला भएका दुई सयजनाभन्दा अधिक विद्वानविदुषी साहित्यकार, शिक्षाविद, कलाकार, दिल्लीका विभिन्न शिक्षण संस्थानहरूका विद्यार्थीआदि सबैको परिचय अहिले मेरो स्मृतिमा छैन । विस्मृतिको गर्भमा पुगिसक्यो । तत्कालीन सांसद श्रीमती दिलकुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको त्यस सभामा सहभागीमध्ये कर्ण सरबाहेक मनमा गडेका एकजना प्रकाण्ड विद्वान तथा मूर्धन्य समीक्षक जेएनयू दिल्लीका तत्कालीन प्राध्यापक डा ईश्वर बराल प्रमुख अतिथिका रूपमा थिए जसले मेरा उपन्यासहरूको राम्रो समीक्षा गरे । अर्का, मेरो दिल्लीको बसाइभरि सहयोग पुयाउने आकाशवाणी दिल्लीको नेपाली विभागमा त्यस समय कार्यरत डम्बरमणि प्रधान थिए, जो असमकै उपज हुन् ।

तत्कालीन आकाशवाणी दिल्लीको नेपाली विभागमा कार्यरत अन्य कतिपय कर्मचारी पनि समारोहमा उपस्थित भएजस्तो लाग्छ । चुडामणि उपाध्याय, प्रेमकुमार सिंहा, सुश्री दर्शन ठाकुर आदि पनि उपस्थित थिए कि ? सुमन भाइका केही विद्यार्थी मित्र, नेपाली साहित्य सङ्घका सदस्यहरू पनि थिए । नेपाली राजदूतावासका पनि केही साहित्यकारहरू जस्तै कविवर तुलसी दिवस आदि भएजस्तो लाग्छ ।

क्रमश :

( क्षेत्री बसाई उपन्यासका लेखक हुन् । फोटो- विकिपेडिया डटकमबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया

फेसबुक