शुक्रबार, वैशाख १४, २०८१

सन् २०२१ को शुरुमै कोरोनाको तेश्रो लहर आउनसक्ने : स्विस जनस्वास्थ्य महामारी बिज्ञ

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७७ मंसिर ७ गते २१:१६

कोरोना संक्रमणको तेस्रो लहर आ उन सक्ने भन्दै स्विस जनस्वास्थ्य, महामारि रोग विशेषज्ञले सतर्क रहन आव्हान गरेकि छन् । राजधानी स्थित बर्न विश्वविद्यालयकी जनस्वास्थ्य महामारी विज्ञ डा. एमा होडरिटले ०२१ को जनवरीमा तेश्रो लहर आउनसक्ने बताएकी हुन् ।

स्विस संघिय सरकारले आफ्ना नागरिक र स्विसमा बसेका सबैलाई संकेत देखिने बित्तिकै कोरोना परीक्षण गरिहाल्न अनुरोध गरेको छ । आइतबार संघिय जनस्वास्थ्य विभागकी प्रवक्ता आन्ने लेभीले पत्रकारहरुसँग कुराकानी गर्दै यो आग्रह गरेकी हुन् । स्विस सरकारले नागरिकको स्वास्थ्य भन्दा व्यापार व्यवसायलाई पहिलो प्राथमिकता दिएको, स्विडेनले झैं खुकुलो स्वास्थ्य व्यवस्था गरेर कोरोनामाथि खेलाँची गरेको, स्कूलहरु खोलेर केटाकेटीको स्वास्थ्यमाथि खेलवाड गरेको जस्ता आरोप अन्तर्राष्टिय संचारमाध्यमहरुले लगाइरहेका आरोपहरुको खण्डन गर्दै लेभीले भनिन्, ‘महामारी कुन स्वरुपमा आउँछ भन्ने पहिल्यै कसैलाई थाहा हुँदैन । महामारी पूर्ण रुपमा नियन्त्रण गर्न कुनै पनि सरकारले सकेका छैनन् । कोरोनाको दोश्रो लहरलाई नियन्त्रणमा लिन सरकार सफल भएको छ ।’

लेभीले यसो भनिरहँदा स्विसका अस्पतालहरु कोरोनाले भरिभराउ छन् । संक्रमितको दर घटेपनि मृत्युदर भने तल्लो तहमा ल्याउन सरकारलाई हम्मे हम्मे परिरहेको छ । सरकारी अस्पतालका निर्देशकहरुले हाकै स्थानीय सरकारलाई लकडाउन नगर्ने हो र कोरोना नियन्त्रणमा राज्यले उदासिनता देखाउने हो भने कोरोनाको महामारीले धेरैको ज्यान जाने भनेपछि जबरजस्ती यहाँका प्रान्तिय सरकारहरु अर्ध लकडाउन गर्न तयार भएका हुन् । संघिय व्यवस्था भएको स्विट्जरल्याण्डमा कोरोना विरुद्धको लडाइँमा राज्यको मुख्य निर्देशन र नियन्त्रण भएपनि प्रान्तिय सरकारहरुले संक्रमित र मृत्यु हेरेर नीति फेरबदल गर्न सक्दछन् ।

गएको शुक्रबार सांकेतिक रुपमा राजधानी बर्नमा कोरोनाको कारण मारिएकाहरुको सम्झनामा उत्तिकै संख्यामा मैनबत्ती बालेर नागरिकहरुले सरकारलाई अझ सशक्त रुपमा काम गर्न नैतिक दबाब दिए ।

अहिलेसम्म स्विजरल्याण्डमा कोरोनाको कारण ४ हजार ३१ जनाले ज्यान गुमाए भने दुई लाख ९० हजार ६१ जना संक्रमित भए । संक्रमित मध्ये एक लाख ८० हजार सात सय जना निको भएर घर फर्किए ।

कोरोना विरुद्ध खोप बनाउन स्विस भित्र रहेका युरोपेली र अमेरिकी कम्पनीहरुको तँछाडमछाड हेर्दै स्विजरल्याण्डलाई यसबाट कसरी फाइदा दिलाउन सकिन्छ भन्ने बारेमा सरकार नीति नियम बनाएर तम्तयारी अवस्थामा बसेको छ । यहाँकी राष्टप्रमुख जसलाई सँघिय सल्लाहकार भनिन्छ उली मौरेर भन्छिन, ‘राज्यले परिक्षणको दायरा बढाएको छ जसले गर्दा कोरोना विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी लगायत सबैलाई
सहयोग पुगिरहेको छ ।

अहिले जर्मन भाषा बोलिने प्रान्तहरुमा भन्दा फ्रेन्च भाषा बोलिने प्रान्तहरुमा संक्रमितहरुको दर तुलनात्मक बढिरहेको त छैन । तर मृत्युदर भने त्यो हिसाबले घट्न सकिरहेको छैन ।

कोरोनाको दोश्रो लहर फैलिएपछि निजी क्लिनिकहरुले पनि परीक्षण गर्न पाउने गरी सरकारले नीति ल्याएको छ ।

बर्न विश्वविद्यालयकी जनस्वास्थ्य महामारी विज्ञ डा एमा होडरिटले ०२१ को जनवरीमा तेश्रो लहर आउनसक्ने बताएकी छिन् । त्यसका निम्ति सबै सतर्क रहेर बस्न उनले अनुरोध पनि गरेकी छिन् ।

एकातिर जनस्वास्थ्य विभागका प्रमुखहरु सरकारलाई नियम कडा पार्न आग्रह गरिरहेका छन् भने धेरैजसो प्रान्तिय सरकारहरु भने नियम खुकुलो बनाउँदै ब्यापार व्यवसाय पनि हुँदै जाने, कोरोना सँगसँगै व्यवहारिक हुँदै जाने कुरालाई प्रयोग गर्न खोजिरहेका छन् । यसले नीति निर्माणका क्रममा स्वास्थ्य विशेषज्ञ र प्रान्तिय सरकारको बीचमा रस्साकस्सी पनि हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक