बिहीबार, वैशाख १३, २०८१

वरिष्ठ समाजसेवी सापकोटाको निधन

नेपालप्लस समाचारदाता२०७७ कार्तिक २९ गते १८:४४

गैंडाकोट, वरिष्ठ समाजसेवी तथा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको एक सय ७ वर्षको उमेरमा गैंडाकोटस्थित आफ्नै निवासमा शुक्रबार निधन भएको छ । बिपि कोइरालाका सहयात्री समेत रहेका प्रजातन्त्र सेनानी भुमिश्वर सापकोटाको जन्म विसं १९७१ माघ १ गते बागलुङ दमेकमा भएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।

जेष्ठ सुपुत्र तिलक प्रसाद सापकोटा नेपाली कांग्रेसका नेता तथा महासमिती सदस्य छन् । सापकोटाको पार्थिव शरीरमा नेपाली कांग्रेसको झन्डा ओढाएर आज शनिबार गैंडाकोट स्थित नारायणी किनारमा अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा नेपाली कांग्रेसमा महामन्त्री शशांक कोइराला लगायत केन्द्रिय र जिल्ला स्तरिय नेताहरुको उपस्थिती थियो । महामन्त्री कोइरालाले प्रजातन्त्रका सेनानी सापकोटाको निधनमा शोक सन्देश जारी गर्दै भनेका छन- सापकोटाले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानले युगौं युगसम्म हामीहरुलाई झक्झक्याइरहने छ ।

स्वर्गिय सापकोटा नेपाली कांग्रेस सेनानी संघका सदस्य समेत रहनुभएको थियो । उनी विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत जेल समेत परेका थिए । बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याएका उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ । विसं २०२९ मा गैंडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा उनको विशिष्ठ योगदान छ ।

उनकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि उ बेलाको सुख्खा क्षेत्रमा धान खेती सम्भव भएको थियो । गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पुयाएका थिए । बिपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक