मंगलबार, वैशाख ११, २०८१

प्रदेश स्तरिय फिल्म नगरीको रुपमा पाल्पालाइ विकास गरिने

नेपालप्लस समाचारदाता, पाल्पा२०७७ कार्तिक ३० गते २०:३१

ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक शौन्दर्यताले भरिपूर्ण लुम्विनी प्रदेशको सबैभन्दा धनी जिल्ला पाल्पालाई फिल्म नागरिको रुपमा बिकास गर्न पहल शुरु भएको छ । त्यसका बारेमा हालै एक अन्तरकृया भएपछि त्यो संभावना बढेको हो ।

हरेक प्रदेशमा कम्तिमा एउटा एउटा फिल्म नगरि बनाउने नेपाल सरकारको लक्ष्य अनुसार पाल्पाको सम्भावनाका बारेमा यो छलफल आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाललगायत पाल्पाका फिल्मी कलाकार, फिल्म उत्पादक र पाल्पा सम्वद्ध संस्थाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा फिल्म निर्माणमा आवश्यक पर्ने पूर्वाधारहरु रहेको, पाल्पाको तानसेन बजार मौलिक संस्कृतिको नगर र नेपालको पुरानो नगरसमेत भएकाले यहाँ उपलव्ध ऐतिहासिक र सांस्कृतिक धरोहरहरु निकै महत्वपूर्ण हुने हुँदा फिल्म सुटिङ र निर्माणमा यिनको महत्वपूर्ण भूमिका हुनसक्दछ । साथै यस आसपासका क्षेत्रहरुमा विस्तारका प्रशस्त सम्भावना रहेकोबारे पनि छलफल भयो ।

नेपालमा विद्यागत फिल्म विकासको ट्रेण्ड शुरु भएको सन्दर्भमा यसकालागि आवश्यक प्राय सबै आवश्यकताहरु पाल्पामा विद्यमान रहेका, यहाँको सामाजिक जिवन, विभिन्न जात जाती, भाषा, खानपान, नमूना गाउँ र वस्ती तथा तराइ र मध्यपहाडको पहुँच अत्यन्त सहज रहेको, जुनसुकै मौसममा पनि अनुकुल हावापानी रहने हुँदा ओपन स्टूडियोकालागि अत्यन्त उपयोगी स्थान मध्येमा पाल्पा पर्दछ ।

तानसेनको वतासेडाँडालाइ केन्द्रविन्दु बनाएर माडीफाँटको सराइ, रामपुर फाँट, बेगनास डाँडा रिव्दी कोट, गफुडाँडा, कुसुमखोला जस्ता क्षेत्रहरु धार्मिक तथा सांस्कृतिक र प्राकृतिक रुपले पनि उपयुक्त रहेको बारे छलफल भएको हो ।

छलफलमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले तिहार पछी सम्भाब्यता अध्ययन प्रारम्भ गरिने र यस क्रममा पाल्पामा पनि यो सम्भावनाको अध्ययनकालागि टोली जाने जानकारी गराए । कलाकार उत्पादक र पाल्पा सम्वद्ध संस्थाहरुको पहल अत्यन्तै सह्रानीय रहेको बताउँदै अध्यक्ष दाहालले भने- यो चासोलाइ निरन्तरता दिइरहनुहोस् ।

सो अवसरमा कलाकार तथा फिल्म निर्देशक नारायण रायमाझी, कलाकार धिरेन शाक्य र शर्मिला मल्ल, फिल्म उत्पादक चिजकुमार श्रेष्ठ र सर्जुमान लिगल, पाल्पाली संगमका पूर्व अध्यक्ष अशोक महर्जन लगायतले बिचार राखेका थिए । कार्यक्रममा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले तिहार लगतै यसबारे पाल्पाली संगम र तानसेन गुठीले अध्ययन प्रकृयाका लागि आग्रह गर्ने बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक