बिहीबार, वैशाख १३, २०८१

नयाँ सरकार बनाउन राजनितिक दौडधुप : देउवालाई ओलीको ‘ललिपप’

नेपालप्लस राजनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर ७ गते २१:३९

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग सबैभन्दा दह्रो तागत के छ भने देउवा धर्मकर्म, ज्योतिष र चिना–साइत आदिमा पार्टी र आफ्नै ब्यक्तित्व जोखिममा राखेर भए पनि विश्वास गर्दछन । बिगत चार वर्ष देखि कांग्रेस पार्टीकै शक्ति र प्रभाव पार्टी सभापतिको यहि विशेषताका वरपर घुमेको छ । ‘तिमी ७ पटकसम्म प्रधानमन्त्री बन्नेछौ’ भन्ने ज्योतिषबाणी सुनेपछि यसअघि ४ पटक प्रधानमन्त्री भैसकेका ७४ बर्षिय देउवा सधैंं अधिर र अस्थिर देखिन्छन् । उमेरको उतारार्द्धमा समेत सभापति देउवा उहि ज्योतिषवाणी पुरा गराउने ध्याउन्न मै छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता यिनलाई न देशको कुनै चिन्ता छ न पार्टी दुर्गतीको कुनै शोक । उता दुइ तिहाइ बहुमत सहितको बर्तमान ओली सरकारको आन्तरिक पार्टी कलह र किचलोमाझ विकास, समृद्धि, शान्ति र स्थायित्वका काम केहि हुन सकेकै छैनन् । एक भएको भनिएको तर दुई पार्टी जसरी सन्चालन हुँदै आइरहेको नेपाल कम्युनिष्ट पार्टीभित्र एमाले र माओवादी धारको आ–आफ्नै शक्ति संचय अचम्मलाग्दो लडाईं छ । मानौं, अहिले लिगलिगकोटको दौड चलिरहेको छ । कोरोना संकट, महामारी, भोकमरी, बेरोजगारी र प्रशासकीय अव्यवस्थापनका दर्जनौं घटनाक्रमका सामु सत्तारुढ पार्टीकै सर्वोच्च नेताहरुको कुदाकुद रमितलाग्दो देखिन्छ । यहि होडबाजीमा २ वर्षअघि जुटेको पार्टी अहिले फुटको संघारमा पुगेको छ । शक्तिशाली बनिरहने धुनमै रमाइरहेका प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर पूर्व प्रधानमन्त्री देउवालाई शासनसत्तामा ‘केयरिङ–सेयरिङ’को प्रस्ताव राख्न भ्याएका छन् ।

देउवा निकट एक जना केन्द्रिय सदस्यका अनुसार सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजन गराउने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन् । शनिबार बालुवाटारमा भएको दुई जनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेकाको ति सदस्यले बताए । देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिइसकेको उनको दाबी छ ।

भेटमा प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको थिए । ३ घण्टा लामो ओली–देउवा भेटघाट टुंगिएर बालुवाटारबाट बाहिर आउनासाथै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र बिद्यार्थी नेता प्रदीप पौडेललगायतका बिज्ञप्तीहरु सामाजिक संजालमा देखा पर्न थालिसकेका छन् । विद्यार्थी नेता प्रदीप पौडेलले भनेका छन्—‘हामीले बारम्बार ओली प्रवृत्तिलाई इन्कार गरेका छौं । केन्द्रिय समितिले ओली सरकारले बैधता गुमाइसकेको निर्णय गरिसकेको छ । जन नजरमा इतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस् । हेक्का रहोस्, कांग्रेस एउटा व्यक्ति होइन, लाखौं शहीदको बलिदानले बनेको संस्था हो । पाँच वर्ष हामी प्रतिपक्षमा रहन्छौं ।’

अर्का नेता एवं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्—‘भ्रम, कोही कसैलाई केही छ भने ५ वर्ष बिपक्षमा बस्न् प्रष्ट जनादेश छ कांग्रेसलाई । कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्धन्द्धमा बिलकुल निरपेक्ष छौं । अतः यता वा उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउदछौं’।

अब स्थिती कस्तो भैसकेको छ भने पूर्व प्रधानमन्त्री देउवा जेजस्तो र जुनै सर्तमा पनि सरकारमा जान सक्छन् भन्ने उनको इतिहासको नजिरका आधारमा ‘हकदावी’ सुरु हुन थालिसकेको छ । कतिसम्म भने ज्योतिषीको भनाइलाई शाश्वत गराउन बरु एक महिनाकै लागि भएपनि देउवा प्रधानमन्त्री बन्न सक्ने संभावना बढेर गएको छ ।

एक जना कांग्रेसी नेता एवं पूर्व मन्त्री समेत भैसकेका पात्रको टिप्प्णी यस्तो छ—‘माइ लर्ड, देउवालाई नजरबन्दमा राख्नुहोस् । होइन भने यी छिट्टै एमाले गठबन्धन सरकारमा प्रधानमन्त्री हुनेछन् जसले सत्तारुढ नेकपा दल पनि फुृटाउनेछ र राजनीतिमा अर्को अस्थिरताको पनि बिजारोपण भएर छाड्ने छ ।’

तपाइँको प्रतिक्रिया