शनिबार, मंसिर १३, २०७७

मनमोहन अधिकारीले केपी ओलीलाई तानसेन टुँडिखेलमा झपार्दा

श्रीधर प्रसाद घिमिरे / पाल्पा२०७७ मंसिर ३ गते १६:२०

श्रीधर प्रसाद घिमिरे

छत्तीस सालको कुरो हो । जनमत संग्रहको पक्ष र विपक्षमा देश पूरै विभाजित थियो । हामी मार्क्सवादी र कांग्रेसहरु बहुदलको पक्षमा थियौं । शुरुदेखि नै । राजावादी पंचहरु नीलो अथवा निर्दलको पक्षमा । उतिबेलाका मालेहरु भने जनमत संग्रह बहिष्कार भनेर नाराबाजी गरिरहेका थिए । जनमत संग्रह हुन केहि दिन अघि छँदामात्रै मालेहरु राजा विरोधी कित्तामा उभिएका हुन् । शुरुदेखि नै माले पंचायत विरोधी थियो भन्ने कुरा झूटो हो । मार्क्सवादीहरु शुरुदेखि नै बहुदलको पक्षमा लागेका हुन् जसको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए ।

पाल्पामा मार्क्सवादी गतिविधि तिब्र हुन थालेको ०२५ साल देखि हो । यसको श्रेय पुष्पलालका साथी माधव ज्ञवालीलाई जान्छ । माधव ज्ञवालीलाई हामी सबैले प्रेम र आदरले मधु गुरु भन्थ्यौं । पुष्पलालका खास मित्र मध्येका एक मधु गुरु पाल्पा, गुल्मी र स्याङ्जाका गाउँ गाउँमा नघुमेको भए वामपन्थी आन्दोलनको जग बस्ने थिएन । मधु गुरु व्यवहारिक रुपमै कम्युनिष्ट हुनुहुन्थ्यो । सादगी र आदर्शका प्रतिमूर्ति मान्थ्यौं हामी उहाँलाई । गुल्मीका जन्मेर धेरै वर्ष वनारसमा पुष्पलालसँग काम गरेका उहाँ पछिसम्म पनि मार्क्सवादी नै रहनुभयो । यो संसारमा उहाँको भौतिक शरीर नभए पनि उहाँले जन्माएका हामी चेलाहरु छौं भन्न पाउँदा गौरव लाग्छ ।

पहिला जनमत संग्रहताकाको कुरा गरौं । पाल्पामा हामीले मनमोहन अधिकारीलाई बोलाएका थियौं टुँडिखेलमा भाषण गर्न । तानसेनमा पढाउने पत्रकार, लेखक मेघराज शर्मा हाम्रा मियो थिए । मनमोहनसँग सोझै सम्पर्क भएका विनय कुमार कसजू अर्का कुशल व्यवस्थापक थिए । हामीले तानसेन टुँडिखेलमा बहुदलको पक्षमा आमसभा गर्ने भयौं । आमसभा बिथोल्न र मार्क्सवादीको सँगठन विस्तार रोक्न नेकपा मालेले उतिबेलाका आफ्ना नेता खड्ग प्रसाद ओलीलाई पठाएको थियो । खड्ग प्रसाद ओली यिनै ओली हुन् जो अहिले देशका प्रधानमन्त्री छन् । उनी तानसेनमै बसेर आमसभा भाँड्ने योजना बनाइरहेका थिए ।

हामीले सकेसम्म आफूले पढाएका स्कूलका टाठाबाठा विद्यार्थी, शिक्षकहरु, अभिभावकहरुलाई जम्मा पार्यौं । गाउँठाउँमा मनमोहन अधिकारीप्रति बूढापाकाहरुले निकै सम्मान गर्थे । ती पनि तानसेन ओइरिए । मालेका कार्यकर्तालाई पनि मनमोहनले के भन्छन भन्ने हुने नै भयो । भाषण सुन्न कांग्रेस मात्रै होइन पंचहरु पनि भेला हुने भए । मास ठूलो भयो । भाषण भइरहेका बेला माले समर्थक कार्यकर्ता र शुभचिन्तकहरुलाई ओलीले अर्कैतिर लगेर प्रशिक्षण दिए ।

कार्यक्रम चलिरहेको बेला फटाफट मान्छे हिडेपछि संख्या घट्ने नै भयो । हामीले चाह्यौं भने तिम्रो आमसभा रित्तो बनाइदिनसक्छौं भनेर मनमोहनलाई चुनौति दिने उद्देश्य थियो ओलीको । हामी मार्क्सवादीहरु डटेर अन्तिमसम्म बसिरह्यौं । अरु स्वतन्त्र मानिसहरु पनि बसे ।

ओली बाठा । कार्यक्रम सकिने बेलामा फेरी मनमोहनसँग भेट्न आइपुगे । व्यंगात्मक शैलीमा ‘कार्यक्रम बडो सफल पार्नुभयो’ भने । हामीलाई साह्रै रिस उठिरहेको थियो । श्रद्धेय नेताका अगाडि केहि भन्ने कुरा पनि भएन ।

मनमोहन अधिकारी

मनमोहन अधिकारीले ओलीलाई हप्काउँदै भन्नुभयो, “ओलीजी म बुझ्दछु तपाईँको दोग्लो चरित्र । अहिले तपाइँ धन्यवाद दिन आउनुभएको छ । अलि अघि तपाइँले आफ्ना कार्यकर्तालाई मेरो कुरा सुन्न दिनुभएन । याद गर्नोस्, म भीडमा विश्वास गर्ने मान्छे होइन । मलाई एकजना मान्छेको पनि उत्तिकै महत्व छ । म सानो समूहलाई आफ्ना कुरा सुनाएर चित्त बुझाउन सकें भने त्यसलाई मैले मेरो विजय मान्दछु । तपाईँहरुले रोक्न खोजेर मेरो विचार रोकिंदैन । तपाईंहरुले हाम्रो यात्रालाई कहिँ रोक्न सक्नुहुन्न । जनताको शक्तिमा विश्वास गर्नुहुन्छ भने यो छुद्र चरित्र छोड्नुस् ।”

मनमोहनले हप्काइसकेपछि ओली चुपचाप हिंडे । समयले माले माक्र्सवादीलाई एकैठाउँ ल्यायो । नौ महिने शासनकालमा त प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री तिनै खड्ग ओली भए ।

मार्क्सवादी भूमिगत हुँदा सबैजसो शिक्षकहरुले नै संगठन विस्तार गरेका हौं ।   मालेहरु अति उग्र थिए । मालेहरुको तुलनामा हामीलाई धेरैले सज्जन, भलाद्मी र दुखसुखमा साथ दिने मानिसको रुपमा आदर गर्थे । मार्क्सवादी भएकै कारण
मलाई मदनपोखराका मालेहरुले पिट्ने योजना पनि बनाएका हुन् । तत्कालिन पंच जो दमकडा माध्यमिक विद्यालयका संचालक समितिका अध्यक्ष थिए, गुरु प्रसाद भट्टराईको चुनाव जित्ने रणनीतिका लागि मुस्ताङमा हुने सांस्कृतिक
कार्यक्रममा एकजना विद्यार्थीलाई गुरु प्रसादले बाटैमा फर्काइएको निहुँमा मलाई पिट्ने योजना बनाइयो ।

तानसेनमा तत्कालिन मालेका विद्यार्थी नेता गणेश बहादुर भट्टराईलाई पिट्ने योजना बनाएको निहुँमा मालले आफ्ना कार्यकर्ताहरु म विरुद्ध परिचालित गर्यो । बाँध्न भनेर नाम्लो मेरा टाउका टाउका घुमाइयो । स्कूलको प्रधानअध्यापकलाई सार्वजानिक सभामा हुर्मत लिने प्रयास गरियो । म झुकिन । आफूले गर्दै नगरेको गल्तीको सजाय मैले किन भोग्ने ? भनेर म डेग चलिन । खोमराज पँगेनीले मलाई रानीचुँडीमै हातपात गर्न खोजे । दिव्यज्योति माध्यमिक विध्यालयका हेडमास्टर बुद्धिनाथ अर्याल जो मालेको जिल्ला कमिटीमा पनि बसेर काम गरिरहेका थिए, उनले पनि झूट र हुँदै नभएका कुराहरुको साक्षी बसेर मलाई हातपात गर्न उक्साउन खोजे ।

यो सबै कुराको जड चाहिँ म मार्क्सवादी हुनु थियो । कालान्तरमा मलाई हातपात गर्न खोज्ने मालेका कार्यकर्ताहरु आएर माफी मागे । गणेश भट्टराई र उनका दाजुले व्यक्तिगत रुपमै घरमै आएर माफ मागे ।

गुरु प्रसाद भट्टराईले नारायण पाण्डे कहाँ तान बुन्ने नन्दा जोसँग १७ भोट थियो, उनलाई गीत गाउन लगेको बदला मलाई दिन खोजिएको थियो । त्यसबाहेक अनेक तरहले हामी मार्क्सवादीहरुलाई बदनाम गर्न मालेको पूरै शक्ति लाग्यो ।

मदनपोखरालाई यत्तिको बनाउन यमप्रसाद पाण्डे, राधाकृष्ण शर्मा, श्रीधर घिमिरेको कत्तिको योगदान छ ? त्यो त समाजले मूल्यांकन गरेकै छ । समाजबाट पुरस्कृत भएकोमा हामी खुशी छौं ।

बरु शिक्षक संगठनको केन्द्रीय स्तरको नेतृत्वमा बसेर शिक्षक संगठनको सुविधा पनि लिने, स्कूलको तलब पनि नछोड्ने शिक्षक नेता विरुद्ध विद्यार्थीहरुले आन्दोलन छेंडेर थाल खाउँ कि भात खाउँ हाम्रै आँखा अगाडि बनाएका हुन् । इतिहासले यसको मूल्यांकन पक्कै गर्नेछ । चिच्याएर मात्र इतिहास बदलिंदैन ।

     टुहुरो भएकोले धेरैलाई पढाएँ

मदनपोखरामा सोमनाथ अर्यालले धेरै विध्यार्थीहरुलाई आफ्नो तलबबाट फिस हालिदिएर पढाउँथे । दमकडामा म र राधाकृष्ण शर्माले धेरैलाई पढाएका छौं । नाम भन्नु उचित हुन्न । हामीले फिस तिरेर पढ्ने अवसर जुटाइएका विध्यार्थीहरु धेरै माथिसम्म पुगेका छन् । उनीहरुले फोन गरेर, भेटेर धन्यवाद दिन्छन् । खुशी लाग्छ । कसैले नहेरे पनि इश्वरले हेरिरहेको छ भन्ने विश्वासमा खुशी हुन्छु ।

म ०१० सालमा जन्मिएँ । ०११ सालमा बा नरनाथ घिमिरे बित्नुभयो । टुहुराको जीन्दगी के हुन्छ र ? बडो मुश्किलले पढें । बडा मुश्किलले बिएडसम्म गरें ।  आइए पास गर्ने बेलामा मसँग जम्मा दुइटा सर्ट थियो फलाटिनको । अनि दुइटा पाइन्ट । भित्रबाट लाउने गन्जी पनि थिएन । ९० रुपियाँबाट पढाउन शुरु गरेको हुँ ।

म यो कुरा कसैलाई मेरो दुःख देखाउन भनिरहेको छैन । दुःख पाइयो । तर कसैलाई देखाइएन । जे गरियो आफ्नै बुतामा गरियो । सक्दो अरुलाई राम्रो गरियो, नराम्रो गरिएन । नयाँ पुस्ताले पुरानो पुस्ताको मिहिनेत बुझोस् भनेर यति भनेको हुँ ।

मार्क्सवादीको मिटिङमा चामल र दाल

मार्क्सवादीको मिटिङमा घरबाट चामल र दाल लगेर प्रशिक्षकहरुलाई ख्वाउने, आफूहरुले पनि खाने गरिन्थ्यो । सोमनाथ अर्याल र म त्यसरी चामल, तेल, दाल लानेमा पर्थ्यौं । घरमा जे हुन्छ त्यहि लगेर कम्युनिष्ट पार्टीको प्रशिक्षण लिइन्थ्यो । आत्मालोचना हुन्थे । कार्यप्रगतिको प्रस्तुति हुन्थ्यो । समाजमा आदर्श बन्ने विषयमा सिकाइन्थ्यो ।

अहिले यी कुरा भन्यो भने हाँसो हुन्छ । ठेक्कापट्टा र दलालीले सिंगो पार्टी खाइसक्यो । स्वार्थ र लोभ बाहेक पार्टीभित्र केहि हुँदैन । यी कम्युनिष्टहरु त साँच्चिकै कम्युनिष्ट हुन् पनि कसरी भन्ने ख्वै ?

पार्टीभित्रका नेताहरुमा देखिएको किचलो पनि खाली भागबण्डा र स्वार्थको किचलो हो । सबैलाई पद चाहिएको छ । मिल्नै नसक्ने ठानिएको माओवादीलाई एमालेमा मिलाएर या दुवैको एकता गरेर प्रचण्ड र ओलीले सहि निर्णय गरेका हुन् । दुई तिहाई यसैको फल हो । तर उनीहरुले यो एकता खतरामा पार्न लागेका छन् । दुवै मिल्नुको विकल्प छैन । ओलीको अहंकार र अरु नेताको लालचबाट पछि हट्ने बित्तिकै नमिल्ने कुरा केहि छैन । विचारको झगडा भए पो ?

(सँच्याइएको : प्रस्तुत आलेखमा जन आन्दोलनपछि हुनुपर्नेमा ‘जनमत संग्रह अघि केपी शर्मा ओली पाल्पामा’ हुन गएकोमा संच्याइएको छ !)

(दमकडा उच्च माध्यमिक विद्यालय, मदनपोखरा, पाल्पाका निवृत्त प्रधानाध्यापक तथा माण्डव्य बहुमुखी क्याम्पसका निवृत्त अध्यापक पंचायती व्यवस्था विरुद्ध नेकपा मार्क्सवादी जिल्ला कमिटी पाल्पाका सदस्यको रुपमा काम गरेका थिए । पत्रकार लक्ष्मण देवकोटासँगको कुराकानीमा आधारित ।)

तपाइँको प्रतिक्रिया

फेसबुक