शनिबार, वैशाख १५, २०८१

उल्लू मान्छे !

- डिल्लीराज अर्याल / पाल्पा२०७७ मंसिर ८ गते १६:०४

लेखक डिल्लीराज रेग्मी

खालि भत्कियो, बिग्रियो मात्र ।

उल्लू मान्छे जति बेला पनि भत्कियो, बिग्रियो मात्र भन्छ । कति कुरा बनेका छन् । तर त्यो बनेको त हेर्दै हेर्दैन । देख्दै देख्दैन । यदाकदा हेर्छ । तर कता हेर्छ कता ? जति हेरे पनि भएका काम देख्दैन । चारैतिर नजर लाएर हेर्नुपर्छ र पो देखिन्छ। हेर्ने आँखा राम्रा भएनन्, तेजिला भएनन् । आँखा राम्रा, तेजिला हुनुपर्छ र पो देखिन्छ । सधै उहि, उनै र उस्तै कुरा । बिग्रेका, भत्केका मात्र देख्ने, तिनकै कुरा गर्ने ।

ल एकछिनलाई मानौं बिग्रेछ । भत्केछ नै । भत्के बिग्रेकामा अरूलाई चिन्ता छैन भने तँलाई मात्र के को चिन्ता हो यो ? बिग्रिएछ नै भने पनि बिग्रेको कुराको पनि तँलाई मात्र के को चिन्ता हो यो र ? भत्किन्छ त भत्किन्छ । बिग्रन्छ त बिग्रन्छ । भत्कन, बिग्रन दे न । भत्के, बिग्रेकै भए पनि तेरो त भत्केको छैन । बिग्रिए पनि तेरो त बिग्रिएको छैन । ल भत्केछ, बिग्रेछ रे । तँलाई के चासो ? तैँ किन उफ्रन्छस् ? देशमा बनाइदिने, बनाउनेहरूको कमी छ र ? बनाउनेहरू, बनाइदिनेहरू भएपछि बनाइदिन्छन् । बनाइदिए पछि बन्छ । भत्कन्छ, बिग्रन्छ र त बन्छ । त्यस्ता कुराको चिन्ता तैंले गर्नुपर्छ र ? अनि तैंले चिन्ता गरेर हुन्छ र ? अनि मैसितै गुनासो गर्नुपर्छ त र ? मलाई नै सुनाउनु पर्छ त र ? म ति बिग्रे भत्केका बनाउने ठेकेदार हुँ र ? मैले त्यसको ठेक्का लिएको छु र ?

तँ मूर्ख ! तँ उल्लू ! अरूले कति काम गरिसके । कति कमाइ गरिसके । कत्रा कत्रा पदमा पुगिसके । कति आफै बनाइसके । कति अरूलाई बनाउन दिए । तँ खालि कतै केहि भएन । कतै केहि बनेन भन्दै हिँड्ने ? तँ र तैँ जस्ता उल्लूहरूले गर्ने कुरा हो यस्तो बिग्रे । भत्केको चिन्ता । गरिराख । तिमीहरूकै ठेक्का रहेछ, भएछ यस्तो कुरा, हेरिराख, बोलिराख ।

बिग्रिए पनि तेरो त बिग्रिएको छैन । ल भत्केछ, बिग्रेछ रे । तँलाई के चासो ? तैँ किन उफ्रन्छस् ? देशमा बनाइदिने, बनाउनेहरूको कमी छ र ?

यति ठूलो देश छ, यति राम्रो देश छ । हेर्नेलाई राम्रा कुरा, बनेका कुरा धेरै छन् । नभए महाकविले– सुन्दर शान्त विशाल ! भनेर भन्थे र ? राष्ट्र कविले भन्थे ? उनीहरूले त भनेकै छन्, अरु पनि कतिले भनेका छन् कतिले । बिग्रेको भए, नराम्रो भए, त्यत्रा त्यत्रा, त्यस्ता त्यस्ता मान्छेले त्यसो भन्थेर ? तेरो हेराइ नै फरक छ । त्यसैले तेरो हेराइमा धेरै कुरा बिग्रन्छ । भत्कन्छ र तिनै कुरा गर्छस् । अरूले हेर्दा तिनै कुरा बन्छन् । सुन्दर हुन्छन् । हेराइ हो मित्र हेराइ, सकारात्मक भएर, त्यस्तै दृष्टि राखेर हेर त । तेरो दृष्टि नै नकारात्मक भएकाले होला तैंले हेर्दा, देख्दा बाटो बिग्रन्छ, ढल बिग्रन्छ, पुल बिग्रन्छ, खेत बिग्रन्छ, विद्यालयहरू बिग्रन्छन्, अस्पतालहरू बिग्रन्छन्, कार्यालयहरू बिग्रन्छन् । नेता, कर्मचारीहरूले हेर्दा, ठूलाठूला साहित्यकार,विद्वान्, ब्यापारी, उद्योगपतिहरूले देख्दा खै त बिग्रेको ? बिग्रेका भए तिनले पनि त भन्दा हुन् ।

तँ पढेको उल्लू । तँ पढेको मूर्ख । यस्तै चिन्ता लिएर हिँड्छस् भने हिँड् । तर मलाई यसमा नसमेट । मलाई स्वतन्त्र छोडिदे । तँजस्ता उल्लूहरू मात्र लाग्ने हो यस्ता हल्लामा । तँ लाग । तँ जस्ता अरू पनि लाग्छन् ।

ल तैंले भने जस्तै बिग्रेकै रहेछ रे । जोसुकै, जेसुकै बिग्रुन् । त्यो बिग्रेको कुरामा तँलाई के खाँचो र ? तँलाई के चासो र ? तँलाई चासो भयो रे अनि मैलाई किन सुनाउनुपर्नेर ? बिग्रन्छ त बिग्रन्छ तेरो, मेरो बिग्रन्छ र ? गाउँ बिग्रन्छ । समाज बिग्रन्छ । देश बिग्रन्छ त बिग्रन्छ । देशका सिमा मिचिन्छन् त मिचिन्छन् । तेरा मेरा बारीका, खेतका, घडेरीका साँध सीमा मिचिएका हुन् र ? तैँले मैले चिन्ता लिनुपर्ने ? कोरोनाले समस्या पार्छ त पार्छ। त्यसको जिम्मा मैले लिएको छु ? लिन्छुर ? तैंले लिने भए लिएर हिँड । कम्तिमा यस्ता बिग्रे भत्केका कुरा मलाई त नसुना । तँ अर्को गोविन्द नबन् ।

मैले चिन्ता लिने मेरो हो । मेरो परिवारको हो । मेरो घर घडेरीको, खेत बारीको । छोराछोरी, श्रीमतीको हो । मेरो जागिरको, उद्योगको, व्यवसायको हो । मेरो जागिर नबिग्रोस्, आम्दानी नबिग्रोस, घर नबिग्रोस्, परिवार नबिग्रोस् । उद्योग, व्यवसाय नबिग्रोस् बस् । मैले सुन्ने पनि तिनकै कुरा हो । अरू जेसुकै बिग्रोस् मलाई के फरक पर्छ ? त्यसको चिन्ता मैले लिने हो ? गाउँकै, देशकै, अझ संसारकै चिन्ता मैले लिएर हुन्छ ?

तँ पढेको उल्लू । तँ पढेको मूर्ख । यस्तै चिन्ता लिएर हिँड्छस् भने हिँड् । तर मलाई यसमा नसमेट । मलाई स्वतन्त्र छोडिदे । तँजस्ता उल्लूहरू मात्र लाग्ने हो यस्ता हल्लामा । तँ लाग । तँ जस्ता अरू पनि लाग्छन् । अनि समाज सुधारका कुरा गर्छन् । भाषा सुधारका कुरा गर्छन् । बाटा घाटाका, पुल पुलेसाका कुरा गर्छन् । बन्नुपर्छ, बनेन भन्छन् । राष्ट्र निर्माणका कुरा गर्छन् । सिमा सुरक्षाका कुरा गर्छन्, मिचियो भन्दै नारा जुलुस गर्छन् । अझ सिमामा सुरक्षा निकाय राख्ने, काँडेतार लाउने कुरा गर्छन् । आफ्नो, आफन्तको सुधारका कुरा गरेर बस्न जान्दैनन् र त सधैँ तनावै तनाव भोग्छन् । सधै हडताल र जुलुस गर्छन् । सधैँ लाठी खान्छन् । सधैँ हिरासतमा पर्छन् । सक्ने जान्नेले छोरा बुहारीलाई, जेठान सालालाई, छोरी जुवाइँलाई, भाइ भतिजालाई, सम्धि सम्धिनीलाई अर्थात् आफ्ना जतिलाई हेर्ने हो, हेरेकै छन् ।

म त्यस्तो उल्लू छैन । म तँ झैं मूर्ख बन्दा पनि बन्दिन । तिमीहरू जस्ता उल्लूका पछि लाग्दा पनि लाग्दिन । तँ उल्लू मान्छे । चिन्ता गरेर ज्यान सुका, घर परिवार बिगार । अझै जेल नेल भोग । मलाई यस्ता कुरा नसुना । म टन्न कमाउन छाडेर, तेरा पछि लाग्दिन । जे पाइन्छ, जति पाइन्छ खान छाड्दिन । पाएको खानेकुरा छोड्ने, भेटाएको उपहार, कोसेली नलिने मूर्खले जिन्दगीमा के गर्छ ? भन् त ।

अलिकति त सुध्रे, घर परिवारलाई त हेर । नाङ्गा भुतुङ्गा छोराछोरी, श्रीमतीलाई त हेर । तिनले सुख पाउनु पर्दैन । अनि यो देशलाई हेर । यहाँका नेताहरूलाई हेर । ठूला ठूला कर्मचारीलाई हेर । न्यायालयमा, अख्तियारमा, प्रहरीमा, सेनामा जतासुकै हेर । केही सिक । देशले, देशका ठूलाबडाले अँगालेको बाटोमा तगारो बन्ने काम, हस्तक्षेप वा विरोध गर्ने र आलोचना गर्ने जस्ता काम नगर, उल्लू नबन ।
महाभारतले भनेको ‘महाजनो येन गतस् स पन्थस्’ को आशय राम्ररी बुझ । नबुझे एकपटक फेरि पढ । हेर है, मैले त सल्लाह दिएकै छु । उल्लू नबन्, मूर्ख नबन् ।

मित्रता दिवसका दिन मेरो नजिकको एकजना मित्रले मतिर हेर्दै यसो भन्यो, भन्दै गयो, भन्दै गयो र फेरि पनि भन्यो, ”तँ उल्लू मान्छे”

मित्रता दिवसको दिन पहिल्याएर मित्रले दिएको सन्देश थियो यो । सुझाव थियो यो । सल्लाह थियो यो ? म त्यो सल्लाह, सुझावतिर केन्द्रित भएको छु । सोच्दै छु र बाटो हेर्दैछु । ‘कुन बाटो काँ जाने होला फेरि भेट होला कि नहोला’ भन्ने गीत मेरा मुखबाट मसिनो स्वरमा निस्किरहेछ ।

तपाइँको प्रतिक्रिया