शनिबार, वैशाख ८, २०८१

२ अर्व अमेरिकी डलरको सरसफाइ तथा स्वच्छता अभियानमा नेपाल लाभान्वित हुने

नेपाल प्लस२०७७ मंसिर ३ गते २३:४१

जेनेभा— संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना जे.मोहम्मदले ‘सुरक्षित सरसफाइ र स्वच्छता सर्वप्रथम मानव प्रतिष्ठासँग सम्बन्धित रहेको र एकैसाथ यो एक स्वास्थ्य सरोकारमा जोडिएको महत्वपूर्ण मुद्धा भएकाले’ नयाँ लगानी संयन्त्र पहिल्याउँदै यसमा अर्बौं डलर लगानी भित्र्याउन पहल गरिने बताएकी छिन् ।

सरसफाइ तथा स्वच्छता कोषको मंगलबार उद्घाटन गर्दै उपमहासचिव मोहम्मदले ‘कोरोना महामारीले सरसफाइ र स्वच्छताले विभिन्न रोगहरूको संक्रमण रोक्न सक्छ भन्ने आधारभूत सन्देश प्रवाहित गरेको’ बताउँदै यसले सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यको क्षेत्रमा बिद्यमान गहिरो असमानतालाई उजागर समेत गरेको धारणा व्यक्त गरेकी छिन् ।

वेबसाइट र यसको युट्युबमा उपलब्ध रहेको कोष उद्घाटनको कार्यक्रम अनुसार, यो कोषले सबैका लागि सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका लागि ५ वर्षे योजनामा २ अर्ब अमेरिकी डलरको अपेक्षा गरेको जनाइएको छ । ‘यो पैसाको सही सदुपयोग भयो भने यसले सकारात्मक र दिगो परिवर्तन ल्याउन मद्दत गर्नेछ,’कोषको कार्यकारी निर्देशक डोमिनिक ओ निलले बताए—‘यो स्वास्थ्य सुधारका लागि संघर्ष मात्र नभएर यो आदर र आधारभूत मानव अधिकारका लागि लडाइँ पनि हो र कलंकको अन्त पनि हो ।’

नाइजेरियाका उपराष्ट्रपति यमी ओसिनपाजोले सो कार्यक्रममा यो सरसफाइ र स्वच्छता कोष धेरै कुरामा जीवन रक्षकको रूपमा आएको कुरा बताए । ‘सबैभन्दा मन परेको यसको विशेषता भनेको यसका उपलब्धिहरू मापनयोग्य छन्,’उपराष्टपति ओसिनपाजोले भने ।

युनिसेफका कार्यकारी अध्यक्ष हेनरिता फोरले सरसफाइ र स्वच्छतालाई बच्चाहरूका लागि महान् बराबरीको रूपमा व्याख्या गरेकी छिन् । ‘यो महामारी, संक्रमण र बन्दाबन्दीको स्थितीमाझ परिवारमा शौचालय छैन भने तपाईंले कसरी कठीनाइलाई सामना गर्नुहुन्छ ? यसमा पनि विशेषतः महिला र युवतीले बहोर्ने कठीनाइको अनुपात अलग हुन सक्छ,’उनले भनिन्—‘यदि सबैको घरमा, विद्यालयमा, समुदायमा र स्वास्थ्य सेवा केन्द्रहरूमा सरसफाइ र स्वच्छताको सहज पहुँच भएमा यसले विश्वमा ठूलो फरक पार्नेछ ।’

कार्यकारी अध्यक्ष फोरको भनाइमा ‘राम्रो सरसफाइ सार्वजनिक सरोकारको विषय हुनुपर्छ । सरकारहरूले सरसफाइ आफ्नो समस्या हो भन्ने कुरा आत्मसात गर्नुपर्छ र उनीहरूसंग यी समस्याहरुको कुनै न कुनै उपायहरु हुन्छन् ।’

हाल विश्वका आधाभन्दा बढी जनताहरूको सुरक्षित र व्यवस्थित सरसफाइमा पहुँच छैन । ६२ करोड बालबालिकाहरू उपस्थित हुने विद्यालयमा शौचालय छैनन् । ३ मध्ये १ विद्यालयमा आधारभूत सरसफाइ तथा स्वच्छता सेवाहरू र ५ मध्ये १ स्वास्थ्य सेवा केन्द्रहरूमा कुनै पनि सरसफाइ सुविधा उपलब्ध छैनन् ।

यो कोष यूएनओप्सको मातहतमा रहन्छ । यूएनओप्सकी कार्यकारी निर्देशक ग्रीट फोरेमोले उपयुक्त सरसफाइ हरेक व्यक्ति, समुदाय र घरको विकासको मूल भागमा रहेको कुरा जानकारी दिइन् । ‘यूएनओप्स र यसका पूर्वाधारले शिक्षाचाहिँ उपयुक्त सरसफाइ सुविधामा केन्द्रित रहोस् भन्ने निश्चित गर्दछ ।

यद्यपि, अहिले प्रगतिको गति हेर्ने हो भने दिगो विकास लक्ष्यहरू ६.२ सबैलाई सरसफाइ तथा स्वच्छता २२औं शताब्दीसम्म पनि पूरा हुँदैन । यसको मुख्य कारण नै विगतका दशकहरूमा यस क्षेत्रमा न्यून लगानी हुनु हो । यसले देशको र समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक उपलब्धिहरूमा नकारात्मक असर पर्दछ । सरसफाइ र स्वच्छताका क्षेत्रमा ठूला आकारका लगानीहरूको जरुरत छ ।

‘अहिलेको विश्वमा जहाँ कोरोनाको महामारीमा सामाजिक र आर्थिक समस्या बेहोरिरहेको अवस्थामा यो कोष एउटा आशावादी संकेत हो । तुरुन्त अझ बढी गर्नुपर्ने अवस्था छ । यो कोषले सरसफाइ, स्वच्छता तथा महिनावारी व्यवस्थापनमा आवश्यक लगानी ल्याउनेछ ।’ गिलबर्ट होङ्गबो, यूएन वाटरका प्रमुख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका निर्देशकले भने ।

यो कोषले नेपाल लगायत अरू देशहरूमा जहाँ सरसफाइ तथा स्वच्छताको क्षेत्रमा ठूलो समस्या छ त्यहाँ सरसफाइ, स्वच्छता, महिनावारी स्वास्थ्य र नयाँ आविष्कारमा सहयोग प्रदान गर्दछ । यसअघि वाटर सप्लाइ एण्ड स्यानिटेसन कोल्याबोरेटिभ काउन्सिलको ग्लोबल सरसफाइ कोषमार्फत नेपालका १६ वटा जिल्लामा सन् २०१० यता सहयोग हुँदै आएको थियो । यो कोषले सरसफाइ तथा स्वच्छतामा तराइका अति प्रभावित ८ जिल्लासहितमा खुला दिशामुक्त क्षेत्र अभियान जस्ता प्रभावकारी कार्यक्रम संचालन गर्दै आएको थियो । यही काउन्सिल अहिले बृहत रुपमा कोषमा रुपान्तरित भएको हो । बिगतमा देशका १६ जिल्लामा संचालित कार्यक्रम अब नेपाल सरकारमार्फत मुलुकभर संचालन हुनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक