बिहीबार, वैशाख १३, २०८१

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-४

लीलबहादुर क्षेत्री / गुवाहाटी, असम२०७७ मंसिर ७ गते ११:३४

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् , दोस्रो भाग हेर्न  यहाँ क्लिक गर्नुहोस्, तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

कार्यक्रम भव्य नै भयो । सिसाको फ्रेममा बाँधिएको लामै अभिनन्दनपत्रसित केहि अन्य पारितोषिक पनि मलाई अर्पण गरिएको हो । समारोहको पछिल्लो भागमा सांस्कृतिक मञ्चद्वारा केहि सांस्कृतिक कार्यक्रम पनि प्रदर्शित भएको सम्झना हुन्छ ।

अभिनन्दन समारोहको पछि पनि हामी दुई दिन बढी बस्यौं, उही गोमती गेस्ट हाउसमै । भोलिपल्ट कर्ण सरको निम्तो पनि मान्नु थियो । सांसद श्रीमती भण्डारी सिक्किम हाउसमा बस्ने हुँदा उनको सांसद आवासमा सपरिवार कर्ण सर बसेका रहेछन् । उनी आफैं आएर छोरी कृष्णा र मलाई लिएर गए। भाउजू (सरकी श्रीमती) र छोरी कवितासित पनि भेटघाट भयो । यो भेटघाट हाम्रानिम्ति नौलो थिएन । यसअघि धेरैचोटि कहिले गुवाहाटीमा मेरै घरमा कहिले दिल्लीमा सरको घरमा अनि कहिले गान्तोकमा भेट भएकै हो ।

धेरै वर्षअघि गुवाहाटीमा तीन वर्षकी बालिकाको रूपमा देखेको चुलबुले “कविता’ (सरले दिएको नाउँ “बिजुली’) त्यसताक स्नातकोत्तर सकिवरि विद्यावारिधिका निम्ति शोधग्रन्थ लेख्दै थिइन् ।

छोरी कृष्णालाई दिल्लीका केही दर्शनीय स्थल देखाउने उद्देश्यले सरसित हामी उनकै कारमा निस्कियौं । र दुईचार ठाउँ डुलेर फर्क्यौं । यता डा ईश्वर बरालले उनको आवासमा पनि पुगिदिने आग्रह गरेका थिए । सर नभ्याउने हुँदा मैले फोनद्वारा भाइ डम्बरमणिलाई गुहारें । उनलाई साथमा लिएर सरकै गाडीमा हामी जेएनयू प्राध्यापक आवासमा डा बराललाई भेट्न पुग्यौं ।

जेएनयू, दिल्लीजस्तो प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापक बनेर हाम्रो गौरव बढाउने डा. ईश्वर बराल नै ती व्यक्ति हुन् जसले भारतीय नेपाली साहित्यको लिपिबद्ध सूत्रपात पूर्वोत्तर भारतको मणिपुरबाट सन् १८९३ तिर तुलाचन आलेद्वारा रचित “मणिपुरको सवाई” र सन् १८९४ तिर धनवीर भँडारी विरचित “अब्बर पहाडको सवाई’बाट भएको हो भन्ने कुरा प्रथमचोटि लिपिबद्ध रूपमा घोषणा गरे ।

डा ईश्वर बरालसितको मेरो पहिलो भेट पनि निकै रोचक छ । उनलाई मेरो उपन्यास “अतृप्त’ विशेषत: त्यसको शैलीले यति प्रभाव पारेको रहेछ कि असीकै दशकताक एकचोटि शिलाङ, पूर्वोत्तर पर्वतीय विश्वविद्यालयको कुनै सङ्गोष्ठीमा भाग लिएर फर्कंदा मसँग भेट्नकै निम्ति शिलाङको नेपाली समाजले राखेको कार्यक्रम पनि छोडेर, एउटा ट्याक्सी लिएर गुवाहाटीको मेरो झुप्रामा राति दस बजेतिर सोध्दै-खोज्दै आइपुगेका थिए । र रात त्यहीँ बिताए । राति दुई घन्टाजति उनको साहित्यिक ज्ञानगुणका कुरा सुन्ने मौका मलाई मिलेको थियो ।

यो असीको दशककै कुरा हो । साहित्य एकेडेमीद्वारा पुरस्कृत मेरो उपन्यास “ब्रह्मपुत्रका छेउछाउ’ नलेख्दैको कुरा । त्यसताक यो उपन्यास भर्खर लेख्न थालेको थिएँ । शीर्षक मैले “ब्रह्मपुत्रको छेउछाउ’ पारेको थिएँ । डा. बरालले “छेउछाउ’ बहुवचन भएकाले “ब्रह्मपुत्रका…’ हुन्छ भन्ने सल्लाह दिएकाले मैले “ब्रह्मपुत्रका छेउछाउ’ पारें । तर पछि केहि भाषाका विद्वानले “को’ नै शुद्ध हो भन्ने मत पनि प्रकट गरेका थिए ।

भोलिपल्ट उनको दिल्ली उडान भएकाले उनी विदा भए । यसपछि पनि डा बरालले उनको पूर्वोत्तर भारतको यात्राको क्रममा दुई-तीनचोटि मेरो झुप्रामा रात बिताएका छन् । आज उनी हाम्रामाझ छैनन्, न त कर्ण सिंह नै जसलाई हामी नुनु सर भन्थ्यौं । यी व्यक्तिहरू तर हाम्रा बिर्सन नहुने सम्पदा हुन् र मेरो स्मृतिपटलमा अमेट भएर बसेका छन् ।

यहाँ यी कुराहरू त्यति प्रासङ्गिक होइनन् तापनि केवल दृष्टान्तका निम्ति उपरोक्त दुई व्यक्तिसम्बन्धी केहि कुरा राख्न चाहन्छु । जेएनयू, दिल्लीजस्तो प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापक बनेर हाम्रो गौरव बढाउने डा. ईश्वर बराल नै ती व्यक्ति हुन् जसले भारतीय नेपाली साहित्यको लिपिबद्ध सूत्रपात पूर्वोत्तर भारतको मणिपुरबाट सन् १८९३ तिर तुलाचन आलेद्वारा रचित “मणिपुरको सवाई” र सन् १८९४ तिर धनवीर भँडारी विरचित “अब्बर पहाडको सवाई’बाट भएको हो भन्ने कुरा प्रथमचोटि लिपिबद्ध रूपमा घोषणा गरे । हराएर गएको हाम्रो साहित्यिक इतिहासको जानकारी हामीलाई गराएका हुन् ।

त्यसरी नै सन् १९४० तिर काठमाडौंबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको टङ्कनाथ उपाध्यायको कथा “पुड्के हवल्दार’ले तत्कालीन वृहत्तर असममा मौलिक भन्न सकिने कथाको जग बसालेको हो भनेर प्रथम प्रस्ट्याइदिने पनि डा. ईश्वर बराल नै हुन् । भारतीय नेपाली साहित्य विशेषत: पूर्वोत्तर भारतसम्बन्धी डा. बरालले धेरै खोजपूर्ण लेखहरू लेखेर साहित्यसम्बन्धी हाम्रो ऐतिहासिक जानकारी बढाइदिएका छन् ।

असम गोर्खा सम्मेलनको सन् १९६० तिर भव्य अधिवेशन पनि दिल्लीमै भएको हो जसमा नेपालको काठमाडौंबाट एउटा साहित्यिक टोली नै आएको थियो । त्यस टोलीको अध्यक्षता नाट्यसम्राट बालकृष्ण समले गरेका थिए ।

कर्ण सिंह छेत्री शिलाङकै स्थायी बासिन्दा हुन् । शिलाङ छँदा उनी अखिल भारतीय गोर्खा लीगदेखि लिएर अन्य थुप्रै सङ्गठनसित जडित थिए । त्यसताक सङ्गठनका प्रस्ताव, स्मारकपत्र आदिको मसौदा तयार पार्नुपर्दा अङ्ग्रेजीमा राम्रो दखल भएका भारत सरकारको समाचार सेवा विभागका संवाददाता कर्ण सिंहको खोजी हुन्थ्यो ।

असमका गोर्खाहरूको माउ सङ्गठन असम गोर्खा सम्मेलनको सन् १९६६ को गडपाल अधिवेशनमा पारित भएका प्रस्तावहरूको अङ्ग्रेजीमा रूपान्तरण, स्मारकपत्रको अङ्ग्रेजीमा मसौदा तयारी आदि कार्य कर्ण सिंहले गरेका हुन् । त्यसका निम्ति उनलाई विशेषरूपमा दिल्लीबाट झिकाइएको थियो । कर्ण सर दिल्लीमा जागिरमै छँदा साठीकै दशकमा, दिल्लीमा “अखिल भारतीय नेपाली साहित्य सङ्घ’ को स्थापना भएको हो । सन् १९६० तिर यस सङ्गठनको भव्य अधिवेशन पनि दिल्लीमै भएको हो जसमा नेपालको काठमाडौंबाट एउटा साहित्यिक टोली नै आएको थियो । त्यस टोलीको अध्यक्षता नाट्यसम्राट बालकृष्ण समले गरेका थिए । त्यस अधिवेशनमा वृहत्तर असमबाट पनि थुप्रै साहित्यकार सहभागी भएका थिए । यो साहित्य सङ्घको स्थापना गर्नमा र भव्य अधिवेशन गराउनमा दिल्लीका कार्यकर्तामध्ये कर्ण सिंहको भूमिका अग्रणी थियो ।

कर्ण सरले असम आएर गुवाहाटीमा अखिल भारतीय नेपाली साहित्य सङ्घको एउटा शाखा पनि खोलेका हुन्, जुन शाखाको संस्थापक अध्यक्ष म थिएँ । अनि सचिव थिए पद्म ढकाल । सी. बी. गुरुङ, गोविन्द रावल, डा. राजा सिङ्ग लिम्बू आदिको नाउँ सदस्यका रूपमा अझ सम्झना हुन्छ जहाँ २१ जना सदस्यको समिति बनिएको थियो । साहित्य सङ्घको यस गुवाहाटी शाखाले एक समयमा अभूतपूर्व कार्यहरू गरेको हो । तर यसको रेकर्ड अब हामीसित छैन । केवल कर्ण सरले दिल्लीबाटै दिएको प्रेरणा बेला बेला सम्झन्छु र उनकै प्रसङ्गमा यहाँ यति लेखियो ।

यसपटक पुरस्कार समारोहको यो दिल्ली यात्राको पाँचौं दिन आकाशवाणी दिल्लीको नेपाली कार्यक्रमका तत्कालीन परिचालक भाइ डम्बरमणि प्रधानकै थियो । त्यस दिन बिहानको उनको कार्यसूचीअनुसार आकाशवाणी कार्यक्रमका निम्ति मेरो अन्तर्वार्ता लिनु थियो । त्यसपछि दिउँसोको खाना खाने उनको निम्तो मान्न हामी आकाशवाणी स्टाफ आवासीय क्षेत्रको उनको निवासमा पुग्यौं । प्रेमले भोजन गरियो । डम्बरजीकी श्रीमती र सानी छोरीसित भेट गरियो । कृष्णाकी अति प्यारी खेलौना बनेकी त्यसताक तीन वर्षकी मायालु बालिका आज झन्डै बत्तीस वर्षपछि ३५ वर्ष उमेरकी गृहिणीमा परिणत भएकी होलिन् । समयलाई कसले पो बाँधेर राख्न सक्छ र ?

त्यसै साँझ, रात्रीभोजको निम्तो अर्की एकजना विदुषी, आकाशवाणी दिल्ली, गोर्खाली कार्यक्रमकी परिचालिका सुश्री दर्शन ठाकुरको थियो। मेरो किशोरावस्थादेखि नै म श्रीमती कान्ता ठाकुरको कण्ठमा आकाशवाणी दिल्लीबाट प्रसारित गोर्खाली समाचार सुन्ने गर्थें जो गोर्खा फौजका निम्ति सन् १९४९ देखि नै प्रसारित हुँदैआएको थियो। दर्शन ठाकुर उनै कान्ता ठाकुरकी बहिनी हुन्। हाम्रै असम कोक्राझारका उपज, जाँगरिला भाइ डम्बरमणिको साथ छँदै थियो। बेलुकी हामी दर्शनकोमा पुग्यौं र स्वादिलो भोजन ग्रहण गयौं। बहिनी दर्शन ठाकुरले कृष्णा र मलाई उपहार दिएको डायरी, मेरा पुराना डायरीहरूको बिटोमा खोजे अझ पनि फेला पर्ला। भोजन र भलाकुसारीपछि उनैले आफ्नो नयाँ कारमा हामीलाई अतिथिशाला पुयाइदिइन्। कार उनी आफैले चलाएकी थिइन्।

क्रमश :

(क्षेत्री चर्चित ‘बसाई’ उपन्यासका लेखक हुन् ।)

तपाइँको प्रतिक्रिया