मंगलबार, वैशाख ११, २०८१

तपाईको १० डलरले नेपालको पिँडा कम गर्ला र ?

दिपक सुवेदी / पर्थ, अस्ट्रेलिया २०७७ मंसिर ५ गते १५:४१

              दिपक सुबेदी, पर्थ, अष्ट्रेलिया

सहयोग सानो होस् या ठूलो त्यसको आफ्नै महत्व हुन्छ । तर सहयोग किन र केका लागि गर्ने भन्ने बुझिएन र समस्याको दिर्घकालिन समाधान तर्फ अग्रसर हुन सकिएन भने त्यसले झन समस्यालाई बल्झाइरहेको हुन्छ । नेपालीहरु बहादुर मात्र होइनन्, मिजासिला, सहयोगी र दयालु हुन्छन् भन्ने नमुना नेपालमा आउने कुनैपनि भैंपरी समस्याहरुमा देश बिदेश जहाँकहिँ रहेका नेपालीले गर्ने गरेका सहयोग संकलनबाट झल्किन्छ ।राहत बितरण तथा बिदेशमै आइपर्ने बिभिन्न समस्याहरुमा नेपालीले एकआपसमा गर्ने गरेका सहयोगका उदाहरणले पनि झन प्रस्ट पार्दछन ।

ठूलै सहयोग एकै व्यक्तिले गर्न नसकेपनि नेपालीहरु एकजुट भएर दश दश डलर संकलन गर्दै भएपनि बिभिन्न क्षेत्रहरुमा सहयोग गरेका समाचारहरु जताततै सुन्न पाईन्छ । जब कसैलाई कहिँकतै आपत बिपत पर्दा तत्काल सहयोग गर्न जुर्मुराउने हातहरुलाई सलाम गरिरहँदा सहयोग पछिको मौनताले उक्त सहयोगकै खिल्ली उडाइरहेको बारे हामी अनभिज्ञ छैनौं । तर बुझ पचाइरहेका छौं । एक छाक दाल चामल र एक थान कम्बलले पीडितले तत्काल राहत महशुस गर्ला । तर त्यसपछिको तपाईंको मौनता पीडितहरुका लागि झन ठूलो समस्या र त्यो सहयोग नै अभिसाप बनिरहेको बारे हामीले बुझ्न चाहेकै छैनौं ।

नेपाल र नेपालीका अनेकौं समस्याहरु छन् । ति दिन प्रतिदिन बढ्दै गईरहेका छन् । यदि तपाईं म नेपाली भनेर छातीमा हात राखेर नेपालका बारेमा एक छिन् सोच्नुहोस्, नेपालको अवस्था देखेर तपाईंको आङ जिरिङ्ग हुनेछ । शिक्षा, स्वास्थ्य, यातायात, सन्चार, विकास र समग्र राष्ट्रका बारेमा एक पटक आँखा खोलेर हेर्ने प्रयत्न मात्र गर्नु भयो भनेपनि तपाईंको ज्यान काप्ने छ । ठन्डा रगत उम्लिएर आउने छ । भ्रस्टाचार, लुट र आतंकले सिमा नाघिसकेको छ । यि सबै बिकृती र बिसंगतीहरुलाई एकै पटक केलाउन म असमर्थ हुँला । तर यसको छिनोफानो हुन अति आवश्यक छ ।

यि सबै कुराहरु गरिरहँदा मुख्य दुई कुरालाई छोटकरीमा म यहाँ केलाउन चाहन्छु ।

पहिलो त तराइमा गएको बाढी पहिरो हो । जलस्रोतमा विश्वकै धनी देश नेपालमा उक्त जलको उचित प्रयोग हुन नसक्दा नाफा भन्दा बढि नोक्सान बेहोर्नु परिरहेको छ नेपाल र नेपालीले । छिमेकीको पानी माथिको गिद्दे नजर, सिमा क्षेत्रमा बाँधिएका ठूला ठूला बाँध, हाम्रा खोला नालामा हुने गरेका आन्तरिक भ्रस्टाचारहरु र सरकारको चरम लापर्वाहीले समस्या बल्झाइरहेका त छन नै, सधैं समस्या भोगिरहँदा पनि समस्याको दिर्घकालिन समाधानका लागि केहि नबोली गरिने मौन स्विकृती समस्याको मूल जड हो ।

तराइमा हालै गएको बाढीले पुर्याएको क्षति तपाईंले दिएको राहतले पूरा गर्न सक्छ ? खेतियोग्य जमिन ताल र बगरमा परिणत भएका छन के त्यो राहत बितरण गरेकै भरमा अर्को वर्ष पुन समस्या दोहोरिँदैन भन्न सक्नुहुन्छ ? समस्या हाम्रो गरिवीमा होइन, हाम्रो काम गराइ र बोलाईको भिन्नतामा छ ।

हाम्रा खोलानालाहरुबाट हाम्रो स्वामित्व गुम्दै जाने, प्रयोग अर्कैले गर्ने समस्या हामीले भोग्नु पर्ने बिडम्बना दिन प्रतिदिन बढ्दै जाँदै छ । यसबाट सिधै आँकलन गर्न सकिन्छ कि नेपाल र नेपालीले आउँदा दिनहरुमा अझै ठूला भन्दा ठूला समस्याहरु भोग्न तयार हुनुपर्नेछ ।

दोस्रो- देश बिदेशमा नेपालीले भोग्नु परेका अनगिन्ती समस्याहरु हुन् । नेपालमा रोजगारीका बाटाहरुको मुख थुन्दै लगेपछि हिंसा, अशान्ती र भ्रस्टाचारले मुलुक जिर्ण बनाउँदै लग्यो । त्यसपछि अत्तालिएर गास बासको जोहोका लागि बिदेश बिदेश भौतारिँदै गरेका नेपालीले पाइलैपिच्छे भोग्नु परेका समस्याहरु अनगिन्ति छन् । नेपालबाटै दलालहरुबाट ठगिएर बिदेशी भूमिमा गास न बास भै अलपत्र परेका नेपाली हुन् या काम गर्दागर्दै अंग-भंग भै न ज्यान न पैसा भएर अलपत्र परेका नेपालीहरु । हाम्रा हातहरु सधैं सहयोगका लागि खुला छन् ।

बिदेशमा अकालमा ज्यान गुमाएका नेपालीका लास फिर्ता लैजाने देखि देश होस् या बिदेश हरकहिँ कतै कोहि उपचार गर्न नसकी अलपत्र परेका नेपालीको पिडा देख्ने र सुन्ने बित्तिकै हामी सहयोग अभियान चलाईहाल्छौं । जती सक्छौं हामी सहयोगका लागि मानसिक रुपमा हरबखत तयार रहन्छौं ।

अब भन्नुहोस् नेपाल र नेपालीका अनगिन्ती समस्याहरुको समाधान राहत र सहयोग मात्रै हो त ? बिदेशमा बस्ने नेपालीहरुको दायित्व र कर्तव्य भनेको दश दश डलरको सहयोग, राहत संकलन र बितरण गर्ने मात्रै हो र ?

नेपालमा बिभिन्न राजनैतिक दलका खेताला बनेर पछि लागिरहने र प्रवासबाट दश डलर सहयोग गरेकै भरमा नेपाल र नेपालीका समस्या अब समाधान होलान् ? त्यसो त, नेपालमा सहयोग गर्ने बिभिन्न बिदेशी दाताहरुको कमी छैन । अरबौं खरबौं डलर नेपाल र नेपालीको पिडामा मल्हम लगाउन खर्च गरेको तथ्यांक वर्षेनी छापाहरुमा आउने गरेका छन् । तर समस्या झन जकडिँदै गैरहेका छन, किन त ?

अब नेपाल र नेपालीको पिडा र समस्या तपाईंको राहत र सहयोगले समाधान हुनेवाला छैन । अब नेपाली एकजुट हुन आवश्यक छ । देश बिदेश हरकहिँबाट राष्ट्रहित बिपरित हुने हर काम कार्वाहिको विरोध र खवरदारिको खाँचो राष्ट्रलाई छ । अब बिभिन्न जात,धर्म, वर्ग, क्षेत्र र दल विशेषको पछि नलागी सिंगो राष्ट्रका लागि हातेमालो गरौं । सकारात्मक परिवर्तनका लागि आवाज उठाउँ । केहि बोलौं । धेरै ढिला नगरौं ।

तपाइँको प्रतिक्रिया