बुधबार, मंसिर १०, २०७७

जनमत संग्रह घोषणा, १० महिना पछि निर्वाचन गराउने निर्णय चलाखिपूर्ण

अच्युतकृष्ण खरेल२०७७ कार्तिक ३० गते ११:५९

पूर्व आइजिपी अच्युत क्रिष्ण खरेल

तराई मात्र होइन पुरै देशमा आगो बलेको थियो । ठाउँ ठाउँमा बहुदलबादि र पंचहरुका बिच झडप भइरहेका थिए, जसले बेला बेला विध्वंशात्मक मोड लिन्थे । दुबै पक्षबाट देखिने यस्तो उग्रता प्रहरी प्रशासनलाई टाउको दुखाइको विषय बनेको थियो । म पुगेको दोस्रो हप्ता सम्ममा सिराहाको स्थिती सामान्य त बन्यो । तर यो दिर्घकालिन थिएन । जुनसुकै बेला झडपहरु हुन सक्दथे । प्रहरी प्रशासन माथि आक्रमण हुनसक्ने सम्भावना ज्युँका त्युँ थियो । तै पनि अवस्थामा थोरै सुधार आयो ।

एउटा महत्वपूर्ण पाटो के थियो भने बल प्रयोग समस्याको दिर्घकालिन समाधान थिएन । त्यसैले केहि समय अघिदेखि नै सुरक्षा निकाय लगायत अन्य क्षेत्रबाट समेत समस्याको राजनैतीक समाधान खोजिनुपर्ने सुझाव गइरहेको थियो ।

मलाई जनकपुर हुँदै काठ्माण्डौं फर्किने आदेश आयो । त्यसको केही दिन अघि २०३६ साल जेठ १० गते श्री ५ महाराजधिराज सरकारले बहुदल वा सुधारिएको पंचायत मध्ये एउटा रोज्न जनमत संग्रहको घोषणा गरिबक्स्यो । घोषणाले बहुदलबादीहरुको उग्रता क्रमिक रुपमा मत्थर हुँदै गयो । उनिहरुको उत्साह ह्वात्तै बढेको देखियो । जनमत संग्रह घोषणा भए पनि निर्वाचनको मिती तोकिएको थिएन । महाराजधिराजले जनमत संग्रहको घोषणा गरेपछि मिती तय गर्ने काम निर्वाचन आयोगको थियो । आयोगले ११ महिना पछि २०३७ बैशाख २० गते निर्वाचनको मिती तोक्यो । जनमत संग्रहको घोषणा पछि स्वभाविक रुपमा बहुदलबादीहरु धेरै नै उत्साहित थिए । तर निर्दलबादिहरुमा ठ्याक्कै उल्टो थियो, उत्साह थिएन । त्यसैले बहुदलबादिहरुका तर्फ बाट झडप, कुटपिट हुने जस्ता घटनाहरु भएका थिए । यो कुनै एक जिल्ला होइन कि देशब्यापी रुपमा शुरु भएको थियो ।

म आफ्नो दरबन्दीमा फर्की सकेको थिए- तालिम केन्द्रमा । त्यहाँ प्रशिक्षाण दिने काम भएकोले बाहिरका कुराहरुको त्यति खबर पनि हुँदैन र चासो पनि हुँदैन । तर जनमत संग्रह हुनुभन्दा करिब २ महिना अघि गृह मन्त्रालयले जनमत संग्रह सम्पन्न गराउन चितवन जानु भनेर विशेष निर्णय गर्‍यो । जिल्ला प्रमुखको रुपमा म पुन: चितवन काजमा हिँड्नुपर्ने भयो । जबकी चितवनको जिल्ला प्रमुख अर्को एकजना डीएसपी साब हुनुहुन्थ्यो । तर पनि मलाई त्यहाँ जानु भन्ने आदेश आयो । गाह्रो पर्दा मलाई पटक पटक यस्तो काममा खटाएको हुँदा म खुशी चाहिँ थिइन । त्यतिबेला मेरो विवाह भएर दुईवटा बच्चा पनि भएका थिए । छोरी तीन वर्षकी र छोरो भर्खर एक वर्ष पुग्दै थियो । बाहिरको वातावरण थाहा नभएकोले पनि बालबच्चा सँगै लिएर चितवन पुगेँ । त्यहाँ मेरो बस्ने क्वाटर थिएन, स्वभाविक हो । जिल्ला प्रहरी प्रमुख मानबहादुर सुब्बा हुनुहुन्थ्यो । एउटा क्वाटरमा उहाँ बस्नुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर सेन ओलीको क्वाटर सङै जोडीएको एलडीओ बस्ने क्वाटर खाली रहेछ । म त्यसैमा गएर बसेँ ।

चितवनलाई मैले राम्रो सँग चिन्दथेँ । चितवनले पनि मलाई चिन्दथ्यो । मैले त्यहाँका धेरै मान्छेहरुलाई व्यक्तिगत रुपमै चिन्ने भएकोले महौल सहज नै हुन्छ भन्ने सोचेको थिएँ । तर सोचे जस्तो थिएन चितवन । त्यसबेला बहुदल र निर्दलवादीको बिच स्पष्ट विभाजन थियो । जो बलियो र शक्तिशाली छ, त्यसले कमजोरमाथि आक्रमण गर्दथ्यो । सांघातिक आक्रमण पनि हुन्थ्यो । हमला पनि गर्थे । खाइपाइ आएका निर्दलवादी निर्दललाई जिताउन चाहन्थे भने पढेलेखेका सचेत चितवनवासीहरु बहुदलका पक्षमा गर्जन्थे । हुनत यो स्थिति अधिराज्यभर नै थियो । तर चितवनमा केही बढि थियो । निर्दलबादीहरुको मनोबल कमजोर भएको थियो, बहुदलबादी बढी उत्तेजित थिए । उनिहरुको मनोबल बढेको थियो । त्यसले पनि ठाँउ ठाँउमा झडप र कुटपिटका घटनाहरु भइरहेका थिए । सामान्य भनाभनको बिषयमा हानाहान हुन्थ्यो । कतिपय अवस्थामा त बहुदलबादी केटाहरु द्वारा उमेर पुगेका बुज्रुग ब्यक्तिहरु माथि हातपातका घटना भए ।

यस्तै भनाभनको बिषयलाई लिएर हानाहान हुँदा माडिमा एकजना निर्दल पक्षका ब्यक्तिले ज्यान समेत गुमाउनु पर्‍यो । स्थिती निकै तनावपूर्ण बन्यो । शान्तिसुरक्षा कायम गर्न बढि व्यस्त हुनुपर्ने, सधै टेन्सन हुने भएकोले मैले परिवारलाई काठमाडौँ पठाएँ ।

त्यसै बेला बीपी कोइराला तल नारायणघाट क्याम्पा चौरमा बहुदलबादिहरुले आयोजना गरेको आमसभामा आउनुभएको थियो । उहाँले सम्बोधन गर्ने कार्यक्रम पनि थियो । निर्दलबादीहरुले छिटपुट रुपमा बिरोध गरेपनि क्याम्पा चौरमा त्यस्तो केही भएन । किनभने बहुदलबादीहरुको यती ठुलो जमात थियो कि पंचहरुले सभा बिथोल्न सक्ने वा खुलेआम बिरोध गर्न सक्ने सम्भावना नै थिएन । तर फर्किने क्रममा जब उहाँ बिमानस्थलमा आउनुभयो निर्दलबादीहरुलाई सह्यै भएन । उहाँमाथि विरोध प्रकट गर्दै सांघाति हमला समेत गर्ने तयारीको क्रममा निर्दल पक्षिय जिल्ला पंचायतका सदस्य समेतको जत्था एयरपोर्ट बाहिर जम्मा भएको जानकारी भयो । म आवश्यक मदत सहित एयरपोर्ट पुगेँ । र, त्यो जत्थालाई त्यहीं रोकें । म एयरपोर्ट भवनमा भित्र पुग्दा वीपी कोइराला छतमा उभिएर आफ्नो विरोधमा लगाइरहेको नारा हेरिरहनु भएको रहेछ । मैले उहाँलाई फौजी किसिमले अभिवादन गरें । सदर प्रहरी तालिम केन्द्रमा उहाँलाई र गणेशमान सिंहलाई राखिएको थियो । त्यहि बेला मलाई चिन्नु भएको रहेछ उहाँले ।

यो २०३४ सालको कुरा हो । म सदर प्रहरी तालिम केन्द्रमा इन्स्पेक्टरको रुपमा कार्यरत थिएँ । एक दिन के भयो भने जुनियर अफिसरहरुको ब्यारेकलाई रातारात बन्दीगृहमा परिणत गरियो । के हुँदै छ भन्ने हामीलाई पनि थाहा भएन । तर पछी त्यहाँ गणेशमान सिंह र बीपी कोइरालालाई ल्याइयो । सिनियर अफिसरले उहाँहरुको स्वास्थ्य, खानपिन, सुबिधा, असुबिधाका बारेमा जानकारी लिएर रिपोर्ट गर्नु पर्दथ्यो । त्यस कामको लागि हप्तामा कम्तिमा दुई दिन मेरो पनि ड्युटी पर्ने गर्दथ्यो ।

बीपी कोइराला कस्तो हुनुहुन्थ्यो भने अली केयरिङ्ग टाइपको । उहाँले ड्युटी अफिसरको सम्पूर्ण पृष्टभूमी सोध्नुहुन्थ्यो । खानेकुराका बारेमा कहिल्यै पनि कम्प्लेन नगर्ने, जुन ब्यवस्थापना थियो त्यसको कहिल्यै बिरोध नगर्ने । तर गणेशमानजी ठ्याक्कै उल्टो जे कुरामा पनि नकारात्मक टिकाटिप्पणी गर्ने । उहाँहरुलाई भेट्न आउने आफन्तहरुलाई भेटउने काम पनि हाम्रो हुन्थ्यो ।

त्यसैले पनि बीपी कोइरालाले मलाई इन्स्पेक्टर तथा ब्यक्तिगत रुपमा चिन्नुभएको थियो । ‘तपाईँ यहीं हुनुहुन्छ ?’ भनेर सोध्नुभयो । ‘हजुर अहिले यहीं कार्यरत छु’ भनें । उहाँले टाउको हल्लाउनु भयो । केहि समयपछि उहाँलाई प्लेनमा चढाएर फर्कंदा निर्दल पक्षका व्यक्तिहरुले विश्वेश्वर प्रसाद कोइरालालाई सलाम गर्ने, उसलाई बचाउने तपाई पनि बहुदलवादी हो भनेर लान्छना लगाएर मलाई घेराउ गरे । त्यसपछि मैले भनें- “पूर्व प्रधानमन्त्री जो मर्दा राष्टले शोक मनाउन एक दिन राष्टिय विदा हुने सँवैधानिक प्रावधान छ, त्यस्तो व्यक्ति जसलाई राष्ट्रले सम्मान दिएको छ, त्यो व्यक्तिको सुरक्षा गर्नु मेरो प्रमुख दायित्व हो । यो दायित्व निर्वाह गर्दा म बहुदलवादी हुने र मैले कर्तव्यपालन नगरेको तपाइँहरुको सोंच हो भने जिल्ला पंचायतको वैठकमा मेरो विरुद्धमा निर्णय गरेर केन्द्रमा पठाउनुहोस्” ।

विचार आआफ्ना हुन्छन् । विचार फरक भएर नै जनमत सँग्रह भएको हो । मैले के सोंचें भने विचार नमिल्नु एउटा कुरा हो । जीउ ज्यानको सुरक्षा अर्को कुरा हो । सुरक्षा गर्नु मेरो कर्तव्य नै हो । उनीहरुलाई वीपीको नजिक पुग्न दिइन । सबै आआफ्नो गन्तव्य तर्फ लागे । पछि बहुदलवादी अराष्ट्रिय तत्वको सुरक्षा गर्ने प्रहरी प्रमुखलाई कारवाही गर्नुपर्छ भनी जिल्ला पँचायतले आवाज उठायो । जे गर्छौ गर, जहाँ जान्छौ जाओ, मैले मेरो कर्तव्य पालन गरेको हुँ । आफ्नो कर्तव्य पालन गर्दा सजाय हुन्छ भने सहन तत्पर छु भनें ।

बीपी कोइरालाले सम्बोधन गरेर गएपछि पनि बहुदलबादीहरुका केही कृयाकलापहरुमा खास परिवर्तन आएन । अनावश्यक बिवाद गर्ने, बुढापाका ब्यक्तिहरुलाई समेत कुटपिट गरे । निर्दलबादीहरुले पंचायतलाई राजाको पार्टी भनेर प्रचार गरेका थिए । बुढापाका ब्यक्तिहरु माथि हातपात हुन थालेपछी बहुदल भन्दा त राजाकै पार्टी ठीक भन्ने पर्‍यो । झन माडिको घटना पछि यिनिहरु अहिले त यस्तो गरिरहेका छन जितिहाले भने के होला भन्ने कुरा प्राय: तटस्थ मतदातामा पर्न गयो ।

एक दिन बखान सिंह गुरुङ जिल्ला प्रहरी कार्यालयमा मलाई भेट्न आउनुभयो । उहाँ अत्यन्त सम्मानित र बहुदलबादिहरुको बिचमा लोकप्रिय ब्यक्ती हुनुहुन्थ्यो । कुराकानीका क्रममा उहाले मलाई सोध्नु भो- “निर्दलबादिहरुले त चियाउन पनि सक्दैनन् जस्तो देखियो यहाँँ, के छ तपाईंको बुझाई” ।

त्यतिबेला भरतपुरका प्राय: घरमा पहेंला र तल नारायणघाटमा निला झन्डा देखिन्थे । मैले भने – “चिवनमा बहुदल बादिहरुको बाहुल्यता भएता पनि तपाईंहरुका कार्यकर्ता अनुशासित रुपमा परिचालित हुन नसकेका कारण अनुमान गरे अनुसार बहुदलको पक्षमा भोट आउनेमा मलाई शंका छ । भरतपुरमा जताततै पहेंला झन्डा छन । तर सबै भोट निर्दललाई जाँदैन । त्यस्तै नारायणघाटमा निला झन्डा देखिए पनि त्यहाँको सबै भोट बहुदलमा जान्छ भन्ने छैन” । कुराकानीमा उहाँले बहुदलको ८० प्रतिशत र निर्दलको २० प्रतिशत भोट आउने कुरा गर्नु भो । चितवनको माहौल पुरै बहुदलमय देखिएको थियो । पंचहरु आँफै पनि २० प्रतिशत मत ल्याउन सकेमात्रै पनि ठूलो उपलब्धी हुने सोचमा थिए । तर मलाई त्यस्तो लागेन, बहुदलबादीहरुबाट अली बढी उछ्रिङ्खल गतिबिधी भएका थिए । हातपातका घटना पनि घटेका थिए जसले तटस्थ मत बिगार्ने काम गरेको थियो । मैले ६५ प्रतिशत बहुदल र ३५ निर्दल भने । बखान सिंहजीले पत्याउनु भएन ।

चुनावको दिन केही पहाडी बुथ बाहेक अन्य हरेक बुथहरुमा म ब्यक्तिगत रुपमा गएको छु । करिव ३० प्रतिशत बुथहरुमा निर्दलको प्रतिनिधि समेत थिएन । गीतानगरमा त शत प्रतिशत भोट बहुदलको पक्षमा पर्‍यो । तैपनि दुबै पक्ष अत्यन्त संयम देखिए । कहिँकतै झडपहरु भएनन् । चुनाव शान्तिपूर्ण भयो । तर मत गणनाको परिणाम भने अप्रत्याशित आयो । बहुदलको पक्षमा मात्र ५१ प्रतिशत र ४९ प्रतिशत निर्दलको पोल्टामा पर्‍यो । अत्यन्तै आशा गरेको चितवनमा बहुदलबादिहरुले सोचेको परिणाम आउन सकेन ।

त्यसका बिभिन्न कारण छन । राजनीतिमा अनेक खेल हुनु स्वभाविक हो । सरकारले निर्दललाई जिताउन साम, दाम, दण्ड सबै प्रयोग गरेको थियो । अर्को कुरा जनमत संग्रह घोषणा भएको १० महिना पछि निर्वाचन गराउने निर्णय आँफैमा चलाखीपूर्ण थियो जस्तो लाग्छ । तर बहुदलबादीहरुले आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रित रुपमा प्रयोग गर्न नसक्नु मुख्य कारण हो, जसले अधिकांश मतदातालाई राजाको पार्टीको रुपमा प्रचार गरिएको पंचायतको पक्षमा पुर्यायो । बहुदलको लहर चलेको त्यो समयमा बहुदलबादी हरुले आफ्ना कार्यकर्ता हरुलाई दायरामा राख्न सकेको भए र घोषणाको तुरुन्तै निर्वाचन भएको भए परिणाम अर्कै हुन सक्दथ्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक