बिहीबार, चैत १५, २०८०

समृद्धिको नाममा ‘छलछामका सपना’

नेपालप्लस

नेपाल प्लस२०७७ मंसिर ६ गते २०:१३

काठमाडौं— झापा, दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा झण्डै ६४ अर्व रुपैंया खर्चेर निर्माण हुने भनिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको सुनौलो सपना बाँढ्न थालिएको ३ वर्ष पुरा भैसकेको छ । २१ सय बिगाहा जमिनमा फैलने भनिएको पार्कका लागि झण्डै १ हजार बिगाहा जमिन अधिकरणमा परिसकेको छ । गत असोजमा औद्यागिक पार्कको काम सुरु गर्ने भनिएको र यसका लागि दोस्रो चरणमा थप ३ खर्ब रुपैंया आवश्यक पर्ने भनेर प्रारम्भिक रिपोर्ट आइसकेको छ । प्रधानमन्त्री ओली, पूर्व नेपाल कम्युनिष्ट पार्टी एमाले र पार्टीगत भरौटेका निम्ति औद्योगिक क्षेत्रको हौवा अहिले ‘गरिखाने बाटो’ बनेको छ ।

अहिले दमक नगरपालिका, कमल गाउँपालिका र गौरदाह नगरपालिकाका भित्री गाउँवस्तीमा रमाइलो तामझाम देखिन थालेको छ । कतै रेल आउने बाटो बनाइएको छ, कतै संसारकै अग्लो बुद्धमुर्तीको निशाना देखाइएको छ ।

प्रधानमन्त्री ओलीकै सदिच्छामा दमक नगरपालिकाको वार्ड नम्बर ३ मा रहेको २६५ बिगाहा जमिनमा ५ सय ४२ फिट अग्लो पूर्णकदको बुद्ध मूर्ति बनाउने भनेर गरिएको घोषणाले पनि उस्तै तरंग ल्याएको छ । झण्डै १६ अर्व रुपैंयाको लगानी रहने भनिएको बुद्धमुर्ति योजनामा अहिलेसम्म २५ बिगाहा जमिन मात्रै अधिकरण हुन सकेको छ । तैपनि दमक–३ आसपासमा रहेका जग्गा दलाल र एमाले तथा प्रधानमन्त्री ओली निकटस्थ हनुमानका लागि राम्रै गरिखाने बाटो बनिसकेको छ ।

बेलडाँगी शिविरमाथि र इलामको सिमानासम्म छुने यो भूभागमा कतिपय सिमसार क्षेत्र पर्छ भने अझैपनि हात्ती हिँड्ने चलनचल्तीको रुटका रुपमा यो क्षेत्र चिनिएको छ । तर, जग्गादलाल र पार्टी भरौटेका लागि अहिले बाढिएका छलछामका सपना काफी देखिएका छन्— राजनीतिक फन्डा बिकाउन र सत्ताको न्यायोमा रमाइरहन ।

दमकमा मात्रै औद्योगिक पार्क बन्दैछ, दमकमैं विश्वको अग्लो बुद्धको मुर्ति ठडिदैंछ, बहुतले बसपार्क यहीं बन्दैछ, रोज गार्डेन पार्क र बहुजातीय सांस्कृतिक संग्रलाय दमकमैं बन्ने भएको छ । बिज्ञान पार्कको सपना पनि बुनिएकै छ । दमक नगरपालिका–३ मा बन्ने भनिएको २५ तले भ्यूटावरका लागि १ अर्व ५५ करोड रुपैंया खर्च हुँदैछ भने दमकमैं बन्न लागेको प्रदेशकै ठूलो सभागृहमा ३४ करोड रुपैंया खर्च हुने भनिएको छ । ‘तर, यी सबै योजना र सपनाहरुको शिलान्यास मात्रै भएको छ । अहिले सपना नदेखे कहिले देख्ने भन्ने नाराका भरमा यी योजनाहरु अघि सारिएका छन्,’ दमक–११ निवासी लिलानाथ दाहाल भन्छन्—‘बिपनाका कुरा गर्ने हो भने नेपालमै सबैभन्दा बढी सुकुम्बासी र अहिले भुटानी शरणार्थी समेतको बसोबास रहेको दमक क्षेत्रमा करोडौं वा अरबौं रुपैंयाका योजना ल्याइरहनु भनेको सपनामा पनि ‘कमिसन’ खान खोजेझैं देखिन्छ ।’

उनी थप्छन् “दुर्भाग्य, यति धेरै योजनाहरु त आएका छन्, तर तिनमा एउटै पनि योजना शिलान्यास र पुर्वाधारमाथिको छलफलबाट अघि बढेका छैनन् । बरु, जग्गा दलाल र राजनीतिक कार्यकर्ताका लागि अनेक खालका होर्डिङ बोर्ड राख्ने स्थल भने यहि दमक क्षेत्र बनेको छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक